विकासन्युज

कीर्तिपुर नगरपालिकाका प्रमुखको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको गए राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने छ । नगरपालिकाले आज एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ ।

सूर्योदय वोमी लघुवित्तको एफपीओ ९ जनाले ११ कित्ता पाउने, १० कित्ता कतिले पाउँछन् ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ५१० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म १६ लाख ५६ हजार ८२६ जना लगानीकर्ताले २ करोड ३८ लाख ३७ हजार ९ सय कित्ताका लागि २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए । लघुवित्तले साउन ४ गतेदेखि आज साउन ८ गतेसम्म ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले ४६ हजार ७२९ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अन्तिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीमा सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन लघुवित्तले एफपीओ जारी गरेको हो । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरपश्चात् बनेको सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपैयाँमा पुँजी संरचनामा संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत कायम छ । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनुपर्ने भएकाले लघुवित्तले एफपीओ जारी गरेको हो । लघुवित्तको एफपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ४ हजार ६७२ जना आवेदकले मात्रै लघुवित्तको एफपीओ प्राप्त गर्नेछन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ९ कित्ता बाँकी रहन्छन् । ९ जना आवेदकलाई भने बाँकी रहेको ९ कित्ताबाट एक÷एक कित्ता थप गरेर ११ कित्ताका दरले बाँडफाँट गर्नेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

हिमालयन बैंकबाट ३ संस्थापक बाहिरिए, ४ जना भित्रिए

काठमाडौं । हिमालयन बैंकबाट तीन जना संस्थापक बाहिरिएका छन् । संस्थापक सेयरधनी प्रभा गोयन्का भिमसरीया, राजेन्द्र भक्त श्रेष्ठ र अशोक अग्रवालले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका हुन् । बैंकका अनुसार प्रभा गोयन्काले १४ लाख ५१ हजार १८४ कित्ता, श्रेष्ठले १६ हजार ८१३ कित्ता र अग्रवालले ३१ हजार ६१५ कित्ता संस्थापक सेयर बिक्री गरेका थिए । उनीहरूले बिक्री गरेको सेयर खरिद गरेर बैंकमा ४ जना संस्थापक भित्रिएका छन् । बैंकका अनुसार गोयन्काले बिक्री गरेको सेयर निकिता कुमारी भिमसरीयाले ६ लाख १ हजार १८४ कित्ता र साक्षी कुमारी भिमसरीयाले ८ लाख ५० हवार कित्ता सेयर खरिद गरेका हुन् । यस्तै श्रेष्ठले बिक्री गरेको सेयर विष्णुमणि गौतम र अग्रवालले बिक्री गरेको सेयर खुश्बु चौधरीले खरिद गरेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८१/८२ को नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीतिको मस्यौदा पारित गर्न गभर्नर महाप्रसाद अधिकारीले बोर्ड (सञ्चालक समिति)को बैठक आज शुक्रबार बिहान ८ बजे डाकेका छन् । राष्ट्र बैंक बोर्ड बैठकले मौद्रिक नीतिको मस्यौदामा छलफल गरी पारित गर्नेछ । बोर्ड बैठकले पारित गरेपछि आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ । यसअघि गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी थियो । तर, सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको थियो ।

रामेछापमा एकै परिवारका ३ जना पहिरोमा पुरिए

काठमाडौं । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीन जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए । बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए । पहिराले घर पुरिएको सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थलतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो । घटनास्थलमा बेताली प्रहरी चौकीका प्रहरी, स्थानीयवासीलगायतले थप क्षति हुनबाट जोगाएका थिए ।

राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्षमा निर्वाचित भएको छ । राष्ट्रसङ्घका प्रमुख ६ अङ्ग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका निम्ति गौरवको विषय भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताए । शान्ति स्थापना कार्यलगायत राष्ट्रसङ्घमा नेपालको रचनात्मक भूमिका तथा यो विश्व संस्थाको उद्देश्य र सिद्धान्तप्रतिको निष्ठाका कारण उक्त पदमा मुलुक निर्वाचित भएको उनले बताए । ५४ सदस्यीय इकोसकमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नेछन् । आगामी वर्ष नेपाल एसिया–प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ । परिषदमा नेपालसँगै पोल्याण्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन् । पूर्वी युरोपेली देशबाट पोल्याण्ड र ल्याटिन अमेरिकी एवं क्यारेबियन मुलुकहरूबाट कोष्टारिका चुनिएको संयुक्त राष्ट्रसङ्घीय सूचना केन्द्रले जनाएको छ । परिषद्को अध्यक्षमा क्यानडा निर्वाचित भएको छ । केन्द्रका अनुसार अफ्रिकी देशहरूबाट निकट भविष्यमा उपाध्यक्ष चयन गरिने छ । यसैबीच, राजदूत थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशासमा परिषद्को कार्यादेशअनुसार सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अघिल्लो वर्षको जुनमा एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरी सन् २०२४–२०२६ का लागि नेपाल परिषद्को सदस्य निर्वाचित भएको थियो । सामाजिक–आर्थिक विकासका माध्यमबाट समृद्धि हासिल गर्ने उद्देश्यले राष्टसङ्घको वडापत्रअनुसार सन् १९४५ मा परिषद् स्थापना भएको हो ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ । साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।

सानिमा जिआईसीका केही संस्थापक बाहिरिँदै

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सका केही संस्थापक सेयरधनी बाहिरिने भएका छन् । इन्स्योरेन्स कम्पनीमा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर केही संस्थापक बाहिरिने भएका हुन् । कम्पनीका अनुसार केही संस्थापकले आफ्नो नाममा कायम सेयर बिक्री गर्न चाहेकाले १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले उक्त सेयरको बिक्री मूल्य सार्वजनिक गरेको छैन । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिभित्र आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले बताएको छ ।