विकासन्युज

कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ८८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौं या बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् । सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बताइएको छ । साथै, तोकिएको म्यादभित्र खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गरिने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

अण्डाको नयाँ समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ४९० रुपैयाँ

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । शनिबारदेखि लागु हुने गरी नयाँ समर्थन मूल्य तोकिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए । नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रतिक्रेटको मूल्य ४९० रुपैयाँ तोकिएको उनले बताए । त्यस्तै, ठूलो अण्डा प्रतिक्रेटको मूल्य ५१० रुपैयाँ र एक्सएल अण्डा प्रतिक्रेट ५३० रुपैयाँ कायम गरिएको छ । संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । ट्रम्पमाथि अमेरिकाको पेन्सिल्भेनियामा भएको एक र्‍यालीमा गोली प्रहार भएको हो । उनलाई तत्कालै त्यहाँबाट सुरक्षित बाहिर निकालिएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन् । यो घटनापछि तस्बिरहरूमा डोनाल्ड ट्रम्पले आफ्नो दाहिने कानमा हात राखेको देख्न सकिन्छ र कानबाट रगत पनि बगिरहेको छ । र्‍यालीमा धेरै पटक गोली चलेको आवाज सुनिएको थियो । आवाज सुनेपछि गुप्तचर सेवाका एजेन्टहरूले उनलाई तुरुन्तै स्टेजबाट हटाए र कारमा लगेका थिए । अहिले उनी सुरक्षित छन् । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका बीबीसीले उल्लेख गरेकाे छ । उक्त घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ । बीबीसी

‘सूचना प्रविधि क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिन सक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारमा दु्रततर रूपमा विकास भइरहेको सूचना प्रविधिबाट उनीहरूले यथेष्ट लाभ लिइरहेका दृष्टान्त पेस गर्दै नेपालले पनि सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘विश्वका अरु देशमा जस्तै नेपालमा पनि पछिल्ला वर्ष सूचना प्रविधिका क्षेत्रमा द्रुत विकास भइरहेको छ र यसमा नेपालको युवा वर्ग अहिले पनि निकै नै ठूलो सङ्ख्यामा यस क्षेत्रमा लागिरहेकाले देशमा सूचना प्रविधि उद्योगको विकास र विस्तार गरी यसको सेवा निर्यातबाट हामीले लाभ लिन सक्नुपर्दछ।’ युवा जनसङ्ख्या धेरै भएको देश नेपालमा अहिले ठूलो सङ्ख्याका युवाहरू सूचना प्रविधि विषयको पठनपाठन तथा उद्यमशीलताको विकासमा लागिरहेकाले नेपालमा सूचना प्रविधि उद्योगको विकास गरी यसबाट सेवा निर्यातको अधिक सम्भावना रहेको उनको तर्क थियो । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा घोषणा गरी हरेक प्रदेशमा सूचना प्रविधि पार्क निर्माण गर्ने, १५ लाख रोजगारी सिर्जना गर्ने र हरेक वर्ष नेपालबाट कम्तीमा पनि रु तीन खर्ब बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य लिएको प्रसंग उल्लेख गर्दै यसका लागि यसैबमोजिमको लगानीको वातावरण राज्यले निर्माण गनुपर्नेमा जोड दिए । सूचना प्रविधि अहिलेको समाजको जीवत पद्धति नै भइसकेकाले संसारले पनि यसैबमोजिम अङ्गीकार गरिरहेका र नेपाल पनि यसबाट अछुतो नरहेको प्रसंग उल्लेख गर्दै अध्यक्ष ढकालले भने, ‘नेपालमा पनि मेडिकल, इन्जिनियरिङ तथा वित्तीय क्षेत्र हुँदै धेरै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ । आगामी दिनमा यसको विकास र विस्तार गरी सूचना प्रविधिमा आधारित समाज र औद्योगिक विकासको नीतिबाट राज्य अघि बढ्नुपर्छ ।’ उनले नेपालमा रहेको यस क्षेत्रको सम्भावनाअनुसारको लगानीको वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै यस सम्भावनायुक्त क्षेत्रमा लगानी गरी मुनाफा आर्जन गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालमा अहिले पनि करिब पाँच सय सूचना प्रविधिसम्बन्धी कम्पनी रहेका जानकारी दिँदै राज्यले उचित नीति अख्तियार गर्यो र लगानीको सहज वातावरणको सुनिश्चितता गर्यो भने योभन्दा कैयौँ गुणा बढी कम्पनीहरू केही समयमै स्थापना भई सञ्चालनमा आउने पनि बताए ।

नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार गर्ने भएका छन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आइतबार असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए । सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका छन् । राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन् । त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए ।

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ । विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको क्षतिबाट बच्न विभागले अनुरोध गरेको छ ।

लोसपा पनि नयाँ सरकारमा सामेल हुने, मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ । पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए । सोही बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ । बैठकले पहिराका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएको दुईवटा बसको खोजी चुस्त बनाउन सरकारको ध्यानाकर्षणसमेत गराएको उनले जानकारी दिए ।

कांग्रेस, एमाले र उन्मुक्तिले मागे मुख्यमन्त्री सोडारीको राजीनामा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफ्नो पदबाट राजीनामा दिन नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नागरिक उन्मुक्ति पार्टीले संयुक्तरूपमा आग्रह गरेका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा तीन दलले प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परिसकेको भन्दै तत्काल पदबाट राजीनामा दिन ती पार्टीका संसदीय दलका नेताले संयुक्त माग गरेका हुन् । पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा दिँदा नयाँ सरकार गठन र बजेट ल्याउन सहज हुने बताए । उनले भने, ‘अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित हुँदैन ।’ पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई राजीनामा गर्न आग्रह गरेका छन् । संघमा नयाँ सत्तासमीकरण परिवर्तन भएसँगै एमाले प्रदेशका मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन यही असार २३ गते फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री अल्पमतमा परेका हुन् । एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ । बजेट माथिको छलफल प्रदेशसभामा अझै सुरु हुन सकेको छैन । नयाँ गठन हुने सरकारले सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नगरेर अध्यादेशमार्फत अर्को बजेट ल्याउने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धाँमीले बताए । प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक हुन्छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।