विकासन्युज

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ मूल्यले रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढेको हो । महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ४६ हजार नौ सय रुपैयाँ मूल्य निर्धारण भएको छ । यस्तै, आइतबार प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि एक लाख ४६ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ ।

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिसँगै अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

सिन्धुपाल्चोक । याङ्ग्री तथा इन्द्रावती नदीमा गत राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ । ७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पुर्‍याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ । यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामीसमेत मारमा परेका उनले बताए । त्यस्तै चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताए । याङ्ग्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ । मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिबृज’ पनि जोखिममा परेको छ । त्यस्तै मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल समेत बाढीको जोखिममा बताइएको छ । यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको ‘बेलिबृज’ बाढीले बगाएको छ ।

भारतको विदेशी मुद्रा भण्डार अहिलेसम्मकै उच्च

काठमाडौं । भारतको विदेशी मुद्रा भण्डार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । ६५७.१५५ बिलियन अमेरिकी डलरका साथ सबै समयको उच्च बिन्दुमँ पुगेको हो । देशको केन्द्रिय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) द्वारा जारी साप्ताहिक तथ्यांक अनुसार जुलाई ६ मा समाप्त हप्तामा यो बिन्दुमा पुगेको थियो । अघिल्लो हप्ताको तुलनामा समग्र विदेशी मुद्रा किट्टी लगभग ५.१६ बिलियन डलरले बढ्यो । विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठूलो अंश विदेशी मुद्रा सम्पती ५७७.११ अर्ब डलर रहेको छ । सुनको सञ्चिति ५७.४३२ अर्ब डलर र विशेष रेखांकन अधिकार १८.०३६ डलर रहेको आरबीआईको तथ्यांकले देखाएको छ । यो साता एफसीएले ४२ अर्ब २९ करोड डलर बृद्धि गरेको छ भने सुनको सञ्चिति ९० करोड ४० लाख डलरले बढेको छ ।

ओली क्याविनेट : अर्थमा विष्णु, कुन मन्त्रालयको जिम्मा कसलाई ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बन्ने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । सोमबार प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूले समेत पद तथा गोपनियताको शपथ लिने भएका छन् । ओली सरकारमा नेकपा एमालेबाट र विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् । यस्तै, पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्री, राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री र विद्या भट्टराई शिक्षा मन्त्री बन्ने भएका हुन् । मानवीर राई रक्षामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् । यस्तै, नेपाली कांग्रेसले पनि ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । कांग्रेसबाट १० जना मन्त्री बन्नेछन् । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो । नेता सिंह उपप्रधानसहित सहरी विकास, रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन र दीपक खड्का ऊर्जामन्त्री बन्ने छन् । काँग्रेसबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने भएका छन् । रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरी, प्रदीप पौडेल, ऐनबहादुर शाहीको नाम टुङ्गिएको छ । तर, कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिइने भन्ने विषय टुङ्गो लागेको छैन । तेजुलाल खेलकुद मन्त्री बन्ने भएका छन् । यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादव र नवल किशोर साह सुडीलाई मन्त्री बनाउने भएको छ । महासचिव इस्तियाक राईका अनुसार खानेपानी मन्त्रीमा यादवलाई पठाउने निर्णय भएको छ । नवल किशोर साहको भने कुन मन्त्रालय पाउने भनेर टुङ्गो लागेको छैन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट शरतसिंह भण्डारी मन्त्री बन्ने टुंगो लागेको छ । उनी श्रम तथा सामाजिक सुरक्षामन्त्री बन्ने छन् । प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरूले आज बिहान ११ बजे शितल निवासमा शपथग्रहणको कार्यक्रम छ ।

मङ्गल कलश इन्भेष्टमेन्टले बेच्याे ग्लोबल आइएमई बैंकको २१ लाख कित्ता सेयर

 काठमाडौं । ग्लोबल आइएमई बैंकका ६ ठूला सेयरधनीमध्ये एक रहेको मङ्गल कलश इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको करिब २१ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो । आइतबार बैंकको २० लाख ७५ हजार १०२ कित्ता संस्थापक सेयर प्रतिकित्ता १ सय रुपैयाँका दरले खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्जमा आइतबारको कारोबारमा ग्लोबल आइएमई बैंकको संस्थापक सेयर सर्वाधिक कारोबारको सूचीमा छ । नेप्सेका अनुसार बैंकको उक्त सेयर क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज प्रालि र सुमेरी सेक्युरिटिज प्रालिबाट खरिद बिक्री भएको छ । बैंकको संस्थापक सेयर दिनभरिमा ६ पटक खरिदबिक्री हुँदा २० करोड ७५ लाख १० हजार २ सय रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको तथ्याङ्क छ । नेप्सेमा कारोबार भएको उक्त संस्थापक सेयर मङ्गल कलश इन्भेष्टमेन्ट प्रालिले बेचेको स्रोतले बताएको छ । मङ्गल कलश साविक लुम्बिनी बैंकको सबैभन्दा ठूलो संस्थापक सेयरधनी थियाे। साविक बैंक अफ काठमाण्डू (बिओके)मा लुम्बिनी बैंक विलय भएपछि बिओकेमा मङ्गल कलश इन्भेष्टमेन्ट दोस्रो ठूलो सेयरधनी थियो । साविक बिओकेमा मङ्गल कलशको ३.०४ प्रतिशत अर्थात् ३२ लाख ३० हजार ४३७ कित्ता सेयर स्वामित्व थियो । तर, ग्लोबल आइएमई बैंकसँग बिओके मर्जभएपछि मङ्गल कलशको हैसियत छैटौं नम्बरमा झरेको छ । बैंकमा यस कम्पनीको १.२४ प्रतिशत अर्थात् ४४ लाख ३० हजार ५४ कित्ता सेयर स्वामित्व छ । मङ्गल कलश इन्भेष्टमेन्ट प्रालिका मालिक महेन्द्रकृष्ण श्रेष्ठ हुन् । उनी हिमालयन एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष हुन् । यस कम्पनीको दर्ता कार्यालय श्रेष्ठको निवास ललितपुर १० स्थित पुल्चोकमा रहेको छ । आइतबार ग्लोबल आइएमई बैंकको सेयर प्रतिकित्ता २ सय रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । तर, मङ्गल कलशले प्रतिकित्ता १ सय रुपैयाँमा सेयर बेचेको छ । साधारण सेयर मूल्यको आधाभन्दा कम मूल्यमा संस्थापक सेयर कारोबार भएकोमा कर छलीको आशंका समेत गरिएको छ । तर श्रेष्ठका दाजुभाईले अंशवण्डा गरेपछि उक्त सेयर कम्पनीको नामबाट व्यक्तिको नाममा नामसारी भएको मङ्गल कलश इन्भेष्टमेन्टको दावी छ ।

कृषिमा रमाएका निर्मल भन्छन् : ५ घन्टा मेहनत गर्ने हो भने राम्रो आम्दानी हुन्छ

मध्यविन्दु ।  पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी फेरिएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत ३ वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आएका छन् । नेपाली सेनाको जागिरे जीवनपश्चात् वैदेशिक रोजगारीको आकर्षक अवसर आए पनि यसलाई त्याग्दै उहाँ व्यावसायिक रूपमा केरा खेतीमा लाग्दै आएका छन् । ‘उमेरमै जागिरबाट पेन्सन निस्किए, राम्रो देशमा आकर्षक तलबसहित रोजगारीका लागि साथीहरू गइरहेका थिए तर मलाई यही माटोमा पसिना बगाउन मन थियो अहिले केरा खेती गरिरहेको छु’, उनले भने, ‘विदेशमा १० घन्टा बगाउने पसिना यहाँ ४/५ घन्टा मेहनत गर्ने हो भने कृषिबाट नै राम्रो मनग्य गर्न सकिने रहेछ ।’ दीर्घकालीन सोचसहित निर्मलले कावासोती नगरपालिका– १० रतौलमा १२ बिघा जमिन भाडामा लिएर व्यावसायिक केराखेती गरिरहेका छन् । छिटो आम्दानी गर्न सकिने, अनुकूल हावा पानी र वातावरण, सिँचाइ, बजारको सुविधासमेत रहने भएकाले कावासोतीमा व्यावसायिक केराखेतीतर्फ आफू आकर्षित भएको उनको भनाइ छ । ‘पहिलो वर्ष प्रतिगोटा रु ४० का दरले १७ हजार आठ सय ५० वटा बिरुवा ल्याएर केरा खेती सुरु गरेको हो’, निर्मलले भने, ‘तीन वर्ष अगाडि रोपेका बिरुवाले अहिले उत्पादन दिन थालेका छन् ।’ उनको व्यावसायिक केराखेतीबाट २ जनाले रोजगारीसमेत पाएका छन् । अहिले केराखेतीबाट मेहनतअनुसारको आम्दानी हुन थाले पछि निर्मललाई सन्तुष्टि दिलाएको छ । ‘अहिले बारीमै भैरहवा, बुटवल र आसपासका व्यापारीले प्रतिगोटा ७ रुपैयाँका दरले काँचो केरा खरिद गरेर लाने गरेका छन्’, उनले भने, ‘प्रतिफल राम्रै पाएकाले अझै विस्तार गर्ने योजनामा रहेको छु ।’ समयमा बीउ, मल नपाउनु, सिँचाइको अभाव, कामदार नपाउनुजस्ता समस्याले गर्दा केरा खेती गर्ने किसानले दुःख पाउने गरेको उनको अनुभव छ । पर्याप्त सिँचाइ नभएकाले थोपा सिँचाइबाट खेती गरेको उनले बताए । ‘सिँचाइ, हावाहुरी र कीरा केराखेतीको मुख्य समस्या रहेछन्, रोग लागेन र हावाहुरीले क्षति पुगेन भने यसबाट राम्रो आम्दानी लिन सकिने रहेछ’, उनले भने । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा करिब पाँच सय ५१ हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘कृषि ज्ञान केन्द्रमार्फत व्यावसायिक केराखेती गर्ने किसानलाई प्रोत्साहनस्वरूप ५० प्रतिशत अनुदान दिँदै आएका छौं’, उनले भने, ‘किसानको खेतबारीमा गएर अनुगमन गरी समस्याका बारेमा सुझाव दिने गर्ने गरेका छौँ ।’ पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिने क्रम बढ्दो छ । केही युवा स्वदेशमै स्वरोजगारसँगै आम्दानीको क्षेत्र पहिचान गर्न लागि परेका छन् । यसरी स्वदेशमै पसिना बगाउन चाहने युवालाई राज्यले उचित सहयोग गर्ने हो भने रोजगारीको समस्या नपर्ने किसानको भनाइ छ । रासस

इजिप्टले १.२ अर्ब अमेरिकी डलर लगानीको तेल र ग्यासको इनार खन्ने

काठमाडौं । इजिप्टले ग्यास र तेलका लागि ११० अन्वेषण इनारहरू ड्रिल गर्ने योजना बनाएको छ । जसमा कुल १.२ बिलियन अमेरिकी लगानी छ। चालू आर्थिक वर्ष २०२४/२०२५ मा डलर इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले मन्त्री करिम बदावीलाई बताए । नयाँ सरकारको कार्यक्रमको समीक्षा गर्ने संसदीय समितिसँगको बैठकमा बडावीले इजिप्टमा ७.२ अर्ब अमेरिकी डलरको कुल लगानीमा ग्यास र तेलका लागि ५८६ वटा अन्वेषक इनार हुने बताए । अन्वेषण गतिविधिका सम्बन्धमा मन्त्रीले तेल र ग्यासको अनुसन्धान र अन्वेषणको क्षेत्रमा हाल १४५ वटा प्रतिबद्धता सम्झौता भएको र ४० साझेदारसँग सम्पन्न भइसकेको बताए । उनले अन्वेषण गतिविधिमा चुनौतीहरू रहेको औंल्याए । विशेष गरी लगानीका अवसरहरू प्रदान गर्ने क्षेत्रीय प्रतिस्पर्धा र आर्थिक प्रोत्साहनका साथै अनुसन्धान र अन्वेषण गतिविधिहरूको ढिलो कार्यान्वयन हुने गरेको बताए । इजिप्टले हालैका वर्षहरूमा देशमा ठूला खोजहरू गरिसकेपछि तेल र तरल प्राकृतिक ग्यासको लागि क्षेत्रीय व्यापार केन्द्र बन्ने लक्ष्य राखेको छ । जसमा भूमध्यसागरको जोहर ग्यास क्षेत्र पनि समावेश छ । जसमा अनुमानित ३० ट्रिलियन घन फिट ग्यास छ ।