काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले युद्धग्रस्त मुलुकहरूमा नेपाली श्रमिक पठाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
जेटीयूसीसीले युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तान लगायतका देशमा नेपाली श्रमिक पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल फिर्ता गर्न माग गरेको हो ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने बहानामा युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तान लगायतका देशमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदुत हनन गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरूको संख्या बढाउने सहमति भएको भन्दै आपत्ति जनाए ।
उनले रोजगारीको नाममा जान्दाजान्दै पनि युद्धग्रस्त मुलुकमा श्रम स्वीकृति दिँदै श्रमिक पठाउने कुरा मानवीयतामाथिको अन्याय भएको बताए । उनले युद्धग्रस्त देशबाट नेपाल फर्किन चाहने नेपालीलाई फर्काउन नसकेको अवस्थमा पुनः युद्धग्रस्त देशमा श्रमीक पठाउने कुरा जायज नरहेको बताए ।
उनले युद्धग्रस्त मुलुकमा श्रमिक पठाउने विषय संवेदनशील रहेको भन्दै युद्धग्रस्त देशमा श्रमीक पठाउन हतार गर्न नहुने बताए ।
अध्यक्ष कुँवरले देशमा रोजगारीको अवस्था भयावह रहेको भए पनि युद्ध नभएका देशमा श्रम सम्झौता गरेर श्रमिक पठाउन सकिने बताए । श्रमिकहरूले मर्यादित र शोषण नहुने गरी काम पाउने देशमा श्रमिक पठाउनु उचित हुने बताए ।
सकेसम्म देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आफूहरूको माग रहेको पनि उनले बताए ।