विकासन्युज

शाओमी रेड्मी १४ सी नेपालमा सार्वजनिक

काठमाडौं । शाओमीले रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक भएकाे छ । शाओमीले रेड्मी १३ सीको सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १४ सी लिएर आएको हो । रेड्मी १४ सी स्मार्टफोनले प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । रेड्मी १४ सी मा ६.८८ इन्चको डट ड्रप डिस्प्लेसहित १२० हर्ट्ज रिफ्रेस रेट रहेको छ । मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोनले सहज मल्टिटास्किङ गर्न सक्छ । साथै गेममा पनि याे स्मार्टफाेनले राम्राे प्रदर्शन गर्ने जनाइएकाे छ । स्मार्टफाेनमा ५० मेगापिक्सेलको एआई डुअल क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेकाे छ । यसैगरी, फाेनमा अधिकतम ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजसहित ५ हजार १६० एमएएच ब्याट्री रहेकाे छ । साथै यसमा १८ वाटको फास्ट चार्जिङ क्षमता रहेको छ। रेड्मी १४ सी मिडनाइट ब्ल्याक, ड्रीमी पर्पल र सेज ग्रीनका तीन आकर्षक रंगहरूमा उपलब्ध छ । ४ जीबी + १२८ जीबी, ६ जीबी + १२८ जीबी, ८ जीबी + २५६ जीबी भेरियन्टहरूमा उपलब्ध रेड्मी १४ सी को मूल्य क्रमशः रु १३,९९९, रु १५,९९९ र रु १८,९९९ रहेको छ । रेड्मी १४ सी असोज ११ देखि नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।

नमस्ते पेमा क्यासब्याकको लहर: उडान टिकटमा सय रुपैयाँका साथै अन्य सेवामा आकर्षक क्यासब्याक

काठमाडौं । आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पेले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको अफर सुरु गरेको छ । यो अफर असोज ११ देखि कार्तिक ३० सम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटीटीएच र एडीएसएलको बिल भुक्तानी तथा एन्सेल रिचार्ज गर्दा २% क्यासब्याक प्राप्त गर्नसक्ने छन् । क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नु पर्दैन । क्यासब्याक हरेक टिकट र हरेक पटककाे टपअप तथा बिल भुक्तानीमा लागू हुनेछ । अथवा प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत् जति धेरै लेनदेन गर्छन्, उति नै धेरै क्यासब्याक पाउनेछन् । थप जानकारी नमस्ने पेकाे वेबसाइटमा बुझ्न सकिन्छ ।

गाडीमा फेस्टिभ अफर : नि:शुल्क इन्स्योरेन्सदेखि १५ लाख डिस्काउन्टसम्म

काठमाडौं । नेपालीहरूकाे महान पर्व दशैं आँगनमै आइसकेकाे छ । दशैंतिहार र छठ जस्ता पर्वकाे अवसरमा विभिन्न कम्पनी, बैंक, वित्तीय संघसंस्थाहरूले विभिन्न किसिमका अफरहरू सार्वजनिक गरेका छन् । यसैक्रममा  गाडी कम्पनीहरूले पनि नि:शुल्क इन्साेरेन्सदेखि १५ लाख रुपैयाँ क्यास डिस्काउन्टसम्मका योजना ल्याएका छन् । हेरौं कुन ब्राण्डको गाडीमा के छ अफर ? हुण्डाई हुण्डाईका लागि नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फेस्टिभ डिलाइट अफर ल्याएको छ । उक्त अफरमा नि:शुल्क बीमा सेवादेखि हुण्डाईको भेन्यू कार जित्ने मौका रहेको छ । कम्पनीका अनुसार हुण्डाईको कुनै पनि गाडी खरिद गर्दा गोलाप्रथाको माध्यमबाट बम्पर उपहारमा हुण्डाईको भेन्यू कार जित्न सकिने छ । १० लाख क्यास डिस्काउन्टसँगै एक लाख रुपैयाँ थप डिस्काउण्टको सुविधा रहेको छ । यसैगरी, एक वर्षको बीमा र कर कम्पनीले नै तिरिदिने जनाएको छ । टाटा नेपालका लागि टाटाको आधिकारीक बिक्रेता सिप्रदीले टाटासँग दशैं धुमधाम, यूरोप घुमघाम अफर ल्याएको छ । अफरअन्तर्गत टाटको नेक्सन गाडी खरिद गर्दा एक जोडीले सित्तैमा यूरोप घुम्ने अवसर पाउने कम्पनीले जनाएको छ । बीवाईडी चाडपर्वको अवसरमा बीवाईडीको गाडी किन्दा तीनवटा अफर पाइने भएको छ । नेपालका लागि बीवाईडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले बडा चाड अफर सार्वजनिक गरेको हो । एक वर्षसम्मको बीमा सेवा, भेहिकल टु लोन र २.३ किलोवाट ट्राभल चार्जर उपलब्ध गराउने अफर कम्पनीले ल्याएको हो । कम्पनीका अनुसार बीवाईडी अट्टो ३ र बीवाईडी डल्फीन गाडी खरिद गर्दा उक्त अफर पाइने छ । सुजुकी दशैंतिहारको अवसरमा सुजुकीको गाडी किन्दा ४ लाख रुपैयाँ नगद छुटदेखि नि:शुल्क बीमाको सुविधा पाइने छ । नेपालका लागि सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटोकर्पले चाडपर्वलक्षित सार्वजनिक गरेको अफरमा उक्त सुविधा रहेको छ । यसका साथै उक्त अफरमा एक्चेन्ज बोनस २ लाख रुपैयाँसम्म, लोयल्टी बोनस २० हजार रुपैयाँसम्म र विभिन्न एसेसोरिजहरू नि:शुल्क पाइने छ । आयोन नेपालका लागि आयोनको आधिकारिक बिक्रेता सीजी मोटोर्सले फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत आयोन वाई गाडी ५ लाख ८५ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने छ । जीकर नेपालका लागि जीकर गाडीको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले फेस्टिभ अफर ल्याएको छ । जसअन्तर्गत जीकर एक्स गाडी खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ । यसका साथै एक्सचेन्ज बोनस ५ लाख रुपैयाँ दिने कम्पनीले जनाएको छ । आइचर आइचरले दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै ‘दशैंको हर्ष, आइसरको वर्ष अफर’ योजना ल्याएको छ । योजनाअन्तर्गत आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्मको सरल फाइनान्स, २५ लाखसम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुविधा रहेको छ । गाडी सञ्चालक, चालक, शिक्षण संस्था, निर्माण कम्पनी आदिलाई लक्षित गर्दै योजना अन्तर्गत चालकहरूको लागि बीमा, शून्य सेवा लागत तथा टुर प्याकेज, ल्यापटप, प्रोजेक्टर योजनामा समावेश गरिएका छन् । यो योजना यही असोज १ गतेदेखि नेपाल अधिराज्यभर लागू भइसकेकाे नेपालमा आइचरको आधिकारीक बिक्रेता कम्पनी एमएडब्लुले जनाएको छ । विलिङ नेपालका लागि विलिङ गाडीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले विलिङको बिङ्गो गाडीमा छुट अफर सार्वजनिक गरेको हो । जसअन्तर्गत बिङ्गो ईभी गाडी छुटसहित २९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न पाइने भएको छ । नेटा चाडपर्वको अवसरमा नेटा गाडी खरिद गर्दा सित्तैमा इन्डाेनेशियाकाे बाली घुम्न पाइने भएको छ । सीजी मोटर्सले नेटा भी गाडी खरिद गर्नेले बाली घुम्ने अवसर पाउने जनाएको छ । यसका साथै कम्पनीले स्योर सर्ट क्यास डिस्काउन्ट र एक्सचेन्ज बोनस पनि दिने घोषणा गरेको छ । निसान निसानको कुनै पनि गाडी खरिद गर्दा एक वर्षको इन्स्योरेन्स, कर, ती वर्षको सर्भिसिङ र ३ वर्षको वारेन्टी सुविधा पाइने छ । यसका साथै १५ लाख रुपैयाँसम्मको छुटको व्यवस्था पनि रहेको छ । नेपालका लागि निसानको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले चाडपर्वमा निसानको गाडी गरिद गर्नेका लागि यस्तो अफर ल्याएको हो । किया चाडपर्वको अवसरमा कियाको गाडी खरिद गर्दा ४ लाख रुपैयाँ छुटदेखि नि:शुल्क बीमाको सुविधासम्म पाइने छ । नेपालको लागि कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल एसोशिएट्सले एक वर्षको कर पनि कम्पनीले नै तिरिदिने जनाएको छ । यसका साथै २ लाख रुपैयाँसम्म एक्सचेन्स अफरको सुविधा पनि रहेको छ ।

१२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा

काठमाडौं । पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखको विवरणमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको उनले बताए । विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ । झापाको अनारमणीमा दुई सय तीन मिलिमिटर र चन्द्रगढी विमानस्थलमा दुईसय ६० मिलिमिटर र इलाममा दुई सय ४३ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् महर्जनले जानकारी दिए । पछिल्लो एक घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रुपमा कम वर्षा भएको छ । काठमाडौंका थोरै स्थानमा भारी वर्षा भएको छ । कीर्तिपुरमा ८४ मिलिमिटर र बूढानीलकण्ठमा ६५ मिलिमिटर, काठमाडौंका अन्य क्षेत्रमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ । ललितपुरको लेलेमा एक सय १५ दशमलव पाँच र गोदावरीमा ९३ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ । अहिले सबै प्रदेशमा निरन्तर वर्षा भइरहेको भन्दै भोलि पनि दिनभर वर्षा हुने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए । आइतबार मध्यान्हपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ । निरन्तरको वर्षासँगै उपत्यकालगायत मुलुकका अधिकांश नदीनालामा जलसतह बढेको छ । काठमाडौंको बागमती, विष्णुमती, धोबीखोला, ललिपुरको कर्मानासा, भक्तपुरको हनुमन्ते खोलामा जलसतह उच्च रहेको छ । वर्षाले काठमाडौंसहित मुलुकभरको जनजीवन सामान्य प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागले मोबाइलमार्फत सूचना पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकास्थित बागमती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदी तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि नेपालमा रहेको महाशाखाले जनाएको छ ।

दशैंमा किसानलाई राहत, उखु र दुग्ध किसानको भुक्तानीको लागि २ अर्ब निकासा

काठमाडौं । लामो समयदेखि भुक्तानी नपाएर तड्पिरहेका किसानहरूले दशैंअघि भुक्तानी पाउने भएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उखु तथा दूग्ध किसानहरूको झन्डै २ अर्ब बक्यौता दशैंअघि नै वितरण हुने जनाएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उखु तथा दुग्ध किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयका अनुसार झन्डै २ अर्ब रुपैयाँ निकासा भइसकेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बक्यौता रकम तिर्न शुक्रबार ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ । त्यस्तै, आठ जिल्लाका उखु किसानले पाउनुपर्ने १ अर्ब ४५ करोड बढी रकम मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको छ। त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँड गरी शुक्रबार नै सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनी) लाई पठाइएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उखु तथा दुग्ध किसानलाई दशैंअघि नै भुक्तानी गरिने दावी गरे । उखु किसानलाई रकम उपलब्ध गराउन कृषि मन्त्रालयले गरेको प्रस्तावअनुसार अख्तियारी तथा बाँडफाँट शुक्रबार भएको हो।

ढोरपाटनका मेयर देवकुमार नेपाली पक्राउ

काठमाडौं । बा‍गलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । ‍शुक्रबार भारतकाे दिल्लीमा उनी पक्राउ परेकाे प्रहरी स्राेतले जनाएकाे छ । प्रहरीका अनुसार उनलाई इन्टरपोलमार्फत नेपाल ल्याउने तयारी भइरहेको छ । नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत हुन् । बचतकर्ताकाे रकम अपलचन गरेर उनी लामो समयदेखि फरार थिए। मेयर नेपालीविरुद्ध १ हजार ५७३ जनाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ। अहिलेसम्म मेयर देवकुमार र उनकी पत्नी छेलाविरुद्ध बिगो एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ रहेको जनाइएकाे छ । देवकुमारसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय, बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले मेयर देवकुमार र उनकी पत्नीविरुद्ध इन्टरपोलमार्फत २४ जनवरी २०२४ (१० माघ २०८०) मा रेड नोटिससमेत जारी गराएको थियो।

दसैंको खुशीयाली डबल यसपाली ‘दसैं टुएक्स रिवार्ड अफर’

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विजया दशमीको उपलक्ष्यमा ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ । यस ‘दसैं टुएक्स रिवार्ड अफर’ अन्तर्गत बैंकका ग्राहकहरूले असोज ११ देखि ३० गतेसम्म गरिएको कार्ड वा मोबाइल बैंकिङ कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकहरूले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद (पीओएस तथा ई-कमर्स) र मोबाइल बैकिङबाट गरेको टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्नेछन् । यसरी आर्जन गरेको पाइन्टलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, विमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरू लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिने छ । बैंकले यो अफर मार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ । यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने छ । यस योजना मार्फत ग्राहकहरूको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिङ कारोबारलाई उत्कृष्ट बनाउने विश्वास लिएको छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन

काठमाडौं । चीनले शुक्रबार बैंकहरूले रिजर्भमा राख्नुपर्ने राशिमा कटौती गर्दै वित्तीय बजारमा करिब एक खर्ब ४२ अर्ब ६० करोड डलर तरलता प्रवाह गरेर आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिने प्रयास गरेको छ । चीनको केन्द्रीय बैंकले घोषणा गरेको यो कदम राष्ट्रपति सी चिनफिङसहित शीर्ष अधिकारीहरूले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा ‘नयाँ समस्याहरू’ भएको स्वीकार गरेको एक दिनपछि आएको हो । बेइजिङले यो साता आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिन विभिन्न उपाय घोषणा गरेको छ । यसका लागि उसले यस वर्ष पाँच प्रतिशतको वृद्धिको लक्ष्य राखेको छ । विश्लेषकहरूले धेरै प्रतिकूल परिस्थितिहरूलाई हेर्दा यो लक्ष्य अत्यन्त आशावादी भएको बताएका छन् । सत्तारूढ कम्युनिस्ट पार्टीले बिहीबार ‘वर्तमान आर्थिक स्थितिको विश्लेषण र अध्ययन’ गर्न आफ्नो शीर्ष निकाय पोलिटब्युरोको बैठक बोलायो । बेइजिङले शुक्रबार सात दिने रिभर्स रेपो दरमा पनि कटौती गर्यो । यो व्यापारिक ऋणदाताहरूबाट लिइने ऋणमा केन्द्रीय बैंकले तिर्ने अल्पकालीन ब्याज हो । केन्द्रीय बैंकले प्रमुख दरलाई एक दशमलव सात प्रतिशतबाट घटाएर एक दशमलव पाँच प्रतिशत बनाएको घोषणा गर्यो । रियल स्टेट क्षेत्रमा लामो समयदेखि चलिरहेको ऋण संकट, सुस्त घरेलु उपभोग र उच्च युवा बेरोजगारीका कारण चीनमा विकासमा गिरावट आइरहेको छ । ‘अर्थतन्त्रको विद्यमान अवस्थामा केही नयाँ परिस्थिति र समस्या देखा परेका छन्’, सिन्ह्वा समाचार समितिले बिहीबारको पोलिटब्युरो बैठकपछि भनेको छ, ‘हामीले वर्तमान आर्थिक अवस्थालाई व्यापक, वस्तुनिष्ठ र शान्त रूपमा हेर्नुपर्छ, कठिनाइहरूको सामना गर्नुपर्छ र आत्मविश्वास बढाउनुपर्छ ।’ पोलिटब्युरोका सदस्यहरूले अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नीतिगत उपायहरूको केन्द्रीयता र प्रभावकारितामा थप सुधार गर्न’ आवश्यक रहेको कुरामा सहमति जनाए । प्रमुख दर कटौती र आवास खरिदलाई प्रोत्साहित गर्ने नीतिहरू समावेशसहितका बेइजिङले घोषणा गरेका विभिन्न उपायलाई लगानीकर्ताहरूले स्वागत गरेका छन् । साङ्घाई र हङकङका सेयरहरूमा यस साता हालसम्म नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विश्लेषकहरूले नेताहरूले पाँच प्रतिशत वृद्धि लक्ष्य हासिल गर्न अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको तर हालैका घोषणाहरूले उनीहरू अझै साहसी कदमहरू चाल्न तयार हुँदै गएको हुनसक्ने बताएका छन् । ‘बेइजिङ अन्ततः आफ्नो बाजुका प्रोत्साहन कार्यक्रम सुरु गर्न दृढ देखिन्छ’, नोमुराका प्रमुख चीन अर्थशास्त्री टिङ लूले भने, ‘अर्थतन्त्रको गम्भीर स्थितिको बेइजिङको स्वीकारोक्ति र टुक्रामा विभक्त दृष्टिकोणमा सफलता नभएको कुरालाई बजारले महत्त्व दिनुपर्छ ।’ यसैबीच अधिकारीहरूले मुलुकका ठूला सरकारी बैंकहरूमा एक खर्ब ४० अर्ब डलरभन्दा बढी लगानी गर्नेबारे विचार गरिरहेको ब्लुमबर्गले बताएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक संकटपछि यस प्रकारको पहिलो ठूलो पूँजी लगानी हुनेछ । व्यवसायहरूलाई ऋण दिन बैंकहरूलाई अझ बढी क्षमता प्रदान गर्ने उद्देश्यसहितको यो उपाय विशेषगरी ‘नयाँ विशेष सार्वभौम बन्ड’ जारी गरेर कार्यान्वयन गरिने बताइएको छ । यद्यपि विवरणलाई अहिलेसम्म अन्तिम रूप दिइएको छैन । रासस