बाढीपहिरो अपडेट : देशभर ८३ जनाको मृत्यु, १०६ घाइते
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर एक सय ६ जना घाइते भएका छन् । हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उहाँले राससलाई जानकारी दिनुभयो । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् । उक्त समयमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायाको क्षति भएको छ । यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो । वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ । मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभर दुई हजार नौ सय ५४ परिवार विस्थापित भएका छन् । उक्त घटनामा रु १० करोड ७० लाख ४० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
यी हुन् रिलायन्सको सेयर प्रतिकित्ता ९१२ मा किन्ने १८ कम्पनी
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर किन्न १८ कम्पनीले अधिकतम् मूल्य तोकेर आवेदन दिएको पाइएको छ । कम्पनीले संस्थागत लगानीकर्ताका लागि बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँ तोकेको थियो । उक्त प्रक्रियामा भाग लिएका ६४ वटा कम्पनी मध्ये १८ वटा कम्पनीले अधिकत ९१२ रुपैयाँ मूल्यमा सेयर किन्न आवेदन दिएका थिए । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ्ग उद्योगलाई बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्न अनुमति दिएपछि उक्त कम्पनीले गत माघ १० गतेदेखि १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्रीमा राखेको थियो । १८ वटा संस्थागत लगानीकर्ताले कुल ११ लाख ७२ हजार ५८३ कित्ताका लागि १ अर्ब ६ करोड ९३ लाख रुपैयाँ बराबरको आवेदन दिएका थिए । १८ कम्पनीले संस्थागत लगानीकर्ताको लागि छुट्याएको सेयरकाे १५२.१५ प्रतिशत अर्थात माग भन्दाभन्दा ५२.१५ प्रतिशत बढी सेयर अधिकतम मूल्यमा किन्ने प्रस्ताव गरेका थिए । कट अफ मूल्यमा आवेदन दिएका यी लगानीकर्तालाई माग बमोजिमको सेयर बाँडफाँट गर्दा नपुगेकाले समानुपातिक रुपमा बाँडफाँट गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बताएको छ । बुक विल्डिङ्गमार्फत् आईपीओ निष्नकाशन गर्दा गोप्य शिलबन्दीमार्फत् बोलकबोल प्रणालीअनुसार कम्पनीको सेयर मूल्य निर्धारण हुन्छ । त्यसैले बुक विल्डिङ्ग विधि पारदर्शी हुने गरेको अधिकांशको बुझाइ छ । तर बुक विल्डिङ्ग विधिबाट सेयर निष्काशन गर्न लागेको रिलाइन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा चासो लाख्दै सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डसँग विस्तृत जानकारी मागेको छ । कम्पनीको वित्तीय विवरणमा उल्लेख प्रतिसेयर आम्दानी, प्रक्षेपण गरिएको प्रतिसेयर आम्दानी र चैत मसान्तमा प्रकाशित वित्तीय विवरणमा उल्लेखित प्रतिसेयर आम्दानीमा धेरै अन्तर परेको बारेमा पनि समितिले बोर्डसँग स्पष्टीकरण माग गरेको छ । ‘बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्तालाई सेयर बिक्री गरी नेपाल स्टक एक्सचेञ्जमा बाँडफाँट गर्दा कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण गरिएको हो । सोही निर्देशिकाको दफा (१४) मा भएको व्यवस्था बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई प्रतिसेयर ८२०.८० रुपैयाँ मूल्य तोकिएको छ,’ कम्पनीको विवरणपत्रमा उल्लेख छ । जसमध्ये प्रभु क्यापिटलले १ लाख ५४ हजार १२८ कित्ता, नेशनल फण्ड म्यानेजमेन्टले १ लाख ५४ हजार कित्ता, कुमारी धनबृद्धि योजनाले १ लाख १५ हजार कित्ता, प्रभु स्मार्ट फण्डले १ लाख ९ हजार कित्ता, नबिल स्टक डिलरले १ लाख कित्ता सेयरका लागि आवेदन दिएका थिए । यस्तै कुमारी इक्विटी फण्डले ९० हजार कित्ता, प्रभु सेलेक्ट फण्डले ७६ हजार ७५५ कित्ता, कुमारी क्यापिटलले ७५ हजार कित्ता, गौरव नेपाल इन्भेष्टमेन्ट प्रालिले ६० हजार कित्ता, भेन्चर क्यापिटल प्रालिले ५० हजार कित्ता, कुमारी सुनौलो लगानी योजनाले ३५ हजार कित्ता, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ र नेपाल लाइफ क्यापिटलले ३०/३० हजार कित्ता, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले १५ हजार कित्ता, सिद्धार्थ क्यापिटलले १० हजार कित्ता र एसआर हाइड्रो एन्ड इन्भेष्टमेन्ट प्राइभेटले ८ हजार ७ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये अधिकांश संस्थागत लगानीकर्ता तीन वटा मर्चेन्ट बैंकका म्युचुअल फण्ड रहेका छन् । कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फण्ड, कुमारी सुनौलो लगानी योजना म्युचुअल फण्ड कुमारी क्यापिटलले सञ्चालन गरिरहेको छ । यस्तै प्रभु सेलेक्ट फण्ड, प्रभु स्मार्ट फण्ड प्रभु क्यापिटल र सिद्धार्थ इक्विटी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र ३, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम सिद्धार्थ क्यापिटलले सञ्चालन गरिरहेका म्युचुअल फण्ड हुन् । त्यसैले कुमारी क्यापिटल, प्रभु क्यापिटल, सिद्धार्थ क्यापिटल, गौरभ नेपाल इन्भेष्टमेन्ट, नबिल स्टक डिलर, नेशनल फण्ड म्यानेजमेन्ट, नेपाल लाइफ क्यापिटल, एसआर हाइड्रो एन्ड इन्भेष्टमेन्ट र भेञ्चर क्यापिटल गरी ८ वटा मुख्य संस्थागत लगानीकर्ताले आवेदन दिएको देखिन्छ । रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गर्न लागेको हो । ६४ वटा संस्थागत लगानीकर्ताहरूमध्ये यी १८ वटा लगानीकर्ताले कम्पनीले तोकेको अधिकतम मूल्यमा बोलकबोल गरेका छन् । जबकी अन्य ४६ वटा लगानीकर्ताले ९ सय रुपैयाँभन्दा कम मूल्यमा टेण्डर हालेका थिए । सबैभन्दा कम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँमा टेण्डर हालेको थियो । १८ वटा कम्पनीले ६०८ देखि ६७० रुपैयाँसम्ममा सेयर किन्न आवेदन गरेका थिए ।
सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा
काठमाडौं । दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल गरेका छन् । तलब र अन्य सुविधा वृद्धिको माग गर्दै युनियनले ५५ वर्षमा पहिलो पटक हड्तालको घोषणा गरेका हो । नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) ले तीन दिने आम हडतालको अन्तिम दिन यस्तो घोषणा गरेको हो । आफ्ना माग सुनुवाइ गर्न तयार व्यवस्थापन तयार नभएपछि हडतालजस्तो अप्रिय निर्णय लिन बाध्य भएको युनियनको भनाइ छ । सामसुङले भने तत्काल यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । ‘पहिलो आम हड्तालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले हामी जुलाई १० गतेदेखि दोस्रो अनिश्चितकालीन आम हड्तालको आह्वान गर्दछौँ,’ युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा उललेख छ । एनएसईयूले दक्षिण कोरियामा सामसङ इलेक्ट्रोनिक्स कामदारहरूको एक चौथाई प्रतिनिधित्व गर्दछ । युनियनको हडतालले उत्पादन अवरुद्ध भएको दाबी गरिएको छ । तर, कम्पनीले यो दाबीलाई अस्वीकार गरेको छ । गत महिना युनियनले कम्पनीमा पहिलो पटक हडताल गरेको थियो । कम्पनीको करिब ५५ वर्षको इतिहासमा हडताल भएको यो पहिलो पटक हो । सामसङ इलेक्ट्रोनिक्स मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजनहरूको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हो । एजेन्सी
नेपालमा भिडोल लुब्रिकेन्टको उत्पादन सुरु
काठमाडौं । लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन सुुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रालिले उत्पादन गर्न सुरु गरेको हो । भिडोल इन्टरनेसनल, यूकेसँग ट्रेडमार्क लिई यसको उत्पादन नेपालमै शुरु गरिएको कम्पनीका विजनेस हेड दिनेश खनालले बताए । अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल लुब्रिकेन्ट उत्पादन सुरु गरिएको खनालले जानकारी गराए । ‘हामीले भिडोल इन्टरनेसनलसँग टेक्नोलोजी ट्रान्सफर गरी यसको ट्रेडमार्क प्रयोग गरेर लुब्रिकेन्ट उत्पादन थालेका हौँ । अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय प्रयोग गरेका छौँ’, उनले भने । धनुषाको ढल्केवरमा ब्लेन्डिङ प्लान्ट स्थापना गरेको युनाइटेड लुब्रिकेन्टले यसअघि स्वदेशी ब्रान्ड नेपाल गोल्डलाई बजारमा ल्याइसकेको छ । सोही प्लान्टबाट अव भिडोल लुब्रिकेन्ट समेत उत्पादन गर्न सुरु गरिएको हो । यो लुब्रिकेन्ट यसअघि भारतबाट आयात हुँदै आएको कम्पनीले बताएको छ ।
आज पनि थप उद्योगको विद्युत लाइन काट्दै कुलमान, बक्यौता तिराएरै छाड्ने अडान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप उद्योगको बिजुलीको लाइन काट्ने तयारी गरेको छ । बाँकी रहेको बक्यौता तिर्नका लागि बारम्बार ताकेता गर्दा समयावधि दिएको अन्तिम समयसम्म पनि उद्योगहरुले बक्यौता नतिरेपछि प्राधिकरणले आज पनि थप उद्योगको लाइन काट्ने तयारी गरेको हो । मंगलबार साँझ मात्रै प्राधिकरण तीन उद्योगको लाइन काटेको थियो । मंगलबार साँझ प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युतको लाइन काटेको थियो । ती उद्योगले क्रमशः सवा ६० करोड, साढे ४० करोड र पौने ३६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको २५ प्रतिशत जरिवानासहित बक्यौता १५ दिनभित्र भुक्तानी गर्न उद्योगहरुमा बिल पठाएको थियो । उद्योगीहरु भने प्राधिकरणले बिना प्रमाण बिल पठाएको भन्दै बक्यौता नतिर्ने बताउँदै आएका छन् । मंगलबार मात्रै उद्योगीहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै बक्यौता नतिर्ने बताएका थिए । बिना प्रमाण डेडिकेटेड र ट्रंक लाइन बिजुली बक्यौता भुक्तानी गर्न दबाब दिएको आरोप उद्योगीहरुको छ । प्राधिकरणका अनुसार ६१ वटा उद्योगले बक्यौता तिर्न बाँकी छ । बक्यौता नतिर्ने उद्योगको आजदेखि निरन्तर लाइन काट्ने तयारी प्राधिकरणको छ ।
नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा विकास गरिनुपर्छ : डा. कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपांग संघ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताएका छन् । अस्पतालको निरीक्षणपश्चात नेता डा. कोइरालाले अर्थोपेडिक उपचारसँगै स्नातकोत्तर तहको अध्ययन गर्ने शिक्षण संस्थाका रूपमा यस अस्पतालको विकास गर्दै लैजानुपर्ने बताएका हुन् । अस्पतालको पछिल्लो अवस्था, उपचार पद्दति तथा यसका चुनौतीहरूका बारेमा जानकारी लिँदै नेता डा. कोइरालाले अस्पतालका लागि राज्यका तर्फबाट नियमित बजेटको व्यवस्था र त्यहाँ कार्यरत जनशक्तिका लागि आवश्यक नियमित तालिम र अस्पातलको आधुनिकीकरणका लागि आफूले आफ्ना ठाउँबाट सक्दो पहल गर्ने आश्वासन दिए । त्यस अवसरमा अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले अस्पतालको पछिल्लो अवस्था तथा समस्याका बारेमा जानकारी गराएका थिए । उनले सरकारका तर्फबाट नियमित रूपमा बजेटको व्यवस्थासँगै यस अस्पताललाई प्राथामिकतामा राख्ने कार्यमा सहयोग गर्न नेता डा. कोइरालालाई आग्रह गरेका थिए । अनाथ, असहाय, निम्न वर्गीय तथा अपांगता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रूपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ ।
ऋणपत्र निष्कासन गर्न आईसीएफसी फाइनान्सले दियो धितोपत्र बोर्डमा निवेदन
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका असार १८ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो । कम्पनीले आगामी ७ वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले कुल कित्तामध्ये १ लाख २० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
मेटलाइफ इन्स्योरेन्सले सिंगापुरमा पायो २ वटा अवार्ड
सिंगापुर । वान बाइ मेटलाइफ एपलाई इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुईवटा अवार्डबाट सम्मानित भएको छन् । वान बाइ मेटलाइफ एपले मंगलबार सिंगापुरमा आयोजित नवौं इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुई प्रतिष्ठित अवार्ड जितेको हो । यस एपलाई दुई उच्च प्रतिस्पर्धात्मक विधाः डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर–नेपाल र मार्केटिङ इनिसिएटिभ अफ द इयर–नेपालमा सम्मानित गरिएको थियो । कार्यक्रममा अवार्ड ग्रहण गर्न, मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ, मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारी र मेटलाइफको क्षेत्रीय टोलीका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । इन्स्योरेन्स एसिया अवार्डले नवीन उत्पादन, सेवा र समाधानहरू मार्फत आफ्ना ग्राहकहरूमा महत्त्वपूर्ण प्रभाव पार्ने बीमा कम्पनीहरूलाई सम्मान गर्दै आएको छ । यस वर्षको जूरी सदस्यहरूको प्यानलमा एसिया प्यासिफिक क्षेत्रका विभिन्न कम्पनीहरूका उद्योग विशेषज्ञहरू समावेश थिए । मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मलकाजी श्रेष्ठले भने, ‘वान बाइ मेटलाइफले प्रयोगकर्ताहरूलाई स्वस्थ जीवनयापन गर्न मद्दत गरेर, र उनीहरूलाई आवश्यक परेको बेला स्वास्थ्य सेवा र स्रोतहरूमा पहुँच प्रदान गरेर विश्वास र संलग्नता जितेको छ । एपले प्रयोगकर्ताहरूलाई आफ्नो बीमा कभरेज अनलाइन व्यवस्थापन गर्न सजिलो र सुविधाजनक बनाउँछ । यस सम्मानले हाम्रा ग्राहकहरूको भविष्य सुरक्षित गर्नका लागि राम्रो समाधानहरू प्रदान गर्ने हाम्रो अभियानलाई अझ उत्प्रेरित गरेको छ ।’