विकासन्युज

४०औं वर्षमा नबिल बैंक, देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

काठमाडौं । नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ । दिगो भविष्यको प्रतिवद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको बैंकले जनाएको हो । शनिबार स्थापनाको ४०औं वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिवद्धता जनाउँदै देशव्यापी वाकाथन आयोजना गरेको हो । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिवद्धताका लागि वाकाथनमार्फत ऐक्यवद्धता जनाएको छ । वाकाथन शुभारम्भ गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण अहिलेसम्म आइपुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाए । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिवद्धतासहित देशव्यापी वाकाथन आयोजना गरिएको बताए । वाकाथन शनिबार दरबारमार्गको तीनधारास्थित केन्द्रिय कार्यालयबाट शुरु भइ कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदैफेरि केन्द्रिय कार्यालायमा पुगेर टुंगिएको थियो । बैंकका अनुसारनारायणगढ, बिराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगञ्ज,सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ आज वाकाथन आयोजना गरिएको थियो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

टर्कीमा ३० बिलियन अमेरिकी डलर हाई-टेक इन्सेन्टिभ कार्यक्रम सुरु

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले राष्ट्रिय उच्च प्रविधि प्रोत्साहन कार्यक्रम प्रश्तुत गरेका छन् । इस्तानबुलमा एक प्रक्षेपण कार्यक्रममा बोल्दै एर्दोगानले सरकारले अनुदान र कर प्रोत्साहनको एक श्रृंखलाको योजना बनाएको बताए । २०२४–२०२८ का लागि विद्युतीय सवारी साधन, ब्याट्री उत्पादन, अर्धचालक उत्पादन र नवीकरणीय ऊर्जामा लगानी बढाउन आग्रह गरे । कार्यक्रमको उद्देश्य अन्तर्राष्ट्रिय प्रत्यक्ष लगानीमा बलियो पुनरुत्थान र देशमा निजी क्षेत्रको लगानीमा कम्तीमा २० बिलियन डलर आकर्षित गर्ने रहेको बताए । टर्किएले विद्युतीय सवारीको आन्तरिक उत्पादन क्षमता प्रतिवर्ष कम्तिमा १० लाख युनिटसम्म पुर्याउन पाँच अर्ब डलरको प्रोत्साहन प्याकेज प्रश्ताव गर्ने बताए ।

साउन ३० गते एकीकृत कारोबार गर्दै आइएमई र जिएमइ रेमिट

काठमाडौं । आइएमई लिमिटेड र जिएमइ रेमिट प्रालि बीचको एकीकृत कारोबार साउन ३० गतेदेखि हुने भएको छ । जिएमइ रेमिट प्रालिलाई गाभेर आइएमई लिमिटेडले साउन ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएको हो । मर्जरपश्चात् आइएमई लिमिटेडको नामबाट कारोबार हुनेछ । गत जेठ ९ गते सम्पन्न दुइटै कम्पनीको विशेष साधारण सभाले एकआपसमा गाभ्ने विशेष प्रस्ताव पारित गरेका थिए । साथै नेपाल नेपाल राष्ट्र बैंकले साउन २ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले साउन ४ गते एकीकृत कारोबारका mागि अन्तिम स्वीकृति दिएको थियो ।

मैलुङ खोलाको सञ्चालकबाट डा. पोखरेलले दिए राजीनामा

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको सञ्चालक डा. तारा प्रसाद पोखरेलले राजीनामा दिएका छन् । लामो समयदेखि कम्पनीको सञ्चालक पदमा रहेका डा. पोखरेलले व्यक्तिगत कारण देखाई राजीनामा दिएका कम्पनी सचिव विनय चिपालुले जानकारी दिए । साथै कम्पनी सञ्चालक समितिले डा. पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । साउन १० गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको कम्पनी सविच चिपालुले बताए ।

एनआईसी एशियाले १७१ रुपैयाँमा सूर्यज्योती लाइफको सेयर बेच्दै

काठमाडौं । एनआईसी एशिया बैंकले सूर्यज्योती लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर आज साउन १३ गतेदेखि बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखेको सूर्यज्योती लाइफको उक्त सेयरको मूल्य प्रतिकित्ता १७१ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले साउन १८ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ बैंकको स्वामित्वको इन्स्योरेन्सको उक्त सेयर बिक्री प्रबन्धकमा एनआर्ईसी एशिया क्यापिटल रहेको छ ।

न्यादी हाइड्रोको नेटवर्थ ६६ रुपैयाँ, खुद नोक्सानी १६.६६ करोड

काठमाडौं । न्यादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०÷८१ को चौथौं त्रैमासमा खुद नोक्सानी २० प्रतिशत घटाएको छ । गत असारसम्म १६ करोड ६६ लाख ७३ हजार रुपैयाँ नोक्सानीमा छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी २० करोड ९३ लाख २१ हजार रुपैयाँ थियो । कम्पनीले विद्युत बिक्री वापत ५९ करोड २० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड १६ लाख ४४ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो । कम्पनीको कुल नाफा ३२ करोड ७९ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको अन्य आम्दानी ७८ हजार रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको वित्तीय खर्च ४५ करोड ७९ लाख रुपैयाँ रहेकोमा वित्तीय आम्दानी ३ लाख ७९ हजार रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ११.११ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६६.०२ रुपैयाँ छ ।

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । आज (साउन १३ गते आइतबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । काठमाडौं उपत्यका मेयर्स फोरमले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । साथै उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । वि.सं २०२१ असार २० गते जन्मिएका नकर्मीको बिहीबार मृत्यु भएको थियो । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी वि.सं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

गुराँस लघुवित्तको नाफामा १ हजार ४५० प्रतिशत छलाङ, एनपीएल ४ % घटायो

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथौं त्रैमास खुद नाफा १ हजार ४५० प्रतिशत बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी ४८ प्रतिशत बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा लघुवित्तधको कुल सञ्चालन आम्दानी ११ करोड ५६ लाख रुपैयाँ, सञ्चालन नाफा ३ करोड ६० लाख रुपैयाँ छ । लघुवित्तले आफ्नो खराब कर्जा (एनपीएल) उल्लेख्य घटाएको छ । अघिल्लो वर्ष ६.३६ प्रतिशत रहेको खराब कर्जा गत असारमा २.४६ प्रतिशतमा झारेको छ । लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी बढेर २५.६१ रुपैयाँ छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १४६.५२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७१.१२ रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ र जगेडा कोष ४ करोड ७१ लाख रुपैयाँ छ । साथै गत वर्ष लघुवित्तले सापटि १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ र निक्षेप ३४ करोड ९४ लाख रुपैयाँ संकलन गरी १ अर्ब ६८ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।