बाख्रा र कुखुरापालनबाट राम्रो आम्दानी लिन्छन् भूपू प्रहरी थापा
तुलसीपुर । तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनी २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहेका छन् । उनले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गरेका छन् । करिब रु १० लाख लागतमा उनले व्यवसाय सुरु गरेका हुन् । स्थानीयस्तरमै स्वरोजगार बन्नुपर्ने भन्दै आफूले काम प्रारम्भ गरेको उनले बताए । ‘धेरै मान्छे स्वदेशमा श्रम नगरेर विदेश जाने गर्छन्, तर यहाँ नै परिश्रम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ’, थापाले भने । उनले वार्षिक रु १५–२० लाख आम्दानी गर्दै आएको बताए । बीस वर्ष सशस्त्र प्रहरी बल नेपालमा सेवा गर्नुभएका थापासामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहेका उनी भन्छन् ‘मैले समाजको सेवा गर्ने प्रण गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिए’, उनले भने ‘अब समाजलाई सकेको सहयोग गर्छु ।’ रासस
बेलीब्रिज बनेपछि कर्णाली राजमार्गमा जोडियो महावै पालिका
कालीकोट । जिल्लाको महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । खाँडाचक्र नगरपालिका–८ सेरावाडा र महावै गाउँपालिका–५ को तिला नदीमा बेलीब्रिज बनेपछि महावै गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको हो । महावै गाउँपालिका जोड्ने बेलीब्रिज बनाउन लामो समयको प्रयासपछि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले तिला नदीमा बेलीब्रिज बनाएको हो । दुई करोड लागत अनुमान गरेर निर्माण थालिएको बेलीब्रिज डिएस निर्माण सेवा काभ्रेले रु एक करोड ८१ लाखमा सम्झौता गरेको भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले बताए । तिला नदीमा पुल निर्माणका लागि पहल थालेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘पक्की पुल निर्माण हुनसक्ने अवस्था नभएकाले सेरावाडामा बेलीब्रिज पुल निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गरेको थियौँ’, उनले भने, ‘सरकारले महावै गाउँपालिकाको समस्यालाई समयमै बुझेका कारणले सेरावाडामा बेलिब्रिज निर्माणको काम सकिएको छ ।’ पुलको छेउमा केही चट्टानी भाग छिचोल्न बाँकी रहेकाले लगत्तै काम गराउने र कर्णाली राजमार्गसँग सिधा सम्पर्क गर्न सहज भएको महावै गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिए । रासस
भारतको औद्योगिक उत्पादन महिनामा ५.९ प्रतिशतले बढ्यो
काठमाडौं । भारतको कारखाना गतिविधि वृद्धि, औद्योगिक उत्पादन सूचकांकद्वारा निर्धारित मे मा ५.९ प्रतिशत वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । संघीय तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार सन् २०२४ को मे महिनाको लागि आधार २०११–१२ को साथमा आईआईपीको द्रुत अनुमान मे २०२३ मा १४५.६ को तुलनामा १५४.२ थियो । सन् २०२४ को मे महिनामा खानी, उत्पादन र विद्युत क्षेत्रका औद्योगिक उत्पादनको सूचकांक क्रमशः १३६.५, १४९.७ र २२९.३ रहेको तथ्यांकले देखाएको छ । आईआईपीले अप्रिलमा ५ प्रतिशतको वृद्धि देखाएको छ ।
म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल
म्याग्दी । म्याग्दी जिल्लाको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल सात महिनामा तयार भएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । रु तीन करोड ४१ लाखमा ठेक्का सम्झौता गरेको कम्पनीले काम थालेको सात महिनामै पुल तयार पारेको पूर्वाधार विकास कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले बताए । ‘सवारीसाधन वारपार गर्न थालेको पुलको पहुँचमार्गलाई अन्तिमरूप दिनेबाहेक सबै काम सकिएको छ,’ उनले भने, ‘२०८१ चैत २६ गतेसम्म म्याद रहेको पुलको ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ।’ सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेको, कार्यालयबाट नियमित अनुगमन, सहजीकरण, जनप्रतिनिधि र उपभोक्ताको सहयोगले लक्ष्यअघि नै पुल निर्माण गर्न सम्भव भएको निर्माण कम्पनीका प्रतिनिधिले बताए । बेनी नगरपालिका–४ का राजु गुरुङले निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बद्ध कार्यालय, जनप्रतिनिधि र समुदायले काम गर्ने वातावरण बनाउन सकेमा विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश अर्जेखोलाको मोटरेबल पुल निर्माण योजनाले दिएको बताए । चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख विनियोजन भएको अर्जेखोला पुलका लागि आर्थिक वर्षको भुक्तानी हुने अन्तिम समयसम्म रकमान्तर गरेर थप बजेट व्यवस्था गर्न पहल गरे पनि सफल नहुँदा निर्माण व्यवसायीले भुक्तानी पाउन बाँकी रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले बताए । आगामी आर्थिक वर्षको सुरुमै भुक्तानी दिने र पुल हस्तान्तरण गरी ठेक्का टुङ्ग्याउने लक्ष्य रहेको उनले बताए । यसअघिका दुई आवको वार्षिक योजनामा समावेश भए पनि अर्जेखोलाको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशतभन्दा बढी बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा निर्माण सुरु भएको थिएन । आव २०७८/७९ र चालु आव मा रु ५०–५० लाख विनियोजन भएको थियो । मंगला गाउँपालिका–३ का वडाध्यक्ष याम रोकाले अर्जेखोलामा पुल बनेपछि बर्खायाममा बाढी आउँदा जोखिम मोलेर सवारीसाधन तार्नुपर्ने अवस्था हटेको र आवतजावत सहज तथा सुरक्षित भएको बताए । बेनी–बरन्जा सडकअन्तर्गत पर्ने यो पुलबाट बेनी नगरपालिका–४, मंगलाका– ३, ४, ५ वडाका साथै बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् । रासस
दूध उत्पादक किसानलाई प्रोत्साहन स्वरूप ४३ लाख अनुदान
दमौली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई ४३ लाख ७३ हजार रुपैयाँ अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरूप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्र प्रमुख डा. राजेश चौधरीले जानकारी दिए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको उनले बताए । उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन भएकामा ४८.५९ प्रतिशत प्रगति भएको उनी बताउँछ । उनले भने, ‘सुरुमा प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान दिने गरी कार्यक्रम बनेको थियो । तर, विविध कारण र मापदण्डले गर्दा २ रुपैयाँ ५० पैसाका दरले मात्रै अनुदान उपलब्ध गरायौं ।’ जिल्लाका १५ वटा सहकारीमार्फत प्रस्ताव आए पनि दोहोरो सुविधा नहुने गरी सहकारीमार्फत दूध विक्री वितरण गर्ने किसानलाई अनुदान दिइएको चौधरीले बताए । उनले भने, ‘कतिपय स्थानीय तह आफैँले पनि दूधमा अनुदान दिने कार्यक्रम सञ्चालन गरेका छन् । त्यस्ता ठाउँमा दोहोरिने भएकाले वितरण गरेनौँ ।’ दूधमा उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएकाले जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ । कार्यालय तथा सरोकारवाला निकायले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्षयता तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा एक सय १८ दशमलव ५४ लिटर उपलब्धता छ । त्यस्तै ९४ केजी मासु आवश्यक पर्नेमा ९४ दशमलव ४१ केजी मासु उपलब्धता छ । साथै, ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८२ दशमलव ५९ गोटा अण्डा उपलब्धता छ । यो हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७ दशमलव ५४ लिटर, मासुमा शून्य दशमलव ४९ केजी र अण्डामा ३४ दशमलव ५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षमा बाँझो जग्गामा घाँसखेती गर्नेलाई समेत अनुदान उपलब्ध गराएको छ । घाँसखेती प्रवर्द्धन कार्यक्रममार्फत दुई सय २८ रोपनी क्षेत्रफलमा घाँसखेती गर्ने किसानलाई प्रतिरोपनी रु तीन हजारका दरले अनुदान उपलब्ध गराइएको छ । यो कार्यक्रमका लागि १८ लाख ६० हजार बजेट विनियोजन भएकामा ६ लाख ८१ हजार रुपैयाँ खर्च भएको छ । केन्द्रको बजेट बर्सेनि घट्दो संघीय कार्यान्वयनसँगै केन्द्रको बजेट बर्सेनि घट्दो अवस्थामा छ । पशुपालन गर्ने किसानको सङ्ख्या बढ्दो अवस्थामा रहँदा केन्द्रको बजेट घट्दा सोचेअनुरुपको काम गर्न नसकिएको डा चौधरीले बताए । कार्यालयका लागि चालु आवमा ९ करोड ७५ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा १० करोड २ लाख ८४ हजार, आव २०७८÷७९ मा ११ करोड ९१ लाख ७२ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।
प्यान नम्बर अद्यावधिक गर्न सिद्धार्थ बैंकको आग्रह
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै बैंकका ग्राहकहरूको निक्षेप खाताबाट गरिएको करकट्टीको विवरण सम्बन्धित ग्राहकको स्थायी लेखा नम्बरमा आबद्ध गर्नुपर्ने भएकाले स्थायी लेखा नम्बर लिएका ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आग्रह गरेको जनाएको छ । ग्राहकहरूले बैंकको आधिकारीक वेबसाइट वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमार्फत वा आफूलाई पायक पर्ने नजिकको शाखामा सम्पर्क गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गराउन सक्नेछन् । स्थायी लेखा नम्बर अद्यावधिक भएपश्चात ग्राहकहरूको करकट्टी विवरण (ई-टीडीएस) नम्बरमा प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची–१० मा करकट्टी विवरणको मिलान गर्ने हुँदा करकट्टी प्रमाणपत्र आफैले सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडाैं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ६४ हजार ९१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवश्यक पर्ने कागजातसहित कम्पनीको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु सक्ने छन् । साथै, तोकिएको समयभित्र उक्त सेयरहरू खरिदका लागि सम्बन्धित संस्थाका संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीहरूले जनाएका छन् ।
सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ४४०.८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।