जोखिमपूर्ण अवस्थाबाट पाइलटको उद्धार गर्ने प्रहरी पुरस्कृत
काठमाडौं । यही साउन ९ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टंक राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो । साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौंबाट पोखरा जान लागेको उक्त विमान उड्ने वित्तिकै खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुने सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरुका आफन्त रहेका प्रहरीले जनाएको छ ।
यसरी गरिँदैछ मौद्रिक नीति सार्वजनिकको तयारी (फोटोफिचर)
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही समयपछि मौद्रिक नीति सार्वजनिक गर्दैछ । गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नयाँ भवनमा रहेको अडिटोरियल हलबाट मौद्रिक नीति वाचन गर्ने कार्यक्रम छ ।
नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्बन्धी सम्झौता
काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब एनसेलका बीटुबी तथा बीटुसी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवेमार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् । नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एपमार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन् । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नबिल बैंकका सीईओ ढुंगानाले यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले दुई संस्थाबीचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने बताए । एनसेलका सीईओ कायुमोभले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने बताए । अब एनसेलका ग्राहकले नबिलको पीओएस, पेमेन्ट गेटवे र एनबैंक लद्यबलप गरी तीन वटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।
सुदूरपश्चिम विश्वविद्यालय : राजनीतिबाट टाढा रहँदै प्राविधिक एवं व्यावहारिक शिक्षामा जोड
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका १६ वटा आङ्गिक क्याम्पसमार्फत करिब २० हजार विद्यार्थीलाई अध्ययन अध्यापन गराइरहेको छ । सन् २०१० मा स्थापना भएको सो विश्वविद्यालयले विशेषगरी सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका विद्यार्थीलाई लक्षित गरी स्नातक, स्नातकोत्तर, दशनाचार्य र विद्यावारिधि तहसम्मको विद्यार्थी उत्पादन गरिरहेको कुलपति प्रा डा हेमराज पन्त बताउँछन् । विश्वविद्यालयको १५औँ स्थापना दिवसका उपलक्ष्यमा आज भीमदत्तनगर, कञ्चनपुरमा आयोजित कार्यक्रममा उपकुलपति प्रा डा पन्तले मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि, कानुन, वन र चिकित्सा शिक्षागरी १० वटा संकायमा करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । विश्वविद्यालयमा करिब पाँच सय प्राज्ञिक जनशक्तिसहित सात सय कर्मचारी कार्यरत रहेको विश्वविद्यालयले जनाएको छ । सन् २०२१ देखि दर्शनाचार्य र विद्यावारिधि तहको शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको सो विश्वविद्यालयले बजारको मागलाई दृष्टिगतगरी प्राविधिक शिक्षालाई प्राथमिकता दिने नीति तथा कार्यक्रम रहेको जनाएको छ । शैक्षिक गुणस्तरका हिसाबले मुलुकको सर्वोत्कृष्ट विश्वविद्यालयका रुपमा स्थापित गर्न सम्बद्ध सबै क्रियाशील रहेको बताए । उनले अंग्रेजी विषयका विद्यावारिधि तहका शैक्षिक जनशक्तिले स्वदेश तथा विदेश समेतमा राम्रो काम गरिहेको उल्लेख गर्दै कानुन विषयसहित प्राविधिक धारतर्फको विदेशतर्फको सिक्दै–कमाउँदै शैक्षिक कार्यक्रमलाई आम विद्यार्थीले रुचाएका छन् भने । विश्वविद्यालयले समय र बजारको मागअनुसार पाठ्यक्रम तयारगरी व्यावहारिक एवं जीवनोपयोगी शिक्षामा जोड दिएको स्पष्ट गरेको छ । यसैगरी भारतको ‘इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी)सँग समन्वयगरी इञ्जिनियरिङतर्फको अब्बल जनशक्ति उत्पादन गर्नेगरी सम्झौता भएको विश्वविद्यालयले कानुन संकायअन्तर्गत स्नातकतर्फ ‘बिएएलएलबी’ तहको शैक्षिक कार्यक्रमलाई विशेष प्राथमिकता दिइ दक्ष कानुन व्यवसायी उत्पादन गर्नेगरी शैक्षिक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । समारोहमा प्रमुख राजनीतिक दलका नेताहरूले सुदूरपश्चिम प्रदेशको शैक्षिक धरोहरका रूपमा स्थापित विश्वविद्यालयमा दलीय राजनीति घुस्न नदिने प्रतिबद्धता व्यक्त गर्दै सर्वसुलभ एवं गुणस्तरीय शिक्षाका पक्षमा सदैव सहयोग र समर्थन रहने धारणा व्यक्त गरे । सो अवसरमा विश्वविद्यालयमा २५ वर्ष सेवा गर्ने ३० भन्दाबढी प्राध्यापक तथा कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । यसैगरी विश्वविद्यालयलाई उल्लेखनीय सहयोग पुर्याउने स्थानीय समाजसेवी डिल्लीराज लेखक र लीलाध्वज बस्नेतलाई कदरपत्र प्रदान गरिएको थियो । रासस
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक जारी
काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक आज बिहान सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा सुरु भएको हो । बैठकमा नेपाली काँग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री रमेश लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन् । बैठकमा टिआरसी विधेयक सम्बन्धी सहमति हुन बाँकी बुँदाहरुमा छलफल गरी टुंग्याइने बताइएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधिन छ । दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल सुरु भएपनि निस्कर्षमा पुगिसकेको छैन । साथै पीडितको स्वतन्त्र सहमतिका बारेमा निस्कर्ष निस्कन सकेको छैन ।
सवा १२ बजे मौद्रिक नीति सार्वजनिक हुने, गभर्नरले ‘अडिटोरियल हल’ मा राखे कार्यक्रम
काठमाडौं । नेपाल राष्ट्र बैंकले सवा १२ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सवा १२ बजे मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिएको हो । गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नयाँ भवनमा रहेको अडिटोरियल हलबाट मौद्रिक नीति वाचन गर्ने कार्यक्रम छ । राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरिसकेको छ । सञ्चालक समिति बैठक पनि सकिएको जानकारी राष्ट्र बैंकले दिएको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंककाे तयारी छ ।
लक्ष्मी सनराइज बैंकले ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ प्रस्तुत गर्दै
काठमाडौं । लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक साना देखी ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको बैंकले बताएको छ । खुत्रुके देखी समुन्नती सम्मको यात्रा फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ । उनले जम्मा गरेको जस्तै स-साना बचत मिसिएर जलविद्युतजस्ता ठुला परियोजनाहरुमा लगानी भइ कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनी पढ्न पाउँदछ । लक्ष्मी सनराइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्वितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ । सफलताको गाथा बुन्दै बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठुला परियोजना मात्र नभई साना परियोजनाहरुलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरु प्रवाह गर्दछ । यस्ता कर्जाहरुले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरु पनि यस फिल्ममा समेटिएको छ । साझा समृद्विको उत्सव मनाउँदै यस फिल्म मार्फत बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ-कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरुको प्रवर्द्वनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छस र बचत गर्नु हुने बैंकका ग्राहकहरु नै देशको समृद्धिको सारथी भएको कुरा प्रतित गराइएको छ । तसर्थ, यस फिल्मले बचत तथा बैंकिङलाई साझा समृद्वितर्फको यात्राको रूपमा पुनस् परिभाषित गर्ने लक्ष्मी सनराइजको प्रतिबद्वतामा सहभागी हुन सबैलाई प्रेरित गर्दछ ।