विकासन्युज

सामाजिक सञ्जालबाट मानव बेचबिखन बढ्दै, शिक्षित महिला पनि जोखिममा

राँझा । प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका छन् । प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गए पनि महिला दलालको फन्दामा सिधै पर्न थालेका छन् । चेलीबेटी बेचबिखनविरुद्ध सरकारी र गैरसरकारी निकाय सक्रिय भएसँगै दलालले आफ्नो शैली पनि फेरेका छन् । विगतमा भौतिक उपस्थितिमै ललाइफकाइ महिला बेच्ने गिरोह अहिले मोबाइल फोनबाटै महिलालाई लोभ्याएर विदेश पुर्याउने गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला बताउँछन् । दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिला मात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् । ग्रामीण क्षेत्रका अधिकांश महिलाले ‘फेसबुक’भन्दा ‘इमो’ बढी चलाउने गरेका छन् । ‘फेसबुक र ‘म्यासेन्जर’भन्दा इमोमार्फत कुराकानी गर्न सहज हुन्छ, जोखिममा रहेर उद्धार गरिएका धैरै महिलाले इमोमार्फत सम्पर्क भएको बताउने गरेका छन्’, कोइरालाले भने, ‘दलालले इमोमार्फत महिलालाई ललाइफकाइ गर्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ ।’ मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमोलगायतका कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ । यसले मानव बेचबिखन तथा ओसारपसारलाई अझै बढी सहज बनाउँदै भनेको समय र स्थानमा बोलाएर भेट्न सजिलो भएको छ । छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । माइती नेपाल नेपालगञ्जका संयोजक कोइराला अहिले मोबाइल फोन, फेसबुक मानव बेचबिखन तथा ओसारपसारको गतिलो माध्यमका रुपमा प्रयोग भएको बताउँछन् । सूचना प्रविधिको विकाससँगै प्रयोग भएका नयाँ शैलीले मानव बेचबिखनविरुद्धको अभियानमा चुनौती थपिएको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटक र इमोमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिमहरु देखापर्न थालेका छन् । बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ । ‘कुनै समय गाउँगाउँमा गएर अशिक्षित महिला अथवा किशोरीहरुलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटनाहरू निकै सुनिन्थे । अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ, शैली फेरिएको छ, जोखिम बढेको छ’, कोइरालाले भने, ‘मानव बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । मानव बेचबिखन हुने सङ्ख्या मात्रै नभई शैली पनि बढ्न थालेका छन् ।’ केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरू मात्रै बेचबिखनका जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिलाहरु पनि बेचबिखनको जोखिममा पर्न थालेको कोइरालाको भनाइ छ । मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग तीव्र रुपमा बढिरहेको छ । विशेषगरी किशोरावस्थाका युवतीहरू टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन् । सामाजिक सञ्जालबाट सम्बन्ध विस्तार पछिल्लो समय धेरै प्रयोगमा आएको सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट सम्बन्ध विस्तार गरी महिलाहरु बेचविखनको जोखिममा पर्ने गरेका छन् । टिकटकको माध्यमबाट चिनजान र कुराकानी भई घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाले बताए । माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका किशोरीलाई उद्धारसमेत गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो । गत आर्थिक वर्षमा मात्रै २० भन्दा बढी महिला सामाजिक सञ्जालमै चिनजानको भरमा भारत जान लागेका महिलालाई सीमा नाकाबाट फर्काइएको माइती नेपाल नेपालगञ्जले जनाएको छ । ‘सामाजिक सञ्जालमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिमहरु देखापर्न थालेका छन् । अझ अहिले बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ’, बेचबिखनमा आएको परिवर्तित शैलीबारे संयोजक कोइरालाले भने, ‘सामाजिक सञ्जालको दायरा फैलिएको छ । फेसबुक, ह्वाट्स एपपछि अहिले मानव बेचबिखनमा टिकटकको प्रयोग तीव्र रुपमा बढिरहेको छ । यसले अशिक्षित र गाउँका महिला मात्रै होइन शिक्षित र सहरिया महिलाहरु पनि जोखिममा छन् ।’ राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा महिलाहरू जानाजान जोखिम मोल्न तयार हुने गरेको पाइएको उनको भनाइ छ । माइती नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा भारत जान लागेका ५२६ महिलालाई नेपालगञ्जस्थिच नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकाबाट उद्धार गरेको छ । पश्चिम नेपालका पहाडी जिल्लाबाट मानव बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धार गरी आवधिक गृहमा परामर्श गरी घर फिर्ता पठाइएको संस्थाका संयोजक कोइरालाले बताए । उद्धार गरिएकामध्ये ५११ जनालाई माइती नेपालले वैदेशिक रोजगारको जोखिम तथा त्यहाँ पर्नसक्ने जोखिमबारे परामर्श दिएर फिर्ता गराएको छ । हराएको भनी माइती नेपालमा ५८७ जनाको खोजतलासको निवेदन परेकामा २९५ जना फेला परेको बताइएको छ । नयाँ शैलीले बढ्दो जोखिम  मानव बेचबिखन तथा ओसारपसारमा प्रयोग भएको नयाँशैलीले रोकथाम अभियान चुनौतीपूर्ण बन्दै गएको मानव बेचबिखनविरुद्ध काम गरिरहेका संघसंस्थाका प्रतिनिधिको भनाइ छ । मानव दलालहरुले अपनाउने फरक–फरक शैलीले जोखिम बढ्दै गएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक निर्मल सुवेदी बताउँछन् । ‘वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपुगेका कारण श्रम शोषण, यौनशोषण हुने काममा लगाउने गरेका धेरै घटनाहरु छन्’, उनले भने, ‘सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथीसँग कुरा गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिमहरु देखापर्न थालेको छन् ।’ उनका अनुसार विगतमा अशिक्षित र गाउँका महिलाहरु बेचबिखनमा पर्ने भए पनि अहिले भने शिक्षित र सहरी क्षेत्रकै महिलाहरु पनि विदेश जाने र धेरै कमाउने लोभमा बेचबिखनमा पर्ने घटनाहरु बढेका छन् । आफू जोखिममा पर्दैछु भन्ने थाहा भए पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरुलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको छ । ग्रामीण नाका प्रयोग गर्दै मानव दलाल  बाँकेको मुख्य नाका जमुनाहमा मानव बेचबिखनविरुद्ध संस्थाहरुको निगरानी बढेपछि दलालले ग्रामीण क्षेत्रका नाका प्रयोग गर्ने गरेको पाइएको छ । नेपालगञ्जस्थित जमुनाह नाकामा मानव बेचबिखनविरुद्ध संघसंस्था र सुरक्षा निकायको सक्रियता बढेपछि मानव दलालले नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा रहेका ग्रामीण नाका प्रयोग गर्न थालेको मानव बेचबिखनविरुद्ध क्रियाशील संघसंस्थाका प्रतिनिधिले जनाएका छन् । मानव बेचबिखनविरुद्ध बाँकेमा क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहले मात्रै ग्रामीण नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका महिलालाई उद्धार गरेको छ । जानकी गाउँपालिकाको शिवपुरी नाका, डडुवाको खडैंचा नाका, नरैनापुरको सुइया नाका र कोहलपुर बसपार्कबाट समेत उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिए । ‘हरेक दिनजसो मानव तस्करले समय परिस्थितिअनुसार प्रविधिको प्रयोगदेखि विभिन्न उपाय अपनाउने गरेको पाइएको छ’, सुवेदीले भने । पछिल्लो पटक जमुना नाकामा संघसंस्थाको निगरानी बढेपछि ग्रामीण नाका प्रयोग गर्न थालेको पाइएको छ । नेपालगञ्जस्थित जमुनाह नाकामा विभिन्न माइती नेपाल, साथी संस्थालगायतका विभिन्न आठ संस्थाले मानव बेचबिखनविरुद्ध परामर्श केन्द्र सञ्चालन गरिरहेका छन् । तर ग्रामीण क्षेत्रमा रहेका नाकामा मानव बेचबिखनविरुद्धको अभियान र रोकथामका गतिविधि न्यून छन् । ‘सबैभन्दा बढी मानवबेचबिखनको जोखिममा रहेका उमेर समूह १८ देखि २५ वर्षको रहेको तथ्यले देखाएको छ’, शान्ति पुनःस्थापना गृह, बाँकेकी संयोजक सुवेदीले भने, ‘नयाँ नयाँ ढंगले मानव बेचबिखनको प्रयास हुने गरेको छ ।’ नक्कली प्रेम, झुटो विवाह र रोजगारीको प्रलोभनमा महिलाहरुलाई दलालले फसाउने गरेको पाइएको उनको अनुभव छ । बाँकेमा मुख्य नाका जमुनाहमा मानव बेचबिखनविरुद्ध क्रियाशील धेरै संस्थाको परामर्श हुने भएकाले ग्रामीण क्षेत्रका नाकासमेत प्रयोग गर्ने पाइएको सुवेदीले बताए । मानव बेचबिखनका घटना बढ्दो  मानव बेचबिखनका घटना प्रत्येक वर्ष बढ्दै गएका छन् । बढ्दो विलासिताप्रतिको आकर्षण, सञ्चार प्रविधिको दुरुपयोग र असुरक्षित बसाइँसराइका कारण मध्यम वर्गका व्यक्ति बेचबिखनमा पर्ने गरेको पाइएको छ । राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको शक्ति समूहकी क्षेत्रीय अधिकृत निर्मला पौडेलले बताए । उनले मानव बेचबिखनविरुद्ध कुनै एक व्यक्ति वा एक संस्थाले मात्र प्रयास गरेर नहुने भएकाले समाज, प्रहरी प्रशासनको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । मानव बेचबिखनविरुद्धको जिल्लास्तरीय समितिका संयोजक एवम् बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङले मानव बेचबिखनलाई रोक्न समाजमा जनचेतना बढाउनाका साथै रोजगारका अवसरहरू प्रदान गर्नुपर्नेमा जोड दिंँदै ठोस योजना बनाएर सबै सरोकारवाला लाग्नुपर्ने बताए । रासस

सहकारी ठगी प्रकरणमा रवि भन्छन्- संलग्नता नभएको पुष्टि भइसक्यो

काठमाडौं । संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस गरेको छ । सूर्यदर्शन सहकारीसहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकाल्दै चार जनालाई कारबाही गर्न सिफारिस गरेको हो । प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’ प्रतिवेदनमा कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुने उल्लेख छ । सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकम जिम्मेवारी र दायित्वबोध नगर्न नमिल्ने पनि प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले भने आफू संलग्न नरहेको पुष्टि भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो दाबी गरेका हुन् । उनले सहकारी रकम अपचलन भएका सबैलाई न्याय दिने बताउँदै आफू सरकारमा हुँदा सोही प्रयास गरेको पनि बताए । याे पनि पढ्नूहाेस् : सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश सहकारीमा सबै ‘फेक’, गोरखा मिडियामा सहकारीको ८५ करोड ऋण देखियो : सभापति थापा

नेपालको भूपरिवेष्ठित र आर्थिक स्थितिले अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर चुनौती : भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र व्यापार बिस्तारमा ध्यान दिन जरुरी रहेको बताएका छन् । नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा काउन्सिल)को सोमबार काठमाडौंमा सातौं सम्मेलनको उद्घाटन समारोहमा उनले व्यापार सहजीकरणमा वृद्धि गरी नेपाली वस्तुको बजार पहुँचमा सुधार हुने अपेक्षा गरे । ‘नेपालको भूपरिवेष्ठित स्थिति र आर्थिक स्थितिले अन्तर्राष्ट्रिय व्यापारमा केही गम्भीर चुनौती निम्त्याएको छ,’ उनले भने । दुवै देशका व्यापारिक समुदायबीच प्राविधिक सहयोग, क्षमता निर्माण र सहयोग बढाउन महत्त्वपूर्ण रहेको मन्त्री भण्डारीको भनाइ थियो । ‘यी क्षेत्रहरूमा संयुक्त राज्य अमेरिकाको सहयोग अमूल्य हुनेछ, किनकि हामी हाम्रो व्यापार सम्बन्ध बढाउन र पारस्परिक ‘ड्राइभ’ गर्न प्रयास गर्दछौं,’ उनले भने । बैठकलाई सफल तुल्याउन अमेरिका सरकार र काठमाडौंस्थित अमेरिकी राजदूतावासको अटुट सहयोग र प्रतिबद्धताप्रति उनले कृतज्ञता व्यक्त गरे । ‘नेपालको व्यापार र लगानीसम्बन्धी यस महत्त्वपूर्ण संवादका लागि हामी एकसाथ आउँदा सन् २०२६ सम्ममा नेपाल अतिकम विकसित मुलुकबाट बाहिरिने र हाम्रो प्राथमिकता प्राप्त बजार पहुँचका लागि सम्भावित प्रभावबारे विचार गर्नु जरुरी छ । हामी हाम्रो व्यापारको गतिलाई कायम राख्नका लागि बजार पहुँचको विस्तार र वैकल्पिक उपायको विस्तारका लागि अमेरिकी समर्थन चाहन्छौं,’ मन्त्री भण्डारीले भने । उनले सम्मेलन दुई देशबीच जारी संवाद र सहकार्यमा महत्त्वपूर्ण हुने बताए । सो कार्यक्रममा अमेरिकी व्यापार प्रतिनिधिमण्डलका सदस्यले दुई देशबीचको व्यापार सहकार्यलाई अझै बढाउनुपर्नेमा जोड दिएका थिए ।

जाम्बियाले नेपालमा खानी उत्खनन गर्न प्राविधिक भित्र्याउने

काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको चारदिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाको गैर आवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेलदेखि मन्त्रीहरू र निजी क्षेत्रलाई भेटी सो कुरा बताएका हुन् । उनले उद्योगमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधि तथा आर्थिक रूपमा लगानी गर्ने प्रस्ताव राखेका थिए । यसैगरी, उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा पनि जाम्बियासँग खानी उत्खननको विषयमा राम्रो ज्ञान भएको र नेपालमा पनि सो क्षेत्रमा लगानी गर्न जाम्बियाली लगानीकर्ता इच्छुक रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेका थिए । साथै आफूहरूको लागि नेपाल लगानीको लागि आकर्षक गन्तव्य हुने भन्दै सो विषयमा सहकार्य गर्न  तयार रहेको बताएका थिए । नेपालको ४ दिन भ्रमणमा रहेका प्याट्सले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी दुई देशका लगानीकर्ताबीच सहकार्य गरी अघि बढन् आग्रह गरेका थिए । साथै उनले नेपाल उद्योग वाणिज्य महासंघ र जाम्बियाको उद्योग वाणिज्य संघबीच व्यावसायीक समझदारीपत्रमा हस्ताक्षर गरी अघि बढ्ने प्रस्तावसमेत राखेका थिए । जाम्बियाको लगानीकर्ताहरू नेपालमा लगानी गर्न तयार रहेको भन्दै सोहीअनुरूप दुबै संस्थाबीच समझदारी गरेर अघि बढ्नुपर्ने भन्दै सोका लागि आफूले सहजकर्ताको रूपमा काम गरिदिन प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । जाम्बियाको नेपालको लागि गैरआवासीय राजदूत प्याट्सको ४ दिन भ्रमणले नेपालमा जाम्बियाको नेपाली भित्र्याउन मार्ग प्रशस्त गरेको नेपालको लागि जाम्बियाको वाणिज्य दूत देशबन्धु बस्नेत (अजित)ले बताए । ‘नेपालको ४ दिने भ्रमणमा आउनु भएका राजदूत प्याट्ले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुका साथै परराष्ट्र र उद्योग मन्त्रीसँग पनि लगानीको विषयमा छलफल गर्नुभयो,’ बस्नेतले भने, ‘साथै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी जाम्बिया र नेपाली उद्योगी व्यवसायीबीच सहकार्य गरी लगानीको वातावरण सिर्जना गर्न आग्रह गर्नुभएको थियो ।’ साथै नेपालमा जाम्बियाको लगानी भित्र्याउने सम्बन्धमा महासंघसँग छिट्टै नै एक समझदारीपत्रमा हस्ताक्षर हुनेसमेत उनले जानकारी दिए । नेपालको ४ दिने भ्रमणमा रहेका राजदूत प्याट्ले नेपाल र जाम्बियाको भौगोलिक बनावटसमेत एउटै रहेको र नेपालमा खानी उत्खनन र पर्यटनको उच्च सम्भावना रहेको भन्दै सो विषयमा जाम्बिया सरकार तत्काल सहकार्य गर्न तयार रहेको बताएका थिए । साथै जाम्बियाको वार्षिक ६० हजार करोड बराबरको खानी उत्खनन हुने गरेको छ । उक्त प्राविधिक सहायतामा नेपालमा पनि ठूलो मात्रामा खानी उत्खनन गर्न सकिने उनले जानकारी दिएका थिए ।

नेप्सेकाे ओरालाे यात्रा राेकिएन, घट्यो ५७ अङ्क, कारोबार पनि खस्कियो

काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई दशमलव १६ प्रतिशतको गिरावटपछि आज दुई हजार पाँच सय ८० दशमलव ७६ को बिन्दुमा झरेको छ । परिसूचक करिब दुई महिनापछि दुई हजार पाँच सयको बिन्दुमा ओर्लिएको हो । आज विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर ९२ हजार आठ सय १५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ३६ करोड १९ लाख ८८ हजारको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव ६६ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ५९, विकास बैंक दुई दशमलव ७२, होटल तथा पर्यटन दुई दशमलव ४८, जलविद्युत् दुई दशमलव २८, लगानी दुई दशमलव ५३ र जीवन बीमा एक दशमलव ९१ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ७१, लघुवित्त दुई दशमलव ४३, म्युचुअल फन्ड एक दशमलव १७, निर्जीवन बीमा एक दशमलव ९१, व्यापार दुई दशमलव ७६ र अन्य समूह दुई दशमलव ३३ प्रतिशतले घटेको छ । आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ९१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको रु ३१ करोड ११ लाख ४९ हजार सात सय ३६ बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक प्रमोटर शेयर पाँच लाख ७७ हजार तीन सय ८९ कित्ता खरिदबिक्री भएको छ। याे पनि पढ्नूहाेस् : टिएमएसमा समस्या आउँदा सेयर बजार प्रभावित

टिएमएसमा समस्या आउँदा सेयर बजार प्रभावित

काठमाडौं । आज बिहान अधिकांश धितोपत्र दलाल (ब्रोकर) कम्पनीको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणाली (नेप्से अनलाइन ट्रेडिङ सिस्टम-नट्स) मा पहुँच पुर्‍याउनका लागि ब्रोकरहरूले प्रयोग गर्ने ‘डाइरेक्ट नट्स एक्सेस’ (डिएनए) लगइन हुन नसक्दा समस्या देखिएको हो । यद्यपि, के–कस्तो प्राविधिक कारणले डिएनएमा लगइन हुन सकेन र ब्रोकरहरुको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखियो भन्ने अझै खुलेको छैन । साइबर सुरक्षा र पुँजीबजारको संवेदनशीलताका हिसाबले निकै गम्भीर यो घटनालाई डिएनएसम्बन्धी प्राविधिक सेवा उपलब्ध गराइरहेको कम्पनी र त्यस्तो सेवा लिइरहेका ब्रोकर कम्पनीहरुले सामान्य प्राविधिक समस्याका बताइरहेका छन् भने नियामक नेपाल धितोपत्र बोर्डले यस विषयमा अनविज्ञता जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका सूचना अधिकारी मुराहरि पराजुलीले केही धितोपत्र दलालहरूको प्रणालीमा समस्या देखिएपछि कारोबार प्रभावित भएको पुष्टि गरे । ‘बिहान डिएनए लगइन नहुँदा समस्या देखिएको भन्ने जानकारी नेप्सेमा आएको छ । त्यसको केही समयपछि समस्या समाधान भएको र कारोबार पुनः सञ्चालन भएको जानकारी पाएका छौं । यस विषयमा थप जानकारी लिइरहेका छौं,’ पराजुलीले भने। ब्रोकरहरुको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिँदा आज बिहान करिब २५ मिनेट कारोबार प्रभावित भएको कालिका सेक्युरिटिजका अध्यक्ष नरेन्द्रराज सिजापतिले जानकारी दिए । के-कस्तो प्राविधिक समस्याका कारण टिएमएसमा अवरोध भएको हो भन्ने कुरा ब्रोकर कम्पनीहरूलाई डिएनए सुविधा उपलब्ध गराइरहेको कम्पनी वाइकोलाई जानकारी हुने उनको भनाइ छ । ब्रोकर कम्पनीलाई डिएनए सुविधा उपलब्ध गराइरहेको वाइकोका प्रबन्धक अमृत आचार्यले आन्तरिक प्रणाली (नेटवर्क) मा समस्या देखिएका कारण केहीबेर डिएनए लगइन हुन नसकेको बताए । ‘बिहान नेटवर्कमा केही समस्या देखिएको थियो, जसकारण कनेक्सनमा समस्या देखिएको हो । अहिले समस्या समाधान भइसकेको छ,’ उनले भने । अधिकांश ब्रोकर कम्पनीले वाइकोमार्फत सेवा लिइरहेकामा त्यस्तो सेवा लिइरहेका ६० प्रतिशत ब्रोकरहरूको टिएमएस प्रभावित भएको आचार्यको भनाइ छ । आजको घटनालाई साइबर सुरक्षाका दृष्टिले गम्भीर नभई सामान्य प्राविधिक समस्याका रूपमा बुझ्न आचार्यले आग्रह गरे । धितोपत्र कारोबार सञ्चालन नियमावली, २०७९ को व्यवस्था हेर्दा आजको घटनामा धितोपत्र दलाल व्यवसायीहरुको लापरबाही मात्र नभइ नियामकको पनि गम्भीर त्रुटी देखिएको जानकार बताउँछन् । नियमावलीको व्यवस्थाअनुसार धितोपत्र कारोबार सदस्यहरूले त्यस्तो कारोबार सञ्चालन गर्न नेप्सेको प्रणालीसँग आवद्ध हुनेगरी आफै कारोबार व्यवस्थापन प्रणालीको स्थापना गर्नुपर्ने उल्लेख छ । तर धितोपत्र कम्पनीहरूले भने तेस्रो पक्षको कम्पनीका रूपमा वाइकोमार्फत सेवा लिइरहेका छन् । त्यस्तै, नेटवर्कसम्बन्धी घटना, गडबडी र आक्रमण पहिचानका लागि सुरक्षा अनुगमन प्रणाली स्थापना गर्नुपर्ने, साइबर आक्रमणसम्बन्धी घटना र समस्याको निराकरणका लागि तत्काल सम्बोधन गर्ने व्यवस्था तथा सुरक्षाका लागि अनुगमन गर्नुपर्ने, बिजनेस रिकभरी म्यानेजमेन्ट प्रणाली स्थापना गर्ने, कारोबार व्यवस्थापन प्रणाली सञ्चालनका लागि आवश्यक पर्ने सर्भर भण्डारण (स्टोरेज) क्षमता, सुरक्षा व्यवस्थापन (फायरवाल), नेटवर्क र सैन स्वीच तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्नेलगायत नियमावलीका व्यवस्था कार्यान्वयन भए नभएकोबारे नियामकले अनुगमन र कारबाही गर्न सकेको छैन । नियामक नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीले आजको घटनाबारे बोर्डमा कुनैपनि जानकारी नआएको बताउनुभयो । नेप्सेले धितोपत्र दलालहरुलाई आफै डाटा सेन्टर राख्न, प्रावधिक जनशक्ति राख्न भनेपनि धितोपत्र दलालहरुले तेस्रो पक्षबाट यो सुविधा लिँदै आएका छन् ।

मर्मतसम्भारको अभावमा वायु ऊर्जा आयोजना अलपत्र, एक करोडभन्दा बढीको लगानी

फाइल तस्बिर । कुश्मा । झन्डै दुई दशकदेखि अलपत्र बनेको पर्वतको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । महाशिला गाउँपालिका–६ फलामखानीमा कराेडाैं रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समयसमयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् । लथालिङ्ग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । केन्द्र विसं २०६० मा स्थापना भएको थियाे । टिटिविजी नामक संस्थाले रु एक करोडभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजना निर्माण गरेको थियो । संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि वायु ऊर्जा अयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय ठाकुर रसाइलीले जानकारी दिए । त्यसमा भएको लगानी पनि डुबेको उनको भनाइ छ । फलामखानीका वडाध्यक्ष गोविन्द विश्वकर्माका अनुसार समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाँडामा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो । वायु ऊर्जा सञ्चालनमा आएपछि फलामखानी, भँगरा लगायतका सयौं घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्न परेको विश्वकर्माले बता‍ए । त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हावाको मापनसमेत गर्न सकिने उक्त डाँडोमा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने उनले बताए । उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, ऊर्जा मन्त्रालय लगायतसँग माग गरिएको अध्यक्ष विश्वकर्माले बताए । संयुक्तराष्ट्र सङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक ‘रिपोर्ट’अनुसार नेपालमा तीन हजार मेगावाट विद्युत् हावाबाट उत्पादन गर्न सकिन्छ । उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो । वायु ऊर्जा आयोजना पुनर्निर्माण गर्न सकेमा फलामखानी करिब तीन सय घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ । महाशिला गाउँपालिकाले उक्त वायु ऊर्जा आयोजनाका बारेमा विस्तृत अध्ययन गरी पुनः सञ्चालनका लागि कार्ययोजना बनाउने तयारी गरेको अध्यक्ष ईश्वरी भुसालले बताए । चालु आर्थिक वर्षदेखि नै अलपत्र आयोजनाको व्यवस्थापनमा लाग्ने उनले बताए । रासस

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्दै समितिका सभापति सूर्यबहादुर थापा । काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठका समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन, २०८१ पेश गरेका हुन् । विभिन्न सहकारीहरुको वचत रकम अपचलन भएको भन्दै सोको छानबिन गर्नका लागि भन्दै प्रतिनिधिसभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानविन विशेष समिति गठन गरेको थियो । प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको बताए । उनले छानविन समितिमा रहेका पाँच पार्टीहरू एकैतिर फर्किएर छानबिन गरिएको बताए । उनले समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरूसँग सुझावमुलक जानकारी र अन्तरक्रिया गरेको जानकारी दिए। प्रतिवेदनसभामा पेश भएसँगै सभामुख देवराज घिमिरेले प्रतिवेदनको आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिए । उनले भने, ‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु ।’ याे पनि पढ्नूहाेस्: सहकारीमा सबै ‘फेक’, गोरखा मिडियामा सहकारीको ८५ अर्ब ऋण देखियो : सभापति थापा याे पनि: सहकारी छानबिन समितिको प्रतिवेदन पारित, ४० सहकारीको ८६ अर्ब ठगी