विकासन्युज

वीरगञ्ज भन्सारको आयात र निर्यात दुवैमा गिरावट

वीरगञ्ज । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयमार्फत हुने आयात र निर्यात दुवैमा गिरावट आएको छ । गत आर्थिक वर्षमा विदेशीमुलुकबाट कम मात्रामा सामान नेपाल भित्रिदा तथा नेपालबाट विदेशी मुलुकमा हुने निर्यातमा पनि कमी आउँदा समग्र यो नाका हुँदै हुने वैदेशिक व्यापार नै खुम्चिन पुगेको हो । आव २०८०/८१ मा यो नाका हुँदै ६ खर्ब ९ अर्ब २८ करोड ११ लाख १४ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । जबकि आव २०७९/८० को तुलनामा गत आवमा मात्रै आयात १२.८५ प्रतिशतले घटेको छ । आव २०७९/८० मा ६ खर्ब ९९ अर्ब १२ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान नेपाल आयात भएको थियो । विश्वका एक सय १२ मुलुकबाट नेपालमा विभिन्न खालका वस्तु तथा सामान आयात हुने गर्छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले गत आवमा समग्र मुलुकभरि आर्थिक शिथिलताको कारणले वैदेशिक व्यापार खुम्चिएको बताए । ‘गत आवमा समग्र मुलुकभरिको अर्थतन्त्र सुस्ताएको कारणले आयात र निर्यात दुवै खुम्चिएको छ,’ उनले भने,‘अघिल्लो आवको तुलनामा गत आवमा आयात घटेपनि भन्सारका अन्य सूचक पनि राम्रो भएकाले केही मात्रामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’ कार्यालयका अनुसार गत आवमा आयात मात्रै होइन, वीरगन्ज भन्सार कार्यालय हुदैँ विदेशी मुलुकमा हुने निर्यातमा पनि गिरावट देखिएको छ । गत आवमा ३१ अर्ब ८५ करोड ७१ लाख २७ हजार रुपैयाँ मूल्य बराबरका नेपाली सामान विदेशी मुलुकमा निर्यात भएको छ । जबकि अघिल्लो आव २०७९/८० मा यो नाकाहुँदै ३७ अर्ब २३ करोड १८ लाख ७४ हजार मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । आघिल्लो आवको तुलनामा गत आवमा मात्रै १४ दशमलव ४४ प्रतिशतले निर्यातमा कमी आएको छ । यो नाका हुदैँ करिब ६० मुलुकमा विभिन्न नेपाली उत्पादन निर्यात हुने गर्छ । आव २०७९/८० को तुलनामा यो नाका हुँदै हुने वैदेशिक व्यापारमा १२ दशमलव ९३ प्रतिशत गिरावट आएको छ । आव २०८०/८१ म यो नाका हुँदै छ खर्ब ४१ अर्ब १३ करोड ८२ लाख ४१ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो । जबकि अघिल्लो आव २०७९/८० मा भने यो नाका हुँदै कुल वैदेशिक व्यापार सात खर्ब ३६ अर्ब ३५ करोड २५ लाख ४३ हजार रुपैयाँ रहेको छ । यो नाकाबाट हुने वैदेशिक व्यापारमध्ये आयातको हिस्सा ९५प्रतिशत र निर्यातको हिस्सा पाँच प्रतिशत रहेको छ ।

किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन

तुलसीपुर । दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित मनिराम चौधरीले वर्षातले धानबाली बगाएकामा चिन्ता व्यक्त गरे । स्थानीय खोलामा तटबन्ध नहुँदा यसरी बर्सेनि किसानले लगाएको धान बगाउने गरेको उनले गुनासो गरे । ‘किसानको सम्पत्ति भनेकै खेतीपाती हो, त्यही पनि भेलले बगाइदिन्छ,’ उनले भने, ‘यस्तो भएमा हामीले कसरी जीवन निर्वाह गर्न सक्छौँ ।’ प्रत्येक वर्ष यसरी खेत बगाउने समस्या भएकाले तटबन्धको व्यवस्थापन गरिदिनुपर्ने उनको माग छ । त्यस्तै समशेर अलीले पनि आफूले दुई सय भैँसीपालन गरेको भए पनि उत्पादित दूधको बजारीकरण गर्न नसकिएको गुनासो गरे । यसमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग राखे । ‘मैले दुई सय भैँसीपालन गरेको छु,’ उनले भने, ‘हामीले उत्पादन गरेको दूध बजारीकरण हुन सकेको छैन, अनि कसरी किसानलाई फाइदा हुन्छ ।’ अनुदानको व्यवस्थापन पनि हुनुपर्ने उनको माग थियो । किसानका लागि राज्यले उचित न्याय गर्नुपर्ने उनको माग छ । उत्पादनलाई नै पालिकाले प्राथमिकता राखेको राप्ति गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । उनले राप्ती गाउँपालिकाको सबैभन्दा बढी कृषकहरू पत्थरगढवामा रहेको जनाउँदै सोही ठाउँमा विकासका लागि पहल गरिरहेको बताए । उत्पादनलाई नै पालिकाले प्राथमिकता राखेको भन्दै तटबन्ध तथा कलभर्ट निर्माणको कार्यका लागि लागि रहेको बताए । दूधलाई बजारीकरणका लागि पहल थाल्ने उनको भनाइ छ । कुलो मर्मत, तरकारी बजारीकरण, तटबन्ध निर्माणका कुरा माग भएको उनले बताए । त्यति मात्रै नभई समयमा मल, बीउको उपलब्धताका विषयमा पनि कुरा उठेको अध्यक्ष विष्टको भनाइ छ ।

तरकारी खेतीबाट नाम र दाम दुवै, वार्षिक १२ लाखसम्म आम्दानी

गलकोट । कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका(९ तित्याङका पदम खत्री यतिबेला तरकारी खेतीमा रमाएका छन् । तरकारी खेतीबाटै स्वरोजगार बनेका उनी जिल्लामा उत्कृष्ट किसानका रूपमा सम्मान समेत पाइसकेका छन् । कृषि ज्ञान केन्द्र बागलुङले खत्रीलाई गत धान दिवसमा उत्कृष्ट किसानका रूपमा नगदसहित सम्मान गरेको थियो । घर निर्माणलगायतका काममा मजदुरी गर्ने उनी १५ वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय छन् । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती सुरु गरेका खत्री यतिबेला जिल्लाकै सफल किसानका रूपमा परिचित छन् । उनले अहिले १८ रोपनी जग्गामा तरकारीखेती गरिरहेका छन् । उनीसँग फर्ममा ८ वटा साना र ठूला प्लाष्टिक टनेल छन् । अधिकांश दौतरीहरू पैसा कमाउन विदेश पलायन भए पनि खत्री भने तरकारी खेतीमै सक्रिय छन् । तरकारीखेतीबाट नाम र दाम दुवै हुन थालेपछि विदेश जाने योजना कहिल्यै नबनेको उनले सुनाए । ‘तरकारीखेतीबाटै वार्षिक १० देखि १२ लाखसम्म आम्दानी भइरहेको छ,’ उनले भने, ‘तरकारी खेतीबाटै नाम र दाम हुन थालेपछि विदेश जानुपर्ने बाध्यता कहिल्यै आएन ।’ उनले तरकारीखेतीबाटै परिवारको खर्च, बालबच्चाको पालनपोषण भइरहेको बताए । उनले हालसम्म एक दर्जनभन्दा बढी संस्थाबाट प्रोत्साहनस्वरुप पुरस्कार प्राप्त गरिसकेका छन् । ‘एक रोपनी जग्गाबाट सुरु भएको तरकारीखेती अहिले १८ रोपनीमा पुगेको छ, अहिले दाम मात्रै हैन नाम समेत कमाउन थालेको छु, पहिला वडामा मात्रै कृषक भनेर चिन्थे, अहिले जिल्लाभर कृषकको परिचय फेरिएको छ,’ उनले भने, ‘पाँच रोपनी आफ्नै र अन्य जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दै आएको छु ।’ अहिले खत्रीको टनेलमा टमाटर, सिमी, काक्रो, काउली, बन्दालगायतका तरकारी उत्पादन भइरहेका छन् । खत्रीले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारीखेती गरिरहेका छन् । आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक टनेल र अन्य परम्परागत टनेल रहेको बताउँदै खत्रीले नगरपालिकाको तरकारीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत आधुनिक टर्नेल निर्माण भइरहको जानकारी दिए । खत्री एग्रो फार्ममा हालसम्म १२ लाख लगानी गरिसकेका छन् ।  उनले कृषि ज्ञान केन्द्रबाट प्लाष्टिक टनेल निर्माण र विऊ बिजनमा सहयोग प्राप्त भइरहेको जानकारी दिए । हाल उनले तरकारीखेतीसँगै ब्रोइलर कुखुरा र भेडापालन पनि गरेका छन् । उनले एक जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् । रासस

अव्यवस्थित पार्किङले न्युरोडमा हिँड्नै समस्या (तस्बिरहरू)

काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले सडक भत्काएर फुटपाथ बिस्तार गरेसँगै अव्यवस्थित पार्किङको समस्या बढ्न थालेको छ । फुटपाथ बिस्तार हुँदा मुख्य सडकको पार्किङ हटेसँगै न्युरोडका गल्लीहरुमा अव्यवस्थित पार्किङ हुन गरेको प्रशस्त देख्न सकिन्छ । फुटपाथ बिस्तारका क्रममा काठमाडौं महानगरपालिको मुल सडक छेउमा गर्दै आएका पार्किङ हटाएसँगै त्यसको चाप गल्लीहरूमा परेको छ । जसकारण आम नागरिकले आवतजावत र हिँडडुल गर्दा समस्या भोगिरहेका छन् । अव्यवस्थित पार्किङका कारण न्युरोड क्षेत्र र आसपासका सांस्कृतिक धरोहर एवं सम्पदाहरू मासिने खतरामा छन् । सांस्कृतिक धरोहरहरूको सौन्दर्यता नै खोसिएको देख्न सकिन्छ । पार्किङ गरिएका सवारीसाधनले सांस्कृतिक सम्पदाहरुको सौन्दर्य त खोसेको छ नै साथमा भौतिक संरचनामा असर पनि गरिरहेको छ । काठमाडौंको पुरानो समस्या व्यवस्थित पार्किङको विकल्प नखोज्ने हो भने महानगर भित्रका सांस्कृतिक धरोहरुस्थलहरू मासिने निश्चित छ । त्यसैले वैकल्पिक स्थल खोजेर पार्किङको व्यवस्था गर्न आवश्यक भइसकेको छ । महानगरले फुटपाथ बिस्तार गरेसँगै स्थानीयहरुले बिरोध गरेका थिए । सबै वडाका अध्यक्षहरूले फुटपाथ बिस्तारविरुद्ध विरोध जनाएका थिए भने स्थानीयहरूले पनि अध्यक्षहरूलाई साथ दिएका थिए । यता महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भने नगर प्रहरी परिचालन गरेरै फुटपाथ बिस्तारको काम सुरु गर्न थालेपछि आन्दोलन चर्किएको थियो । महानगरपालिका र वडा नम्बर २२ अध्यक्ष चिनकाजी श्रेष्ठबीच केही समय फुटपाथ बिस्तार गर्न रोक्ने सहमतिसँगै अहिले न्युरोड शान्त छ । तर, अव्यवस्थित पार्किङको समस्या बढेको छ ।

चीनबाट ६५ अर्बको सामान आयात, निर्यात २ अर्ब

रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ । आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए । निर्याततर्फ भने १ अर्ब ९६ करोड १८ लाख रुपैयाँ बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत १ अर्ब ९६ करोड १८ लाख रुपैयाँ बराबरका सामग्री रहेका छन् । आयात भएका सामानको परिमाण घटाई विवरण बुझाउने व्यापारीलाई कानुनबमोजिम जरिवाना गर्ने गरिएको उनले बताए । गत आवमा कम परिमाण देखाउने व्यापारीबाट ६१ करोड ६० लाख रुपैयाँ जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए । बस, कार, ट्रक, टाइसाइकल, भ्यानसमेतका सवारीसाधन आयात भएका थिए । गत आवमा ७ हजार ३ सय ७७ चिनियाँ सवारीसाधन आयात भएका थिए । सोमध्ये ३ सय ४५ इन्धनबाट चल्ने र ७ हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको अभिलेखकर्ता कम्प्युटर अधिकृत निर्मल कँडेलले बताए । गत वर्ष आयात भएका सवारीसाधनको मूल्य १९ अर्ब ५७ करोड ४५ लाख रुपैयाँ रहेको भन्सारको तथ्यांकमा उल्लेख छ । आव २०७९÷८० मा १ हजार ७ सय मात्र सवारीसाधन आयात भएका थिए । आव २०८०र८१ को भन्सार शुल्क, जरिवाना, भ्याटसमेतको २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार रुपैयाँ असुल भई राज्यकोषमा दाखिला भएको भन्सार कार्यालयले जनाएको छ ।

आर्थिक मन्दीले पर्वतका २३६ उद्योग बन्द

फाइल फोटो पर्वत । कोभिड–१९ संक्रमणपछि देखिएको आर्थिक मन्दीको प्रभाव पर्वतका उद्योग व्यवसामा पनि परेको छ । पर्वतमा गत आर्थिक वर्षमा दर्ता भएका उद्योग व्यवसकायको तुलनामा बन्द हुने उद्योग व्यवसायको संख्या बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा पर्वतमा १ सय ९५ उद्योग, व्यवसाय फार्म दर्ता भएकामा २ सय ३६ वटा बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार गत आवमा ९४ उद्योग दर्ता भएकामा १ सय सात खारेज भएका छन् । एक सय एक वाणिज्य फार्म दर्ता भएकामा एक सय २९ फार्म खारेज भएको कार्यालय प्रमुख अशोककुमार नेपालीले जानकारी दिए । पर्वतमा आर्थिक वर्ष २०७९/८० सम्म ३ हजार ४ सय २६ उद्योग र ३ हजार २ सय ७५ वाणिज्य फार्म रहेकामा आव २०८०र८१ को अन्त्यमा घटेर ३ हजार ४ सय १३ उद्योग र ३ हजार २ सय ४७ वाणिज्य फार्म कायम रहेको कार्यालय प्रमुख नेपालीले बताए । एकै वर्षमा ४७ उद्योग बन्द भएका छन् । आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग बन्द हुने क्रम बढेको छ । उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुरवि पौडेलले बताए । व्यापार व्यावसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुनेक्रम बढेको उनको भनाइ छ । लाखौँ रुपैयाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गरे पनि पर्याप्त आम्दानी हुन नसकेपछि व्यवसायी विस्थापित हुनुपरेको छ । कोरोना संक्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रम उल्लेख्य मात्रामा रहेको कार्यालयले जनाएको छ । कोरोना संक्रमणपछि देखिएको चौतर्फी आर्थिक मन्दीको प्रभाव उद्योग व्यवसायमा परेको हो । पर्वतमा अघिल्लो आर्थिक वर्षमा ९२ उद्योग खारेज भएका थिए ।  २७४ वटा उद्योग तथा व्यवसाय दर्ता भएकामा ९२ खारेज भएका थिए । कार्यालय प्रमुख नेपालीका अनुसार कृषि, पशुपक्षी फार्म, फलफूलखेती, गाईपालन, भैँसीपालन, व्यावसायिक बाख्रापालनलगायत घरेलु उत्पादनका उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको पाइन्छ । वैदेशिक रोजगारीमा जाने विद्यार्थीका लागि स्वदेशमै उद्यम गरेको प्रमाण देखाउनुपर्ने भएकाले पनि उद्योग दर्ता बढेको उनले बताए । वाणिज्य फार्मतर्फ दर्ताको संख्यासँगै फार्म बन्द हुने संख्या पनि बढेको छ । पर्यटन तथा उद्योग कार्यालयले आव २०८०/८१ मा ९७.७७ प्रतिशत प्रगति हासिल गरेको छ । पर्वतमा गत आर्थिक वर्षमा ५५ पर्यटन पूर्वाधार निर्माण भएका छन् भने ६९ जनालाई सीप विकास तालिम प्रदान गरिएको छ ।त्यसैगरी कार्यालयले २२ उद्योगलाई प्रविधि हस्तान्तरण गरेको छ । आव २०८०/८१ मा कार्यालयले २२ लाख ५१ हजार राजस्व संकलन गरेको जनाएको छ ।

चितवनमा फैलिँदै डेंगु, ५१ जनामा देखियो संक्रमण

चितवन । चितवनमा ६४ जनामा डेंगको संक्रमण देखिएको छ । ३ सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेंग संक्रमण देखिएको हो । संक्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११ गते सम्ममा उनीहरूमा डेंगु संक्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगको संक्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगको संक्रमण देखिएको उनले बताए । भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंग देखिएको छ । उनले भने, ‘डेंगको संक्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।’ संक्रमण बढेसँगै संक्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए । जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म १ हजार ८ सय ३१ जनामा डेंगको संक्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार ८ सय ४० जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो । विशेषगरी भदौ र असोजमा डेङ्गु रोग बढी देखिने गर्दछ । उनले भने, ‘अहिले साउनको सुरुआतदेखि नै डेंगको संक्रमण देखिन थालेको छ ।’ यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायःबिहान र बेलुकाको समयमा टोक्छ । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ । यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्यांकी, आदिमा फूल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ । डेंग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखा पर्छन् । यस्तै, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने उनले बताए । डेंगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु हो । डेंग ज्वरो नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा देखिएको थियो । चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो । उनलाई सामान्य ज्वरो आएका कारण उपचारपश्चात् जापान फर्किएर परीक्षणका क्रममा डेंग पुष्टि भएको कार्यालय प्रमुख रुपाखेतीले जानकारी दिए । त्यसपछि सन २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेंगका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा ९ जनामा डेंगको संक्रमण देखिएको उनले बताए । योसँगै आपसका जिल्लाबाट पनि ज्वरोका बिरामी उपचारका लागि चितवन आउने गरेका थिए । सन् २०१० मा ३ हजार २ सय ९८ जनाको परीक्षणका क्रममा ७ सय ३९ जनामा डेंग संक्रमण देखिएको थियो । यस्तै आर्थिक वर्ष २०७४/७५ मा १ हजार २ सय ९१ जनाको परीक्षणका क्रममा ५९ जनामा डेंग पुष्टि भएको थियो । सो समयमा एक जनाको मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यस्तै आव २०७५/७६ मा १ हजार ९ सय ५१ जनाको परीक्षणका क्रममा ३१ जनामा डेंग भेटिएको थियो । आव २०७६/७७ मा १९ हजार २ सय ३० जनाको परीक्षणका क्रममा ४ हजार ८ सय तीन जनामा संक्रमण देखिएको थियो भने तीन जनाको मृत्यु भएको थियो । आव २०७७/७८ मा एक हजार सात सय १७ जनाको परीक्षणका क्रममा २ सय ४३ जनामा डेंग रोग देखिएको कार्यालयले जनाएको छ । आव २०७८/७९ मा १४ हजार ९ सय ७८ जनाको परीक्षण गरिएकामा ३ हजार ३ सय ३६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस वर्ष डेंगका कारण चार जनाको मृत्यु भएको उनले जानकारी दिए । आव २०७९/८० मा ५ हजार ४ सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेंगको संक्रमण देखिएको थियो ।

रेखांकन गरिएको तीन दशकपछि कालोपत्रे भयो कुन्छा जोड्ने सडक

करिब तीन दशकअघि रेखांकन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो । तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा पहिलो चरणमा ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। आर्थिक वर्ष २०८०/८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो। यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्ने छ । नगरपालिकाले सो सडकखण्डलाई नगर गौरवको आयोजनाका रूपमा सूचीकृत गरेको छ । नगरपालिका, प्रदेश र संघीय सरकारसँगको साझेदारीमा उक्त सडकको बाँकी खण्डमा पनि कालोपत्र गर्दैलैजाने प्रमुख त्रिपाठीले बताए ।