काठमाडौं । विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो ।
छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीवारदेखि शुक्रबार दिउँसोसम्म बाट कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको जानकारी प्राप्त भएको बताए ।
साथै काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्री बस पहिरोले बगाएको सो बसमा रहेकाहरुको बारेमा खोजि जारी रहेको बताए । बसमा कति सवारी थिए भन्ने यकिन तथ्यांक नभएकाले अहिलेसम्म विवरण प्राप्त हुन नसकेको बताए । यातायात व्यवसायी, केन्द्र सरकार र प्रदेश सरकार एवं स्थनीय सरकारले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरे ।
‘काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्री बस सिमलटारी भन्ने ठाउँमा दुर्घटना भएको छ । ज्यादै दुःखद् घटना भएको छ । गाडी खस्यो तर कति यात्रु भन्ने कन्फ्युजन भयो । टिकट नलिइकन यात्रा गर्न दिनुभएन, यात्रुले पनि गर्नुभएन’, उनले भने ।
उनले टिकट नलिइकन यात्रा गर्न नदिन र यात्रुले पनि टिकट नलिकन यात्रा नगर्न आग्रह गरे । सुरक्षा बलले पनि बसहरुको विभिन्न ठाउँमा चेकजाँच गर्न आग्रह गरे ।