विकासन्युज

खेलकुद मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउँछु : खेलकुदमन्त्री चौधरी

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिवद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए । सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरु आएको बताए । केही अफ्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि बताए । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा जथाभावी लगानी गर्नेकुरा अब नहुने जानकारी दिए । उनले भने, ‘हामीले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । हामी सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्छ ।   हाम्रो अवधि केही अफ्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा हामीले जथाभावी लगानी गरेको महशुस गरेका छौँ ।’ मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताए ।

नेप्से परिसूचक १७ अंकले घट्दा साढे आठ अर्ब बढीको कारोबार

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार भने दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७.१८ अंकले घटेर दुई हजार दुई सय ४०.४१ को विन्दुमा कायम भएको हो । आज तीन सय ३२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर एक लाख दुई हजार तीन सय ७२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ । आज जलविद्युत् समूह ०.७३, लगानी १.७०, उत्पादन तथा प्रशोधन ०.१२ र म्युचुअल फण्ड १.६७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ १.४८, विकास बैंक एक दशमलव ८९, वित्त ०.५२, होटल तथा पर्यटन १.७६ र जीवन बीमा समूह १.६५ प्रतिशतले घटेको छ । लघुवित्त १.४१, निर्जीवन बीमा ०.९१, व्यापार ०.५२ र अन्य समूह १.१९ प्रतिशतले घटेको छ । सिभिल बैंक डिभेञ्चर–२०८८ र माण्डु हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ३७ अर्ब आठ करोड ७२ लाख पाँच सय ८९ रुपैयाँ बराबरको २१ लाख ७४ हजार सात सय २८ कित्ता सेयर किनबेच भएको छ ।

प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् । त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरुको शालिकमा माल्यार्पण गरेका थिए । साथै पार्टी केन्द्रिय कार्यालय च्यासला पनि पुगेका थिए । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।

प्रधानमन्त्री ओलीले गरे लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै लैनचौर पुगेका उनले शहीदको शालिकमा माल्यार्पण गरेका हुन् । प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर गएका थिए । प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि शहीद स्मारक पुगेर शहीलको शालिकमा माल्यार्पण पुष्पगुच्छा अर्पण गरेका थिए । नवनियुक्त मन्त्रीहरुले आज नै पदभार सम्हालनेछन् ।

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक वर्ष २०८०/८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकको कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका ८ शाखाहरु मार्फत विभिन्न उमेर समुहका व्यक्तिहरु, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु र अन्य समुहका गरि विभिन्न वर्गलाई वित्तिय साक्षरताका विभिन्न कार्यक्रमहरुको आयोजना गरी करिब १० हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको बैंकले जनाएको छ । कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजवुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । सामान्य चिकित्सा र आँखाको जाँच तथा निःशुल्क औषधी बितरण गरिएको सो स्वास्थ्य शिविरबाट करिब १०० जना व्यक्तिहरु लाभान्वित भएका छन् । साथै बैंकको धनगढी शाखाले कैलालीको गेटा आँखा अस्पताललाई ५ थान ३ सिटर बेन्च उपलब्ध गराएको छ । बैंकका यी पहलहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ ।

नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलका यस्ता छन् पहिलो निर्णय

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै क्यान्सर रोगबाट धेरै नेपाली जनता पीडित रहेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने बताए । उनले एकीकृत स्वास्थ्य प्रणालीलाई सुदृढ र व्यवस्थित बनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने प्रतिबद्धता व्यक्त गरे । ‘काम गर्ने ठाउँमा आएको छु । विज्ञहरुसँग आवश्यक सुझाव लिएर अगाडि बढ्छु’, मन्त्री पौडेलले भने– ‘एकीकृत स्वास्थ्य प्रणाली सुदृढ बनाउन मेरो जोड रहनेछ ।’ मन्त्री पौडेलले छिटोछरितो ढंगबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ आफू कन्द्रित रहने उल्लेख गरे । मन्त्री पौडेलको राजनीतिक यात्रा  नवनियुक्त स्वास्थ्य मन्त्री पौडेलको जन्म २०३१ चैत १४ गते आमा दुर्गादेवी र बुवा डिल्लीरमण पौडेलको सन्तानको रुपमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको हो । नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै २०४६ सालको जनआन्दोलनमा सक्रिय उनी २०५३ सालमा अमृत साइन्स क्याम्पसको स्ववियू सभापति निर्वाचित भएका थिए । लामो समय शैक्षिक परिवर्तनको पक्षमा रही विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै उनी २०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति भएका थिए । समाजशास्त्रमा स्नातकोत्तर पौडेल हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् । उनी २०७९ को संसदीय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विसं २०६२/६३ को जनआन्दोलनका क्रममा उनले जेल सजायसमेत भोगेका थिए ।

सेयर बजार अर्थतन्त्रको ऐना भएको अर्थमन्त्रीको दाबी, के गरे पहिलो निर्णय ?

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । पौडेलले सोमबार कार्यभार सम्हाल्दै सेयर बजार अर्थतन्त्रको ऐना भएको र यसमा सहज नीतिगत व्यवस्था गर्न आवश्यक भएको बताएका हुन् । उनले सेयर बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने पनि बताएका छन्। लगानीकर्तामा आत्मविश्वास जगाउने गरी काम गर्ने उनकाे प्रतिबद्दता छ । उनले अस्थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको बताउँदै नयाँ गठबन्धन आएपछि अब स्थिरता हुने धारणा राखे । उनले विगतमा जनताको आत्मविश्वास समेत टुटेको पाइए पनि अब भने निरासा चिर्ने र आशा जगाउने काम हुने बताए । उनले सोमबार अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि पनि स्वीकृत गरेका छन् । जुन उनको अर्थमन्त्रीका रुपमा पहिलो निर्णय हो । अर्थमन्त्री पौडेलले उनले ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ ।

दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

उदयपुर । जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् । ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन नहुँदा व्यापारीको मनपरी दर कायम गरेर उपभोक्ता ठगेका गुनासो गरेका छन् । त्रियुगा नगरपालिका–११ गाईघाट सङ्गम टोलका सुजाता खड्काले दुई हप्ताभित्र तरकारी र फलफूलको मूल्य तेब्बरले वृद्धि भएको बताए । ‘असारको दोस्रो सातासम्म गोलभेँडाको प्रतिकिलो ५० रुपैयाँ पर्नेमा अहिले एक सय पचास रुपैयाँ पर्छ’, उनले भने । स्थानीय राजु धमलाले दुई साताभित्रै तेब्बरले मूल्य वृद्धि गरेर व्यापारीले वर्षा र सडकलाई माध्यम बनाएर उपभोक्ता ठगी गरिरहेका बताए । ‘सरोकार भएका निकायको उचित ध्यान जान नसक्दा उपभोक्ता मारमा पर्नुका साथै व्यापारीको कालाबजारी बढ्यो’, उनले भने । असारको १५ गतेसम्म बोडी प्रतिकेजी ६० रुपैयाँ देखि सत्तरी रहेकामा अहिले एक सय ८० देखि दुई सय रुपैयाँ पर्ने गरेको छ । ‘दैनिक तीन सयदेखि चार सयको हाजिरीमा काम गरेर जीविकोपार्जन गर्ने मजस्ता श्रमिकले कसरी यती महँगो तरकारी किनेर खानु’, त्रियुगा–१२ पुरानो गाईघाटका श्रमिक देवेन्द्र चौधरीले प्रश्न गरे । फलफूल तथा तरकारी व्यापारीका अनुसार जिल्लाभित्र उत्पादनमा कमी आउँदा बाहिरबाट ढुवानी गरेर आपूर्ति गर्ने गरिएकाले वर्षासँगै मूल्य वृद्धि भएर आएको बताउँछन् । कृष्णप्रसद खनालले भने, ‘बजार क्षेत्रमा खेतीयोग्य जमिनमा सडक विस्तार, घर निर्माण हुँदा अधिकांशले खेती गर्दैनन् । यहाँ उत्पादन नभएपछि व्यापारीले जति मूल्य भने पनि किनेर खानुपर्ने बाध्यता छ ।’ यहाँ व्यापारीले सिरहाको लाहानबाट सस्तोमा सामग्री खरिद गरेर उपभोक्तालाई महँगोमा बेचिरहेका उनले बताए । यस विषयमा सरोकारा भएका निकायले प्रभावकारी बजार अनुगमन नगर्दा व्यापारीले कालोबजारी गरिरहेका यहाँका उपभोक्ता बताउँछन् । रासस