कास्कीमा अनुदानकै बजेट खर्च भएन
कास्की । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गर्दै आएको छ । कास्कीमा दूध उत्पादनमा कृषकलाई यसअघि प्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान दिँदै आएकामा यस वर्ष वृद्धि गरी प्रतिलिटर पाँच रुपैयाँ दिने योजनाअनुसार बजेट विनियोजन गरिएको थियो । तर, मन्त्रालयबाट यससम्बन्धी कार्यविधि स्वीकृत नहुँदा कृषकले सरकारले वृद्धि गरेको अनुदान रकम पाउनबाट वञ्चित भएका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले चालु आर्थिक वर्षमा दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि दुई करोड बजेट विनियोजन गरे पनि एक करोड ४९ हजार सात सय ३८ रुपैयाँ मात्र खर्च भएको छ । कृषकले सरकारले विनियोजन गरेको बजेटको आधा मात्र पाएका छन् । चालु वर्षमा समेत विगत वर्षमा जस्तै प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताए । उनले वृद्धि भएको अनुदान रकम मन्त्रालयबाट कार्यविधि आउन ढिलाइ भएका कारण कृषकलाई प्रदान गर्न नसकिएको जानकारी दिए । उनले भने, ‘सरकार परिवर्तनलगायतका कारणबाट मन्त्रालयबाट कार्यविधि स्वीकृत भएर आउन ढिलाइ भयो । यसले गर्दा दूध उत्पादन अनुदानका लागि विनियोजित बजेट आधा मात्र खर्च भयो । यस वर्ष स्वीकृत बजेट पूरै खर्च नभए पनि आगामी वर्षमा कार्यान्वयन हुनेछ ।’ जिल्लाका दुग्ध उत्पादक कृषकले उत्पादनका आधारमा गत वर्षमा जस्तै चालु वर्षमा समेत प्रदेश सरकारबाट अनुदान रकम प्राप्त गरेका छन् । सबैभन्दा बढी उत्पादन गर्ने कृषकले सरकारबाट प्रोत्साहन बापत अनुदान रकम समेत बढी पाएका हुन् । जिल्लामा कृषक समूह तथा सहकारीका माध्यमबाट दूध बिक्री गर्दै आएका कृषकले सरकारी अनुदानको रकम बुझेका हुन् । दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि यस वर्ष आह्वान गरिएकामा २२ समूह सहकारी छनोट भएको र सहकारीका माध्यमबाट कृषकलाई प्रत्यक्ष अनुदान रकम प्रदान गरिएको पाण्डेले बताए । उनका अनुसार ४० लाख १९ हजार आठ सय ९५ लिटर दूधका लागि सो रकम प्रदान गरिएको हो । ‘उत्पादन गरेका आधारमा कृषकलाई सरकारको तर्फबाट प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम कृषकले सर्वाधिक रुचाएका छन् । यसबाट अनुदान रकम दुरुपयोग हुन पाउँदैन । जसले बढी उत्पादन गरेर बिक्री गर्दछ उसैले अनुदान पनि बढी पाउँछ,’ कार्यालय प्रमुख पाण्डेले भने । उत्पादनका आधारमा अनुदान वितरण गर्दा कृषकले व्यवसायमा अझ बढी मेहनत गर्ने गरेको बताइन्छ । कास्कीमा कुल घरधुरी एक लाख २० हजार पाँच सय ७२ रहेकामा पशुपालनमा संलग्न परिवार ५२ हजार तीन सय २३ रहेका छन् । कास्कीमा यहीँको दुग्ध उत्पादनले माग धान्ने अवस्था रहेको छ । उत्पादनका आधारमा सरकारले सहयोग गर्दा उत्पादन वृद्धि गर्न सहयोग पुगेको भेटेरिनरी अस्पतालका प्रमुख पाण्डेले बताए। उनले भने, ‘यसले बढी उत्पादन गर्छ, उसैले बढी अनुदान पाउने प्रोत्साहन कार्यक्रमपछि उत्पादन वृद्धि गरी आयात निरुत्साहित गर्न योगदान पुगेको छ ।’ भेटेरिनरी अस्पताले चालु आर्थिक वर्षमा पशुमा पूर्णखोप कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, बाँझो जग्गामा घाँस खेती प्रवर्द्धन कार्यक्रम, कृषि ऋणमा ब्याज अनुदान लगायतका मुख्य कार्यक्रम कार्यान्वयन गरेको कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिए ।
डिम्याट खाता नवीकरण गर्न लक्ष्मी सनराइज क्यापिटलको आग्रह
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले आफ्ना सेवाग्राहीलाई डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले साविक लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एकाअपसमा गाभिएर बनेको लक्ष्मी सन्राइज बैंकका कार्यालयमार्फत चालू आर्थिक वर्ष ०८०/०८१ सम्म डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्कबापत प्रत्येक आर्थिक वर्षको १०० रुपैयाँका दरले नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । कम्पनीका अनुसार खातावालाहरूले सनराइज क्यापिटल वा लक्ष्मी सनराइज बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा सम्पर्क राखी नवीकरण शुल्क बुझाउन सक्ने छन् । खातावालाले नवीकरणबापतको शुल्क फोनपे, क्युआर, खल्ती, कनेक्ट आईपीएस, इसेवा तथा मेरो शेयर ड्यासबोर्डमार्फत बुझाउन सक्नेछन्। त्यस्तै, कम्पनीले अघिल्लो आर्थिक वर्षको वार्षिक शुल्क बुझाउन बाँकी रहेका खातावालाको खाता रोक्का हुने भएकाले सो शुल्कसमेत बुझाइ खाता अद्यावधिक गर्न आग्रह गरेको छ । यस्तै, सनराइज क्यापिटलमा हितग्राही खाता खोली धितोपत्र कारोबार गरेका कतिपय खातावालाले हालसम्म पनि केवाईसी अद्यावधिक नगरेकाले अद्यावधिक गराउन समेत कम्पनीको आग्रह छ ।
मधेस प्रदेशमा रासायनिक मल अभाव नहुने
पर्सा । बर्खे धान खेती लगाउने समयमा रासायनिक मल (मलखाद) को अभाव झेल्दै आएका मधेसका कृषकलाई यस वर्ष मलको समस्या नहुने भएको छ । मधेस प्रदेशमा रासायनिक मल वितरण गर्दै आएका वीरगञ्जमा प्रादेशिक कार्यालय रहेका साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग यथेष्ट मल मौज्दात रहेका जनाएका छन् । रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत आयात गरेर अनुदानबापत कम मूल्यमा किसानलाई मल उपलब्ध गराउँदै आइरहेका छन् । पछिल्लो समय कृषि सामग्री र साल्ट ट्रेडिङले रासायनिक मलखादलाई खेतीयोग्य जमिनको क्षेत्रफल,विगत आवको मलको खपतको अभिलेख र बाली सघनताको आधारमा स्थानीय तहअनुसारको कोटाअनुसार रासायनिक मलको बाँडफाँट गर्दै आइरहेका छन् साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय प्रमुख आमोज लामिछानेले विगतको यस वर्ष रासायनिक मलको समस्या नहुने दाबी गरे। ‘गत आवमा भन्दा चालु आवमा आठ हजार आठ सय ४५ दशमलव १५ मेट्रिक टन धेरै मल वितरण भइसकेको छ । त्यसैले पनि विगतको वर्षमा जस्तै यो वर्ष रासायनिक मलको समस्या नहुने अपेक्षा गरेका छौँ,’ उनले भने । कार्यालयले २०८१ असार २४ गतेसम्मको अवधिमा कार्यालयले मधेस प्रदेशमा युरिया, डिएपी र पोटास गरी कूल ५२ हजार छ सय ५२ दशमलव ३५ मेट्रिक टन रासायनिक मल मधेस प्रदेशका आठ जिल्लामा वितरण गरिसकेको छ । कार्यालयले चालु आवको असार ११ गतेसम्मको अवधिमा युरिया, डिएपी र पोटास गरी कूल ९५ हजार दुई सय तीन दशमलव ४० मेट्रिक टन रासायनिक मल प्राप्त गरिसकेको छ । जसमा युरिया मल ६० हजार छ सय ८२ दशमलव २५ मेट्रिक टन, डिएपी मल भने २८ हजार नौ सय ६३ दशमलव ४० मेट्रिक टन र पोटास मल भने पाँच हजार पाँच सय ५७ दशमलव ७५ मेट्रिक टन रहेको छ । कार्यालयले चालु आवमा प्राप्त भएको मलमध्ये हालसम्म ८४ हजार चार सय २७ दशमलव ५० मेट्रिक टन मल मधेस प्रदेशसहितका अन्य जिल्लामा पठाइसकेको छ । प्रादेशिक कार्यालय वीरगञ्जले मधेस प्रदेशका छ जिल्लामा पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाही जिल्लामा मल उपलब्ध गराउने गर्छ । तर, तराईका सिरहा र सप्तरी जिल्लामा भने कोशी प्रदेश कार्यालय मातहतको कार्यालयबाट वितरण गर्ने गरिन्छ ।
सपोर्ट लघुवित्तको १३ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत चैत्र १७ गते सम्पन्न नवौं वार्षिक साधारणस भाबाट पारित भएको उक्त बोनस सेयर वितरण गरेको हो । पुस १५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको बोनस सेयर प्राप्त गरेका छन् । पुस १५ गतेसम्म सेयर धितो बन्धक राखेर कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
किसान र जाल्पा सामुदायिक लघुवित्तले आजदेखि एकीकृत कारोबार गर्दै
काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’ले बिहीबारदेखि एकीकृत कारोबार सुरु गर्दैछ । लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय लम्कीचुहा कैलालीमा र कर्पोरेट कार्यालय बुढानीलकण्ठ काठमाडौंमा रहने कम्पनीले जनाएको छ । साथै, डाटा माइग्रेशन प्रयोजनका लागि बुधबार दुईवटै संस्थाले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार बन्द गरेका थिए ।
अन्नपूर्ण पदमार्गमा १० हजार पर्यटकले घुमफिर गरे
लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा ६ महिनामा १० हजार ६ सय १३ विदेशी पर्यटक आएका छन् । यी पर्यटक सन् २०२४ जनवरीदेखि जुन महिनासम्म भ्रमणका लागि आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ । केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्ये ६ हजार ४ सय ३५ पुरुष र ४ हजार १ सय ७८ महिला पर्यटक आएको जानकारी दिए । यीमध्ये सबैभन्दा बढी फ्रान्सबाट १ हजार ७४, इजरायलबाट ८ सय ३२, जर्मनबाट ७ सय ८४ पर्यटक आएका छन् । यस पदमार्गमा बर्खा लागेसँगै सुनसान भए पनि दैनिकजसो चार–पाँच जना विदेशी पर्यटक आइरहेको केन्द्रले जनाएको छ । सन् २०२३ मा २१ हजार २ सय ४७ र सन् २०२२ मा १५ हजार ९ सय विदेशी पर्यटक भ्रमण गर्न यहाँ आएका थिए । सन् २०२२ को तुलनामा सन् २०२३ मा ५ हजार ३ सय ४७ जना विदेशी पर्यटक बढी आएका छन् । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६ सय ४७, सन् २०१८ मा २९ हजार ४ सय ८४, सन् २०१७ मा २१ हजार ६८ पर्यटक अन्नपूर्ण पदमार्गमा आएका थिए । सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना संक्रमणको पहिलो लहरसँगै पदमार्ग क्षेत्र प्रभावित भएको थियो । विस्तारै बढ्दो पर्यटक आगमनले यस क्षेत्रका सयौँ स्थानीयले रोजगारीसमेत पाएका छन् ।
रामेछापबाट चार वटा ट्रकमा लोड गरी ल्याइएको ३२ लाख बढीको काठ नियन्त्रणमा
धरान । धरानमा चारवटा ट्रकसहित अवैधरूपमा लगिँदै गरेको खयरको काठ नियन्त्रणमा लिइएको छ । बुधबार रामेछापबाट सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगका नाममा लगिँदै गरेको काठ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको धरान सबडिभिजन वन कार्यालय प्रमुख धर्मनाथ यादवले जानकारी दिए । रामेछापबाट बा प्र ०१००६ ख २१११, बा प्र ०१००६ ख ३३४९, म प्र ०३००२ ख ००९५ र क प ०२००१ ख ०४१९ नम्बरको ट्रकमा लगिँदै गरेको काठमा कैफियत देखिएपछि प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशन र प्रहरीसँगको समन्वयमा नियन्त्रणमा लिइएको उनले बताए। करिब ३२ लाख मूल्य बराबरको ९ सय ८९.३२ किबी खयरको काठबारे डिभिजन वन कार्यालय रामेछापले नै शंका व्यक्त गरेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कार्यालय प्रमुख यादवले बताए । ‘नियन्त्रणमा लिइएको काठ धरानको तीनकुनेमा जाँच गर्ने क्रममा बाटोमै सिल खोलिएको पाइएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ । जिल्ला प्रशासन र प्रहरीको रोहबरमा अनुसन्धान भइरहेको छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी तिवारीले ट्रकमा अवैध काठ भित्रिएको सूचना पाएपछि वन कार्यालय तथा प्रहरी परिचालन गरी नियन्त्रणमा लिइएको र हाल सुरक्षा अधिकारीहरूले थप अनुसन्धान गरिरहेका जानकारी दिए ।
११ महिनामा ५५ हजार बढी पर्यटक खुम्बुमा
सोलुखुम्बु । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार ९ सय ७९ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ । निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार ४ सय २ जना विदेशी र ७ हजार ५ सय ७७ जना नेपाली छन् । यस वर्ष सबैभन्दा बढी वैशाखमा ९ हजार ९ सय ७६ जना र सबैभन्दा कम साउनमा २ सय ८ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिए । वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उनको भनाइ छ । चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले १३ करोड ६५ लाख ७ सय रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जले पर्यटक शुल्क बापत् नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग १ हजार ५ सय र अन्य विदेशीबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिने गरेको छ । सो अवधिमा ७ हजार ५ सय ७७ नेपाली, ६ हजार ३ सय ८ सार्क मुलुकका र ४२ हजार ९४ अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।