विकासन्युज

विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी

काठमाडौं ।प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित प्रस्तुत बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावका लागि दुई घण्टा निर्धारण गरेका छन् । छलफलपश्चात् मत विभाजनका आधारमा मतदान हुनेछ ।

नबिल बैंकले ल्यायो ‘द नबिल ढुक्क घर कर्जा’ योजना

काठमाडौं । नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार ४१ औँ वर्ष प्रवेशको अवसरमा काठमाडौंमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममार्फत बैंकले यस्तो योजना ल्याएको हो । बैंकले यस योजना सात वर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत र १० वर्ष अवधिको कर्जाको ९.४ प्रतिशत निर्धारण गरेको छ । योजना जुलाई १२ देखि ४० दिनसम्म मान्य हुने बैंकले जनाएको छ । बैंकले नयाँ खाता खोल्दा विभिन्न सुविधाको अफर समेत ल्याएको छ । जुलाई १२ देखि अगस्ट २० सम्म नयाँ खाता खोल्दा एटिएम शुल्क, क्रेडिट कार्ड, लकर चार्ज, एन बैंक तथा एनबैंक एपको शुल्क ५० प्रतिशत छुट दिने भएको छ । साना तथा मझौला उद्यममा एक करोड रुपैयाँसम्मको कर्जा आधार दरमा एक प्रतिशत प्रिमियममा दिने र कृषि तथा उत्पादनमुलक उद्योगमा पाँच करोड रुपैयाँसम्मको कर्जा आधारमा दरमा १.५ प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ । कार्यक्रम बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले विगतमा काठमाडौं केन्द्रित बैंककका रुपमा चिनिएको बैंक अहिले देशभर फैलिएको बताए । उनले ४० वर्षमा नविल बैंक डिजिटल रुपमा समेत सबै नेपालीको बैक बन्न सफल भएको बताए । यस्तै, उनले बैंकहरुले अब नाफा कमाउने र ब्यालेन्स सिट वृद्धि मात्रै नभइ दिगो विकासका लागि काम गर्न आवश्यक भएको बताए । बैंकहरु जिम्मेवारी भएर राष्ट्रियताको लागि काम गर्न जरुरी भएको बताए । ज्ञवालीले आगामी दिनमा नविल बैंकले सस्तो, सुलभ र सहज सेवा ग्राहकलाई दिने गरी सेवा दिने जानकारी दिए । नबिल बैंकले स्थापनादेखि आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले डिजिटल बैंकिङ सेवालाई विशेष प्राथमिकता दिएर सेवा सञ्चालन गरिरहेको छ । बैंकले सन् १९८४ मा नेपाल अरब बैंकका नाममा स्थापना भएको नबिल बैंकले बैंकिङ क्षेत्रमा पृथक पहिचान बनाएको छ ।

२४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु, टिकट काटेर मात्रै यात्रा गर्न सरकारको आग्रह

काठमाडौं । विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो । छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीवारदेखि शुक्रबार दिउँसोसम्म बाट कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको जानकारी प्राप्त भएको बताए । साथै काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्री बस पहिरोले बगाएको सो बसमा रहेकाहरुको बारेमा खोजि जारी रहेको बताए । बसमा कति सवारी थिए भन्ने यकिन तथ्यांक नभएकाले अहिलेसम्म विवरण प्राप्त हुन नसकेको बताए । यातायात व्यवसायी, केन्द्र सरकार र प्रदेश सरकार एवं स्थनीय सरकारले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरे । ‘काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्री बस सिमलटारी भन्ने ठाउँमा दुर्घटना भएको छ । ज्यादै दुःखद् घटना भएको छ । गाडी खस्यो तर कति यात्रु भन्ने कन्फ्युजन भयो । टिकट नलिइकन यात्रा गर्न दिनुभएन, यात्रुले पनि गर्नुभएन’, उनले भने । उनले टिकट नलिइकन यात्रा गर्न नदिन र यात्रुले पनि टिकट नलिकन यात्रा नगर्न आग्रह गरे । सुरक्षा बलले पनि बसहरुको विभिन्न ठाउँमा चेकजाँच गर्न आग्रह गरे ।

क्षेत्रीय विद्युत् व्यापारमा ढोका खुलेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत् व्यापारमा नेपालको ढोका खुलेको बताएका छन् । प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा उनले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीव्र गतिमा अगाडि बढेको बताए । ‘ऊर्जा क्षेत्रमा प्राप्त उपलब्धि लोभलाग्दो छ । प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकालमा देशले कहालीलाग्दो विद्युत्भार कटौतीबाट मुक्ति पायो । त्यतिखेर त्यो कसैले नसोचेको विषय सम्भव भएको थियो’, प्रधानमन्त्रीले भने, ‘अब विद्युत्मा पहुँच नभएको नागरिक बाँकी छैन । विद्युत् ऊर्जाको जडित क्षमता करिब तीन हजार दुई सय मेगावाट पुगेको छ भने केही महिनामैँ करिब पाँच सय मेगावाट थप हुने चरणमा छ । जलविद्युत्मा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखी हालसम्म करिब १० हजार मेगावाटका आयोजनासँग विद्युत् खरिद सम्झौता भइसकेको छ ।’ उनले हरेक वर्ष करिब एक हजार मेगावाटको हाराहारीमा विद्युत् उत्पादन क्षमता वृद्धि हुने ठाउँमा नेपाल पुगेको बताए । प्रधानमन्त्रीले सरकारी निकायबाट ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना निर्माणको तयारी पूरा भएको जानकारी दिए ।

नयाँ सरकार पनि संविधान नमिची बनाउनु होला : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद बचाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेकाहरुले संसद नै निल्ने प्रयास गर्ने बताए । काँग्रेसलाई संविधान मिच्नेतिर नलाग्न आग्रह गरे । नयाँ सरकार पनि संविधान नमिची बनाउन आग्रह गरे । उनले भने, ‘म काँग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधाइसहित केही भन्न चाहन्छु । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन् । हिजो हामी मिलेर जोगाएका हौं । अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला ।’ प्रधानमन्त्री दाहालले विगतमा संसद काँग्रेस र नकेपा (माओवादी केन्द्र) मिलेर जोगाएको भन्दै अब पनि जोगाउन आग्रह गरे ।

संविधान संशोधन गर्ने भए दलितको जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने भए दलितको जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गर्न नेपाली काँग्रेस र नेकपा एमालेसँग आग्रह गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधान संशाधेन गर्ने भए प्रत्यक्ष कार्यकारीमा जान आह्वान गरे । अँध्यारो कोठाको रातिको प्रश्ताव नभइ नेकपा (माओवादी केन्द्र) को संसदमा गरिएको प्रस्ताव भएको बताए । यसका लागि काँग्रेस र एमाले तयार हो की होइन ? भन्दै प्रश्न गरे । यस्तै, उनले निराधार आरोप लगाएर संसदका दुई प्रमुख प्रतिष्पर्धी पार्टी रहस्यमय रूपमा एक ठाउँमा उभिएको बताए । काँग्रेस र एमालेको सहकार्यले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त गर्न खोजेको गन्ध आएको बताए । अस्थिरताको कारण देखाएर तपाईहरूले समावेशी र समानुपातिक प्रतिनिधित्व अनि साना दलहरूको अस्तित्व समाप्त पार्न खोज्नुभएको स्पष्ट देखिएको बताए । केही पश्चिमी देशहरूको नक्कल गरेर नेपाललाई पनि दुई दलीय बनाउने कसरत भइरहेको जानकारी दिए । ‘साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ छलफल ? त्यो तरिकाले पाउँछ जनताको स्वीकार्यता ? राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रलाई किनारा लगाएर सम्भव छ संविधान संशोधन ? कताकता तपाईहरूले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त गर्न खोज्नुभएको षड्यन्त्रको गन्ध आउँछ । केही पश्चिमी देशहरूको नक्कल गरेर नेपाललाई पनि दुई दलीय बनाउने कसरत गर्दै हुनुहुन्छ’, उनले भने । प्रधानमन्त्री दाहालले सरकारका उपलब्धिहरूको सूचि धेरै लामो भएको जानकारी दिए ।

माओवादी केन्द्रलाई किनारा लगाएर संविधान संसोधन गर्न सकिदैन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहल (प्रचण्ड)ले माओवादी केन्द्रलाई किनारा लगाएर संविधान संसोधन गर्न नसकिने दाबी गरेका छन् । शुक्रबार संसदमा विश्वासमा मत माग्दै प्रचण्डले कांग्रेस र एमालेले माओवादीलाई किनारा लगाएर संविधान संसोधन गर्न नसकिने बताए । कता कता तपाइहरूले स्थीरताको नाममा समावेशी प्रतिनिधत्व, समानुपातिक प्रतिनिधित्व समाप्त पार्न खोजेको आरोप लगाए । कांग्रेस र एमालेको इच्छा २०४७ सालको वरिपरी नै फर्कन खोजेको बताए ।

सरकारको सफलता नै सरकार ढाल्ने आधार बन्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सफलता नै सरकार ढाल्ने आधार बनेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूले भ्रष्टाचार गर्नेहरुसँग कुनै सम्झौता नगरी सुशासन स्थापित गर्ने काम गरेको जिकिर गरे । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा, ललिता निवास, भूटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्दा भ्रष्टाचार गर्नेहरु डराएको बताए । यस्तै, उनले बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खल्बलिएको बताए । सोही वर्गले पहिलो र दोस्रो ठूलो दल मिलाएको जिकिर गरे । जनताले आफ्नो शक्ति नदेखाए पुनः सरकार माफियाहरुको हातमा जाने जिकिर गरे । ‘सरकार परिवर्तनमा संलग्न पात्रहरूलाई हेर्नोस्, परिवर्तनको कारण त्यसै थाहा हुन्छ । सरकारको सुशासन अभियानले हिजोसम्म कानूूनमाथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो, जनताले आफ्नो शक्ति देखाउनुभएन भने देशको पुरै शासन फेरि माफियाहरूकै अधीनमा हुनेछ’, उनले भने । प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफूले पूर्ण निष्पक्ष ढंगले गरेको बताए ।