अहिलेको मुख्य समस्या युवाशक्ति विदेश पलायन हुनु हो : अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले नेपालको अहिलेको मुख्य समस्या बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन रहेको बताएका छन् । सोमबार काठमाडौंमा ठमेल पर्यटन विकास परिषद्को २८ औं र २९ औं साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दक्ष र कामकाजी शक्ति बाहिरिँदा दिनप्रतिदिन परनिर्भर बन्दै जाने अवस्था सिर्जना भएको बताए । परनिर्भरबाट जोगाएर आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नु उत्तम उपाय भएको बताए । युवाहरुलाई विदेश जान रोक्न नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याइ पर्यटन उद्योगको विकास गरी रोजगारीका अवसर सिर्जना गर्न आवश्यक रहेको अध्यक्ष दाहालले जानकारी दिए । उनले ठमेल पर्यटन क्षेत्रका रुपमा एक अद्वितीय स्थान भएको बताउँदै सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक प्रतिष्ठा प्राप्त स्थानका रुपमा संरक्षण गर्न आग्रह गरे । ठमेल नेपालको सौन्दर्य विविधता र ऐतिहासिक समृद्धिको प्रतिक भएको बताए । यस्तै, अध्यक्ष दाहालले धेरै सम्भावनाका बाबजुत पनि नेपालमा हुनुपर्ने जति पर्यटन विकास हुन नसकेको बताए । विदेशमा राम्रोसँग बजारीकरण गर्नसक्ने र नेपालमा पर्यटकीय गन्तव्यको पूर्वाधारको विकास गर्नसके नेपालमा सहजै वर्षेनी लाखौँ पर्यटन भित्र्याउन सकिने बताए । खरिद ऐन देशको विकास, समृद्धि र आवश्यकताको निम्ति कतै न कतै बाधा बनेको भन्दै संशोधन हुने प्रक्रियामा गएको जानकारी दिए । ‘नेपालको अहिलेको मुख्य समस्या भनेको बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु हो । दक्ष र कामकाजी शक्ति बाहिरिँदा हामी दिनप्रतिदिन परनिर्भर बन्दै जाने अवस्था सिर्जना हुन थालेको छ, त्यसैले अब हाम्रो ध्यान युवाहरुलाई विदेश जान रोक्न नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याइ पर्यटन उद्योगको विकास गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्छ’, उनले भने । उनले पर्यटकीय केन्द्र ठमेललाई विश्वस्तरमा थप परिचित गराउन सफा, सुरक्षित र व्यवसायिकमैत्री बनाउने गरी कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । ठमेलमा पर्यटकको वृद्धि गर्न र समृद्ध, सफा र सुरक्षित ठमेल बनउन सबैको साझा पहल जरुरी रहेको जानकारी दिए ।
नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा ९एमाले० को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन भएको हो । राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि समय दिएका थिए ।
मनकामना केबुलकार ५० दिन बन्द हुने
मुग्लिन । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ । यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन् । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुराँ सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
कामना सेवाले कन्चन हरैया लायन्स आँखा हस्पिटललाई दियो वाटर डिस्पेन्सर
काठमाडौं । कामना सेवा विकास बैंकले कन्चन हरैया लायन्स आँखा हस्पिटल लाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मिले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन् । कन्चन हरैया लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्य र प्रमुख अतिथि कन्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले वाटर डिस्पेन्सर अति आधारभूत आवश्यकता रहेको साथै हस्पिटल आउने आम बिरामी ले प्रत्यक्ष सेवा लिन पाउने भएकोले कार्यक्रमको धन्यवाद ज्ञापन गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा अस्पतालका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
साउन १ गते सार्वजनिक बिदा
काठमाडौं । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।
वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कृषि विकास बैंक र एभरेष्ट बैंकले बढाए
काठमाडौं । बैंकिङ्ग प्रणालीमा निक्षेप थुप्रिएपछि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरूले साउनमा पनि कायम राख्दै सामान्य बिन्दुले मुद्दती निक्षेपतर्फ ब्याजदर घटाएका हुन् । यसअघि पनि ब्याजदर धेरै घटिसकेकाले साउनमा बैंकहरूले न्यून बिन्दुमा घटाएका हुन् । बैंकहरूसँग प्रयाप्त निक्षेप रहेको र उक्त रकम राष्ट्र बैंकमा राख्नु परेको बैंकरहरूको भनाइ छ । बजारमा ४ सय अर्ब रुपैयाँ बैंकहरूसँग सर्पलस रहेको र कर्जाको माग नभएपछि ३ प्रतिशतमा राष्ट्र बैंकको स्ट्याण्डर्ड डिपोजिट फेसिलेटिजमा राख्नु परेको बैंकरहरू बताउँछन् । साउनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ०.१३ प्रतिशत घटेर व्यक्तिगततर्फ ६.६७ प्रतिशत र संस्थागततर्फ ०.१८८ प्रतिशत घटेर ५.४३ प्रतिशत कायम भएको छ । तर, यस अवधिमा कृषि विकास बैंक र एभरेष्ट बैंकले भने ब्याजदर बढाएका छन् । कृषि विकासले ०.६३२४ प्रतिशत र एभरेष्टले ०.५५ प्रतिशत ब्याजदर बढाएका हुन् । नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नबिल बैंकले असारको ब्याजदरलाई साउनमा पनि यथावत राखेका छन् । स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ, कृषि विकासले संस्थागततर्फको ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंकले व्यक्तिगततर्फको ब्याजदर बढाएर ६.२९९५ प्रतिशत र संस्थागततर्फ ४.५१ प्रतिशत प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत ब्याज तोकेको थियो । ग्लोबल आइएमई बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र ब्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज तोकेको थियो । प्रभु बैंकले संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछन् । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.५ प्रतिशत र ब्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याज तोकेको थियो । सानिमा बैंकले संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.८० प्रतिशत र ब्यक्तिगततर्फ ६.८० प्रतिशत ब्याज तोकेको थियो । नेपाल बैंकले संस्थागततर्फ ४.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र ब्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज तोकेको थियो । सिटिजन्स बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.९० प्रतिशत र ब्यक्तिगततर्फ ६.९० प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.९० प्रतिशत प्रदान गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकले संस्थागततर्फ ५ प्रतिशत र व्यक्तिगततर्फ ६.२१ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.२० प्रतिशत र ब्यक्तिगततर्फ ६.२२ प्रतिशत ब्याज तोकेको थियो । एभरेष्ट बैंकले संस्थागततर्फ ५.३० प्रतिशत र व्यक्तिगततर्फ ६.३० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याज तोकेको थियो । नेपाल एसबीआई बैंकले असारको ब्याजदरलाई यथावत राखेको छ । बैंकले साउनमा संस्थागततर्फ ५.३० प्रतिशत र व्यक्तिगततर्फ ६.३० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । लक्ष्मी सनराइज बैंकले असारको ब्याजदरलाई यथावत राखेको छ । बैंकले साउनमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको छ । माछापुच्छ्रे बैंकले संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याज तोकेको थियो । एनएमबी बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.६६ प्रतिशत र व्यक्तिगततर्फ ७.६९ प्रतिशत ब्याज तोकेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ५ प्रतिशत ब्याज तोकेको थियो । हिमालयन बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ८.२५ प्रतिशत ब्याज तोकेको थियो । कुमारी बैंकले संस्थागततर्फ ५.५६ प्रतिशत र व्यक्तिगततर्फ ६.२१ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.६१ प्रतिशत र व्यक्तिगततर्फ ६.७६ प्रतिशत ब्याज तोकेको थियो । प्राइम बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.७५ प्रतिशत र व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याज तोकेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याज प्रदान गर्नेछ । सिद्धार्थ बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज तोकेको थियो । एनआईसी एशिया बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.६९ प्रतिशत र व्यक्तिगततर्फ ७.६९ प्रतिशत ब्याज तोकेको थियो ।
ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर
काठमाडौं । ग्लोबल आइएमई बैंकले ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र ब्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज तोकेको थियो । साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचतका सबै खातामा ३.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ४.०५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले ७.९५ प्रतिशतमा कर्जा दिने, निक्षेपकर्ताले पाउने ब्याज पनि घट्यो
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ७.९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले २ वर्षसम्म अवधिको लागि जलविद्युत परियोजना कर्जामा ७.९५ प्रतिशत स्थिर ब्याजदरमा ऋण दिने भएको हो । बैंकका अनुसार अन्य प्रकारका कर्जामा स्थिर ब्याजदर ११.५० प्रतिशतसम्म रहेको छ । तर, जलविद्युत कर्जामा भने बैंकले सस्तो ब्याजमा ऋण दिन लागेको हो । पछिल्लो तीन महिनाको औसत आधार दर ७.२१ प्रतिशत रहेको छ भने जेठ महिनाको ब्याजदर अन्तर ३.९७ प्रतिशत रहेको बैंकले जनाएको छ । यसअघि तीन महिनाको औसत आधार दर ७.३५ प्रतिशत र ब्याजदर अन्तर ३.९६ प्रतिशत थियो । जसकार अन्य प्रकारका कर्जामा पनि ब्याजदर घटेको छ । यस्तै बैंकले निक्षेपकर्तालाई दिने ब्याजदर पनि घटाएको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५ प्रतिशत र व्यक्तिगततर्फ ६.२१ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ७.२१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.२० प्रतिशत र ब्यक्तिगततर्फ ६.२२ प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.२२ प्रतिशत प्रदान गरेको थियो । साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचतका सबै खातामा ३.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.६५ प्रतिशतदेखि अधिकतम ४.६५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।