विकासन्युज

रिलायन्स स्पिनिङको आईपीओ बिक्री प्रक्रिया स्थगित

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशन तथा बिक्री प्रक्रिया स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डले अर्को सूचना सार्वजनिक नभएसम्मका लागि आईपीओ बिक्री प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो । बुक विल्डिङ्गमार्फत् आईपीओ निष्काशन प्रक्रिया अघि बढाएको कम्पनीका विरूद्ध संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेपछि नेपाल धितोपत्र बोर्डलाई विभिन्न प्रश्न सोध्दै स्पष्टिकरण मागेको छ । कम्पनीको वित्तीय विवरणमा उल्लेख प्रतिसेयर आम्दानी, प्रक्षेपण गरिएको प्रतिसेयर आम्दानी र चैत मसान्तमा प्रकाशित वित्तीय विवरणमा उल्लेखित प्रतिसेयर आम्दानीमा धेरै अन्तर परेको बारेमा पनि समितिले बोर्डसँग स्पष्टीकरण माग गरेको हो । लेखा समितिको पत्रपश्चात् बोर्डको बुधबार बसेको बैठकले कम्पनीको आईपीओ निष्काशन प्रक्रिया रोक्ने निर्णय गरेको हो । कम्पनीले दोस्रो चरणमा असार २९ गते वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गर्ने मिति तय गरेको थियो । तर, बोर्डले प्रक्रिया स्थगित गर्न निर्देशन दिएपछि अनिश्चितकालका लागि रोकिएको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर ८२०.८० रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको हो । योग्य संस्थागत लगानीकर्ताले भने प्रतिकित्ता ९१२ रुपैयाँमा आईपीओ खरिद गरेका हुन् ।

मेलम्चीको खानेपानी बाह्रै महिना काठमाडौं ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रस्ताव पेस गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका मुलभुत समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रस्ताव समिति समक्ष पेस गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले बैठकमा खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव र सम्बन्धित निकायका पदाधिकारीहरुसँग काठमाडौं उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवं सहज आपूर्तिको लागि देखिएका समस्या चुनौती लगायतका विषयमा छलफल भएको थियो । सोही छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । त्यस्तै समितिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको पानी निर्वाध आपूर्तिका लागि उक्त निकुञ्ज सम्बन्धी नियमावलीको अनुसूचीमा उल्लेखित रोयल्टी लगायतका आवश्यक विषयमा तत्काल आवश्यक संशोधन गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसैगरी खानेपानी आपूर्तिका लागि ईआईए सम्बन्धी प्रक्रिया टुंग्याई सहजीकरण गरिदिन पनि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएको छ । समितिले उपयुक्त समयमा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ ।

औषधी खरिदमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेशकुमार कुसियैतविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतले औषधी खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको हो । झा अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा प्रशासकीय अधिकृत र सूचना अधिकारी छन् । भ्रष्टाचारसम्बन्धी मुद्दा दर्तासँगै उनी निलम्बनमा परेका छन् । आव २०७४÷०७५ मा गाउँपालिकाले नियोमेड इन्टरनेशनलसँग ५७ प्रकारको औषधीजन्य मालसमान खरिद गरेको थियो । उक्त मालसमानको नियमविपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनविना नै आपूर्तिकर्ताले पेस गरेको बिलबमोजिमकै सम्पूर्ण रकम भुक्तानी दिएको आयोगले ठहर गरेको छ । औषधी खरिदमा ६ लाख २० हजार ९६ रुपैयाँ भ्रष्टाचार गरेको र सोबमोजिम बिगो कायम गरी आयोगले उनी दुबै जनाविरुद्ध आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

एटिएम मेसिन तोडफोड गर्ने दुईजना बुढानीलकण्ठबाट पक्राउ

काठमाडौं । माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुईजना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई बुधबार बिहान पक्राउ गरिएको जानकारी दिए ।

‘नेपाल करी सेफ’ गर्दै सिद्धार्थ हस्पिटालिटी, विजेतालाई बेलायतको प्रतियोगितामा भाग लिने अवसर

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रबर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करि शेफ अफ द इयर २०२४’ आयोजना गर्ने भएको छ । विजेताले २०२४ को सेप्टेम्बरमा बेलायतमा हुने ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’मा यातायात र आवाससहित सहभागी हुने अवसर पाउनेछन् । प्रतियोगिता बिश्व प्रसिद्ध शेफ टमी मियाको ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’सँगको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामार्फत नेपाली खानाको महत्व र इतिहासलाई विश्वभर चिनाइने लक्ष्य लिइएको छ । नेपाली खानाको परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन तथा नेपाली सेफहरुको प्रतिभा चिनाउन प्रतियोगिता आयोजना गरिएको नेपालको लोकप्रिय चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका सीइओ सन्तोष न्यौपानेले जानकारी दिए । प्रतियोगिताले नेपाली सेफहरूको प्रतिभा र सीप प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि पनि सहयोग पुर्‍याउने न्यौपानेको भनाइ छ । नेपाल पर्यटन बोर्ड समेतको आवद्धतामा आयोजना गरिएको प्रतियोगितामा सहभागी हुन इच्छुकले सिद्धार्थ ग्रुप अन्तर्गतका विभिन्न होटल, रेस्टुरेन्ट तथा क्याफेहरु मार्फत आवेदन दर्ता गर्न सक्छन् । साथै इसेवामा नेपाल करि शेफ अफ द इयर सर्च गरि अनलाइन फारम भरेर पनि सहभागी हुन सकिने कार्यक्रम संयोजक दुर्गादत्त पन्तले बताए । आन्तरिक प्रतियोगितामा छनौट भएकाहरुको अन्तिम चरणको प्रतिस्पर्धा र विजेता घोषणा अगस्ट २४ मा काठमाडौंमा हुनेछ ।

गाडीमा लोन टु भ्यालु रेसियो ७५% पुर्‍याउन माग, घरजग्गा ऋण र आम्दानी अनुपात बढाउनु पर्ने

काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालले सवारीसाधनमा लोन टु भ्यालु रेसियो ७५ प्रतिशत पुर्‍याउनु पर्ने माग राखेकाे छ । नाडाले नेपाल राष्ट्र बैंक समक्ष विद्यमान अटोमोबाइल क्षेत्रका समस्याहरूलाई समाधान गर्न भन्दै आगामी मौद्रिक नीतिका लागि सुझाव दिँदै यस्ताे माग गरेकाे हाे । नाडाले मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष ७ बुँदे माग राखेकाे छ । नाडाले अटोमोबाइल क्षेत्र नेपालको जीडीपीमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र भएकाे उल्लेख गर्दै यो क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाखौं नेपालीहरुलाई रोजगार प्रदान गरी राष्ट्रिय विकासमा ठूलो भूमिका निभाउँदै आएको बताएकाे छ । ‘अटोमोबाइल सेक्टरमा आर्थिक सुस्ततासँगै अटो क्षेत्रमैत्री नीतिको अभावले गर्दा सम्पूर्ण क्षेत्र नै संकटमा परिरहदा समग्र अटोमोबाइल बजारमा ६८ प्रतिशतको गिरावट देखिएको छ भने यो क्षेत्रले अहिले १४ प्रतिशत मात्र जीडीपीमा योगदान गरेको छ ,जुन एक समयमा २१ प्रतिशतसम्मको योगदान हुने गरेको थियो,’ नाडाले भनेकाे छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीका अनुसार अहिले अटोमोबाइलमैत्री मौद्रिक नीतिको चरम आवश्यकता छ । यस्ता छन् सुझाव: १. पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनहरूलाई बैंकहरूबाट हायर पर्चेज लोन प्रवाह गर्ने पक्रियामा लोन टु भ्यालु रेसीयोलै ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशतमा पुर्याउनुपर्ने । २. पेट्रोल, डिजेल र विद्युतीय शक्तिबाट चल्ने निजी प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरूलाई स्पष्ट रूपमा छुट्याइ सोही अनुरूप बैंक लगानी गर्न सहजीकरण गरिदिनुपर्ने । ३. चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु भएपछि विभिन्न चरणमा नेपाल राष्ट्र बैंकले यसलाई सच्याउँदै पनि आएको छ । तर, पनि यसले अझै पनि व्यवसायीहरूलाई समस्यामा पारेको छ । यो लागु भएको मितिपछि कर्जा लिएकाहरुलाई मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुने गरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने । ४. कालोसूचीमा परेका व्यक्तिहरूले पनि अन्य बैंकहरुबाट आफ्नो कारोबार गरिरहेको देखिएकोले कालोसूचीमा परेका व्यक्ति वा कम्पनीमाथीको कारबाही ज्यादै फितलो हुने गरेको देखिएकाले नेपाल राष्ट्र बैंकले यस नियमलाई कडाइका साथ लागु गर्नुपर्ने । ५. नेपाल राष्ट्र बैंकले पेट्रोल, डिजेल र विद्युतिय शक्तिबाट चल्ने निजी प्रयोजन र व्यावसायीक महत्वका सवारीसाधनहरूलाई स्पष्ट रूपमा छुट्याइ सोही अनुरूप बैंक लगानी गर्न सहजीकरण गरिदिनुपर्ने । त्यसैगरी कुनै पनि क्षेत्रमा एनपीए ५% भएमा बैंकलाई त्यो क्षेत्रमा फाइनान्स् गर्न मिल्दैन । व्यावसायिक महत्वका माइक्रोबस र निजी प्रयोजनका कार एउटै क्षेत्र अन्तर्गत पर्ने हुँदा धेरै बैंकहरूले डिजेल पेट्रोलबाट चल्ने निजी कारलाई पनि फाइनान्स् गर्न बन्द गर्नुपर्ने । ६. घर परिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात् दम्पतीले सवारीसाधनका रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने । घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेबीट सर्भीस टु ग्रस इनकम रेसीयो) लाई सहजीकरणगरी चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनुपर्ने । ७. नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने निजी र व्यावसायीक महत्वका सवारीसाधनहरूलाई छट्याउनुपर्ने छ ।

दोलखामा निर्माणाधीन ७० मेगावाटका दुई जलविद्युत आयोजना बाढीले क्षतिग्रस्त

काठमाडौं । बाढीका कारण दोलखाको मार्बुस्थित खानीखोलामा निर्माणाधीन दुई जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन् । दोलखाको मार्बुस्थित खानीखोला करिडोरमा निर्माणाधीन ग्रिन लाइफ इनर्जीद्वारा प्रवर्द्धित ४० मेगावाटको खानी खोला–१ र साशा इन्जिनियरिङ हाइड्रोपावरद्वारा प्रवर्द्धित ३० मेगावाटको खानीखोला जलविद्युत आयोजनाको बाँध, डिसेन्डर (बालुवा थिग्रयाउने पोखरी) लगायतका संरचना पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै क्याम्पहासयमा समेत क्षति भएको आयोजनाले जानकारी दिएका छन् । ग्रिन लाइफ इनर्जी नेप्सेमा सूचिकृत कम्पनीसमेत हो । आयोजनाको ९० प्रतिशत काम सम्पन्न हुँदा फेरि बाढीले क्षति भएपछि आयोजना सञ्चालनमा आउन अझै ढिलाइ हुने भएको छ ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन एमालेको ह्वीप

काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहललाई विश्वासको मत नदिन नेकपा एमालेले ह्वीप लगाएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री दाहाल २८ गते शुक्रबार विश्वासको मत लिने तयारीमा छन् । कांग्रेस र एमालबीच नयाँ सत्ता समीकरण बनाउने सहमतिसँगै एमाले र जसपाले समर्थन फिर्ता लिँदै सरकार छाडेपछि प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन् । कंग्रेस र एमालेले उनलाई राजीनामा दिन दबाब दिए पनि दाहालले विश्वास मत लिन लागेका हुन् ।