भारततर्फको आयात ३.१ प्रतिशतले घट्दा चीनतर्फको आयात ३४.८ प्रतिशतले बढ्याे
काठमाडौं । नेपालले चालु आर्थिक वर्षकाे ११ महिनामा साढे १४ खर्ब बराबरको आयात गरेको छ भने करिब साढे एक अर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । चालु आर्थिक वर्षको जेठ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकले देखाएकाे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.० प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकमध्ये भारतबाट भएको आयात ३.१ प्रतिशतले घटेकोमा चीनबाट भएको आयात ३४.८ प्रतिशतले बढेको छ र अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, विद्युतीय उपकरण, हवाईजहाजको स्पेयर पार्टपुर्जा, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु निर्यातमा ३.० प्रतिशतले कमी आई १३९ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, अन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैँचा, ब्रान्स, चिया लगायतका वस्तुको निर्यात घटेको छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले कमी आई १३१४ अर्ब ४४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३७ अर्ब १३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१३८ अर्ब ४७ करोड बराबरको भएको थियो ।
चालु खाता २ खर्ब र शोधनान्तर स्थिति ४ खर्ब २५ अर्बले बचतमा
काठमाडौं । नेपाल चालु खाता र शोधनान्तर स्थितिमा बलियो बन्दै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को जेठसम्मको मुलुकको आर्थिक स्थितीमा चालु खाता २ खर्ब बढीले बचतमा रहेको छ । गत जेठसम्म २ खर्ब ३९ करोडले चालु खाता बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ । ११ महिनाको अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई ५ अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड रुपैयाँले धनात्मक रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।
२.८४ प्रतिशतले बढ्यो तलब
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को जेठसम्म तलब तथा ज्यालादर सूचकांक २.८४ प्रतिशतले बढेको छ । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको जेठसम्मको तथ्यांक अनुसार तलब तथा ज्यालादर सूचकांक २.८४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकांक १०.१४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः १.०५ प्रतिशत र ३.३६ प्रतिशतले बढेको बैंकले जनाएको छ ।
उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशतमा सीमित
काठमाडाैं । चालू आवको जेठ महिनामा उपभोक्ता मुद्रास्फीति घटेको छ । अघिल्लो वर्षको सोही महिनामा ६.८३ प्रतिशत रहेको मुद्रास्फीति २०८१ जेठ महिनामा ४.१७ प्रतिशत सीमित रहेको हो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२ प्रतिशत, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ । समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.४७ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशत र यातायातको ०.१८ प्रतिशतले घटेको छ । २०८१ जेठ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२५ प्रतिशत, तराईको ३.८२ प्रतिशत, पहाडको ४.६३ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.१९ प्रतिशत, ६.९३ प्रतिशत, ६.२८ प्रतिशत र ६.३९ प्रतिशत रहेको थियो ।
१९ खर्ब ६७ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति, १५ महिनाको आयात धान्ने
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को जेठसम्म कुल विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको जेठसम्मको तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको हो । वि.सं २०८० असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । समीक्षा अवधिमा विदेशी मुद्रा २७.८ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति जेठसम्म १४ अर्ब ७२ करोड पुगेको छ । गत २०८० असारसम्म ११ अर्ब ७१ करोड थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्घि भई २ खर्ब १४ अर्ब ४२ करोड रुपैयाँ कायम छ । २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।
पुस्तक समीक्षा : अमेरिका जान चाहनेलाई उपयोगी पुस्तक ‘सपना र यथार्थमा अमेरिका’
काठमाडौं । विपन्न र अविकसित देशका नागरिकका लागि सपनाको काल्पनिक संसार स्वर्गजस्तो लाग्ने अमेरिकाका बारेमा एउटा दृष्टिविहीनले हात्ती छामेजस्तो फरकफरक चर्चा र व्याख्या हुने गर्दछ । विश्व मानचित्रमा जनसङ्ख्या र भूगोलमा तेस्रो ठूलो देश अमेरिका पाँच सय वर्षको इतिहासमा अनेक आरोहअवरोह पार गर्दै विश्वको महाशक्ति राष्ट्र बनेको छ । करिब सात दशकदेखि धेरै नेपालीको गन्तव्य बनेको अमेरिका पछिल्लो दुई दशकयता झनै बढी आकर्षणको केन्द्र बनेको छ । एकातिर उच्चशिक्षाको अवसरमा जानेखोजिरहेका छन्भने अमेरिकाले डिभी योजना चलाएपछि भाग्यवश धेरै नेपाली यस ढोकाबाट पनि तानिएका छन् । अमेरिका जाने र सुन्दर भविष्यको सपना देख्ने नेपालीहरुको भीडमध्येका एक हुन् सानबाबु सिलवाल । लामो समय नेपालमा पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका उनले सन् २००५ देखि अमेरिकालाई आफ्नो कर्मथलो बनाएका छन् ।अमेरिकामा रहँदा आफूले खाएका अनेक हण्डरहरुको चर्चा मात्र गरेका छैनन्, भविष्यमा कसैले त्यस्तो अवस्थासँग जुध्न नपरोस् भनेर बाटो देखाउने काम ‘सपना र यथार्थमा अमेरिकामा’ नामक पुस्तकमार्फत गरेका छन् । पुस्तक दुई सय ८३ पृष्ठको र नौ एकाइमा विभक्त रहेको छ । पुस्तकमा आर्थिक धरातलमा रहेर अमेरिकालाई चिनाउँदै अमेरिकामा रहेका नेपालीहरूको अनुभव, अमेरिकामा नयाँ जीवन सुरु गर्ने मार्गनिर्देशन, त्यहाँ उपलब्ध अवसरहरू, मुद्रा व्यवस्थापन, करलगायत विषयहरू समेटिएका छन् । पुस्तकमा अमेरिकी कानुनसम्बद्ध केही मुद्दाहरू, सडक सुरक्षा र नियमका प्रसङ्गहरु, संयुक्त राज्य अमेरिका र नेपालबीचको सम्बधजस्ता विविध विषयका बारेमा पनि जानकारी गराइएको छ । पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरूको अवस्था, अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरू, अमेरिकामा अवसर, कर प्रणाली, कानुनसम्बन्धी कुराहरू, सडक सुरक्षा र नियम, नेपालसँग अन्तरसम्बन्धलगायत विभिन्न विषय समावेश गरिएको छ । कृतिमा अमेरिकी कानुन, यातायात, पर्यटन, न्यायालय, अर्थ व्यवस्थाको व्याख्या गरिएकाले अमेरिकी समाजबारे धेरै जानकारी पाउन सकिन्छ । विश्वका धेरै मानिसका निम्ति अमेरिका सपनाको देश बनेको छ र अमेरिका पुग्न सक्नुलाई मात्र पनि ठूलो सफलता ठान्नेहरूको नेपाली समाजमा झनै बढी रहेको छ । समृद्धिको सपना देखेर प्रवासमा हाम्फालेका जो कसैले पनि यस पुस्तकबाट लाभ लिन सक्नेछन् । अमेरिकी भूमिका संघर्ष गरिरहेका नेपालीलाई पुस्तकले बाटो देखाएको छ । केही न केही आफूले निरन्तर मिहिनेत र संघर्ष गरेर व्यावसायिक सफलतातिर उन्मुख भएको र यो क्रममा आफ्ना प्रेरणाका स्रोतहरुको उल्लेख गरेका छन् । पुस्तकको बारेमा भूमिका लेखेका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मूलतः अमेरिका जाने सोच बनाउनुअघि यो कृतिका प्रत्येक अक्षर, शब्द, आशय अध्ययन गर्नु र अमेरिका पुगेपछि गहिरोसँग मनन गर्नु जरुरी छ भन्दै पुस्तकको महत्वलाई उजागर गरेका छन् । यो पुस्तक अमेरिकामा रहेका हुन् वा भविष्यमा अमेरिकाको सपना देखेका नेपाली हुन् सबैका लागि ‘डिस्नेरी’ बन्न सक्छ भन्ने उनको भनाइ छ । त्यस्तै अर्का वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पनि आफ्नो भूमिकामा अमेरिकालाई नेपालीमा बुझ्न चाहनेहरुका निम्ति पुस्तक अत्यन्तै उपयोगी रहेको उल्लेख गरेका छन् । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले अमेरिकी समाजलाई लक्षित गरेर लेखिएको भए पनि अन्य क्षेत्रका मानिसका लागि समेत उत्तिकै उपयोगी हुनसक्ने विश्वास व्यक्त गरेका छन् । गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य पाँच सय रुपैयाँ रहेको छ । पुस्तक बिक्रीबाट आएको आम्दानीले लेखकले विपन्नहरुको निःशुल्क उपचारमा योगदान गर्न चाहेका छन् । समाजसेवामा अभिरुचि राख्ने लेखक अमेरिकामा रहँदा दुःखमा परेका नेपालीहरूलाई सहयोग गर्ने र मातृभूमिप्रति पनि उत्तिकै चिन्तित रहेको पुस्तक पढ्दा धेरै दृष्टान्तहरुबाट थाहा हुन्छ । हालै राजधानमीमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गर्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सत्कर्म, सत्प्रयास, सत्चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाइका लागि लागिपर्ने लेखकको प्रशंसा गरे । लेखक सिलवालले पुस्तकमा आफ्नो भनाइ राख्दै अमेरिका बसिरहेका, यहाँ आउँदै गरेका र भविष्यमा आउने सोच बनाएका नेपाली अमेरिकी र नेपालीलाई लक्षित गरी आफ्ना अनुभवहरुसमेत बाँड्ने उद्देश्यले पुस्तक लेखेको बताउँछन् । अवसरको खोजी गर्दै अमेरिका पुगेका तर चुनौती सामना गरिरहेका नेपालीलाई मार्गदर्शन र सहयोग गर्ने आफ्नो उद्देश्य रहेको बताउँछन् । उनले अमेरिकामा समस्या अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राती, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको कुरा पनि पुस्तकमा उल्लेख गरेका छन् । हाल अमेरिकामा रहेका झन्डै पाँच लाख रहेका छन् । रासस
११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सवा १३ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्क अनुसार १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.३ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो । जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो । ११ महिनाको अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।
सन् २०३० भित्र भारत-रुस व्यापार १ खर्ब डलर पुर्याइने
काठमाडौं । भारत र रुसले बुधबार आपसी व्यापारलाई सन् २०३० सम्ममा १ खर्ब अमेरिकी डलरभन्दा बढी पुर्याउने सहमति गरेका छन् । लगानी प्रवर्द्धन, पारस्परिक व्यापारका लागि राष्ट्रिय मुद्राको प्रयोग, ऊर्जादेखि कृषि र पूर्वाधारका क्षेत्रमा सहयोग अभिवृद्धि गरी यो लक्ष्य हासिल गरिने बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मस्कोमा भएको २२औं वार्षिक द्विपक्षीय शिखर सम्मेलनपछि जारी गरिएको संयुक्त वक्तव्यमा दुबै पक्षले विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अभिवृद्धि गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् । दुबै पक्षले रुस-भारत व्यापार र आर्थिक सहयोग प्रवर्द्धन गरी द्विपक्षीय वार्तालाई थप गति दिने कुरा पनि गरेका छन् । दुबै देश सहयोगका नौ प्रमुख क्षेत्रमा सहमत भएका छन् । यसमा राष्ट्रिय मुद्राहरू प्रयोग गरेर व्यापार, उत्तर–दक्षिण यातायात करिडोर जस्ता नयाँ मार्गहरूमार्फत सामान ढुवानी कारोबार बढाउने, कृषि उत्पादन, खाद्यान्न र मलमा व्यापार वृद्धि, आणविक ऊर्जा लगायत ऊर्जा क्षेत्रमा सहयोग सुदृढ गर्ने, पूर्वाधार विकासका लागि संवादलाई सुदृढ गर्ने, डिजिटल अर्थतन्त्रमा लगानी र संयुक्त परियोजनाहरू प्रवर्द्धन गर्ने र औषधी उत्पादनमा सहयोग र मानवीय सहयोग प्रोत्साह गर्ने लगायतका क्षेत्रहरू समावेश छन् । संयुक्त विज्ञप्ति अनुसार दुई नेताहरू ‘भारत र रुसबीचको द्विपक्षीय व्यापारसँग सम्बन्धित गैर-ट्यारिफ व्यापार अवरोधहरू हटाउन र ईएईयू-भारत स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने सम्भावनासहित द्विपक्षीय व्यापारको उदारीकरणका लागि वार्ता जारी राख्न’ सहमत भएका छन् । तर, दुई देशको यो पहलको उद्देश्य सन् २०३० सम्ममा १ खर्ब अमेरिकी डलरभन्दा बढीको पारस्परिक व्यापारको लक्ष्य हासिल गर्ने रहेको छ । यसमा सन्तुलित द्विपक्षीय व्यापारका लागि भारतबाट वस्तुको आपूर्ति बढाउनु पनि समावेश छ । यससँगै लगानीका गतिविधिलाई पुनः सक्रिय गर्ने सहमति भएको छ । यस्तै, भारत र रुस राष्ट्रिय मुद्राहरू प्रयोग गरेर द्विपक्षीय बस्ती प्रणाली विकास गर्न सहमत भएका छन् । यसको मतलब भारतले रुसबाट कच्चा तेल खरिद गर्दा भारतीय रुपैयाँमा सम्भावित रूपमा भुक्तानी गर्नेछ । बदलामा, रुसले भारतबाट आयातका लागि भुक्तानी गर्न भारतीय मुद्रा प्रयोग गर्न सक्छ । त्यस्तै, यो पनि रुसी मुद्रा रूबल प्रयोग गर्न सम्भव छ । दुई नेताहरूले उत्तर–दक्षिण अन्तर्राष्ट्रिय यातायात कोरिडोर, उत्तरी समुद्री मार्ग र चेन्नई–भ्लादिभोस्टोक सी लाइन जस्ता नयाँ मार्गहरू सुरु गर्न पनि सहमत भएको विज्ञप्तिमा उल्लेख छ । ‘अवरोधरहित सामान ढुवानीका लागि डिजिटल प्रणालीको प्रयोग गरी भन्सार प्रक्रियामा सुधार गर्न पनि सहमति भएको छ, दुबै देशले कृषि उत्पादन, खाद्यान्न र मलमा द्विपक्षीय व्यापारको मात्रा बढाउनका साथै भेटेरिनरी औषधी, सरसफाइ र कृषि उत्पादनहरूमा कीटनाशकको उपस्थिति सम्बन्धी प्रतिबन्ध हटाउन वार्ता गर्न पनि सहमति भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौताले परमाणु ऊर्जा, तेल प्रशोधन र पेट्रोकेमिकल लगायतका मुख्य ऊर्जा क्षेत्रहरूमा सहयोग प्रवर्द्धन गर्ने र ऊर्जा पूर्वाधार, प्रविधि र उपकरणको क्षेत्रमा साझेदारी बढाउने परिकल्पना गरेको छ ।’ दुबै पक्ष पूर्वाधार विकास, यातायात इन्जिनियरिङ, सवारी साधन उत्पादन र जहाज निर्माण, अन्तरिक्ष र अन्य औद्योगिक क्षेत्रमा वार्ता अगाडि बढाउन सहमत भएका छन् । यसका साथै, सहायक र औद्योगिक समूह बनाएर एकअर्काको बजारमा भारतीय र रुसी कम्पनीको प्रवेशलाई सहज बनाउने पनि सहमति भएको छ । एजेन्सी