स्ट्यान्डर्ड चार्टर्ड र छिमेक लघुवित्त वित्तीय संस्थाबीच ऋण सम्झौता
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले एसियाली विकास बैंक (एडीबी) सँगको सहकार्यमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ऋण सहयोग गरेको छ । नेपालको एक प्रमुख लघुवित्त संस्था छिमेकलाई गैरवित्त जोखिम साझेदारी सम्झौता अन्तर्गत ऋण सहयोग उपलब्ध गराउने सहमति भएको स्टयान्डर्ड चार्टर्डले जनाएको छ । यसखालको सम्झौता नेपालमै पहिलो पटक भएको बैंकले जनाएको छ । सम्झौता अनुसार उपलब्ध हुने ऋण ग्रामीण भेगमा वित्तीय पहुँच थप बलियो बनाउन उपयोग हुने तथा यसपछि अन्य नवीन काममा पनि ऋण उपलब्ध गराइ सिमान्तकृत समुदायको आर्थिक वृद्धिमा बढावा दिन सहयोग पुग्ने छ । ऋण आदान–प्रदान सम्झौता कार्यक्रममा एडीबीका कन्ट्री डाइरेक्टर, अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल, छिमेक लघुवित्तको व्यवस्थापन समूह, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लगायत अधिकारीहरू उपस्थित थिए । ‘एडीबीको लघुवित्त कार्यक्रम अन्तर्गत वित्तीय समावेशिता र लैंगिक भेदभाव हटाइ नेपालका सिमान्तकृत र पिछडिएका महिलाहरूको आर्थिक स्थिति उकास्न यसखालको ऋणले उल्लेख्य सहयोग गर्ने विश्वास छ,’ एडीबीका कन्ट्री डाइरेक्टर आर्नौड कर्कोइसले भने, ‘हाम्रो लघुवित्त कार्यक्रम अन्तर्गत नेपालमा छिमेक लघुवित्त पहिलो साझेदार बनेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालसँग साझेदारी गर्दै नेपालको गरिबी निवारणमा सहयो गर्न पाउँदा औधी खुसी छौं ।’ छिमेक लघुवित्तका सीईओ दीपकनिधि तिवारीले यो ऋण सहयोग नेपालका ग्रामीण भेगमा रहेका सिमान्तकृति समुदायको आर्थिक स्तर उकास्न उपयोग गरिने बताए । त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तीदारले नेपालका सिमान्तकृत समुदायको आर्थिक उन्नतिका लागि बैंकले काम गर्दै आएको र भविष्यमा यस्ता कार्यक्रमलाई थप बढाउँदै लाने जानकारी दिए ।
राजधानी भित्र्याइने फलफूल र तरकारीको परिमाणमा वृद्धि, मूल्य पनि घट्ने
काठमाडौं । बाहिरी जिल्लाबाट फलफूल तथा तरकारी भित्र्याउने क्रम बढेसँगै राजधानीमा फलफूल तथा तरकारीको उपलब्धतामा सहज हुँदै गएको छ । वर्षा र बाढीको प्रभावले फलफूल तथा तरकारी भित्र्याउन नसकिएपछि राजधानीमा अभाव हुँदै गएको थियो । फलफूल तथा तरकारीको परिमाण भित्र्याउने क्रम आजदेखि बढ्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । राजधानीमा शनिबार एक सय ५६ टन फलफूल तथा तरकारी भित्र्याइएको थियो । आइतबार एक सय ७९ टन फलफूल र तरकारी भित्र्याइएको थियो । सोमबार दिउँसोसम्म चार सय ५० टन फलफूल तथा तरकारी भित्र्याइएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । राजमार्ग खुलेर सवारी चल्न थालेपछि राजधानी ल्याइने फलफूल तथा तरकारीको परिमाण वृद्धि हुन थालेको हो । तरकारी फलफूल भित्र्याउने क्रम बढेसँगै मूल्य पनि घट्ने समितिले जनाएको छ । सामान्य अवस्थामा राजधानीमा छ सय देखि सात सय टनसम्म फलफूल तथा तरकारी भित्र्याइने गरेको उनले बताए । पूर्वी एवं मध्य नेपालमा तीन दिनसम्म परेको भारी वर्षासँगैको बाढी र पहिरोले मुख्य सडक अवरुद्ध भएपछि राजधानीमा फलफूल तथा तरकारी ल्याउन कठिनाइ भएको हो । थोरै परिमाणमा मात्र ल्याइएपछि फलफूल र तरकारीको मूल्य वृद्धि भएको थियो । सवारी खुलेसँगै जाममा बसेका सवारीसाधन भित्रने क्रम बढेको छ । जाममा फसेका सवारीले बोकेका तरकारी केही मात्रामा बिग्रिएको जनाइएको छ । मंगलबारदेखि भने ताजा तरकारी र फलफूल राजधानी भित्र्याइने समितिले जनाएको छ । राजधानीमा धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, मधेश प्रदेशका केही जिल्लाबाट फलफूल तथा तरकारी ल्याउने गरिएको छ । मित्रराष्ट्र भारतबाट पनि फलफूल तथा तरकारी ल्याउने गरिएको समितिले जनाएको छ ।
दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दर्ता, आरोप पुष्टि भए ५ वर्ष कैद हुने
काठमाडौं । साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर गरेको हो । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) को जाहेरीमा पक्राउ परेका प्रसाईंविरुद्ध अर्को पनि मुद्दा थपिएको छ । उनीविरुद्ध अर्का एक पुरुषले पनि जाहेरी दिएका छन् । प्रसाईं असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए । आफूविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि टिका सङ्ग्रौलाले ब्युरोमा जाहेरी दिएकी थिइन् । विद्युतीय कारोबार ऐन-२०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
दिलदार विजयबहादुर शाह, केआइओसिएचलाई ४ करोड सहयोग
काठमाडौं । तीन पटकसम्म उत्कृष्ट करदाता बनेर नेपाल सरकारबाट सम्मानित व्यवसायी विजयबहादुर शाहले आफ्नो उदार दिल दानबाट प्रदर्शन गरेका छन् । शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग प्रतिबद्धता जनाएको छ । शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने तथा विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरूको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पिएसआइसियू र डे केयर सर्जरी शाखाको तलालाई रुस्लान पिएसआइसियू नामाकरण गरिने भएको छ । यही भाद्र १३ गते शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआइओसिएचलाई प्रदान गरीसकेको छ । कुल सहयोग प्रतिबद्धतामध्ये बाँकी ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रूपमा प्रदान गरिने भएको छ । गैरनाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसन (जेजिआइएनएफ) ले यस सहयोग प्रक्रियाको समन्वय गर्दै आए पनि यो सहयोग शाह परिवारको निजी पुँजीबाट प्रदान गरिएको सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘सबै सहयोग रकम विजय शाहको निजी सम्पत्तिबाट गरिएको हो । प्रस्तुत सहयोग तीन पटकसम्म नेपालकै शीर्ष करदाता हुनुभएका शाहको परोपकार र सामाजिक उत्तरदायित्व समर्पणको प्रतिबिम्ब बनेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विपद् पूर्वतयारीबारेको प्रश्नमा प्रधानमन्त्रीको प्रतिप्रश्न : कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ?
काठमाडौं । राष्ट्रसंघीय महासभाबाट ११ दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान विपद्बारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् । पत्रकारहरूले नेपालको तीनदिने विपद्को पूर्वतयारीबारे सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका हुन् । ‘रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको उनको जवाफ थियो । उनले भने, ‘रेड एलर्ट जारी गरिएको थियो, तर, कहाँ–कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ? त्यो त गएपछि थाहा हुने कुरा भो ।’ उनले काठमाडौंमा यति डुबान हुन्छ भन्ने कल्पना पनि नगिरएकाे बताए । प्रधानमन्त्री ओली आफ्नो अमेरिका भ्रमण गाई दुहेर आएजस्तो नभएको प्रतिक्रिया दिए । तपाईंको अमेरिका भ्रमणको उपलब्धि के ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘म कुनै भैंसी दुहुनु गएर दूध लिएर आएजस्तो होइन । हाम्रा समस्याहरू, हाम्रा विचारहरू त्यहाँ राख्न गएको हो, राखियो ।’
वर्षा पीडितलाई सहयोग गर्न महासंघको अपिल, जिल्ला उद्योग वाणिज्य संघ मार्फत तत्काल एक/एक लाख राहात
काठमाडौं । गत साता अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गर्दै जिल्ला उद्योग वाणिज्य संघ मार्फत अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाका दरले राहत रकम प्रदान गर्ने महासंघले निर्णय गरेको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत उक्त रकम राहतका लागि उपयोग गरिने महासंघले जनाएको छ। यसका साथै विपदको यस समय आ-आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूणर् उद्यमी व्यवसायीहरुलाई महासंघले आग्रह गरेको छ । उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामाग्री यथासम्भव उद्धारकार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइ दिन पनि महासंघ आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।
जलनको उपचार सातै प्रदेशबाट निःशुल्क बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ । मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बनाएका थिए । मन्त्री पौडेलको प्राथमिकताअनुसार मन्त्रालयले जलन उपचार निःशुल्क बनाउन प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा लगेकामा अर्थले हालै स्वीकृति दिएको छ । मन्त्रालयले आफ्नै विद्यमान श्रोतबाटै व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क बनाउनुका साथै सातै प्रदेशबाट उपचार थाल्ने गरी गृहकार्य गरिरहेको छ । हाल कीर्तिपुर अस्पतालबाट उपचार भैरहेकामा गत भाद्रमा वीर अस्पतालमा जलन वार्ड स्थापना गरिसकिएको छ । मन्त्रालयले सातैवटा प्रदेशमा यस्तो उपचार थाल्न लागेको हो । जसअनुसार कोशी प्रदेशमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा मधेस प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पतालमा जलनको उपचार थालिनेछ । गण्डकी प्रदेशको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको नेपालगञ्जस्थित भेरी अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी तयारी गरिएको छ । यसैगरी, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्रिया अघि बढाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । ‘सबैतिर उपचारको व्यवस्था नहुँदा धेरैले भोग्नुपरेको पीडा कसरी कम गर्न सकिन्छ भनेर मन्त्रीको निर्देशनअनुसार मन्त्रालयले तयारी थालेको छ’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘मन्त्रालयको आफ्नै श्रोतबाटै सातै प्रदेशमा निःशुल्क उपचार सुविधा दिने गरी तयारी अघि बढिरहेको छ ।’
ग्लोबल आइएमई बैंकका ग्राहकका परिवारले बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट पाउने
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले बुद्ध एयरको टिकटको खरिदमा ८ प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरु तथा ग्राहकका परिवार सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन् । साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहक वा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउने बैंकले जनाएको छ ।