हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार भए साढे पाँच सय उडान
काठमाडौं । संघीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौं आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो । मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिइन् । उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान (डिपार्चर) र दुई सय २१ अवतरण (अराइभल) भएका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताइन् । एकैदिन धेरै उडान भएकाले उडान चाप बढेको छ । यसअघि अघिल्लो वर्ष दशैंका बेला यस्तो उडान चाप थियो । विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए । अन्तर्राष्ट्रियमा दैनिक एक सय १३ देखि १५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक दुई सय ७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए । विमानस्थलका प्रवक्ता शेर्पाले आजका लागि आन्तरिकतर्फ एक सय ६९ अराइभल र एक सय ६९ डिपार्चर उडान तालिका तय गरिएको बताइन् । अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उनले बताइन् । हेलिकप्टरको उद्धार उडानको सङ्ख्या पनि उल्लेख्य सङ्ख्यामा हुनेछन् । वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुलेपनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको छ । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प हवाई उडान हो । एक्कासी हवाई उडानमा पनि चाप बढेपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ । दिनहुँ विमानस्थलमा यात्रुको भीड लाग्ने गरेको छ । आइतबार र सोमबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य सङ्ख्याका यात्री विमान उडानको पर्खाइमा थिए । रासस
सन्सिल्कले ल्यायो ‘सन्सिल्क भाइब्स’ अभियान
काठमाडौं । कपाल र आत्मविश्वासको उत्सव मनाउँन सन्सिल्कले ‘सन्सिल्क भाइब्स’ अभियान ल्याएको छ । सन्सिल्क दशैं भाइब्स अभियानको सफलतालाई अघि बढाउँदै, सन्सिल्कले नयाँ सन्सिल्क भाइब्सको रूपमा प्रस्तुत गरेको हो । यो अभियान असोज ११ देखि सुरु भई मङ्सिरसम्म चल्ने कम्पनीले जनाएको छ । यसले सहभागीहरूलाई आफ्नो विशेष क्षणहरू चाडपर्व होस् या दैनिकी, सामाजिक सञ्जालमा सेयर गर्न आमन्त्रण गर्छ, जहाँ कपाल मुख्य आकर्षणको रूपमा हुनेछ । नेपालभरका सहभागीहरूले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षणहरू सामाजिक सञ्जालमा साझेदारी गर्दै आफ्ना अनौठा सन्सिल्क स्टाइल र भाइब्स देखाएर यस प्रतिस्पर्धामा भाग लिन सक्ने कम्पनीले जनाएको छ । साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्छन् । कम्पनीको यस अभियानको सुरुवात एउटा उत्साही गीतबाट गरिएको छ । र यो गीतसँगै प्रिन्सी र प्रिस्मा, साथै गत वर्षको सन्सिल्क ग्याङ अफ गर्ल्स प्रतिस्पर्धाका विजेता सुस्मिता बन्जारा, सजिना खनाल, र विजया प्रधानजस्ता लोकप्रिय इन्फ्लुएनसरहरुले आफ्नो भाइब्स देखाउनेछन् । कम्पनीकोअनुसार प्रतिस्पर्धामा भाग लिनका लागि, सन्सिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्रामरफेसबुक रिल्स बनायी आफ्नो सन्सिल्क स्टाइल र व्यक्तित्व देखाउनु पर्नेछ । यस अभियानको उद्देश्य युवतीहरूलाई आफ्नै शैली र व्यक्तित्व अँगाल्न प्रेरित गर्नु हो ।
दूरसञ्चार प्राधिकरणलाई ६१ कम्पनीले टेरेनन्, तत्काल ४ प्रतिशत रोयल्टी तिर्न ताकेता
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी वापतको रकम र ग्रामीण दूरसंचार विकास कोष वापतको रकम भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना प्रकाशन गरी विभिन्न ६१ वटा कम्पनीलाई असोजभित्र सो रकम भुक्तानी गर्न ताकेता गरेको हो । प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवर र सो विवरण अनुसार बुझाउनुपर्ने कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत रकम ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम छुट्याउनु पर्ने हुन्छ । यसअघि गत पुसभित्र उक्त रकम बुझाउन ताकेता गरेको भएपनि हालसम्मपनि दाखिला नगरेको प्राधिकरणले जनाएको छ । त्यसैले सेवाप्रदायक ६१ कम्पनीले आर्थिक वर्ष २०७९/८० मा आर्जन गरेको कूल आम्दानीको रोयल्टी र कोष वापतको रकम र वित्तीय विवरण सहित बुझाउन प्राधिकरणले निर्देशन दिएको हो ।
सम्पत्ति, घर बहाल, व्यवसाय कर असुली गर्न महानगरले पठायो अनुगमन टोली
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुगमन टोली बजारमा पठाएको छ । महानगरपालिकाले कर तिरे वा नतिरेको विषयमा अनुगमन टोली खटाएको जनाएको छ । महानगरपालिकाको राजस्व विभागबाट सम्पत्ति कर, घर बहाल कर, व्यवसाय कर, आदि तिर्न बुझाउन अनुरोध गर्ने, करका विषयमा जानकारी दिने तथा कर दाताहरूलाई आवश्यक सहजीकरण तथा समन्वय गर्न स्थलगत रूपमा कर अनुगमन टोली खटाइएको जनाएको छ । कर अनुगमन टोली करदाताको व्यवसाय स्थलमा आउँदा दर्ता तथा नवीकरण, कर तिरेको प्रमाण दर्ता प्रमाणपत्र लगायत टोलीले माग गरेको बिबरण उपलब्ध गराई राजस्व असुली कार्यमा सहयोग गर्न महानगरपालिकाले अनुरोध गरेको छ । साथै बुझाउनुपर्ने करका लागि आवश्यक पर्ने कागजात लगायत द्विविधा भएका बिषयमा जानकारी लिन सकिने महानगरपालिकाले जनाएको छ ।
पुल बगेपछि सामान ढुवानीमा कठिनाइ, दुई सातालाई मौज्दात
काठमाडौं । शनिबारको घनघोर वर्षासँगैको आएको बाढीले मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा रहेको झण्डै ४५ मिटर लामो बेलिब्रिज बगाएपछि यातायातमा कठिनाइ भएको छ । ताप्लेजुङ जिल्लाका लागि “लाइफलाइन” का रुपमा रहेको उक्त पुल नहुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङबाट इलाम, झापा लगायतका ठाउँमा जाने र ताप्लेजुङतर्फ आउने यात्रु मारमा परेका छन् । ढुवानीका सवारीसाधनहरु ठप्प छन् । फिदिम–ताप्लेजुङ चल्ने छोटो दुरीका यात्रु बोक्ने सवारीसाधन फाट्टफुट्ट चलेका छन् । तर दुवैतर्फका गाडी हेवा खोलासम्म मात्र पुग्छन् । हेवा खोलामा पुगेका यात्रुले केहिबेर हिँडेर त्यहाँ रहेको झोलुङ्गे पुल हुँदै वारपार गर्नुपर्छ र अर्को गाडी चढ्नुपर्छ । अर्कातर्फ राजमार्गका विभिन्न ठाउँमा पहिरो गएका कारण बाटो अवरुद्ध हुँदा इलाम, झापा जाने यात्रु थप मारमा परेका छन् । मेची राजमार्ग अन्तर्गत फिदिम-राँके सडकखण्डका विभिन्न ठाउँमा गएको पहिरो पन्छाएर यातायात सहज तुल्याउन प्रयास गरिरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । यता फिदिम नगरपालिका र पाँचथरका सुरक्षा निकायले हेवा खोलामा यात्रुको सहजताका लागि मोटरसाइकलसम्म वारपार गराउन मिल्ने गरी बाँसको फड्के बनाउन थालेका छन् । धरानबाट ताप्लेजुङ र पाँचथर पुग्ने छोटो दूरीको निर्माणाधीन तमोर करिडोरको सडक समेत अवरुद्ध छ । ठाउँठाउँमा पहिरोले सडकमा क्षति पुगेको छ भने मोटरेबल पुल नभएका खोलाहरुमा सवारीसाधन ओहोरदोहोर गर्ने अवस्था छैन । निर्माणकै क्रममा रहेको करिडोर सञ्चालनमा आएपनि यस अन्तर्गतका धेरैवटा खोलामा पुल बनिसकेका छैनन् । सोमबार केही यात्रुबाहक र सामान बोकेका साना सवारीसाधन दोभान, हाम्पाङ, तेह्रथुमको सक्रान्ती, म्याङ्लुङ हुँदै धरान गएका छन् भने धरानबाट उक्त ठाउँहरू हुँदै सवारीसाधनहरु ताप्लेजुङ पनि आएका छन् । आठराई त्रिवेणी गाउँपालिका हुँदै तेह्रथुम जोड्ने उक्त सडकलाई तत्कालका लागि वैकल्पिक रूपमा प्रयोग गर्न सकिने भन्दै आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमू सहितको टोलीले सोमबार सडकको अनुगमन गरेको छ । ‘वैकल्पिक रूपमा यस क्षेत्रका तीन वटा सडकलाई प्रयोग गर्न सकिन्छ । यीमध्ये कुन सहज हुन्छ भन्ने एकिन गर्न र मर्मत गर्नुपर्ने ठाउँको पहिचान गर्न अनुगमन गरिरहेका छौँ, तेह्रथुमतर्फ पनि समन्वय गर्दैछौँ,’ अध्यक्ष पोमूले भने । हेवा खोलाको पुल गत वर्षको असारमा समेत बाढीले बगाउँदा महिनौं सास्ती भएको थियो । सडक विभागले उक्त समयमा बेलिब्रिज निर्माण गरेर यातायात सञ्चालनमा आएको थियो । शनिबार आएको बाढीले त्यही बेलिब्रिज बगाएको हो । साधारणतया यात्रुले असहज रूपमा विभिन्न विकल्प अपनाएर यात्रा गरे पनि ताप्लेजुङबाट तराईतर्फ उपचारका लागि जानुपर्ने बिरामी, वृद्धवृद्धा, अशक्तलाई समस्या हुने देखिएको ताप्लेजुङ निवासी हरिकुमार लिम्बूले बताए । पुल बगेसँगै ढुवानीका साधन केही बीचैमा अलपत्र परेका छन् भने ताप्लेजुङ हिँड्न लोड भएका केही साधन झापामै रोकिएको ताप्लेजुङ ढुवानी सेवाका कुमार तामाङले बताए । ढुवानी सेवा मार्फत् झापादेखि खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान ताप्लेजुङ आउने गरेको छ भने यहाँबाट अलैँची लगायतका सामान लैजाने गरिएको छ । ढुवानी सेवा ठप्प हुँदा सामान्यतया समस्या भएपनि तत्काल ताप्लेजुङमा दैनिक उपभोग्य सामानको भने अभाव नरहेको उद्योग वाण्ज्यि सङ्घ ताप्लेजुङले जनाएको छ । सङ्घले तत्काल उपभोग्य सामग्रीको मौज्दात पर्याप्त रहेको निष्कर्ष सहित शनिबार नै कृत्रिम अभाव सिर्जना र मूल्यवृद्धि नगर्न व्यवसायीलाई आग्रह गरेको छ भने उपभोक्तालाई समेत आत्तिएर सामान खरिद नगर्न भनेको छ । ‘बजारमा करिब दुई हप्तालाई पुग्ने गरि दैनिक उपभोग्य सामानको मौज्दात देखिएको छ, कृत्रिम अभाव सिर्जना नगर्न, मूल्यवृद्धि नगर्न सबै व्यवसायीलाई सूचना गरेका छौँ । दुई हप्ताभन्दा लामो समयसम्म सडक अवरुद्ध भए त्यसपछि समस्या होला,’ सङ्घका सचिव खेम केसीले भने । पुल नहुँदा यातायातमा कठिनाइ हुने र लामो समय ढुवानीका साधन चल्न नसक्ने अवस्था आए समस्या हुन सक्ने भन्दै सर्वसाधारणले भने चिन्ता व्यक्त गरेका छन् । चाडबाड सुरु भएको साथै पाथीभरा मन्दिरको दर्शनका लागि आउने भक्तजनका लागि ठूलै समस्या हुने भएकाले तत्काल समस्या समाधानमा ध्यान दिन आवश्यक भएकामा स्थानीयको जोड छ । यता पहिरोले काबेली करिडोर विद्युत् प्रशारण लाइनमा क्षति भई विद्युत् अवरुद्ध हुँदा ताप्लेजुङ समेत अन्धकारमा छ । पहिराले काबेली करिडोर एकसय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टावर ढालेकाले विद्युत् अवरुद्ध भएको हो । उक्त टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङ अन्धकारमा परेका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारण सहित व्यवसायीहरू पनि मारमा छन् । यही समयमा ताप्लेजुङका निजी विद्यालयहरूमा परीक्षा सञ्चालन भइरहेकाले बालबालिकालाई समस्या भएको अभिभावकले बताएका छन् । यस्तै स्थानीय सञ्चारमाध्यम रेडियोहरूले समेत आफ्नो प्रसारणको समय कटौती गरेका छन् ।
राजस्व सङ्कलनमा बाढीको प्रभाव
काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ । साथै भारतसंग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व सङ्कलनमा प्रभावित समेत भएको छ । अहिले सो सडक र भासिएको पुलबाट पानी बगिरहेको छ । वर्षा हुुनासाथ जीर्ण रहेका पुलबाट आवतजावत गर्न र सडक कटानको समस्या दोहोरिने जनाइएको छ । साथै कटानसमेत हुने गरेको छ । स्थानीयवासी विन्देश्वरी यादवले जीता खोलामा आएको बाढीले पुल बगाउँदा तिलाठीस्थित राजविराज भन्सारसम्म आवतजावत गर्न समस्या भएको बताए । ‘वर्षाका कारण वस्ती डुबानमा नै रहेको अवस्था छ । राजविराज–कुनौली सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा अवरूद्ध छ,’ उनले भने । सो सडकखण्ड अवरुद्ध हुँदा मल्हनियाँ जानका लागि १० किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेको र कुनोली बजारमा पुग्न एक घण्टा लाग्ने गरेको उनले बताए । वर्षायाम सुरु भएसँगै यो सडकखण्डमा पैदल आवतजावत गर्न पनि अपठ्यारो हुने गरेको स्थानीयवासी बिन्दुलाल मुखियाले बताए । भारतबाट कुनौली हुँदै आएका मालवाहक सवारी भन्सार कार्यालय पुग्ने मुख्य बाटो यही हो । सडक अवरुद्ध हुँदा सरकारले उठाउने राजस्वमा त असर पर्छ नै स्थानीयलाई समेत जोखिम थपिएको छ । दुई वर्षअघि आएको बाढीले सडक भासिदा दुई जना बेपत्ता भएका थिए । कटानका कारण गाउँका बासिन्दालाई सदरमुकाम राजविराज पुग्न पनि कठिनाइ खेप्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । तिलाठी कोइलाडी गाउँपालिका–१ का वडाध्यक्ष दिनेश्वर मिश्र सडक कटानको समस्या तीन दशकभन्दा बढी समयदेखि रहेको बताउँछन् । खाँडो र जीता नदीको बहाव सही तरिकाले व्यवस्थापन नहुँदा निरन्तर यो समस्याले यात्रीलाई सास्ती दिँदै आएको उनको भनाइ छ । यद्यपि सरकारले गम्भीरता नदेखाएपछि यहाँका स्थानीय बासिन्दालाई वर्षायाममा यस्ता समस्या भोग्नुपर्ने नियति नै बनेको छ । ‘यो समस्या हरेकपटक वर्षायाममा आउँछ तर राज्यले गम्भीरता देखाउँदैन, यसले राजविराज भन्सार कार्यालयको राजस्व सङ्कलनमा पनि निकै गिरावट आउँछ, यो समस्या जति चाँडो समाधान हुन्छ, स्थानीयसँगै राज्यका लागि त्यति नै फलदायी हुन्छ,’ उनले भने । तिलाठीस्थित राजविराज भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले राजविराज जोडिने कुनौलीको पूर्वी भेगसम्मको बीच बाटोमा रहेको पुल र सडक जीता खोलाले बगाएर क्षति गर्दा राजस्व सङ्कलनमा धेरै गिरावट आएको बताए । उनले राजविराज भन्सारसम्म सवारीसाधन आउन नसकेका कारण आर्थिक वर्ष २०८१/८२ को साउन र भदौमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको बताए । कार्यालयसम्म आउने बाटो जीर्ण र समय–समयमा बाढीले सडकमा क्षति गरेको सडक पुनःनिर्माण नभएका कारण राजस्व सङ्कलन प्रभावित भएको सूचना अधिकारी भगत बताउँछन् । ‘साउनमा ६७ लाख २३ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा २३ लाख ८८ हजार रुपैयाँ सङ्कलन भएको र भदौमा ६३ लाख ५५ हजार रुपैयाँ लक्ष्य रहेकामा १९ लाख ३८ हजार रुपैयाँ राजस्व असुली भयो,’ उनले भने । कुनोली बजार आवतजावतका लागि पुल नभएका कारण पनि राजस्व सङ्कलमा कमी आएको उहाँले बताउनुभयो । यस्तै राजविराज भन्सारदेखि पूर्वतर्फको पुलसमेत बाढीले बगाउँदा नेपाली दैनिक उपभोग्य सामानमा किन्न निर्भर रहने कुनोली बजार जानसमेत समस्या छ । राजविराजदेखि १० किलोमिटर दक्षिणपूर्वमा भारतीय सिमानामा रहेको कुनोली बजारमा दैनिक उपभोग्य सामान किन्नेहरूको भीड लाग्ने गर्दछ । दसैँतिहारका बेला बजार जाने नेपाली तिलाठीबाट दक्षिण खोला तरेर कुनोली बजार जाने बाटोमा समेत पुल नभएकाले सास्ती खेपिरहेको हनमाुननगर कङ्कालनी नगरपालिका–१४ का वासुदेव मण्डलले बताए । कुनोली बजारमा दैनिक उपभोग्य सामान किन्नका लागि जिल्लाको राजविराज, हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनी, डिवन र तिलाठी कोइलाडी गाउँपालिकाको लौनिया, सकरपुरा, रम्पुरा, मल्हनिया र तिलाठीका सर्वसाधारण जाने गर्दछन् ।
घट्यो तरकारीको मूल्य, गोलभेडा ५५ रुपैयाँ
काठमाडौं । सवारी आवागमनमा सहज भएसँगै फलफूल तथा तरकारीको मूल्य पसिन घटेको छ । उपत्यका भित्रिने सवारी साधन बाढी पहिरोका कारण फलफूल तथा तरकारी पनि रोकिएको थियो । त्यसैले तरकारीको मूल्य पनि बढेको थियो । तर, हिजोदेखि सवारी साधन सञ्चालनमा सहज भइसकेपछि तरकारीको मूल्य पनि घटेको हो । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीका अनुसार भारतीय गोलभेडा प्रतिकेजी १३५ रुपैयाँ, लोकल सानो गोलभेडा ५५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ६६.५० रुपैयाँ पुगेको छ । रातो आलु ८१ रुपैयाँ, भारतीय रातो आलु ५९ रुपैयाँ, मुडे आलुको ७६ रुपैयाँ, भारतीय प्याज सुकेको १२२ रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, तराईको गाजर १२५ रुपैयाँ, लोकल बन्दा ७५ रुपैयाँ, तराईको बन्दा ६५ रुपैयाँ, स्थानिय काउली ७८.७५ रुपैयाँ कायम छ । रातो मूला, सेतो मूला (हाइब्रीड) ४५ रुपैयाँ तोकिएको छ । यस्तै तने बोडी १२५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लोकल घिउ सिमी ११० रुपैयाँ, हाइब्रीड घिउ सिमी ११० रुपैयाँ र तितो करेला आज ९५ रुपैयाँ छ । लौका ८५ रुपैयाँ, परवर ११० रुपैयाँ, चिचिण्डो ५५ रुपैयाँ, घिरौला ११० रुपैयाँ रुपैयाँ पुगेको छ ।[pdf id=513889]
नेप्सेमा साढे ३ अर्बको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे ३ अर्ब बढीको बोनस सूचीकृत भएको छ । विभिन्न ८ कम्पनीको ३ अर्ब २९ करोड ९७ लाख ६८ हजार रुपैयाँका ३ करोड २९ लाख ९७ हजार ६८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार यसअवधिमा प्रभु इन्स्योरेन्सको ४.७५ प्रतिशतका दरले ६ लाख ५३ हजार ६५८ कित्ता, आइएमई लाइफ इन्स्योरेन्सको २५ प्रतिशतका दरले १ करोड कित्ता, सन नेपाल लाइफको २३.८० प्रतिशतका दरले ७६ लाख १६ हजार कित्ता सेयर सूचीकृत भएको छ । यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको २.२२ प्रतिशतका दरले ८१ हजार ७६८ कित्ता, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशतका दरले ९ लाख २३ हजार ३५१ कित्ता, नेपाल रिइन्स्योरेन्स कम्पनीको ४.७५ प्रतिशतका दरले ६० लाख ८६ हजार ४३३ कित्ता, नागरिक लगानी कोषको १४ प्रतिशतका दरले ७४ लाख ३९ हजार २५० कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशतका दरले १ लाख ९७ हजार २२० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।