नवप्रवर्तन–सञ्चालित आर्थिक वृद्धिको सिद्धान्तका तीन अर्थशास्त्रीलाई नोबेल सम्मान
काठमाडौं । नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ । मोकिर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध छन् । अघियन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग तथा हाविट अमेरिकाकै ब्राउन विश्वविद्यालयसँग आबद्ध छन् । नोबेल समितिले विज्ञप्तिमा उल्लेख गरेको छ, 'मोकिरले आविष्कारहरू कसरी आत्म–उत्पादन प्रक्रियामा एकअर्कालाई प्रोत्साहित गर्छन् भन्ने देखाउनुभयो । उहाँको शोधले के काम गर्छ भन्ने मात्रै होइन, किन गर्छ भन्ने वैज्ञानिक स्पष्टीकरणको आवश्यकता पनि औँल्याएको छ ।' त्यस्तै अघियन र हाविटले सन् १९९२ मा प्रकाशित एक प्रसिद्ध शोधपत्रमार्फत निरन्तर आर्थिक वृद्धिको संयन्त्र स्पष्ट गरे । उनीहरूले ‘रचनात्मक विनाश’ (क्रिएटिभ डिस्ट्रक्सन) को अवधारणामा आधारित गणितीय मोडेल विकास गरे — जसमा नयाँ र उन्नत उत्पादन बजारमा प्रवेश गर्दा पुराना उत्पादनहरू र तिनीहरू बेच्ने कम्पनीहरू प्रतिस्थापित हुने प्रक्रिया समावेश छ । अर्थशास्त्र पुरस्कार समितिका अध्यक्ष प्राध्यापक ह्यासलरले भने, 'आर्थिक वृद्धि कुनै सहज विषय होइन भन्ने यी पुरस्कार विजेताहरूको कार्यले देखाउँछ । हामीले रचनात्मक विनाशका संयन्त्रहरूलाई समर्थन गर्नुपर्छ, ताकि अर्थतन्त्र स्थिरतामा नफँसियोस् ।' गत वर्ष यो पुरस्कार तीन अर्थशास्त्री डारोन एसेमोग्लु, साइमन जोनसन र जेम्स ए। रोबिन्सनलाई प्रदान गरिएको थियो । उनीहरूले किन केही देशहरू धनी र अरूहरू गरिब छन् भन्ने विषयमा गहिरो अध्ययन गर्दै स्वतन्त्र र खुला समाजहरू आर्थिक रूपमा समृद्ध हुने सम्भावना बढी रहने निष्कर्ष प्रस्तुत गरेका थिए । अर्थशास्त्र पुरस्कारलाई औपचारिक रूपमा ‘अल्फ्रेड नोबेलको सम्झनामा आर्थिक विज्ञानमा बैंक अफ स्विडेन पुरस्कार’ भनिन्छ । स्विडेनको केन्द्रीय बैंकले यसलाई सन् १९६८ मा स्थापनागरेको थियो । बैंकले १९औँ शताब्दीका प्रसिद्ध आविष्कारक, व्यापारी र रसायनशास्त्री अल्फ्रेड नोबेलको स्मृतिमा यो सम्मान सुरु गरेको हो । नोबेलले डाइनामाइटको आविष्कार गर्दै पाँचवटा नोबेल पुरस्कारको परम्परा आरम्भ गरेका थिए । स्थापनाको सुरुआतदेखि अहिलेसम्म यो पुरस्कार ५६ पटकमा ९६ जना विज्ञलाई प्रदान भइसकेको छ । यसमा तीन जना मात्र महिला रहेका छन् । नोबेल परम्पराका शुद्धतावादीहरूले भने यस पुरस्कारलाई प्राविधिक रूपमा ‘नोबेल पुरस्कार’ नभएको तर्क गर्छन्, तर अन्य नोबेल पुरस्कारहरूसँगै हरेक वर्ष डिसेम्बर १० मा, सन् १८९६ मा अल्फ्रेड नोबेलको निधनको वार्षिकोत्सवका दिन नै यो सम्मान पनि प्रदान गरिन्छ । गत हप्तासम्म चिकित्सा, भौतिक विज्ञान, रसायन विज्ञान, साहित्य र शान्तिका नोबेल पुरस्कारहरूको घोषणा भइसकेको छ । रासस
‘बीमितहरू आत्तिनु पर्दैन, हामी पैसा दिन्छौं’
‘नेपालका बीमा कम्पनीहरू बलिया छन् र बीमितको दावी भुक्तानी गर्न सक्षम छन् । शिखर इन्स्योरेन्स झनै बलियो छ । जेनजी आन्दोलनबाट नोक्सानी बेहोरेका बीमितलाई बीमा दावी भुक्तानी सुरु गरिसकेका छौं, ’ शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डेले विकासन्युजसँग भने, ‘जेनजी आन्दोलनले हाम्रा ४३३ बीमितलाई नोक्सान पुगेको छ । त्यसमा २ अर्ब ४१ करोड रुपैयाँ बराबर बीमा दावी परेको छ । १७३ बीमितलाई सर्भेयरको सिफारिस अनुसार २५ देखि ५० प्रतिशत अग्रिम भुक्तानी दिइसकेका छौं ।’ उनले बीमितहरूलाई नआत्तिन आग्रह गरे । उनले भने, ‘जसले विधिसम्मत बीमा गराउनु भएको छ, तपाईंहरूले दावी भुक्तानी पाउनु हुनेछ । हामी ग्राहकसँग नियमित छलफलमा छौं । संकटको यस घडीमा तपाईंहरूको आर्थिक सुरक्षाको प्रत्याभूति हामी दिन्छौं ।’ जेनजी आन्दोलनबाट शिखरका २३० बीमितको गाडी जलेको छ । ११५ जनाको घर सम्पत्ति नोक्सान भएको छ । ७८ वटा इन्जिनियरिङ बीमा र १० वटा अन्य बीमा दावी परेको छ । शिखर इन्स्योरेन्सको सेयर पुँजी २ अर्ब ९२ करोड रुपैयाँ छ । गत असार मसान्तसम्म कम्पनीको नेटवर्थ ५ अर्ब ८१ करोड रुपैयाँ छ । ‘जेनजी आन्दोलनको असर कम्पनीलाई अधिकतम ३६ करोड रुपैयाँ भार पर्न सक्छ । यसको असर चालु आर्थिक वर्षको नाफा गत वर्षको तुलनामा कम हुनेछ । तर कम्पनीको समग्र वित्तीय सूचकांकलाई नकारात्मक बनाउँदैन, ’ उनले भने । नगद प्रवाह नियमित एकै पटक ठूलो रकम बीमा दावी हुँदा बीमा कम्पनीहरूको नगद प्रवाहमा समस्या हुने हो कि भन्ने आशंका बजारमा छ । तर शिखर इन्स्योरेन्सका लागि त्यस्तो कुनै समस्या नभएको सीईओ पाण्डेले बताए । ‘हामीले आइतबार साँझसम्म ४१ करोड भुक्तानी दिइसकेका छौं । सोमबारसम्म ५० करोड भुक्तानी गर्दैछौं, ’ उनले भने, ‘नेपाल पुनर्बीमा कम्पनीले ३७ करोड रुपैयाँ अग्रिम भुक्तानी दिने जानकारी दिएको छ । बीमा प्राधिकरणले एयर मार्क (मुद्दती रकम नियन्त्रण) खुला गरेको छ । कम्पनीको सञ्चालक समितिले ५० करोड रुपैयाँ बैंकबाट कर्जा लिने निर्णय गरेको छ । अब नगद प्रवाहमा पनि कुनै समस्या हुँदैन । कात्तिक महिनाभित्र अधिकांश बीमितको दावी भुक्तानी गर्नेछौं ।’ गत सातासम्म नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी देला कि नदेला भन्न दुविधा भएको तर यस साताबाट पुनर्बीमाले दावी भुक्तानी गर्न थालेपछि बीमा क्षेत्रमा मनोबल बढेको सीईओ पाण्डेले बताए । भदौ २३ र २४ गते हुलदंगा बीमातर्फ नेपालले इतिहासकै सबैभन्दा ठूलो क्षति बेहोरेको छ । बीमा कम्पनीहरूको लागि यो बिलकुल नयाँ भोगाइ पनि हो । ‘हामीले २०७२ को भूकम्प पनि पार लगायौं । गत वर्षको ठूलो बाढी पहिलो पनि पार लगायौं । यस वर्ष पनि बाढी पहिरोको असर ठूलै छ । तर बाढी पहिलोबाट हुने जोखिम नेपालका बीमा कम्पनीको लागि सामान्य लाग्न थालेका छन्, ’ पाण्डेले भने, ‘यस पटक पनि हामी जिम्मेवारीपूर्वक काम गरिरहेका छौं । समस्यामा परेका ग्राहकसँग नियमित छलफलमा छौं । सर्भेयरहरूले काम गरिरहेका छन् । डकुमेन्टेशनको काम भइरहेको छ । स्टकहरूको भ्यालुएशनका काम भइरहेका छन् । पूरै नष्ट भएका गाडीहरूको दर्ता खारेजीको काम पनि सुरु भइसकेको छ ।’ बीमा कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड बनाएर नियामकले सही समयमा सही निर्णय गरेको सीईओ पाण्डेले स्मरण गराए । ‘पुँजी बृद्धिसँग कम्पनी बलिया भएका छन् । अब ग्राहकहरू पनि सुरक्षित भएका छन् । यति ठूलो विपत्मा पनि बीमा दावी भुक्तानीमा बीमा सक्षम भएका छन् । हामीले कम्पनीका प्रवर्द्धक सेयरधनीसँग पनि छलफल गर्यौं । कम्पनी बलियो छ, चालु आर्थिक वर्षमा पनि कम्पनी नोक्सानीमा जाँदैन भनेर जानकारी दिएका छौं । कम्पनीको रेटिङ डबल ए माइनस छ । त्यो कायम नै हुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने । गत आर्थिक वर्षका कम्पनीले ४५ करोड खुद नाफा गरेको थियो । असार मसान्तमा कम्पनीको बीमा कोष १ अर्ब ९२ करोड रुपैयाँ छ । कम्पनीको नेटवर्थ प्रतिसेयर १९९ रुपैयाँ छ ।
पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो
काठमाडौं । हैजा प्रभावित पर्सामा हालसम्म २१ हजार जनालाई खोप प्रदान गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका नागरिकलाई उक्त खोप लगाइएको हो । वीरगञ्ज नगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र धोवीनी गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले पर्सामा ६ लाख ५२ हजार लक्षित जनसङ्ख्या रहेकामा २१ हजार १९६ जनालाई हैजा विरुद्धको खोप दिइएको जानकारी दिए । जगरनाथपुरमा ३२ हजार ५३ जनामध्ये १७५ जनालाई, सखुवा प्रसौनीमा ३५ हजार १७९ जनामध्ये ४ हजार ९९९, वीरगञ्ज महानगरपालिकामा दुई लाख ७५ हजार ६७३ जनामध्ये नौ हजार ५१३, पोखरियामा ३७ हजार ८७४ जनामध्ये चार हजार ८७६ र धोवीनीमा २२ हजार ५४२ जनामध्ये दुई हजार ५३३ जनालाई हैजा विरुद्धको खोप लगाइएको हो । पर्सामा आइतबार प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीलाई खोप लगाएर उक्त अभियान थालिएको हो । सरकारले हैजाको महामारीको उच्च जोखिमलाई ध्यानमा राखी पर्सा र बारामा हैजा विरुद्धको खोप अभियान सञ्चालन गरेको हो । गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुरली टोलबाट देखिन सुरु गरेको हैजा रोगबाट हालसम्म पर्सा र बारामा गरी एक हजार ६८५ हैजाका बिरामी फेला परेका छन् । हैजा विरुद्धको खोप अभियानका लागि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारा पठाइसकेको छ । दुवै जिल्लामा चार लाख तीन हजार ३२१ जनालाई खोप दिइनेछ । हाल पर्साको १४ वटै स्थानीय तह र बाराका ६ स्थानीय तहमा सो अभियान सञ्चालन गरिनेछ । खोप शाखा प्रमुख डा गौतमले हालसम्म सबै जना खोप लिन इच्छुक रहेका जानकारी दिए । रासस
एनआईसी एशिया बैंकका ग्राहकलाई मर्क्योर होटलमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौं, सुकेधारामा रहेको मर्क्योर होटलमा छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरूले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले यस होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषद्सँग प्रधानमन्त्री कार्कीको छलफल
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषद्सँग छलफल गरेकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीले छलफल गरेकी हुन् । योजना आयोगसँग मध्यान्ह साढे १२ बजे, पर्यटन मन्त्रालयसँग १ बजे र २ बजे सुरक्षा परिषद्सँग छलफल गरेकी हुन् । योजना आयोगसँगको छलफलमा राष्ट्रिय आयोजनाहरूको अवस्थाका बारेमा जानकारी लिएकी थिइन् ।
एसबिआई मर्चेन्ट बैंकिङको दशौं वार्षिक साधारणसभा सम्पन्न, ५ करोड नगद लाभांश पारित
काठमाडौं। नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको दशौं वार्षिक साधारणसभा असोज २७ गते नेपाल एसबिआई बैंक लिमिटेडको प्रधान कार्यालय, कमलादीमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, आषाढ मसान्त २०८२ सम्मको वासलात, नाफा–नोक्सान विवरण र सम्बन्धित अनुसूचीहरू पारित गरेको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशतका दरले कुल ५ करोड बराबर रुपैयाँको नगद लाभांश (लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी, आव २०८२/८३ को लेखापरीक्षणका लागि मेशर्स एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरिएको छ ।
४४ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४ अंकले बढेर २५४७ बिन्दुमा पुगेको छ । आज ७० कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ । १६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३० कम्पनीको ९९ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् । आज अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशतले बढेको छ । बैंकिङ ०.२८, विकास बैंक १.४१, फाइनान्स १.०२, होटल तथा पर्यटन ३.३५, हाइड्रोपावर २.१०, लगानी २.२७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.४४ तथा व्यापार समूह २.८१ प्रतिशतले बढेका छन् । नेपाल माइक्रोइन्स्योरेन्स, नेपाल पुनर्बीमा र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
२१ संस्थाको कब्जामा त्रिविको जग्गा, कुनले कति गरे अतिक्रमण ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा विभिन्न २१ वटा संघसंस्थाले अतिक्रमण गरेको पाइएको छ । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पति खोजबिन समितिले उपत्यकाभित्र रहेको जग्गा विभिन्न संघ संस्थाले उपभोग गरिरहेको खुलाएको हो । महेन्द्र कुमार थापाको संयोजकत्वमा गठित चार सदस्यीय खोजबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा कीर्तिपुरमा रहेको जग्गा त्रिविकै पदाधिकारीको मिलेमतोमा २ हजारभन्दा बढी रोपनी जग्गामा नाजीदेखि धार्मिकसम्म गरी विभिन्न संघ संस्थाले रजाइँ गरेको पाइएको छ । आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा केही संस्थाले कानुनसम्मत रुपमा उपभोग गरिरहेको भएपनि केहीले आफ्नै नाममा बनाउने कसरत गरिरहेको उल्लेख छ । जग्गाका हिसाबले संसारमा सबैभन्दा उत्कृष्ट मानिने यो विश्वविद्यालयको जग्गा अहिले विभिन्न निकायले उपभोग गरिरहेका छन् । त्रिविको जम्मा पाँच हजार ५० रोपनी ३ आना १ दाम १ पैसा रोपनी क्षेत्रफल जग्गा रहेको र सो जग्गामध्ये करिब ८ सय ४३ रोपनी १० आना ६ पैसा १ दाम जग्गा सरकारी निकाय र विभिन्न गैरसरकारी संघसंस्थाहरूले उपयोग गर्दै आएको देखिन्छ । धेरै जग्गा सम्बन्धित संघ संस्थाहरूले त्रिविमा अनुरोध (माग) गरेकोमा कार्यकारी परिषद्, सिन्डिकेट र त्रिवि कमिसनको निर्णयबाट स्वीकृति भएपछि विधिवत् उपभोग गरेको देखिएको छ भने केही जग्गा जमिन संघ संस्थाहरूले विना स्वीकृति कब्जा गरी उपभोग गरेको पनि देखिएको छ । कुनले कति गरे अतिक्रमण ? नेपाल सरकारको अनुरोधमा त्रिवि कार्यकारी परिषदको विभिन्न मितिको निर्णयबाट जग्गा उपलब्ध गराइएको कार्यकारी परिषदको विभिन्न मितिको निर्णयबाट देखिन आएको छ । गणतन्त्र स्तम्भ निर्माणलाई ६० रोपनी, वि.पी. प्लानेटोरियम तथा अब्जरभेटरीलाई १ सय ६० रोपनी, कृषि बागबानी केन्द्रलाई २ सय ८१ रोपनी, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई २५ रोपनी, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई ८२ प्लस २५ रोपनी, जग्गा नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएको (कार्यकारी परिषदको मिति २०७५ कार्तिक २६ को निर्णयले देखाएको छ । त्यसमध्ये गाङखेल क्षेत्रमा गणतन्त्र स्मारकका लागि भनी ६० रोपनी जग्गा नेपाल सरकारको अनुरोधमा गराइएको र पछि उक्त स्थानमा गणतन्त्र स्मारक निर्माण नगर्ने भएपछि त्रिविलाई फिर्ता भएको पाइएको छ । महानगरीय प्रहरी वृत्त (कीर्तिपुर) लाई ५ रोपनी, महानगरीय प्रहरी वृत्त (कालिमाटी) लाई ४ रोपनी, नेपाल प्राध्यापक संघलाई ६ रोपनी १२ आना, ग्लोबल आईएमई बैंक, लायन्स क्लब इन्टरनेसनलको रक्तसञ्चार केन्द्र, नेपाल क्रिकेट संघ (७६ रोपनी ४ आना ३ दाम), नेपाल बैंक लि. भवन आदिलाई समेत गरी जग्गा उपलब्ध गराएको पाइएको छ । त्रिविको कुनै निर्णय तथा स्वीकृति, सम्झौता विना त्रिविको नाप नक्सा एवं लालपूर्जा भएको करिब १५ रोपनी जग्गा वि.सं. २०४७÷०४८ साल देखि राधास्वामी सत्संग व्यास नेपाल नामक संस्थाले अनधिकृत रूपमा प्रयोग गर्दै आएको छ। यसैगरी, कीर्तिपुर बहुमुखी क्याम्पसको नाममा नै ज.ध. दर्ता प्रमाण पूर्जा भएको कीर्तिपुर न.पा. वडा नं. १० को कि.नं. ३४ को १०८ रोपनी १४ आना २ पैसा ३ दाम जग्गा लेबोरेटरी माध्यमिक विद्यालयले अनधिकृत रूपमा जबर्जस्ती कब्जा गरी उपयोग गरिरहेको पनि देखिन्छ । त्रिविले २०८१ असार २१ गते समितिलाई उपलब्ध गराएको विवरणका आधारमा अध्ययन गर्दा, त्रि.वि.को कुनै निर्णय तथा स्वीकृति, सम्झौता विना त्रि.वि.को नाप नक्सा एवं लालपूर्जा भएको करिब १५ रोपनी जग्गा वि.सं. २०४७/०४८ साल देखि राधास्वामी सत्संग व्यास नेपाल नामक संस्थाले अनधिकृत रूपमा प्रयोग गर्दै आएको छ। यसैगरी, कीर्तिपुर बहुमुखी क्याम्पसको नाममा दर्ता प्रमाणपूर्जा भएको कीर्तिपुर न.पा. वडा नं. १० को १ सय ८ रोपनी १४ आना २ पैसा ३ दाम जग्गा लेबोरेटरी माध्यमिक विद्यालयले अनधिकृत रूपमा जबर्जस्ती कब्जा गरी उपयोग गरिरहेको छ । त्यसैगरी, त्रिवि र नेपाल क्रिकेट संघ बीच २०५४ र २०५९ मा गरी २ पटक द्विपक्षीय सम्झौता बमोजिम त्रि.वि. क्रिकेट रंगशाला (त्रिविको स्वामित्वमा रहेको ७६ रोपनी ४ आना तीन पैसा जग्गा भाडामा दिइएको छ भने यस्तै नेत्रज्योती संघलाई २० वर्षका लागि १० रोपनी जग्गा भोगाधिकारमा दिइएको देखिएको छ । राधास्वामी सत्संग ब्यास नेपालले उपयोग गरेको जग्गा त्रिभुन विश्वविद्यालयको १५ रोपनी जग्गा राधास्वामी सत्संग ब्यास नेपालले उपयोग गरिरहेको छ । २०१३ सालमा त्रिविसँग ४ आना जमिन माग्न गएको राधास्वामी सत्सङ्ग नामको धार्मिक केन्द्रले २०४७ सालदेखि विश्वविद्यालयको मूल परिसर बाहिर बागमती नदी तर्फको तटिय क्षेत्रको जग्गा ओगटेर बसेको छ। त्रिविकै स्वामित्वमा रहने गरी शुरूमा ४ आना जमिन लिएको यो संस्थाले अहिले उपभोग गरिरहेको जग्गा आफ्नै नाममा दर्ता गराउन प्रयत्न गरिरहेको छ । यसका लागि यो संस्थाले विभिन्न प्रयास गरे पनि आफ्नो नाममा भने ल्याउन सकेको छैन । अदालतले समेत यो जग्गा त्रिविकै रहने फैसला गरे पनि संस्थाले हालसम्म पनि आफ्नो नाममा दर्ता गर्ने प्रयास गरिरहेको तर नसकेको प्रतिवेदनमा उल्लेख छ । नेपाल प्राध्यापक संघले भोगचलन गरेको जग्गा त्रिभुवन विश्वविद्यालयले नेपाल प्राध्यापक संघलाई भवन निर्माणका लागिदिएको जग्गाबाट संघले फाइदा लिन खोजेका समाचार सञ्चार माध्यममा पटक पटक प्रसारण भएका थिए । यो विषयमा अनुसन्धान गर्दा समितिले प्राध्यापक संघका लागि त्रिविको स्कुल अफ म्यानेजमेन्टका लागि छुट्याइएको बल्खुस्थित ५ रोपनीसँगै तीन रोपनी जग्गा उपलब्ध गराएको तर संघले आफै प्रयोग नगरी तेस्रो पक्षलाई भाडामा दिइएको पाइपछि त्रिविले जग्गा फिर्ता गरिसकेको पाएको छ । हाल त्रिविले तीन रोपनी जग्गा प्राध्यापक संघलाई त्रिविकै स्वामित्वमा रहने गरी भवन निर्माणका लागि उपलब्ध गराएको पाइएको छ । प्राध्यापक संघले हाल भवन बाहेक अरु सबै जग्गा फिर्ता गरे पनि सरकारी जग्गा आफ्नै नाममा रहेको भन्दै भाडामा दिएर तेस्रो पक्षबाट आर्थिक फाइदा लिइएको भन्दै आर्थिक नोक्सानी असुलउपरका लागि छानबिन गरी कारवाही गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्रिवि कर्मचारी संघले गरेको उपभोग जग्गा त्रिवि कर्मचारी संघले त्रिवि गेट अगाडि झण्डै २० रोपनी जग्गा लिएर आफू अनुकूल भाडामा लगाइएको र त्यसबाट आउने रकम आफै राख्ने गरेको समाचार पनि नेपाली सञ्चारमाध्यममा पटक पटक आइरहेको विषय हो । यो विषयमा समितिले अध्ययन गर्दा त्रिविकै मिलेमतोमा कर्मचारी संघलाई दिइएको जग्गा व्यापारिक प्रयोजनमा लगाइएको पाइएको छ । विश्वविद्यालयले गरेका विभिन्न निर्णयमा ठ्याक्कै जग्गा एकिन नगरेको भएपनि कर्मचारी संघले भवन निर्माण गरी भाडामा लगाएको र विश्वविद्यालयको हाताभित्र पेट्रोलपम्प सञ्चालन गरिरहेको पाइएको छ । प्रतिवेदनले कर्मचारी संघले लिएको जग्गा व्यापारिक प्रयोजनमा लगाइएको र पेट्रोलपम्प समेत राख्न त्रिविको सामान्य प्रशासन महाशाखा प्रमुखबाट आयल निगमलाई पत्राचार गरेको पाइएको उल्लेख गरेको छ । कर्मचारी संघलाई अतिथि भवन गृह बनाउन मात्र स्वीकृति दिने निर्णयमा टेकेर अधिकार प्राप्त नभएको व्यक्तिले तर प्रयोजनका लागि का लागि भाडामा लगाइएको पाइएकाले यो विषयमा पनि छानबिन हुनुपर्ने प्रतिवेदनले भनेको छ । विपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिले १ सय ७४ रोपनी जग्गा ओगटे कुरा पहिले नै बाहिर आएको थियो । त्रिविले विभिन्न मितिमा गरेको निर्णय अनुसार विपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलयलाई १ सय ५० रोपनी जग्गा उपयोग गर्न दिने गरी सम्झौता भएको छ । तर सम्झौता अनुसार अहिलेसम्म विज्ञान संग्राहालय सञ्चालनमा नआउँदा यो विषयमा पनि थप छलफल गर्नुपर्ने देखिएको छ । त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आयुर्वेद क्याम्पस कीर्तिपुरका लागि छुट्याएको एक सय रोपनी जग्गाबाट ३० रोपनी जग्गा आयुर्वेद विभाग अन्तर्गतको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई दिएको पाइएको छ । यो जग्गा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई दिन नेपाल सरकारबाट अनुरोध भए नभएको निर्णय भेटिएको छैन । कति वर्षको लागि भोगाधिकार दिइएको हो भन्ने समेत प्रष्ट नरहेकाले यो विषयमा पनि छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल नेत्रज्वती संघले त्रिवीको १० रोपनी जग्गामा आँखा अस्पताल स्थापना गरेको छ । सम्झौतामा हस्ताक्षर भएको मितिबाट २० वर्षसम्मका लागि अस्पताल सञ्चालन गर्ने सहमति थियो । सहमति अनुसार २०७२ साल असार २ गते सम्मको समयसीमा हो । १० रोपनी जग्गामा आँखा सञ्चालन भइरहेको भए पनि कुन उदेश्यपूर्तिका लागि सञ्चालनमा ल्याइएको हो भन्ने कुनै नखुलेको भन्दै यसको औचित्यमाथि प्रश्न उठेको प्रतिवेदनमा उल्लेख छ । यस्तै नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमइ बैंकले भाडा तिरेर जग्गा भोग चलन गरी आएका छन् । यस्तै प्रहरी वृत्त बल्खु, कालिमाटी काठमाडौंले एक रोपनी जग्गामा नबढाइ अस्थायी रुपमा प्रहरी कार्यालय युनिट राखेको छ । यस्तै महानगरीय प्रहरी वृत्त कीर्तिपुरले पनि झण्डै पाँच रोपनी त्रिविको जग्गा उपभोग गरिरहेको छ । त्रिविको जग्गामा लायन्स क्लबले तीन रोपनी जग्गामा रक्तसञ्चार केन्द्र सञ्चालन गरिरहेको छ । लायन्स रक्त सञ्चार तथा अनुसन्धान केन्द्र स्थापना गर्न लायन्स एमडीलाई उपलब्ध गराइने भनी त्रिविका उपकुलपति र लायन्स क्लब इन्टरनेश्नल मल्टीपल डिस्ष्ट्रिक नेपाल बिच सम्झौता भएको पाइएको छ । यसमा अभिलेख पूरक सम्झौता गर्नका लागि कार्यकारी परिषदको निर्णय भएको ब्यहोरा उल्लेख नभएको र त्रिविभित्र यो राख्नुको औचित्य नदेखिएको समतिको निष्कर्ष छ । नेपाल किक्रेट संघ र त्रिविविच भएको सम्झौता अनुसार त्रिविको ७० रोपनी भन्दा बढी जग्गा भोगचलन गरिरहेको छ । सम्झौता गरिए पनि भाडाको विषय भाडाको विषयमा घटबढ हुँदा आर्थिक अनियमितता भएको हुन सक्ने आशंका गरेको छ । त्रिवि र राष्ट्रिय खेलकुद परिषदबीच अन्तराष्ट्रिय स्तरको कर्भडहल सञ्चालन गर्ने सम्झौता अनुसार कर्भड हल सञ्चालन भए पनि समितिले छानबिन गर्दा कुनै कागजात फेला नपरेको पाइएको छ । मौखिक रुपमा भएको सम्झौता अनुसार हालसम्म कुनै काम नभएको प्रतिवेदनले देखाएको छ । त्रिविको कीर्तिपुर हाताको मुल ढोका अगाडि रहेको सुन्दरी घाट नजिकैको १८ रोपनी जग्गा काठमाडौं खानेपानी बोर्ड र खानेपानी तथा ढल निकास समितिले उपभोग गरिरहेका छन् । कीर्तिपुर क्याम्पसका लागि पानी सप्लाईको व्यवस्था गर्ने र क्याम्पसको हाताका लागि आवश्यक ढल निर्माण गरिदिने सम्झौता अनुसार जग्गा उपभोग गरिरहेको छ । सम्झौता अनुसार काम नभएको र त्रिविलाई तिर्नुपर्ने रकम विवादित हुँदा यो विषयमा पनि थप छानबिन हुन आवश्यक रहेको छ । २ सय ८१ रोपनी, १४ आना एक पैसा एक दाम जग्गा कृर्षी बागवानी केन्द्रले उपभोग गरिरहेको छ । हाल कृर्षि मन्त्रालय अन्तर्गत रहेको बागवानीले उपभोग गरिरहेको जग्गा त्रिवि कार्यकारी परिषदको २०७५ सालमा बसेको बैठकको निर्णयले त्रिवि परिसर भित्र सरकारी निकायलाई उपभोगका लागि उपलब्ध गराइएको मध्ये बागबानी केन्द्रलाई २ सय ८० रोपनी हालै कृषि विभाग अन्तर्गतको समशीतोष्ण बागवानी केन्द्रलाई १ सय ३७, गरी जम्मा चार सय १८ रोपनी जग्गा भोगचलन गरिरहेको पाइएको छ । त्रिविको जग्गा कीर्तिपुर नगरपालिकाले पनि उपभोग गरिरहेको पाइएको छ । नगरपालिकाले एक रोपनीमा सार्वजनिक शौचालय निर्माण गरेको, कीर्तिपुर गेट नजिकै कर्वड हल बनाएको नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्र बनाइ उपयोग गरेको र १२ वटा सटर बनाइ भाडामा लगाइएको र फोहोर संकलन केन्द्र पनि त्रिविको जग्गा नै प्रयोग गरिरहेको छ । गीट्टी बालुवा डिपोले पनि त्रिविको जग्गा उपभोग गरिरहेको छ । एग्रो एण्ड बायोलोजी राष्ट्रिय प्रयोगशालाको भवन परिसरको १० रोपनी बढी जग्गा डिपोले उपभोग गरिरहेको छ । त्रिविले पटक पटक जग्गा खाली गर्न आग्रह गर्दा पनि डिपोले वास्ता नगरेको विभिन्न निर्णयहरूले देखाएको छ । समितिले यो डिपोले त्रिविको स्वीकृती बिना डिपो निर्माण गरी व्यक्तिगत रुपमा थप आर्थिक लाभ लिए नलिएको विषयमा खोजी गरी कारवाही गर्नुपर्ने सल्लाह समितिले दिएको छ । नेपाल विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्रले त्रिविको जग्गा कब्जा गरेको छ । बागमती किनाराको ५ रोपनी जग्गामा भण्डारणको रुपमा प्रयोग गरिरहेको छ । समितिले यि भन्दा बाहेक बागमती किनारको सुकुमबासी बस्ती, सुमो पार्किङ, उमादेवी मन्दिर कुमारी क्लब, लगायत धेरै ठाउँमा जग्गा कब्जा भएको हुनसक्ने बताएको छ । किर्तीपुर परिसर भन्दा बाहिर पनि जग्गा कब्जा भएका छन् । यो विश्वविद्यालय अन्तर्गत हाल ६२ वटा आंगिक क्याम्पस, ५ सय २९ वटा सामुदायिक क्याम्पस ५ सय ४९ निजी क्याम्पस रहेका छन् । त्रिवि अन्तर्गत ४२ वटा विभाग, ५ अध्ययन संस्थान, ४ संकाय र ४ अनुसन्धान केन्द्र छन् । २०७९ को तथ्यांक अनुसार ४ लाख विद्यार्थी अध्ययन गरिरहेका छन् ।