काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरु सम्बोधनका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक भएको बताएका छन् ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस एमाले मिल्नुपरेको बताए । वर्तमान सरकारले प्रतिवद्धता एउटा र काम अर्को गर्ने गरेको जानकारी दिए ।
उनले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताए । संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरु एक भएका जानकारी दिए ।
‘हाम्रो देशमा सबैलाई जिम्मेवारी दिउँ भन्ने मानसिकता छ । यद्यपि त्यसमा अनुभव र क्षमतालाई पनि त्यत्तिकै महत्व दिनुपर्छ । विकास निर्माणमा जुन अस्थिरता आएको छ, समयमा सम्पन्न नहुने जस्ता समस्या छन्, त्यो समस्या नहोस् र जनताले देख्ने गरी काम गर्ने जिम्मेवारी लिनुपर्छ भन्ने हाम्रो भनाइ छ । काम पहिल्यै भइसकेको हुन्छ, तर त्यसको बिल जुटेर सम्बन्धित मन्त्रालयबाट अर्थ मन्त्रालयमा आइपुग्दा अन्तिम समयमा हुने प्रचलन छ’, उनले भने ।
उनले सबैलाई मान्य हुनेगरी मन्त्रालयको बाँडफाँड हुने बताए ।