दूध उत्पादक किसानलाई प्रोत्साहन स्वरूप ४३ लाख अनुदान

<p>दमौली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई ४३ लाख ७३ हजार रुपैयाँ अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरूप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्र प्रमुख [&hellip;]</p>

दमौली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई ४३ लाख ७३ हजार रुपैयाँ अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरूप उक्त रकम प्रदान गरेको हो ।
केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्र प्रमुख डा. राजेश चौधरीले जानकारी दिए ।

कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको उनले बताए । उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन भएकामा ४८.५९ प्रतिशत प्रगति भएको उनी बताउँछ ।

उनले भने, ‘सुरुमा प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान दिने गरी कार्यक्रम बनेको थियो । तर, विविध कारण र मापदण्डले गर्दा २ रुपैयाँ ५० पैसाका दरले मात्रै अनुदान उपलब्ध गरायौं ।’

जिल्लाका १५ वटा सहकारीमार्फत प्रस्ताव आए पनि दोहोरो सुविधा नहुने गरी सहकारीमार्फत दूध विक्री वितरण गर्ने किसानलाई अनुदान दिइएको चौधरीले बताए ।

उनले भने, ‘कतिपय स्थानीय तह आफैँले पनि दूधमा अनुदान दिने कार्यक्रम सञ्चालन गरेका छन् । त्यस्ता ठाउँमा दोहोरिने भएकाले वितरण गरेनौँ ।’ दूधमा उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएकाले जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ ।

कार्यालय तथा सरोकारवाला निकायले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्षयता तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ ।

प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा एक सय १८ दशमलव ५४ लिटर उपलब्धता छ । त्यस्तै ९४ केजी मासु आवश्यक पर्नेमा ९४ दशमलव ४१ केजी मासु उपलब्धता छ ।

साथै, ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८२ दशमलव ५९ गोटा अण्डा उपलब्धता छ । यो हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७ दशमलव ५४ लिटर, मासुमा शून्य दशमलव ४९ केजी र अण्डामा ३४ दशमलव ५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।

उक्त कार्यालयले चालु आर्थिक वर्षमा बाँझो जग्गामा घाँसखेती गर्नेलाई समेत अनुदान उपलब्ध गराएको छ । घाँसखेती प्रवर्द्धन कार्यक्रममार्फत दुई सय २८ रोपनी क्षेत्रफलमा घाँसखेती गर्ने किसानलाई प्रतिरोपनी रु तीन हजारका दरले अनुदान उपलब्ध गराइएको छ । यो कार्यक्रमका लागि १८ लाख ६० हजार बजेट विनियोजन भएकामा ६ लाख ८१ हजार रुपैयाँ खर्च भएको छ ।

केन्द्रको बजेट बर्सेनि घट्दो
संघीय कार्यान्वयनसँगै केन्द्रको बजेट बर्सेनि घट्दो अवस्थामा छ । पशुपालन गर्ने किसानको सङ्ख्या बढ्दो अवस्थामा रहँदा केन्द्रको बजेट घट्दा सोचेअनुरुपको काम गर्न नसकिएको डा चौधरीले बताए ।
कार्यालयका लागि चालु आवमा ९ करोड ७५ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा १० करोड २ लाख ८४ हजार, आव २०७८÷७९ मा ११ करोड ९१ लाख ७२ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।

Share News