विकासन्युज

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ । यस अन्तर्गत भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरहरुमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । यस्ता कार्यबाट नेपाल र भारत बीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पुर्याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । साथै, नेपाल आउने भारतीय पर्यटकहरुलाई लक्षित गरी उक्त सेवा अझ छिटो, छरितो र भरपर्दो रुपमा प्रदान गर्न यस बैंकले आफ्ना संस्थागत ग्राहकहरुसँग आवश्यक सहकार्य समेत गर्नेछ । डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

बागलुङका दूध किसानले पाए १६ लाख अनुदान

गलकोट । बागलुङका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रुपैयाँ रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ । केन्द्रले घाँस र मासुमा दिइने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गरेको जनाएको छ । घाँस र मासुमा दिने अनुदान प्रभावकारी नभएको देखिएपछि बन्द गर्न लागिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए । दूधमा भने प्रतिलिटर २.५ रुपैयाँ अनुदान दिँदै आइएको उनले जानकारी दिए । यसवर्ष सात वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले सोझै उक्त रकम पाएका छन् । दूधमा आत्मनिर्भर गराउन महत्वपूर्ण भूमिका खेलका दुग्ध उत्पादन सहकारीमा आबद्ध किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिँदै आइएको केन्द्रले जनाएको छ । चालु आर्थिक वर्षमा केन्द्रले विनियोजन गरेको २४ लाख रुपैयाँमध्ये १६ लाख ४२ हजार रुपैयाँ रकम सोझौँ किसानले पाएका केन्द्रका प्रमुख सापकोटाले जानकारी दिए । अनुदान पाउन एउटै संकलन केन्द्रले दैनिक दुई सय लिटर दूध संकलन र बजारीकरण गरेको हुनुपर्ने भएकाले व्यक्तिगत रुपमा दूध बिक्री गर्ने किसान मापदण्डमा नपरेका उनले बताए । ‘संस्थागत रुपमा दूधको बजारीकरण गरेको तथ्यांकका आधारमा दुई दशमलव पाँच रुपैयाँका दरले अनुदान दिएका छौँ’, सापकोटाले भने, ‘सात वटा सहकारीमार्फत दूधको संकलन र बजारीकरण गर्ने सहकारीमा आबद्ध किसानले मात्रै उक्त रकम प्राप्त गरेका छन् । सहकारीको खातामा राखिएको रकम सहकारीले संकलन गरेको दूधको आधारमा पुनः किसानलाई भुक्तानी गर्दछ ।’ केन्द्रले बलेवाको कालीगण्डकी, जैमिनी, कालीमाटी, नमूना, मिलिजुली, पाला र बागलुङ पशु स्रोत दुग्ध उत्पादक सहकारी संस्थालाई प्रतिलिटर २.५ रुपैयाँका दरले दूधमा अनुदान दिएको हो । सात वटै सहकारीले एक वर्षमा छ लाख ५६ हजार लिटर दूध संकलन, प्रशोधन तथा बजारीकरण गरेका छन् । दूधमा अनुदान पाउँदा किसान दूध उत्पादनमा अग्रसर भएका स्थानीय रुद्रनाथ शर्माले बताए । उनका अनुसार पशु सेवा केन्द्रले दिएको तथ्यांकको आधारमा जैमिनी नगरपालिकाले पनि स्थानीय पशुपालक किसानलाई २.५ रुपैयाँका दरले दूधमा अनुदान दिन थालेको छ । रासस

मन्त्रालय बाँडफाँट भइसकेको छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा भइनसकेको भन्दै को—को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए । कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने उनले जानकारी दिए । ओलीले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जानेगरी छलफल भइरहेको बताए । त्यसका लागि सामान्यतः स्ट्रेन्थको आधारमा पार्टीहरूलाई स्थान निर्धारण गर्ने बताए ।

निजी र दलगत स्वार्थलाई केन्द्रमा राखेर अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिल्यौँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस—एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन् । बुधबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि काँग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताएका हुन् । उनले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताए । निश्चित बुँदा तोकेर निस्कर्षमा नपुगेको पनि बताए । आयोग कसैको नेतृत्वमा पनि नबनेको उल्लेख गर्दै आयोग बन्ने भन्नेकुरा नभएको बताए । उनले राष्ट्रिय हितहरुको रक्षा संवद्र्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उल्लेख गरे । एमाले र नेपाली काँग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्नेकुरा भ्रम फैल्याउनका लागि बोलिएको बताए । प्रदेशहरुमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको जानकारी दिए । उनले विकास निर्माण र जनताका आवश्यकता तथा कामलाई केन्द्र भागमा नराख्दा भ्रष्टाचारतिर देशलाई लैजाने काम भएपछि आफूहरु मिलेको बताए । उनले वार्थलाई अग्र भागमा भएको र संघीयतालाई सफल बनाउने दिशामा नगएकाले समीकरण फेर्नुपरेको बताए । संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने चेतावनी दिए । ‘अनुभवहरुले के कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो । यो यो बुँदामा भन्ने निस्कर्षमा पुगिसकेका छैनौँ । कसैको नेतृत्वमा आयोग बनेको छैन’, उनले भने, ‘मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरुको रक्षा संवद्र्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो ।’ अध्यक्ष ओलीले संविधान गतिशिल, समाजको पथप्रदर्शक भएकाले संविधानको समयानुकुल परिमार्जन हुने बताए ।

केवाईसी अपडेट गर्न सर्भेयरलाई बीमा प्राधिकरणको ताकेता, नगर्नेले परिचयपत्र नपाउने

काठमाडौं । एक साताअघि सर्भेयरहरूलाई केवाईसी अपडेट गर्न भनेको नेपाल बीमा प्राधिकरणले फेरि ताकेता गरेको छ । प्राधिकरणले नयाँ सूचना जारी गर्दे असार मसान्तभित्र केवाईसी अपडेट गराउन जानकारी दिएको हो । सो समयमा केही सर्भेयरले मात्र केवाईसी अपडेट गरेकाले प्राधिकरणले फेरि एक पटकलाई फेरि समय दिएको हो । असार मसान्तभित्र अपडेट नगर्ने सर्भेयरले परिचयपत्र नपाउने प्राधिकरणले जनाएको छ । असार मसान्तभित्र केवाईसी अपडेट नगरेमा परिचयपत्र नपाउने र त्यसको जिम्मेवार स्वयं नै सूचनामा उल्लेख छ ।

चितवनको पुँजीगततर्फ बजेट खर्च ७३ प्रतिशत

चितवन । संघीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४ रुपैयाँ खर्च भएको हो । संघबाट पुँजीगत खर्चका लागि पाँच अर्ब ९८ करोड ३२ लाख ३५ हजार सात सय ८० रुपैयाँ विनियोजन भएकामा ७३ दशमलव ८२ प्रतिशत खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एकनारायण शर्माले जानकारी दिए । उनका अनुसार संघीय सरकारले विनियोजन गरेको चालुतर्फ ९१ दशमलव ६४ प्रतिशत खर्च भएको छ । चालु खर्चका लागि विनियोजित रकम १२ अर्ब ९० करोड ३२ लाख ९८ हजार तीन सय १३ रुपैयाँ मध्ये ११ अर्ब ८२ करोड ३६ लाख ६० हजार ३० रुपैयाँ खर्च भएको शर्माले बताए । उनका अनुसार जिल्लामा संघीय सरकारबाट प्राप्त १८ खर्ब ८८ करोड ५६ लाख ३४ हजार ९३ रुपैयाँ मध्ये १६ अर्ब २४ करोड छ लाख १३ हजार छ सय ५४ रुपैयाँ खर्च भएको छ । विनियोजित कुल बजेटको ८५ दशमलव ९९ प्रतिशत खर्च भएको उनले जानकारी दिए । प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये ७३ दशमलव ६५ प्रतिशत मात्र खर्च भएको छ । लेखा नियन्त्रण कार्यालयका प्रमुख शर्माका अनुसार प्रदेश सरकारबाट प्राप्त चालु खर्चतर्फको ७८ दशमलव ३६ प्रतिशत र पूँजीगततर्फ ७५ दशमलव ८३ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले चालुतर्फ एक अर्ब ६१ करोड ९४ लाख ३० हजार चार सय ८७ रुपैयाँ विनियोजन गरेको थियो । पुँजीगततर्फ तीन अर्ब ३६ करोड १९ लाख २८ हजार रुपैयाँ विनियोजन भएकामा दुई अर्ब ४५ करोड ९२ लाख ३१ हजार सात सय १० रुपैयाँ खर्च भएको शर्माले जानकारी दिए । जिल्लामा प्रदेशबाट चार अर्ब ९८ करोड १३ लाख ५८ हजार चार सय ८७ रुपैयाँ विनियोजित भएकामा तीन अर्ब ८१ करोड ८१ लाख ६९ हजार छ सय २५ रुपैयाँ खर्च भएको छ । जिल्लाको समग्र विकासका कार्यले केही गति लिएकाले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पुँजीगततर्फको खर्च बढेको उनले जानकारी दिए । रासस

अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका-३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर-चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले राससलाई बताए । उक्त स्थानमा आज बिहान सडक भासिएको हो । ‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ’, उपाध्यक्ष राईले भने, ‘सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।’

बाबा रामदेवको कम्पनी पतञ्जलीले रोक्यो १४ उत्पादन बिक्री, विज्ञापन पनि फिर्ता

काठमाडौं । बाबा रामदेवको कम्पनी पतञ्जली आयुर्वेद लिमिटेडले १४ वटा उत्पादनको बिक्री बन्द गरेको छ । कम्पनीले मंगलबार सर्वोच्च अदालतलाई १४ उत्पादनहरूको बिक्री रोकेको जानकारी दिएको छ । पतञ्जलीको लाइसेन्स उत्तराखण्ड राज्य लाइसेन्सिंग प्राधिकरणले अप्रिलमा निलम्बन गरेको थियो । कम्पनीले ५ हजार ६०६ फ्रेन्चाइज स्टोरलाई यी उत्पादन फिर्ता लिन निर्देशन दिएको जनाएको छ । यसले मिडिया प्लेटफर्महरूलाई पनि यी १४ उत्पादनहरूको विज्ञापन कुनै पनि रूपमा फिर्ता लिन निर्देशन दिएको छ । सर्वोच्च अदालतले पतञ्जली आयुर्वेद लिमिटेडलाई दुई साताभित्र प्रतिज्ञापत्र पेस गर्न निर्देशन दिएको छ । यसमा कम्पनीले विज्ञापन हटाउन सामाजिक सञ्जाल मध्यस्थकर्तालाई गरेको अनुरोध स्वीकार भएको छ वा छैन र यी १४ उत्पादनका विज्ञापन फिर्ता लिइएको छ वा छैन भन्ने कुरा बताउनुपर्नेछ । अदालतले मुद्दाको अर्को सुनुवाई जुलाई ३० मा तोकेको छ । इन्डियन मेडिकल एसोसिएसन (आईएमए) ले दायर गरेको याचिकामाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । यसमा पतञ्जलीमाथि कोभिड खोप अभियान र आधुनिक चिकित्सा अभ्यासलाई बदनाम गरेको आरोप लगाइएको छ । उत्तराखण्ड राज्य इजाजतपत्र प्राधिकरणले सर्वोच्च अदालतलाई पतञ्जली आयुर्वेद र दिव्य फार्मेसीका १४ उत्पादनहरूको उत्पादन अनुमतिपत्र तत्काल प्रभावबाट निलम्बन गरेको बताएको थियो । सर्वोच्च अदालतले भ्रामक विज्ञापन मुद्दामा योगगुरु रामदेव, उनका सहयोगी बालकृष्ण र पतञ्जली आयुर्वेदलाई जारी गरेको अवहेलनाको नोटिसमा गत मे १४ मा आफ्नो आदेश सुरक्षित राखेको थियो । एजेन्सी