काठमाडौं उपत्यकामा पछिल्लाे तीन वर्षयता घट्याे सवारी दुर्घटना
काठमाडौं । काठमाडौं उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा १० हजार सात सय ३३ सवारी दुर्घटना हुँदा १९१ जनाको मृत्यु भएको थियो । आव २०७९/८० मा १० हजार छ सय ७५ दुर्घटना हुँदा १८७ को मृत्यु र गत आर्थिक वर्ष २०८०/८१ मा आठ हजार आठ सय ८१ सवारी दुर्घटना हुँदा १७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार गत आवमा १२९ पुरुष र ४८ महिलाको मृत्यु भएको थियो । जनचेतनामूलक कार्यक्रम, सुरक्षा जाँचमा कडाइ, विभिन्न अभियानसहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा सडक दुर्घटनामा केही कमी ल्याउन सकिएको प्रहरी उपरीक्षक खड्काको दाबी छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दुर्घटना सङ्ख्या १६.८ र मृत्यु हुनेमा ६ प्रतिशतले कमी आएको उनले जानकारी दिए । चालु आवमा पनि दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित ट्राफिक व्यवस्थापन सुधारलाई थप प्रभावकारी बनाउने योजना अघि बढाइएको खड्काले बताए । जनचेतनामूलक कार्यक्रमले सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको पाइएको उनको बुझाइ छ । ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, ट्राफिक सचेतना विशेष अभियानलगायत कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत हालसम्म चार लाख ७७ हजार तीन सय तीनजना प्रत्यक्ष रुपमा लाभान्वित भएका प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने विरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहीका साथ सवारी चलाउने र तीव्रगतिका कारणले हुने दुर्घटना न्यूनीकरणमा अभियान प्रभावकारी बनेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने १० लाख जना भन्दा बढीलाई ट्राफिक प्रहरीले कारबाही गरी जरिवाना बापत ७२ करोड ६० लाख रुपैयाँ सङ्कलन गरेको छ । विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम सञ्चालन, ट्राफिक सुरक्षा जाँच, चौकी विस्तार, भित्री गल्ली तथा साँघुरा सडक र करिडोरमा नियमित गस्ती थालिएको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले यसलाई अझ प्रभावकारी बनाउन थप योजना बनाइ कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।
म्याग्दीमा कृषि उपजलाई बजार अभाव
म्याग्दी । पन्ध्र वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका गाईपालन गरेका अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका कृष्ण र शिव बरुवालले सञ्चालन गरेको धौलागिरि बहुउद्देश्यीय कृषि फार्ममा दैनिक १४० लिटर दूध उत्पादन हुन्छ । बेनी बजारमा प्रतिलिटर १४० रुपैयाँका दरले दूध बिक्री हुन्छ तर खड्का दाजुभाईले प्रतिलिटर १२० मा बिक्री गर्दा पनि बजार पाएका छन् । ‘नजिकैको पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङ र बासबोटमा घरघरमा लगेर जाँदा पनि दूध कटाउन समस्या भएपछि पोखरेबगरमा डेरी खोलेको छु’, उनले भने, ‘बर्खायाममा दूध धेरै हुँदा घ्यू बनाएर बेच्ने गरेका छौँ ।’ एक वर्षअघि दुई सय २२ वटा बोयर जातका बाख्रा भएको बेनी नगरपालिका–४ डाडाखेतको एकता एग्रो फार्ममा यसपाली एक सय ८२ वटा मात्र छन् । मासुका लागि खसीबोका र पाल्ने पाठीहरुको माग घटेपछि बाख्राको सङ्ख्या घटाउँदै लगेको फार्मका सञ्चालक महेन्द्र बानियाँले बताए । २५० बोट किवी लगाएका बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनले गत हिउँदमा फलेको १० क्वीन्टल किवी बेच्न पोखरामा भौतारिए । ‘व्यापारीले मसँगबाट प्रतिकिलो १५० का दरले किनेको किवी आँखै अगाडि २५० का दरले बेचेको टुलुटुल हेरेर बस्नुपर्यो’, उनले भने, ‘बजारमा लगेको किवी कुहाएर फाल्नु र घर ल्याउनुभन्दा व्यापारीले जति भने त्यति मूल्यमा बेचेर आए ।’ भकिम्लीमा २० घरधुरीले व्यावसायिक किवी खेती गरेका छन् । यसवर्ष उत्पादन बढे पनि कसरी बजारको चिन्ताले सताएको पुनले बताए । बिरौटाका खड्का दाजुभाई, डाडाखेतका बानियाँ र भकिम्लीका लालबहादुर कृषि उपजले बजार र उचित मूल्य नपाउँदा मर्कामा परेका म्याग्दीका प्रतिनिधि कृषक हुन् । बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले स्थानीयभन्दा आयातित फलफूल र तरकारी सस्तोमा पाइने हुँदा प्रतिस्पर्धा गर्न नसकेर किसानपलायन हुनुपर्ने अवस्था आएको बताए । सडक यातायातको सहज पहुँच नभएको, भण्डारण र बजारको असुविधाका कारण बर्खायाममा कृषकले उत्पादन गरेको आलु, बन्दा, दूधलगायत कृषि उपजको बजारीकरणमा समस्या भएको हो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले गत हिउँदमा कृषक र व्यापारीलाई सम्पर्क गराएर आलु बिक्री गर्ने वातावरण बनाएको बताउँदै कृषि उपजको बजारीकरणका लागि स्थानीय तह, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले विशेष योजना बनाउनुपर्ने बताए । कृषि उपज बजारीकरण गर्न अन्नपूर्ण गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको जनाएको छ । सिंगामा ३० हजार किलोग्राम क्षमताको चिस्यान गृह सञ्चालन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कालिपुलमा कृषि बजार स्थापना गर्न भवन निर्माण थालिएको बताए ।
फास्ट ट्रयाकमा जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना
काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं–तराई/मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्र गतिमा गतिमा अघि बढाइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो आयोजनाको हालसम्म ३५ दशमलव ३८ प्रतिशत भौतिक र ३६ दशमलव ६६ प्रतिशत वित्तीय प्रगति भएको छ । निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको सेनाले जनाएको छ । द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ वटा प्योकजमा छुट्याएर निर्माण थालिएको थियो । ती प्याकेजमध्ये द्रूतमार्गको छ दशमलव पाँच किलोमिटरदेखि ७० दशमलव ९७ किलोमिटरसम्मका विभिन्न १० वटा प्याजेकमा धमाधम काम भइरहेको आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिए । प्याकेज नं ११ अन्तर्गत खोकना इलाकाको जिरो किमीदेखि छ दशमलव पाँच किमीमा द्रूतमार्गको सुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधान पश्चात खरिद प्रक्रिया सुरु गर्ने गरी तयारी अवस्थामा रहेको नेपाली सेनाले जनाएको छ । आयोजनाको ९५ प्रतिशत प्याकेज कार्यान्वयनको चरणमा प्रवेश गरिसकेका छन् । तीन सुरुङ निर्माणाधीन परिमार्जित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार ६ मध्ये तीन वटा सुरुङ निर्माण भइरहेका छन् भने अन्य तीन सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य जारी छ । निर्माणाधीन तीन वटा सुरुङमार्गको लम्बाइ छ दशमलव ६६९ किमीमध्ये पाँच दशमलव पाँच सय २८ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भएका छन् । तीन दशमलव ३२२ किमीको निजगढ–काठमाडौंतर्फको महादेवटार सुरुङ हालसम्म दुई दशमलव ०२९ किमी तथा तीन दशमलव ३८६ किमीको काठमाडौं–निजगढतर्फ दुई दशमलव २८८ किमी सुरुङ खनिसकिएको छ । सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी राति पनि काम भइरहेको सेनाले जनाएको छ । निजगढ–कामाठाडौंतर्फको एक दशमलव ६५३ किमी धेद्र्रे सुरुङ गत जेठ ११ गते ‘ब्रेकथ्रु’ भइसकेको छ भने एक दशमलव ७२८ किमीको काठमाडौं–निजगढ सुरुङ यही महिनामा ‘ब्रेकथ्रु’ गर्ने तयारी छ । लेनडाँडामा रहेको निजगढ–काठमाडौंतर्फको एक दशमलव ६१२ किमी र काठमाडौँ–निजगढतर्फको एक दशमलव ६३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ वटा पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा रहेका छन् । बाँकी चार वटा पुल खोकना क्षेत्रमा रहेका छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा जान नसकेको सेनाको भनाइ छ । निर्माणाधीन अधिकांश पुलको जमिनमुनि (फाउण्डेसन)को काम सम्पन्न भई जमिनमाथिका काम भइरहेको छ । द्रूतमार्गमा ८१ मिटर अग्ला पुल निर्माण हुनेछन् । हालसम्म पाँच स्थानका पुल निर्माण भइसकेका छन् । जग्गा अधिग्रहणमा ढिलाइ आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काममा ढिलाइ हुँदा निर्माण प्रभावित भएको छ । आयोजनाका लागि करिब १७ हजार ६५१ रोपनी जग्गा आवश्यक पर्नेछ । त्यसमध्ये पाँच हजार चार सय ८७ रोपनी व्यक्तिको जग्गा हो । हालसम्म चार हजार आठ सय ११ रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने तीन सय ९४ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ । खोकना–बुङ्मती खण्डमा दुई सय छ रोपनी जग्गाको मुआब्जा वितरण भएको छैन । आयोजना निर्माणबाट वातावरणीय क्षति हुन नदिन पर्याप्त सजगता अपनाइएको सेनाले जनाएको छ । आयोजना क्षेत्रमा हालसम्म ३१ हजार सात सय ४३ रुख काटिएका छन् । ती रुखको सट्टामा सात लाख पाँच हजार पाँच सय ५२ बिरुवा रोपिएका छन् । सुरुङ र पुल मात्र २३ किलोमिटर प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमवल ९७७ किलोमिटर छ । द्रूत मार्ग पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ । द्रूतमार्गमा १० दशमवल ३०९ किमी लम्बाइको छ वटा सुरुङ बन्ने छन् । आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलव २५ किमी, महादेवडाँडामा तीन दशमलव ३५५ किमी, धेद्रेमा एक दशमलव ६९१ र लेनडाँडामा एक दशमलव ६२३ किमी लामो सुरुङ निर्माण हुनेछ । सो सडकमा विभिन्न स्थानमा १२ दशमलव ८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक वटा इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछ । मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको निजगढमा शिलान्यास गरेका थिए । सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो । सोही वर्षको मङ्सिरदेखि सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रूतमार्गको ‘ट्रयाक’ निर्माण प्रारम्भ भएको थियो । विसं २०७५ चैतमा अन्तर्राष्ट्रिय परामर्शदाता सोसुङ इञ्जिनियरिङ एण्ड कन्सल्टिङले तयार गरेको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७६ मा स्वीकृत भएको थियो । विसं २०८० साउन ३० गते आयोजनाको परिमार्जित डिपिआर स्वीकृत भएको थियो । रासस
माछाका परिकारले बढाए लेखनाथमा पर्यटक
गण्डकी । पोखराको विजयपुरवारीको लेखनाथ क्षेत्र सात तालबाट चर्चित छ । यहाँका सातवटै ताल रामसार सूचीमा सूचीकृत छन् । तर, लेखनाथ क्षेत्रमा तालका कारण नभइ यहाँका पाइने माछाका परिकारले चर्चित छ । माछाका स्वादिला परिकारकै कारण पर्यटकीय गतिविधि बढेको यहाँका पर्यटन व्यवसायीहरुको तर्क छ । यहाँ आउने अधिकांश पर्यटक तालका कारणभन्दा पनि माछाका परिकार खान आउने गरेको उनीहरूको बुझाइ छ । तालमा पर्याप्त माछा पाइने भएकाले पर्यटकको रोजाइको गन्तव्य बनेको व्यवसायीहरूले सुनाए । यहाँका बेगनास, रुपालगायतका ताल र आसपासका क्षेत्रका स्थानीयहरु प्नि व्यावसायिक माछापालनमा पनि सक्रिय छन् । बेगनास ताल किनाराका माझीकुना, पिप्ले होस् वा ड्याम साइडलागयतका क्षेत्रमा हरेक दिन ठूलो सङ्ख्यामा पर्यटकहरू माछाका परिकार खानकै लागि आउने गरेका छन् । बेगनास तालको उत्तरी किनारास्थित पिप्ले गाउँका ४२ परिवारमध्ये अधिकांश माछामै निर्भर छन् । यहाँका ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य समूदायका छन् । बस्ती बस्नुअघि कहिलेकाँही चलचित्र छायांकन र पर्यटकको ‘क्याम्पिङ’ स्थलका रूपमा मात्र रहे पनि यो स्थान अहिले माछाका पारखीको गन्तव्य बनेको स्थानीय दी फिसरम्यान रेष्टुराँका सञ्चालक टेकबहादुर जलारीले बताए । स्थानीय समुदाय झण्डै साढे पाँच दशकयता माछामै निर्भर छन् । माछा बिक्री गरेरै यहाँका अधिकांश परिवारले मासिक रु २० देखि रु ५० हजारसम्म आम्दानी गर्ने गरेका छन् । पिप्लेमा माछा मारेर बेच्ने मात्र नभै माछाका परिकार खुवाउने होटेल तथा रेष्टुरेन्टका कारण यो पर्यटकहरूको माछा खान जाने गन्तव्यका रूपमा स्थापित भएको हो । पिप्ले जस्तै माछाकै कारण पर्यटकलाई आकर्षित गरेको अर्को गन्तव्य हो बेगनास तालको पूर्वी किनारछेउको माझीकुना । झण्डै एक दशक अघिसम्म खुल्ला चौर वनजङ्गलले भरिएको यो ठाउँ यतिखेर भने पर्यटकीय गन्तव्य जस्तै बनेको छ । केही वर्ष यता मात्रै यस स्थानको महिमा र गरिमा बढेको बताउँदै व्यवसाय जलारीले यहाँ पाइने पोलेको माछा धेरै चर्चामा रहेको बताए । पछिल्लो समयमा समाजिक सञ्जालका युट्युव, फेसबुक, टिकटक आदिले पनि माझीकुनाको आकर्षणलाई थप उचाईमा पुर्याएको उनको बुझाइ छ । विगत १० वर्ष यता माझीकुनामा पर्यटकीय आकर्षण बढिरहेको उल्लेख गर्दै प्रकाश गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक प्रकाश लामिछानेले यस क्षेत्रमा हाल २८ वटा होटेल तथा रेष्टुरेन्ट सञ्चालनमा आइसकेको बताए । पछिल्लो समयमा यस क्षेत्रका व्यवसायीले पूर्वाधार निर्माणलगायतमा जोड दिएको उनले बताए । पर्यटन व्यवसायलाई व्यवस्थित गर्न यहाँका व्यवसायीहरू एकजुट बनेको उनको भनाइ छ । बेगनाससँगै यहाँका रूपा, दिपाङ, खास्टे, न्युरेनी, मैदी तालहरूमा माछापालनलाई स्थानीयले जोड दिँदै आएका छन् । रुपातालमा माछाको संरक्षण र उपयोगमा जोड दिँदै रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था क्रियाशील रहेको सो संस्थाका अध्यक्ष शिवराज अधिकारीले बताए । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरी माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आइएको उनले बताए । यसबाट पर्यटकीय गतिविधि बढेको उनको भनाइ छ । हाल उक्त सहकारीमा एक हजार ३० जना आबद्ध भइसकेका छन् । उनले सहकारीअन्तर्गत माछा मार्न, चौकीदार, बैंकिङ कारोबार आदिका लागि २४ जनालाई रोजगारीसमेत दिन सकिएको बताए । रुपातालमा पाइने माछाकै कारण सहकारीले वार्षिक करिब रु दुई करोड बराबरको माछा उत्पादन गरिरहेको छ । उनले तालमा रहु, नैनी, कमन, सिल्भर कार्प, तिलापियालगायत करिब २५ जातका माछा पाइने बताए ।
सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गठबन्धन सरकारको प्राथमिकतामा सुशासन र अर्थतन्त्र सुधार रहेको बताएका छन् । गृह जिल्ला लमजुङ आएका मन्त्री गुरुङको एमाले मध्यनेपाल नगर कमिटिद्वारा सम्मानमा शनिबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा यसअघि स्थिर सरकार नहुँदा विकासले अपेक्षाकृत गति लिन नसकेको टिप्पणी गरे । उनले वर्तमान सरकार सुशासन कायम गर्दै अर्थतन्त्र सुधारमा केन्द्रित हुनेमा जोड दिए । वर्तमान सरकारप्रति जनताको भरोसा रहेकाले सोहीअनुसार काम गर्ने उनको भनाइ थियो । ‘वर्तमान सरकारलाई असफल हुने छुट छैन, स्थापित पुराना राजनीतिकले नै मुलुकमा देखिका समस्या समाधान गर्नुपर्छ,’ उनले भने । मन्त्री गुरुङले सरकारी विद्यालयमा सूचना प्रविधिको प्रयोग बढाउनुका साथै निःशुल्क इन्टरनेटको सुविधा उपलब्ध गराउने मन्त्रालयको योजना रहेको सुनाए ।
प्राधिकरणले महसुल नबुझाउने ११ सय बढी ग्राहकको लाइन काट्यो
झापा । नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा महसुल नबुझाउने १ हजार १ सय ७० ग्राहकको लाइन काटेको छ। केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये १ हजार १ सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको बताए । उनका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ। ‘विद्युत् काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र जरिवाना ६ करोड ७० लाख २८ हजार चार सय १२ रूपैयाँ थियो। १ हजार १ सय ३६ ग्राहकबाट ३ करोड ९० लाख ९७ हजार पाँच सय ६७ रूपैयाँ असुली भएको छु,’ प्रमुख साहले भने। उनका अनुसार बक्यौता बुझाउन बाँकी ३४ ग्राहकसँग प्राधिकरणले २ करोड ७९ लाख ३० हजार आठ सय ४५ रूपैयाँ असुली गर्न बाँकी छ । अनारमनी वितरण केन्द्रका २ सय ३७ ग्राहकलाई कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ । कालोसूचीमा रहेकाबाट १ करोड ३२ लाख ३१ हजार ६३ रूपैयाँ बक्यौता असुली गर्न बाँकी छ। १ अर्ब ३१ करोड राजस्व असुली प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आवमा नयाँ विद्युत् लाइन जडान, नियमित विद्युत् महसुल, बक्यौता र जरिवाना असुली गरेर १ अर्ब ३१ करोड ८४ लाख ७५ हजार रूपैयाँ राजस्व संकलन गरेको जनाएको छ । जिल्लामा रहेका विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा बढी ग्राहक अनारमनी केन्द्रमा रहेका छन् । यहाँ ९३ हजार ४ सय १८ ग्राहक सङ्ख्या रहेको केन्द्रका प्रमुख साहले जानकारी दिए। ग्राहस्थ तथा गैरग्राहस्थ, व्यापारिक, गैरव्यापारिक, औद्योगिक, सडक बत्ती, सिँचाइ, खानेपानी, मन्दिर, यातायात, आन्तरिक खपत, सामुदायिक, मनोरञ्जनलगायत क्षेत्रमा ग्राहक विभाजन गरेर महसुल उठाउने गरिएको उनले बताए । ‘उपभोक्तालाई हामीले प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउने हो,’ प्रमुख साहले भने, ‘खपत भएको विद्युत युनिट बराबरको बिलमा तोकिएको रकम सबैले आफ्नो कर्तव्य ठानेर तिर्नुपर्छ, तिर्न आनाकानी गरे वा ढिलाइ भएमा लाइन काट्नु हाम्रो बाध्यता हो।’ पालिकाले तिरेनन् सडक बत्तीको महसुल अनारमनी वितरण केन्द्रअन्तर्गत छ नगरपालिका र पाँच वटा गाउँपालिकाका उपभोत्ताले विद्युत् सेवा पाउँदै आएका छन् । अधिकांश पालिकाले सडकबत्ती शीर्षकमा प्राधिकरणलाई तिर्नुपर्ने बिलको रकम नतिरेका केन्द्रका प्रमुख साहले गुनासो गरे । साहका अनुसार रकम भुक्तानी नगर्नेमा विर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका, मेचीनगरका-११, १२, १३ र १४, शिवसताक्षी नगरपालिका-७ र १०, इलामको माई नगरपालिका-५, झापा गाउँपालिका-१, २, ३, ४, ५, ६ र ७, हल्दिबारी गाउँपालिका-१, बुद्धशान्ति गाउँपालिका-५, रोङ गाउँपालिका-२ रहेका छन् । उनले उल्लेखित पालिकाले सार्वजनिक भवन तथा सडक बत्ती बापतको रकम भुक्तानी गर्न बाँकी रहेको बताए । सबैभन्दा बढी बाह्रदशी गाउँपालिकाको ५५ लाख ३८ हजार ४६, विर्तामोड नगरपालिकाको २९ लाख ७४ हजार ९ सय ५७ रुपैयाँ, मेचीनगर नगरपालिकाको १० लाख ८८ हजार ६ सय २१ र कनकाई नगरपालिकाको १० लाख ६३ हजार ७ सय ३९ रुपैयाँ बक्यौता रकम रहेको साहले जानकारी दिए । सबै पालिकालाई बारम्बार पत्राचार गरेर बक्यौता रकम बुझाउन आग्रह गरिरहेको उनले बताए । रासस
भेडेटारमा २० करोड लागतको स्काइ वाक टावर सञ्चालनमा, पर्यटकीय गतिविधि बढ्ने अपेक्षा
धनकुटा । पर्यटकीयनगरी भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा आएपछि यहाँका होटल व्यवसायीहरू उत्साही बनेका छन् । वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी क्षेत्रफलमा २० कारोड रुपैयाँ लगानीमा स्काइ वाक टावरको शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो । टावर सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्नेमा यहाँका पर्यटन व्यवसायीहरू आशावादी बनेका छन् । होटल संघ भेडेटारका अध्यक्ष तुमराज लिम्बुले टावर सञ्चालनपछि पर्यटकीय गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे । ‘टावरको उद्घाटनमा पनि पर्यटकको आगमन बढेको छ, अब यहाँका होटलको व्यापार सुधार हुने अपेक्षा लिएका छौँ,’ उनले भने । लामो समयदेखि होटल व्यवसायमा संलग्न होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले होटलको व्यापारसँगै यस क्षेत्रको कृषि उपज बेचबिखनमा समेत सहयोग पुग्ने बताए । होटल संघका भेडेटारका पूर्वअध्यक्ष तथा होटल लावती कर्नरका सञ्चालक लिलाराज लावतीले पनि यहाँ सञ्चालित एक सयभन्दा बढी ठूला होटललाई यस परियोजनाले महत्वपूर्ण सहयोग पुग्ने बताए । गर्मीमा तराईबाट यहाँ आउने पर्यटकहरू धेरै हुने गरेका छन् । चुरे पहाडमा अवस्थित यस भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृष्य एकैसाथ हेर्न पाइन्छ । होटल संघका अनुसार दृश्यावलोकनका लागि भेडेटारमा दैनिक पूर्वी भारत र नेपालका विभिन्न स्थानबाट दुई हजारभन्दा बढी पर्यटकहरू आउने गरेका छन् । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले टावर सञ्चालनमा आएपछि यहाँको पर्यटन विकासमो टेवा पुग्ने बताए । हाल भेडेटारमा साना र ठूला गरी दुई सयभन्दा बढी होटल सञ्चालनमा छन् ।
दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन
काठमाडौं । नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन आयोजना गरेको छ । स्थापनाको ४०औं वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरेको हो । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्य प्रति प्रतिबद्धताका लागि वाकनाथमार्फत ऐक्यबद्धता जनाएको छ । वाकाथन शुभारम्भ गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनसम्म आइपुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता गरे । ‘नबिल बैंक दिगो विकासका लागि प्रतिबद्ध छ, हामीहरू दिगो बैंकिङमार्फत यसको सुरुआत गरिसकेका छौँ, आगामी दिनका लागि प्रतिबद्धता जनाउन आज यहाँ उपस्थित भएका छौँ,’ उनले भने । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धता सहित देशव्यापी वाकाथन आयोजना गरिएको जानकारी दिए । ‘बैंकले दरिलो भविष्यका लागि दिगोपनाको नीतिअनुसार गतिविधि अगाडि बढाइसकेको छ, आज देशव्यापी रूपमा आयोजना गरिएको यस वाकाथनले दिगो भविष्यका लागि प्रतिबद्धता र यसबारे जनचेतना जगाउन यस थप सहयोग हुनेमा हामी विश्वस्त छौँ,’ उनले भने । सो अवसरमा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक अनन्त पौड्याल, प्रमुख कार्यकारी अधिकृत (सीइओ( ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, नायब प्रमुख कार्यकारी अधिकृतद्वय मनोज ज्ञवाली र भूपेन्द्र पाण्डे, विभिन्न विभागका प्रमुख लगायत काठमाडौं उपत्यकाका विभिन्न शाखामा कार्यरत करिब ११ सय कर्मचारीको उपस्थिति थियो । शनिबार बिहान ७ः३५ बजे दरबार मार्गको तीनधारास्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदै फेरि केन्द्रीय कार्यालायमा पुगेर टुङ्गिएको थियो । बैंकका अनुसार नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ वाकाथन आयोजना गरिएको थियो ।