मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने ४ जना कारबाहीमा
काठमाडौं । प्रहरीले पोखरामा स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरिएका र चर्को ध्वनि निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइ कारबाही गर्न सुरू गरेको छ । केही दिनयता त्यस्ता ४ मोटरसाइकल र तिनका चालकलाई कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने सुवास कार्की, पोखरा-३ बस्ने एल्विन पुन, पोखरा-६ का सञ्जिव दुवाडी र पोखरा-५ बस्ने अमृत चापागाईंलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई कारबाही गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीचौकी र ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिँदै आएको उनको भनाइ छ । प्रहरीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने जनाइएको छ । कास्की प्रहरीले गत वर्ष अभियानका रूपमा यस प्रकृतिका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरेको थियो । स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्ट पुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम रु १५ हजार जरिवाना हुने व्यवस्था छ । सहरी क्षेत्रमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल कुदाउने प्रवृत्ति छ । यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिम बढाउनुका साथै ध्वनि प्रदूषणले समाजमा असर पु¥याउने प्रहरीको भनाइ छ ।
प्रधानमन्त्री कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन, गतिविधि फेला परे कारबाही
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माका अनुसार प्रधानमन्त्री एवं प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यका लागि कोही कसैलाई अनुमति दिइएको छैन । त्यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्तो कार्यका लागि आग्रह गरेमा पूर्ण रुपमा अस्वीकार गर्न प्रवक्ता शर्माले विज्ञप्तिमार्फत् अनुरोध गरे । प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला पारेमा यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रहरीलाई खबर गरिदिन विज्ञप्तिमा आग्रह गरिएको छ ।
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
विश्वकप छनोट: कतारलाई ५ रनले पराजित गर्दै नेपाल विजयी
काठमाडौं । ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले पराजित गर्दै विजयी भएको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा सोमबार भएको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो । आइतबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानले ५ विकेट लिए । त्यस्तै नन्दन यादवले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने गुल्शन झाले १६ रन जोडे । यता कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान ३÷३ विकेट लिए भने मुहम्मद असिमले १ विकेट लिए । नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो ।
गरिमा विकास बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, चुक्ता पुँजी ६ अर्ब रुपैयाँ पुग्ने
काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १९औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव अनिल रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार साधारण सभाले पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबार बस्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । पार्टीको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले पछिल्लो राजनीतिक अवस्था, समान विचारधारा भएका विभिन्न दलहरूसँगको एकतालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन, कार्यदिशा र आन्तरिक विवाद समाधानका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिने उनले जानकारी दिए । साथै यही असोज ३१ गते गर्न बस्न लागेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकको कार्यसूची तयार गरिने जनाइएको छ ।
अतिरिक्त शुल्क नलिन स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीअन्र्तगत पर्ने उपचार, औषधी, प्रयोगशाला, क्लिनिकल सेवा तथा सामाग्रीका नाममा थप शुल्क नलिन निर्देशन दिएको छ । आज (सोमबार) बोर्डले सूचना जारी गर्दै सो निर्देशन दिएको हो । बोर्डका अनुसार हाल कतिपय स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले बीमाअन्तर्गतका औषधी र सामग्री स्टकमा नभएको भन्दै बिरामीलाई बाहिरबाट खरिद गर्न लगाउने र सो क्रममा अतिरिक्त शुल्क असुल्ने गरेको गुनासो प्राप्त भएको पत्रमा उल्लेख गरेको छ । बोर्डले जारी गरेको पत्रमा सुसिवधा थैलीमा पर्ने वस्तु तथा सेवाका हकमा बीमाले तोकेको सहभुक्तानी बाहेक अतिरिक्त शुल्क लिनु बीमाको मापदण्डविपरीत उल्लेख गर्दै नलिनको लागि अनुरोध गरेको छ । यदि लिएको पाइएमा ‘स्वास्थ्य बीमा ऐन २०७४ को दफा ३२ तथा स्वास्थ्य बीमा दाबी समीक्षा तथा मूल्यांकन कार्यविधि २०७८ प्रथम संशोधन, २०८१’ अनुसार कारबाही हुने बोर्डले जनाएको छ ।
गभर्नरलाई कसैले पनि घर भाडामा दिन मानेनन्
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलका लागि घर भाडामा दिन कोही पनि घरबेटीहरू इच्छुक नभएकाे बुझिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनकर्ताहरूले गभर्नर पौडलको निजी घरमा आगजनी गरेपछि राष्ट्र बैंकले उनका लागि घर भाडामा खोजिरहेको थियो । तर, ललितपुरका घरबेटीहरू उनलाई भाडामा घर दिन अनिच्छुक देखिएका हुन् । गत असोज १२ गते राष्ट्र बैंकले गभर्नर पौडेलका लागि घर भाडामा दिन इच्छुकलाई आवेदन आह्वान गरेको थियो । घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीलाई राष्ट्र बैंकले आज असोज २७ गतेसम्म प्रस्ताव पेस गर्न भनिएको थियो । तर, यस अवधिमा कुनै पनि घरबेटीले घर भाडामा दिन इच्छा जाहेर नगरेपछि आवेदन दिने समय थपिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएकाे छ । ‘आज आवेदन दिने अन्तिम दिन थियो । तर, आवेदन नपरेपछि समय लम्ब्यायौं । एक/दुई जना बुझ्न आउनु भएको थियो । तर, आवेदन दिनु भएन । त्यसैले कात्तिक १६ गतेसम्म समय थप गरिएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘आजसम्म बुझ्न मात्रै आउनु भयाे । तर, आवेदन भने दिनु भएन ।’ राष्ट्र बैंकले भने दशैं-तिहार तथा छठ पर्वको बिदालाई मध्यनजर गरी घर भाडाका लागि आवेदन दिने म्याद थप गरिएको जानकारी दिएकाे छ । ‘चाडवाडको समयमा मान्छेहरू कोही विदेश, कोही कतै घुम्न जानु हुँदो रहेछ । कति मान्छेहरू विदेशमा भएका कारण पनि समय लागेको हुन सक्छ,’ स्रोतले भन्यो, ‘कतिपयले विदेशबाट पनि सम्पर्क गर्नु भएको छ । विविध कारणले आवेदन परेन ।’ साथै गभर्नर सार्वजनिक तथा प्रतिष्ठित व्यक्ति भएकाले पनि घर दिन अनिच्छा गरेको हुन सक्ने राष्ट्र बैंकका ती उच्च अधिकारी बताउँछन् । ‘एक/दुई जनाले चासो भने लिनु भयो । फाँटमा आएर फर्म लिनु भयो । तर, आवेदन भने बुझाउनु भएन,’ ती अधिकारीले भने । राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाँचौ शंसोधन समेत) को विनियम ९० को उपनियम (१) को व्यवस्था बमोजिम घर भाडामा लिन लागिएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर पौडेलले घर सुविधा लिने सोच बनाएका थिएनन् । तर, जेनजी आन्दोलनका कारण आगजनी भएपछि आवासको व्यवस्थापन गर्ने निर्णय भएको हो । राष्ट्र बैंकका अनुसार ललितपुर महानगरपालिकाको मखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको, कम्तीमा ६ वटा कार तथा जीप पार्किङ गर्न मिल्ने, आरसिसि स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको घर भाडामा लिन लागिएको हो । घरमा कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ्ग हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको, सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको हुनुपर्नेछ । साथै २.५ तलादेखि ३ तलासम्मको घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीले असोज २७ गतेभित्र प्रस्ताव पेस गर्न राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।