राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरमा समान पहुँच स्थापित गर्न जरुरी भएको बताए । उनले भने, ‘नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मान पूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, संविधानले समानुपातिक, समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने अपेक्षा गरेको छ, अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उहाँहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको छ ।’ अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना आदिमा उहाँहरूको आवश्यकता अनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनु आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाइ छ । ‘अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा रहेका नकारात्मक भावनामा परिवर्तन ल्याइ समावेशिता, समानता, मानवअधिकार पहुँच योग्य वातावरण एवं भेदभाव विहीन समाजको निर्माण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको न्याय पूर्ण सहभागिता सुनिश्चित गर्न सरकार, परिवार, समाज तथा सङ्घ संस्थाहरूको एकल र सामूहिक भूमिका अभिवृद्धिमा यस दिवसले थप बल पुर्याउने मैले विश्वास लिएको छु,’ उनले भने । अपाङ्गता भएका नागरकिहरूको हकअधिकार प्रवर्द्धनका लागि संयुक्त राष्ट्र सङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । यसवर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनस् सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदैछ ।
आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै, लुम्बिनीलाई जित्नै पर्ने दबाब
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपरान्ह ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले ५ खेलबाट ८ अङ्क जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले ५ खेलमा २ मात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।
अपाङ्गता भएकाहरूको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्र सङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ । अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उहाँहरूको आवश्यकता अनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ । नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मान पूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भएपनि व्यवहारिक रुपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ ।
अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा, कुन देशको मुद्राको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर १११ रुपैयाँ ०२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३० पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४८ पैसा र बिक्रीदर चार रुपैयाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३० पैसा र बिक्रीदर २२ रुपैयाँ ४० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काँकरभिट्टाबाट आयात बढ्दा निर्यात घट्यो, साढे ५ अर्ब रुपैयाँ राजस्व
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट १६ अर्ब २ करोड ५ लाख रुपैयाँ बराबरका सामान आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा १४ अर्ब २८ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएका थिए । गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा ७ अर्ब ९६ करोड ७ लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएका छन् । गत आवको सोही अवधिमा ८ अर्ब ३० करोड २७ लाख रुपैयाँका वस्तु निर्यात भएका थिए । काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत निर्यात हुने गरेका छन् । उक्त कार्यालयले आव २०८२/८३ को पहिलो ४ महिनामा आयात निर्यातबाट ५ अर्ब ४६ करोड १ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
एनपीएलमा अर्धशतकको सङ्ख्या २६ पुग्यो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतकको सङ्ख्या २६ पुगेको छ। पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले मंगलबार ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २६ पुगेको हो । एडम अर्धशतक पूरा गर्ने २१ औं खेलाडीसमेत बनेका छन् । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो । यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटन र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् । यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, इशान पाण्डे, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, जिमी निशम, चितवनका डेविड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका अनिल शाह, वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् । कर्णालीका मार्क वाट जारी प्रतियोगितामा शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन् ।
२५ प्रतिशत ब्याज असुल र १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरेर मात्रै पुनर्संरचना गर्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ प्रतिशत ब्याज रकम असुल र १२.५ प्रतिशत कर्जा नोक्सानी गरेका ऋणलाई मात्रै पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न लघुवित्त वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो । चालु आव २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा लघुवित्त संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरूको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने जनाएको थियो । राष्ट्र बैंकका अनुसार लिखित कार्ययोजना पेश हुनुका अतिरिक्त त्यस्तो कर्जा पुनरतालिकीकरण गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा २५ प्रतिशत ब्याज रकम असुल उपर भएमा कर्जा पुनरतालिकीकरण गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै, ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको विषयमा लघुवित्त संस्था विश्वस्त भएमा ऋणीले पेश गरेको लिखित कार्ययोजनासहित कर्जा सम्बन्धी सम्पुर्ण आवश्यक कागजात तथा धितो कर्जाको हकमा सुरक्षण समेत पर्याप्त भएको प्रमाण, कर्जा असुल हुने सम्भावनाबारे विश्वस्त भएको आधार तथा पुनरतालिकीकरण मार्फत व्यवसायको निरन्तरताका सम्बन्धमा संस्था आश्वस्त भएमा मात्रै कर्जा पुनरतालिकीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । पुनरतालिकीकरण गरेको कर्जाको हकमा सो वापत १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकले सर्त तोकेको छ । पुनरतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भैरहेका कर्जालाई पहिलो पटक पुनरतालिकीकरण गरिएमा र समान किस्तामा भुक्तानी हुनेगरी पुनरतालिकीकरण गरिएमा सबै अवस्थाको पालना गरी पुनरतालिकीकरण गरिएमा न्यूनतम १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । यस्तै, पुनरतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भइरहेका कर्जालाई न्यूनतम २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । कमसल, शंकास्पद तथा खराब वर्गमा वर्गीकरण भैसकेका कर्जाहरुलाई पुनरतालिकीकरण गर्दा पूर्ववत् कायम गरिएको कर्जा नोक्सानी व्यवस्था कायम राख्नु पर्नेछ । तर, पुनरतालिकीकरण गरिएका कर्जामा कायम कर्जा नोक्सानी व्यवस्था लगातार २ वर्षसम्म कर्जा नियमित भएको अवस्थामा बाहेक कुनै समायोजन गर्न पाइने छैन । साथै विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका ब्यक्तिहरुलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाइ प्रतिव्यक्ति बढीमा १५ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाल टेलिकमको मोबाइल डेटा सेवा अवरुद्ध
काठमाडौं । सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल डेटा सेवा एक घण्टादेखि अवरुद्ध भएको छ । मोबाइल डेटा सेवा मंगलबार साँझ ५ बजेदेखि अवरुद्ध भएको हो । विभिन्न प्रयोगकर्ताहरूले मोबाइल डेटा नचल्ने, डेटा प्याक नसकिँदै सकिएको जानकारी आउने, मोबाइल डेटा खोल्दा सिम्बोल पनि नआउनेजस्ता समस्या आएको गुनासो गरेका छन् । केही प्रयोगकर्ताहरूले भोइसमा पनि समस्या आएको गुनासो गरेका छन् । यता नेपाल टेलिकमले भने प्राविधिक समस्या पत्ता लगाउने काम भइरहेको जनाएको छ।