भोटेकोसीमा मृत्यु हुने कामदारका परिवारलाई ३० लाख दिइने
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ । भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवर्द्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको हो । लेट्रो पावरका आयोजना प्रबन्धक उमेश पराजुलीका अनुसार आयोजना निर्माणको ठेक्का लिएका ‘सब–कन्ट्र्यक्टर’ कम्पनी बीएमआर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि र मृतक परिवारको तर्फबाट वडा अध्यक्षले आर्थिक सहायता दिने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् । सहायता रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता भएको छ । मृतक दुवै कन्ट्र्याक्टर कम्पनीका तर्फबाट आयोजनामा कार्यरत थिए । पराजुलीका अनुसार सम्झौतामा कम्पनीले मृतक परिवारलाई कामदारको जीवन बीमा वापतको २० लाख रुपैयाँ परिवारको मुद्दति खातामा निक्षेपको रूपमा जम्मा गरिदिने छ । प्रतिपरिवार नगद सात लाख रुपैयाँ र डेढ लाख काजकिरिया खर्चवापत उपलब्ध गराउने छ । मृतकका छोराछोरीको १२ कक्षासम्म पढाइ खर्च व्यहोर्ने, आयोजना निर्माण अवधिभर मृतकले पाउने तलब परिवारको खातामा जम्मा गरिदिनेसमेत सम्झौतामा उल्लेख छ । मृतक परिवारका सदस्यलाई आयोजनामा रोजगारी दिने सम्झौता भएको छ । आयोजना प्रबन्धक पराजुलीका अनुसार मृतक परिवारमध्ये एक परिवारको दुई वर्षकी छोरी र अर्को परिवारमा मृतककी श्रीमति गर्भवती भएकाले गर्भवतीलाई पौष्टिक आहार तथा स्याहार सुसारका लागि आयोजनाले थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आयोजनाको ‘डिसेन्डर बेसिनको कभर स्ल्याब’ ढलान भत्किँदा उनीहरु यही असार २१ गते थिचिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयलगायतले अविरल वर्षाकैबीच उनीहरूको खोजी सुरु गरेको थियो । शनिबार बिहान मात्र उनीहरु मृत अवस्थामा फेला परेका थिए । उक्त दुर्घटनामा घाइते भएका १० जनामध्ये एक जनाको ढाडको हाड भाँचिएकोले उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य रहेको आयोजनाले जनाएको छ । रासस
बैंकमा ६ खर्ब रकम थुप्रिँदा कर्जा प्रवाह हुन सकेको छैन : घरजग्गा महासंघ
काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघले मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी ल्याउन माग गरेको छ । महासंघले मुलुकको अर्थतन्त्र संकुचित भएको अवस्थामा राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी ल्याउनुपर्ने माग गरेको हो । महासंघका अध्यक्ष भेषराज लोहनीले मुलुकको अर्थतन्त्रलाई स्थायित्व दिनेगरी लचिलो मौद्रिक नीति ल्याउनुपर्ने अलिहेको अवश्यकता रहेको बताए । उनले नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सुस्त हुँदा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको विषयलाई ध्यान दिएर मौद्रिक नीति ल्याउनुपर्ने जानकारी दिए । उनले राष्ट्र बैंक घरजग्गा कारोबारप्रति कठोर नभई उदार भएर मौद्रिक नीति तर्जुमा गर्न आवश्यक रहेको बताए । घरजग्गा कारोबारमा कर्जा आम्दानी अनुपातलाई न्युनतम ८० प्रतिशत पुर्याउन माग गरे । अध्यक्ष लोहनीले घर जग्गा कर्जाको हकमा पनि लोन टु भ्यालु रेसियो ८० प्रतिशत नै पुर्याउनुपर्नेमा जोड दिए । उनले घरजग्गा कारोबारमा कर्जाको रि–स्ट्रक्चर र रि–सेडुल गर्ने व्यवस्था मौद्रिक नीतिले गर्नुपर्ने बताए । घरजग्गा कारोबार कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशतमा ल्याउन माग गरे । कसिलो मौद्रिक नीति कायम हुँदा सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुुन नसकेको भन्दै आर्थिक वृद्धिलाई प्राथमिकतामा राखेर मौद्रिक नीति आउनुपर्ने बताए । बैंकहरुमा ६ खर्ब बढी रकम पैसा थुप्रिँदा पनि कर्जा प्रवाह हुन नसकेको जानकारी दिए । ‘राष्ट्र बैंकले उदार ढङ्गले मौद्रिक नीति ल्याउनुपर्छ, घरजग्गा कारोबारमा कर्जा आम्दानी अनुपातलाई न्युनतम ८० प्रतिशत पुर्याउनुपर्छ, घर जग्गा कर्जाको हकमा पनि लोन टु भ्यालु रेसियो ८० प्रतिशत नै पुर्याउनुपर्छ’, उनले भने, ‘कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशतमा ल्याउनुपर्छ भन्ने राष्ट्र बैंकलाई हाम्रो सुझाव हो, बैंकहरुमा ६ खर्ब बढी रकम पैसा थुप्रिएर बसेको छ कर्जा प्रवाह हुन सकेको छैन ।’ उनले लचिलो कर्जा प्रवाहमा कठोर नीति लिँदा चालु आर्थिक वर्षमा १३ प्रतिशत कर्जा प्रवाहको अपेक्षा गरे पनि अहिलेसम्म ५० प्रतिशत पनि हुन नसकेको जानकारी दिए ।
ओली ५ बजे प्रधानमन्त्रीमा नियुक्त हुँदै, अर्थमा विष्णु र गृहमा रमेशकाे सम्भावना
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमामा ओलीले दाबी गरेपछि उनी आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन् । नेपाली कांग्रेसको समर्थनमा उनी प्रधानमन्त्री बन्न लागेका हुन् । राष्ट्रपति पौडेलले साँझ ५ बजे उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार पेस गरेका थिए । तोकिएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाइने राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम २०७९ पुस १० गते नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । ओलीको क्याबिनेटको अर्थमन्त्री को बन्छ भन्ने विषयले पनि प्राथमिकता पाएको छ । अहिले धेरेले अर्थमन्त्री विष्णु पौडेल बन्ने चर्चा छ । एमालेबाट अन्य को-को मन्त्री बन्छन् भन्ने विषय खुल्न सकेको छैन ।तर, काँग्रेसले भने केही मन्त्रीको टुङ्गो लगाइसकेको बुझिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने तयारी गरेका छन् । काँग्रेसले गृहमन्त्रीमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई पठाउने चर्चा छ । देउवा-पत्नी आरजु राणा देउवालाई परराष्ट्रको जिम्मेवारी दिने सम्भावना रहेको पनि बुझिएको छ ।
ट्रम्पमाथि गोली प्रहारपछि बाइडेन : यस्तो हिंसाको लागि कुनै ठाउँ छैन
काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ नरहेको बताएका छन् । बाइडेनले संक्षिप्त टिप्पणीमा यस्तो कार्य घृणित काम भएको बताए । यस्तथा गतिविधिले देशलाई एकजुट बनाउनबाट रोक्ने बताए । ट्रम्पलाई पेन्सिलभेनियाको बटलरमा भएको र्यालीमा कानमा गोली लागेको बताइएको छ । भिडियो फुटेजमा ट्रम्पले भाषण गरिरहँदा र्यालीमा पपिङको आवाज आएको सुनिएको थियो । भीडमा चिच्याएको सुन्न सकिन्थ्यो । ट्रम्पलाई गुप्त सेवा एजेन्टहरूले तुरुन्तै स्टेजबाट बाहिर निकालेका थिए । एकजना र्याली सहभागी र संदिग्ध बन्दुकधारीको मृत्यु भएको घटनालाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।
काजुको व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै मोरङका किसान
काठमाडौं । मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरुको संख्या बढ्दो छ । काजुदेखि ड्रागन, अंगुर काजु, एभोकाडो, किभीको खेती फस्टाइरहेको छ । खेतीका लागि कृषकको आकर्षण पनि बढ्दो र बजारको माग पनि उच्च छ । आजभोली मोरङको पथरी शनिश्चरे ३ का भुवनेश्वर पोख्रेलको दिनचर्या फेरिएको छ । पूर्वशिक्षक पोख्रेल बिहान बेलुका आफ्नो बारीमा काजुको बिरुवा स्याहार गरिरहेका हुन्छन् । उमेरले ७५ वर्षे पुगे पनि उनको जोश भने युवाको झैँ छ । करिव ३ वर्षअघि तीर्थयात्राका लागि भारतको चारधाम जादा ऋषीकेशबाट ल्याएको काजुको बिरुवाले पोख्रेललाई व्यवसायिक बनाएको छ । तीन वर्षपछि नै तिनै बिरुवाले उत्पादन दिन थाल्यो । अहिले करिव ३ कठ्ठा जग्गामा पोख्रेलले काजुका बिरुवा लगाएको छ । पोख्रेलको बारीमा अहिले काजुदेखि ड्रागन, अंगुर सम्मका बिरुवा छन् । पोख्रेलले रोपेको काजुले उत्पादन दिन थालिसकेको छ । काजु फल्न थालेपछि खुशी हुनुभएका पोख्रेलले काजुका बिरुवा समेत उत्पादन गर्न थालिसकेको बताए । पहिलो वर्ष ५ केजी उत्पादन भएको काजुलाई पुनः रोपेर पोख्रेलले विरुवा उत्पादन गरे । तिनै बिरुवावाट अहिले उत्पादन शुरु हुन थालेको छ । नेपालमा पनि काजुको व्यावसायीक खेती सम्भव हुन्छ भन्ने उदाहरण बनेको छ । छोटो समयमा राम्रो आम्दानी हुने भएकाले व्यावसायीक रुपमा काजुको खेती गराउन बिरुवा उत्पादन गरी विक्रीवितरण थालेको उनको भनाइ रहेको छ । सामुन्द्रिक सतहवाट १ हजार ६ सय मिटर सम्मको उचाइमा हुने काजुको खेती गर्न सकिन्छ । काजुको विरुवा १० फुट भन्दा अग्लो हुन्छ । हाल बार्षिक ५ सय भन्दा बढी बिरुवा उत्पादन गर्दै आएका पोख्रेलले स्थानिय क्षेत्रमा ७५ रुपयाँको दरले बिक्री वितरण गर्दै आएका छन् । नर्सरीवाटै झापा, मोरङ्ग र सुनसरी सम्म बिरुवा बिक्री भएपछि पोख्रेलको मुहारमा खुशी छाएको छ । बिरुवाको माग पहाडी जिल्ला तेह्रथुमसम्म हुन थालेको छ । बिरुवा उत्पादन थालेको पहिलो वर्ष नै उर्लाबारी नगरपालिका कृषि शाखाले १ सय ५० जति बिरुवा किसानलाई बाँडेर फल उत्पादन हुन थालेको छ । उब्जनी नदिने रुख्खो जमिनमा अन्य काठका बिरुवाको स्थानमा काजुको विरुवा लगाए मनग्य आम्दानी हुने देखिन्छ । वर पिपलको जस्तै ठूलो झाङ्गिने भएकाले ५० केजिसम्म फल्ने पोख्रेलले आशा लिएको छ । पोख्रेलको नर्सरीमा एउटा बोटबाट वार्षिक १५ देखि २० केजीसम्म काजु फल्न थालेको छ । ‘व्यावसायीक रुपमा काजुको खेती गर्ने हो भने जागिर खानु र विदेश जानु नपर्ने पोख्रेल बताउँछन् । पथरी शनिश्चरे नगरमा नयाँ नयाँ कृषि खेति शुरु भएको कृषि शाखा प्रमुख सविना राई बताउनु हुन्छ । नगरमा काजु, अंगुर र ड्रागन खेती शुरु भएको र यसबाट कृषकले राम्रो आम्दानी भएको राईको भनाई छ । नगरले कृषकलाई प्रोसाहान गर्न एक वडा एक उत्पादन कार्यक्रमसँगै कृषकको मागमा आधारीत कार्यक्रम ल्याएको राईले बताए । नेपालमा भारत र भियतनामबाट काजु आयात हुने गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा पाँच करोड ८२ लाख ३२ हजार रुपैयाँ बराबरको काजु नेपाल भित्रिएको थियो । बजारमा पाइने भारतीय काजु भन्दा नेपालमा आफैँले उत्पादन गरेको ठूलो रकम बाहिरीनबाट रोकिन्छ । भारतमा मात्रै व्यावसायिक रुपमा उत्पादन हुदै आएको काजुका बारेमा नेपालमा अध्यायन भए आम्दानी र रोजगारी बढ्ने देखिन्छ । काजु स्वास्थ्यवद्र्धक, पोषिलो र तागतिलो हुने भएकाले यसको बजारमा राम्रो माग रहेको छ । काजु प्रतिकेजी १ हजार ६ सय देखि २ हजारसम्म बिक्री हुने गरेको छ । यसको बाहिरी फल पनि वाइन बनाउन केजिको ११ सयका दरले बिक्री हुने गरेको छ ।
स्वर्णिमले पटक-पटक फोन गरेर कुट्ने धम्की दिए : मुकुल ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका हुन् । ढकालले वाग्लेको सचिवालयबाट पटक-पटक फोन गरिएको र आफूसँग बस्ने भाइलाई फोन गरेर कुट्ने धम्की दिएको आरोप लगाएका हुन् । स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइनँ । मसँगै बस्ने भाइलाई फोन गरेर मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ लगायत अनेक भनेकाले, हिजै राति इलाकाको डिएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु,’ उनले लेखेका छन् ।
मौद्रिक नीतिले पुँजीबजार लक्षित नियन्त्रणमुखी व्यवस्था खारेज गर्ने लगानीकर्ताको अपेक्षा
काठमाडौं । अर्थतन्त्रको ऐना मानिएको पुँजीबजार पछिल्लो चार वर्षदेखि माथि उठ्न सकेको छैन । पुँजीबजार नै अर्थतन्त्रको ऐना भएकाले देशको सबै क्षेत्रलाई यसले प्रभावित पार्दछ । पुँजीबजारलाई स्वतन्त्र र आफ्नै गतिमा चल्न दिनुपर्ने मानिए पनि नियमनकारी निकायहरुले नियन्त्रणमुखी नीति लिँदा पुँजीबजार शिथिल छ । नेपाल राष्ट्र बैंकले २०७८ साल भदौ ८ गते ल्याएको मौद्रिक नीतिमार्फत नेपाली पुँजीबजारलाई नियन्त्रण गर्ने र बैंकिङ सेयर कर्जामा क्याप लगाउने जस्ता व्यवस्थाले प्रभावित भएको पुँजीबजार अहिलेसम्म माथि उठ्न सकेको छैन । सरकारले लिएको पुँजीबजार सम्बन्धि नीतिले पारेका नकारात्मक असरको भुमरीबाट अझै पनि बजार बाहिर निस्कन सकेको छैन । सरकारले पनि चार वर्षमा पुँजीबजारलाई चलायमान बनाउने किसिमको नीति ल्याउन सकेको छैन । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मौद्रिक नीतिको समिक्षामार्फत ४/१२ करोडको सीमालाई परिमार्जन गरी व्यक्तिगत १५ र संस्थागत २० पुर्याए पनि लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । त्यस्तै मौद्रिक नीतिको समिक्षामार्फत सेयर कर्जाको जोखिम भारलाई पनि १५० बाट १२५ मा झारेको छ । तर पनि पुँजी बजारले लय समात्न सकेको छैन । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि पुँजीबजारलाई चलायमान बनाउनु अहिलेको अवश्यकता हो । सेयरबजार सूचक नेपाल स्टक एक्सचेन्ज बुल एन्ड बियर हुनु पुँजीबजारको सुन्दर पक्ष भएकाले नियमनकारी निकायहरुले नियन्त्रण गर्न नहुने जानकारहरु बताउँछन् । २०७८ भदौ २ गते ३ हजार १ सय ९८ अंकमा पुगेको नेप्से भदौ ३ मा कारोबार भइरहँदा ३२ सय अंक पार गरेर बजार ओरालो लाग्न थालेको थियो । चार वर्षअघि ३२ सय अंक पार गरेर ओरालो लागेको नेप्से राज्यको प्राथमिकतामा नपर्दा आजसम्म पनि लयमा आउन सकेको छैन । ३२ सय अंकमा पुग्दा पुँजीबजारमा सूचिकृत धितोपत्रको कुल मूल्य ९पुँजीकरण० ४४ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा हाल पछिल्लो चार वर्षमा घटेर ३४ खर्ब ९६ अर्ब ९० करोडमा झरेको छ । पछिल्लो यो अवधिमा लगानीकर्ताले १० खर्ब रकम गुमाएका छन् । नेप्से उच्चतम अंकमा पुगेर कारोबार भएको बेला दैनिक १८–२० अर्बको कारोबार हुने पुँजीबजार एकदेखि दुई–पाँच अर्बमा खुम्चिन पुगेको छ । पुँजीबजार वृद्धि हुनुको सट्टा राज्यको पुँजीबजारलाई नियन्त्रण गर्नेगरी लिएको नियन्त्रणमुखी नीतिले चार वर्ष १८ सयको अंकमा कारोबार सिमित हुन पुगेको छ । त्यति मात्रै नभएर पुँजीबजार सेन्टिमेण्टमा चल्ने बजार भएकाले राजनीतिक तथा नियमनकारी निकायमा बस्ने व्यक्तिहरुबाट पुँजीबजारप्रति दिएका अभिव्यक्तिको कारणले पनि पुँजीबजार सकारात्मक रुपमा माथि जान सकेन । लगानीकर्ताको विश्वास विस्तारै गुम्दै गयो । लगानीकर्ताहरु बजारबाट बाहिरिदा पुँजीबजारले लय लिन सकेन । अहिले पनि वास्ताविक लगानीकर्ताले सेयर बजारमा लगानी गर्न नसकेकाले पुँजीबजारमा ठूला र वास्तविक लगानीकर्तालाई भित्र्याउनु पर्ने विज्ञहरुले बताएका छन् । राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिमा विगतमा गरेका गल्ती सच्याउँदै पुँजीबजारमाथि नियन्त्रणमुखी नीति खारेज गर्न आवश्यक रहेको विज्ञहरुले बताएका छन् । उनीहरुले राष्ट्र बैंकले वर्तमान मुलुकको स्थिति र आवश्यकतालाई लक्षित गरेर मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए । लगानीकर्ताहरुले बैंकमा थुप्रिएर बसेको ठूलो रकमलाई चलायमान बनाउन सेयर कर्जा वृद्धि गर्नेगरी मौद्रिक नीति आउन आवश्यक रहेको बताए । पुँजी बजारलाई फेरि नयाँ उचाईमा लैजाने मौद्रिक नीति आवश्यक नेपाली काँग्रेसका सांसद तथा उद्योगी विनोद चौधरी नेपाल राष्ट्र बैंकले पुँजीबजारलाई फेरि एक पटक नयाँ उचाईमा लैजान सक्ने मौद्रिक नीति ल्याउनुपर्ने बताउँछन् । पुँजीबजारमा देखिएको सुस्ततालाई चलायमान बनाउने मौद्रिक नीति ल्याउन आवश्यक रहेको उनको भनाइ छ । सांसद चौधरीले पुँजीबजारमा सुधार हुने आशा र विश्वास लगानीकर्तामा गुम्दै गएको दाबी गरे । उनले पुँजीबजार ३२ सयबाट २० हजारमा आउँदा कुनै ८ देखि १० वटा बिजनेस हाउसले मात्रै पुँजी नगुमाएको बताए । सांसद चौधरीले अर्थमन्त्रालय र राष्ट्र बैंकबीचको जिम्मेवारी नभएसम्म अहिलेको अवस्था कायम रहने बताए । उनले सांसदमा बजेट भाषण गर्दा पूर्वअर्थमन्त्रीले मौद्रिक नीतिले सम्बोधन गर्नेबारे स्पष्ट बोलेको भन्दै अर्थ मन्त्रालय र राष्ट्र बैंक बीचमा समन्वय र मजबुत तालमेल गर्न नसके दुर्घटना हुने निश्चित रहेको बताए । उनले पुँजीबजार सुधार गरी समग्र अर्थतन्त्र सुधार गर्ने ठिक समय आएको बताए । त्यस्तै पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले आउने मौद्रिक नीतिमा राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा राखिएको अधिकतम १५/२० करोडको सीमालाई खारेज गर्नुपर्ने बताइन् । उनले धितोपत्रमा दिइने ५० लाखभन्दा माथिका मार्जिन कर्जामा रहेको हाल १२५ प्रतिशतको जोखिम भारलाई १०० प्रतिशतमा ल्याउनुपर्ने उल्लेख गरिन् । अध्यक्ष पोखरेलले पुँजीबजारका लागि मार्जिन प्रकृतिको कर्जा दिने उद्देश्यका लागि गणना गरिने औसत मूल्य ६ महिनाको सट्टा ३ महिनाको औसत मूल्यमा गणना गर्ने नीति ल्याउन आवश्यक रहेको धारणा राखिन् । पोखरेलले बैंक तथा वित्तीय संस्थाले पुँजी बजारमा लगानी गर्न पाउने बाटो खुला गरिनुपर्ने माग पनि गरेकी छन् । लगानीकर्ताले धितोपत्र दलालमार्फत नै मार्जिन कर्जा सुविधा प्राप्त गर्न सम्पूर्ण कर्जाप्रदायक बैंक तथा वित्तीय संस्थाले धितोपत्र दलालमार्फत नै कर्जा प्रदान गर्ने व्यवस्था आगामी मौद्रिक नीतिमा गर्नुपर्ने उनको बुझाइ छ । उनले भनिन्, ‘ब्रोकर र लगानीकर्ताको सम्बन्ध नङ मासुको जस्तै हुन्छ । सबै लगानीकर्ताको पहुँच बैंकमा हुँदैन । साना लगानीकर्ताहरुलाई ब्रोकरबाटै सहज रुपमा मार्जिन लेन्डिङको पनि व्यवस्था गर्नुपर्छ । बैंकमा तरलता सहज छ तर लगानीकर्ताहरुले कर्जा लिनसकेका छैनन् । त्यो सरकारको स्थिर नीति बनाउँदै बैंकको ब्याजदर एकल अंकमा ल्याउनुपर्छ ।’ अध्यक्ष पोखरेलले राष्ट्र बैंकले १५र२० करोडको सीमालाई खारेज, जोखिम भारलाई १०० प्रतिशत कायम गर्नसके मात्रै पनि पुँजीबजार लगानीकर्ता उत्साहित हुने बताइन् । उनले पुँजीबजारबाट ठूला लगानीकर्तालाई बाहिर राखेर साना लगानीकर्ताबाट पुँजीबजार माथि उकास्ने सरकारको नीति फेल भएको जिकिर गर्दै पूर्वअर्थमन्त्री वर्षमान पुनबाट ठूलो अपेक्षा गरे पनि बजेटले पुँजीबजारलाई नछोएको बताइन् । उनले मौद्रिक नीतिमा राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउने अपेक्षा लगानीकर्ताहरुको रहेको उल्लेख गरिन् । अध्यक्ष पोखरेलले भनिन्, ‘अहिले सत्ता समिकरणसँगै लगानीकर्ताहरु कुहिरोभित्रको काग जस्तै दोधारमा परेका छन् । चार वर्षदेखि प्यानिक भएका लगानीकर्ताहरुलाई आगामी मौद्रिक नीतिमार्फत नीतिगत सहजता हुने लगानीकर्ताहरुको अपेक्षा छ । राष्ट्र बैंकले नियमन गर्ने बाहनामा पुँजीबजारलाई नियन्त्रण गरिरहेको छ । अबको मौद्रिक नीतिमार्फत नीति सहजता हुने आशा हो ।’ अध्यक्ष पोखरेल ३२ सयमा पुगेको पुँजीबजार चार वर्ष देखि १८ सयको बिन्दुमा घुमिरहनु मुलुकको अर्थतन्त्रको लागि राम्रो संकेत नभएको बताउँछिन् । उनले पुँजीबजारको विकास र बिस्तारको लागि राज्यले लिने नीति स्थिर हुन आवश्यक रहेको बताइन् । पोखरेलले राज्यको प्राथमिकतामा पुँजीबजार नपर्दा पनि पुँजीबजारले गति लिन सकेको जिकिर गरिन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले २०७८ साल भदौ ८ गते राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति प्रहारबाट अहिलेसम्म माथि उठ्न नसकेको दाबी गरे । उनले मौद्रिक नीतिको प्रहारबाट पुँजीबजार अहिलेसम्म १८ सयको सेरोफेरोमा रहेको बताए । अध्यक्ष ढकालले विगतमा राष्ट्र बैंकले लिएका सबै नीतिहरु आगामी मौद्रिक नीतिमा सच्याउनुपर्ने बताए । उनले पुँजीबजारमा कर्जा प्रवाहमा लगाइएको १५/२० को सीमा पनि खारेज गर्नुपर्ने बताए । उनले भने, ‘अहिले व्यक्तिलाई १५ र संस्थालाई २० करोडसम्मको कर्जा सीमा लगायो । राष्ट्र बैंकले पुँजी बजारमा लगाएको सीमा पूर्णरुपले हटाउनुपर्छ । राष्ट्र बैंकले बैंकहरुलाई कोर क्यापिटलको ४० प्रतिशत लगानी गर्न दिने भनेपछि बैंकहरुले त्यही अनुसार गर्नुहुन्छ । पुँजीबजार जहिले पनि सुरक्षित हो ।’ उनले पुँजीबजारको जोखिम भार १५० बाट अहिले १२५ मा कायम रहेको भन्दै त्यसलाई सय प्रतिशतमा ल्याउनुपर्ने बताए । उनले बैंकिङ र लघुवित्त सुधारको लागि र उद्योगी व्यवसायीहरुको मनोवल उच्च बनाउने गरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए । उनले राष्ट्र बैंकले कर्जा सीमा पुरानै कायम गर्ने र जोखिम भार सय प्रतिशतमा ल्याए मात्रै पनि पुँजीबजार चलायमान हुने विश्वास व्यक्त गरे । नयाँ सत्तासमीकरण र गभर्नर प्रति आशावादी लगानीकर्ता नयाँ सत्तासमिकरण बनेसँगै पुँजीबजार लगानीकर्ता पनि आशावादी देखिएका छन् । उनीहरुले २०७९ सालको निर्वाचनपछि बनेको सरकारबाट पुँजीबजार सुधारको अपेक्षा गरेका थिए । तर नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार रहँदा पुँजीबजार सुध्रिन सकेन । दाहाल सरकारमा छँदा १८ महिनामा पुँजीबजारमा २८०।५४ अंकले बढेको छ । अहिले नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भएसँगै नेपाली पुँजीबजार उकालो लागेको छ । लगानीकर्तामा पुँजीबजार सुध्रिने आश पलाएको छ । नयाँ सरकार गठन गर्ने सहमति भएर नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुने चर्चासँगै सेयर बजारमा उत्तारचढाव देखिएको छ । त्यसपछि पुँजीबजारमा निरन्तर रुपमा बढ्दै गएको छ । नेपाली काँग्रेसका सांसद चौधरीले नयाँ सरकार आएसँगै पुँजीबजारमा सुधार गरी अर्थतन्त्रमा समेत सुधार हुने अपेक्षा रहेको बताए । उनले काँग्रेस र एमाले बीचको सहकार्यमा स्थिर सरकार बनेर देशले विज्ञ र राम्रो अर्थमन्त्री पाउने आशा बढेको बताए । उनले भने,‘अहिले समय ठिक ठाउँमा छ । नयाँ सरकार बद्लिएको अवस्था छ । नयाँ मौद्रिक नीति आइरहेको छ । मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने,माग वृद्धि गर्ने र जनताको हातमा पैसा पुग्ने हुनु आवश्यक छ । अर्थतन्त्रलाई सबल बनाउने, लगानी आकर्षण गर्ने, साना तथा मझौला उद्यमीलाई सम्बोधन गर्ने गर्नुपर्छ ।’ सांसद चौधरीले मौद्रिक नीतिमार्फत पुँजीबजार सुधारको लगानीकर्तामा गभर्नर माथि ठूलो आशा राखेको बताए । लगानीकर्ता संघकी अध्यक्ष पोखरेलले पनि नयाँ सत्ता समिकरणसँगै बनेको सरकारले पुँजीबजारको सुधारमा काम गर्ने आशा व्यक्त गरिन् । उनले देशका दुई ठूला राजनीतिक दलहरुबीच सत्ता समिकरण भएर सरकार बनाउँदा स्थिर सरकार बन्ने र स्थिर नीति आउने आश रहेको बताइन् । अध्यक्ष पोखरेलले राष्ट्र बैंकका गभर्नर पनि पछिल्लो समय पुँजीबजारप्रति लचिलो भएकाले पुँजीबजार नियन्त्रणमुखी नीतिहरु खारेज हुने आश रहेको बताए । इन्भेष्टर्स फोरमका अध्यक्ष ढकालले पनि नयाँ सत्ता समीकरणसँगै पुँजीबजारमा सुधार हुने अपेक्षा गरे । उनले अस्थिर रहेको सरकारलाई स्थिरता दिनेगरी भएको दुई ठूला राजनीतिक दलको समीकरण लगानीकर्तामा उत्साह देखिएको बताए । ढकालले राजनीतिक अनिश्चितताका कारण पुँजीबजारले गुमाएको आत्मविश्वास लयमा आउने विश्वास रहेको उल्लेख गरे । नयाँ समीकरणले उद्योगी व्यवसायी, लगानीकर्ता र समग्र निजी क्षेत्रलाईमा उत्साहित भएको उनको भनाई छ ।
दुर्घटनामा परी गम्भीर घाइते चन्द्रबिरको उपचारमा सहयोगको अपिल !
काठमाडौं । ट्रयाक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछाप नगरपालिका ९ का चन्द्रबिर शाहीका परिवारले चन्द्रबिरको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । चन्द्रबिर शाहीको उपचारको लागि आर्थिक अभाव भएकाले सहयोगका लागि परिवारले अपिल गरेको हो । काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत चन्द्रबिरको थप उपचारको लागि आर्थिक सहयोग आवश्यक परेको उनका दाजु कुसुम शाहीले बताए । चन्द्रबिरको उपचारमा लाखौं रकम लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सक्दो सहयोग गरिदिन दाजु कुसुम शाहीले आग्रह गरे । चन्द्रबिर वि.सं २०८० फागुन १ गते ट्रयाक्टर दुर्घटनामा घाइते भएका हुन् । ट्रयाक्टरको दुर्घटना बीमा नगरेको र ट्रयाक्टर साहुको पनि दुर्घटनामा परी मृत्यु भएकाले ट्रयाक्टर साहुबाट राहत माग्ने आधार नरहेको कुसुम शाहीले बताए । ‘ट्रयाक्टरको बीमा नभएको र साहुको पनि दुर्घटना घटनास्थलमै मृत्यु हुन पुग्यो, परिवारमा ५ जना छोरी र श्रीमती मात्र रहेकोले ट्याक्टर साहुको तर्फबाट घाइतेलाई थप उपचारमा सहयोग गर्न नसक्ने अवस्था छैन,’ उनले भने । चन्द्रबिरकोको उपचारको सहयोगका लागि कुसुम शाहीको नाममा लक्ष्मी सनराइज बैंकमा रहेको बैंक खाता नम्बर ०७१२०००६९१४ मा आर्थिक सहयोग गर्न सकिनेछ । मोबाइल नम्बर ९८६९१३५१२९ मा सम्पर्क गर्न सकिने र सोही मोबाइल नम्बरमा रहेको ईसेवा आईडीमा पनि रकम पठाउन सकिनेछ ।