निर्माण व्यवसायीलाई अर्थमन्त्रीले भने-२० अर्ब भुक्तानी भइसक्यो, बाँकी दशैंअघि कोसिस गर्छौं
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन् । बुधवार सिंहदरबारस्थिति अर्थमन्त्रालयमा नेपाल व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिवद्धता अनुरूप नै निरन्तर रुपमा भुक्तानी भइरहेको जानकारी दिए । उनले अहिले पनि प्रक्रिया पूरा गरेर आएका निर्माण व्यवसायीहरूको भुक्तानी नरोकिएको दाबी गरे । उनले निर्माण व्यवसायीहरूले पाउनुपर्ने सबै दायित्व नपाएको स्वीकार गरे । अर्थमन्त्री पौडेलले निर्माण सम्पन्न भएका कामको भुक्तानीको लागि बजेट कार्यान्वयनको बुँदा ५० ले व्यवस्था गरेअनुसार भुक्तानीलाई निरन्तरता दिनेमा जाेड दिए । उनले निर्माण व्यवसायीहरूले सरकारबाट पाउनुपर्ने भुक्तानी दशैंअघि नै गर्ने प्रयासमा रहेको उल्लेख गरे । उनले चालु आर्थिक वर्षको बजेटबाट गत वर्षको दायित्वका योजनाहरूको विषयमा व्यवसायीहरूले चिन्ता गर्नु नपर्ने बताए । अर्थमन्त्री पौडेलले संसदले पास गरेका आयोजनाको बजेट विगतको भुक्तानीका निम्ति गएको विषयमा आयोजना अघि बढाउने अन्य उपायहरू रहेको बताए । उनले विपद्को कारण निर्धारित समयमा आयोजनाहरू सम्पन्न नहुने भएकाले आयोजनाको म्याद थप्नुपर्ने सुझावलाई सरकारले ग्रहण गर्ने पनि बताए ।
विपद व्यवस्थापनमा चेम्बरले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै सघाउने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत साता आएको बाढी-पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ । चेम्बर अफ कमर्स अन्तर्गत गठित विपद व्यवस्थापन परिषदको बैठकले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै विपद व्यवस्थापनमा सघाउने निर्णय गरेको हो । परिषदका सभापति तथा चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राका अनुसार बैठकले गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिको बैठकबाट भएको निर्णयहरूलाई परिपालना गरी सहयोग गर्ने प्रतिवद्धता जनाउने निर्णय गरेको छ । ‘विपदको घडीमा उद्धार र राहतका निमित्त निजी क्षेत्रले सरकारसँग हातेमालो गर्दै क्षति न्यूनीकरणमा पनि सहकार्य गर्ने निर्णय भएको छ,’ परिषदका सभापति मल्होत्राले भने, ‘नेपालीहरुको चाडपर्व पनि नजिकै आएको यो समयमा निजी क्षेत्र थप सक्रिय र जिम्मेवार भएर पीडितहरुको सेवामा लाग्नुपर्ने अवस्था छ ।’ मल्होत्राका अनुसार अविरल वर्षाको कारणबाट राज्यमा भएको भौतिक एवं मानवीय क्षतिको एकीन तथ्यांक संकलनसँगै आउँदा दिनमा यस्ता प्रकोपबाट बच्न पूर्वतयारी लगायतका विषयमा पनि सरकारसँग चेम्बरले सहकार्य गर्नेछ । परिषद् बैठकमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ललगायत सहभागी थिए । बैठकमा परिषदका सहसभापति कृष्णमान श्रेष्ठ तथा सदस्यहरु मृगेन्द्र मेहर श्रेष्ठ, सञ्जय अग्रवाल, रुपक राजवंशी, स्वरूपा श्रेष्ठ, मुकुन्द तिमिल्सिना, दिपक कुँवर, अमित अग्रवाल, तुलसी प्रसाद अधिकारी, अनिल मानन्धर, दिपक महर्जन, पूर्वउपरथी विज्ञान देव पाण्डे, जानकीराज भट्टराई, राजीव श्रेष्ठ, यादव अधिकारी, दिपक थापा लगायतको सहभागिता थियो । यसअघि विपद व्यवस्थापन परिषदमा मनोनित भएका सदस्यहरूलाई परिषदका सभापति मल्होत्राले स्वागत गरेका थिए । गृह मन्त्रालयबाट गठित विपद व्यवस्थापन समितिमा नेपाल चेम्बर अफ कमर्स हाल पदेन सदस्यको रूपमा रहेको छ । परिषदमा भने सबै क्षेत्रबाट प्रतिनिधित्व रहेको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका पूर्व विशिष्ठ अधिकारीहरुसहित होटेल एवं पार्टी प्यालेश व्यवसायी, औषधि व्यवसायी, शिक्षा तथा खेलकूद, कृषि तथा वन, उपभोक्ता हित, इन्जिनियर एवं विविध क्षेत्रबाट सदस्य मनोनित गरिएको मल्होत्राले जानकारी दिए । परिषदका सदस्यहरुले राज्यको विपद घडीमा विपद व्यवस्थापनमा निजी क्षेत्रबाट सहयोग एवं सद्भाव जनाउने प्रतिवद्धता जनाइएको छ ।
बैंकर्सले त्रुटि गरेमा ५ करोड जरिवानादेखि बरखास्तसम्म, किन कठोर बन्यो राष्ट्र बैंक ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्मचारीप्रति नेपाल राष्ट्र बैंक कडा बनेको छ । राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै बैंकका कुनै पदाधिकारी वा कर्मचारीको कामकारबाहीको कारणले भएको देखिएमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रचलित कानुन वा संस्थाको विनियमावली बमोजिम कारबाही गर्नु पर्ने व्यवस्था गरेको छ । तर, संस्थाले उक्त कारबाही नगरेमा नेपाल राष्ट्र बैंकले त्यस्तो पदाधिकारी वा कर्मचारीलाई कारबाही गरी त्यसरी कारबाही नगर्ने संस्थाको सञ्चालक वा सम्बन्धित पदाधिकारीलाई परिपालनको अवस्था, विषयको गाम्भीर्यता र सूचक संस्थाको प्रकृतिअनुसार १० लाख देखि ५ करोड रुपैयाँसम्मको जरिवाना वा पदबाट हटाउने वा दुवै कारबाही गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि यस्तो व्यवस्था गरिएको थिएन । यस्तै, राष्ट्र बैंकले १५ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनीको व्यक्तिगत विवरण राख्नुपर्ने उल्लेख छ । यसअघि १० प्रतिशतमात्रै व्यवस्था थियो । संस्थाले प्रचलित कानुनमा भएको परिवर्तन, जोखिम मूल्याङ्कन, व्यवसाय र प्रविधिमा भएको परिवर्तन, कसूर गर्ने तरिका तथा प्रवृत्तिमा आएको परिवर्तन समेतको आधारमा वार्षिक रूपमा कम्तीमा एक पटक जोखिममा आधारित नीति, कार्यविधि तथा कार्ययोजनामा आवश्यक संशोधन गरी सुपरभाइजरी इनफर्मेसन सिस्टम (एसआईएस) मा अद्यावधिक गर्नुपर्ने उल्लेख छ । संस्थाले जोखिम मूल्यांकन गर्नुअघि मूल्यांकनको पद्धति तथा वस्तुगत आधार तयार गरी सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखासमक्ष पेश गर्नुपर्ने, क्रियाकलाप तथा आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणका सम्बन्धमा वर्षभरि गरेका काम कारवाहीको समीक्षासहितको वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र एसआईएसमार्फत पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
धमाधम नेपाल आउन थाले श्रीलंकाली, घटे भारतीय पर्यटक
काठमाडौं । सन् २०२४ को सेप्टेम्बर महिनामा ९६ हजारभन्दा धेरै पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डकाे तथ्यांकअनुसार हवाई मार्ग भएर ९६ हजार ५ सय ५ जना पर्यटक नेपाल घुम्न आएका हुन् । २०२३ को सेप्टेम्बर महिनामा ९१ हजार १२ जना मात्र पर्यटक आएका थिए । सेप्टेम्बर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट मात्रै २२ हजार ९ सय ८४ पर्यटकले नेपाल घुमेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष १९.९ प्रतिशतले भारतीय पर्यटक आगमन घटेको छ । वर्षायाममा धेरै प्राकृतिक विपत्ति र सडक दुर्घटनाका कारण भारतबाट नेपाल भ्रमण आउने भारतीय पर्यटक संख्यामा ठूलो गिरावट आएको छ । भारतीय पर्यटक दुर्घटनामा परेपछि यसको असर पर्यटक आगमनमा परेकाे हाे । युएईबाट सेप्टेम्बर महिनामा १० हजार ८४, चीनबाट ८ हजार ४२, अष्ट्रेलियाबाट ५ हजार ३८ र श्रीलंकाबाट ४ हजार ९ सय १५ पर्यटक नेपाल आएका छन् । नेपाल र कोलम्बो सिधा उडानका कारण श्रीलंकाली पर्यटक आगमनमा वृद्धि भएको हो । यस्तै, युकेबाट ४ हजार ४ सय ९३ र बङ्गलादेशबाट ४ हजार १ सय ३, जर्मनीबाट २ हजार ७ सय ४, कोरियाबाट २ हजार ३ सय १५ र मलेसियाबाट २ हजार २ सय ८० जना पर्यटक सेप्टेम्बर महिनामा नेपाल घुम्न आएका छन् । सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख १६ हजार ६ सय ३९ पर्यटक नेपाल आएका छन् ।
मानवीय स्वास्थ्यमा खेलबाड गर्ने औषधि पसल परे कारबाहीमा
भक्तपुर । जिल्ला प्रशासन कार्यालयले विभिन्न औषधि पसल (फार्मेसी)हरुलाई कारबाही गरेको छ । भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, औषधि व्यवस्था विभाग, नेपाल प्रहरी, उद्योग वाणिज्य संघसहितको टोलीले सुरु गरेको यहाँका औषधि पसलहरुको अनुगमनमा अवैध रुपमा सञ्चालितलाई कारबाही गरेको हो । भक्तपुरमा अवैध रुपमा औषधि पसल सञ्चालनमा रहेका, अदक्ष व्यक्तिद्वारा औषधि बिक्री हुने गरेको, म्याद गुज्रेका औषधि बिक्री गर्ने गरेको, औषधि पसलबाट अवैध औषधि बिक्री भइरहेको लगायतका गुनासो आएपछि प्रशासनको नेतृत्वमा अनुगमन सुरु गरेको सहायक प्रजिअ निरौलाले जानकारी दिए । अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित समृद्धि फार्मेसीबाट ३० हजार रुपैयाँ बराबरका औषधि जफल गरी १० रुपैयाँ जरिवाना गरिएको उनले जानकारी दिए । उक्त फार्मेसीले औषधि व्यवस्था विभागमा दर्ता नवीकरण नगरेको, तोकिएको तामक्रममा राख्नुपर्ने औषधिलाई जथाभावी राखिएको, निर्धारित मूल्यभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि मिति नाघेका औषधि नष्ट गर्नाका साथै जरिवाना लगाइएको हो । त्यस्तै, दूधपाटीकै न्यातापोल फार्मेसीले औषधिको बिल देखाउन नसकेपछि कारबाहीस्वरुप पाँच हजार रुपैयाँ जरिवाना लगाएको छ । खरिद बिल र बिक्री बिल देखाउन नसकेको उक्त फार्मेसीले तापक्रम मिलाएर राख्नुपर्ने औषधि जथाभावी राखेको र मिति नाघेका ५० हजार रुपैयाँ बराबरको औषधि बिक्रीमा राखेका पाइएपछि उक्त औषधि जफत गरी नष्ट गरेको छ । त्यसैगरी, सोही ठाउँका मेरिल्यान्ड फार्मेसी एन्ड क्लिनिकले अनुमति नै नलिई अकुपञ्चर सेवा सञ्चालन गरेको पाइएको छ । टोलीले अनुमतिपत्र लिएर मात्रै अकुपञ्चर सेवा सञ्चालन गर्न, साइनबोर्ड राख्न, सेवा शुल्कको लिष्ट बनाएर देखिने गरी राख्न र १५ दिनभित्र जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ । यहींको भीमेश्वर फार्मेसीलाई औषधिको बिल काट्दा म्यादसमेत उल्लेख गर्न निर्देशन दिएको छ । सूर्यविनायक नपा–६ पाण्डुबजारको कल्पना फार्मेसीले औषधि विभागमा दर्ता नै नभएको औषधि बिक्रीमा राखेको पाइएपछि एक हजार ५०० रुपैयाँ बराबरको औषधि नष्ट गरेको छ । सोही ठाउँको मातृभूमि फार्मेसीले पनि बिग्रिएको फ्रिजमा औषधि राखेको पाइएपछि त्यहाँका औषधि जफत गरी नष्ट गरिएको छ । टोलीले सूर्यविनायक नगर अस्पतालमा नेपाल सरकारले तोकिएको सबै औषधि राख्न निर्देशन दिएको छ । अनुगमन नियमित रहने जनाउँदै सहायक प्रजिअ निरौलाले अधिकांश औषधि पसलमा औषधिहरु तापक्रम मिलाएर नराखेको, जथाभावी औषधि बिक्री गरेको, म्याद गुज्रेका औषधि बिक्रीमा राखेको पाइएको भन्दै मानवीय स्वास्थ्य माथि खेलबाड गर्ने औषधि पसललाई अब कडा कारबाही गरिने बताए । रासस
गुण नियन्त्रण विभागको दशैंलक्षित बजार अनुगमन सुरु
काठमाडौं । सरकारले दशैंतिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौं, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो । बजार अनुगमनको सुरुवात गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भने, ‘सरकारका तर्फबाट खरिद भएर ल्याएपछि विभिन्न कारणले छ/सात वर्षदेखि मोबाइल भ्यानहरू त्यत्तिकै थन्किएका रहेछन् । आजदेखि दशैंतिहारलाई लक्षित गरेर खाद्य गुण परीक्षणका लागि बजार अनुगमनमा निस्किएका छौं।’ मन्त्री अधिकारीका अनुसार मर्मत गर्न बाँकी रहेका दुईवटा मोबाइल भ्यान पनि यथाशीघ्र मर्मत गरेर पूर्वपश्चिमबाट सञ्चालनमा ल्याइने जानकारी दिए । पछिल्लो समयमा खानपानका कारण अस्पतालमा बिरामी बढ्दै गएका सन्दर्भ उल्लेख गर्दै उनले उपभोक्ताले म्याद नाँघेका, असुरक्षित खाद्य वस्तु खान नपरोस् भनेर बजारमा रहेका खाद्य वस्तुको परीक्षण सुरु गरिएको बताए । पछिल्लो समय भएको बाढीपहिरो र डुबानले सबैभन्दा बढी कृषि क्षेत्रमा क्षति भएको बताउँदै मन्त्री अधिकारीले यसबाट करिब रु छ अर्बभन्दा बढी कृषि क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले क्षति भएका किसानको राहतका लागि मन्त्रिपरिषदमा छलफल भएको बताउँदै चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउन पहल गरिरहेको बताए । मृतकका परिवार र बेपत्ता भएका परिवारलाई क्षतिपूर्ति दिने कार्य मङ्गलबारदेखि सुरु भइसकेको बताउँदै मन्त्री अधिकारीले दशैंअगाडि सबै पीडितले राहत पाउने प्रतिबद्धता जनाए ।
दशैंको मुखमै छैन व्यापार, व्यापारीहरू भन्छन्- विगतको तुलनामा ७५ प्रतिशतले कमी
व्यवसायी गणेशप्रसाद दुवाडी । तस्बिर: न्यूज एजेन्सी नेपाल काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक २५ प्रतिशत पनि नआएको व्यवसायीहरूले गुनासो गरेका छन् । दशैं लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटीलगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरूको भीड हुने भएपनि अहिले बजार सुनसान छ । विगतका वर्षहरूमा जस्तो यस वर्ष पनि आर्थिक मन्दीको कारण व्यापारमा उत्साह नदेखिएको व्यापारीहरूले बताए । उनीहरूले दशैं नजिक अविरल वर्षाको कारण मुलुकभर आएको बाढी पहिरो जस्ता विपत्तिले व्यापार व्यवसायीमा थप संकट ल्याएको बताएका छन् । दशैं लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्ने र व्यापार वृद्धि हुने व्यवसायीहरुको आशा निरासामा परिणत भएको छ । दशैं लागेसँगै बजारमा ग्राहकहरू बढ्ने र व्यापारीहरूलाई केही राहत मिल्ने आशा भएपनि बाढी-पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे । व्यापारीहरूले विगतका वर्षमा सोही समयमा हुने सतप्रतिशत व्यापारको अहिले २५ प्रतिशत पनि व्यापार हुन नसकेको भन्दै व्यापार व्यवसाय दयनीय अवस्थामा पुगेको उल्लेख गरे । बजारमा आर्थिक मन्दीको प्रभाव तथा ग्राहकहरूको क्रयशक्ति कमजोर र सक्रिय उपभोक्ता विदेश पलायन भएकाले पनि विगतको तुलनामा व्यापारमा कमी आएको व्यवसायीहरूको भनाइ छ । उनीहरूले दशैं लागेसँगै व्यापार बढ्ने केही आश भएपनि बाढी-पहिरोजस्ता विपत्तिको कारण बजारमा ३० प्रतिशतभन्दा बढी व्यापार नहुने आँकलन रहेको बताए । सरकारको नीति, बैंकको ब्याज, घरभाडा वृद्धि तथा सरकारले लगाउने करमा वृद्धि भएकाले बजारमा सामानको मूल्य पनि विगतको तुलना वृद्धि भएको बताए । नेपाल राष्ट्रिय व्यापार महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले यस वर्षको दशैं व्यवसायी र आमनागरिकको लागि दशाको रूपमा देखापरेको बताए । अहिले मुलुक नै व्यापार व्यवसाय भन्दा पनि बाढी-पहिरो र प्राकृतिक प्रकोपको चपेटामा परेकाले यस वर्षको दशैंमा रौनक नभएको उनकाे भनाइ छ । उनले विगतको तुलनामा ७५ प्रतिशत व्यापारमा कमी आएर २५ प्रतिशत पनि व्यापार नभएको अवस्थामा बाढी-पहिरोको कारण झन शिथिल बनाएको बताए । उनले मुलुकका सक्रिय युवाहरू विदेश पलायन भएकाले पनि बजारमा व्यापारमा कमी आएको बताए । संस्थापक अध्यक्ष कटुवालले बजारमा बैंकिङ समस्या र सरकारको कर नीति लगायतको कारण दशैंमा बजार चलायमान हुने अवस्था नदेखिएको दुखेसाे पाेखे । राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरू विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने? भन्ने अवस्था आएको बताए । उनले उपभोग गर्ने युवाहरू श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको भन्दै बजार २० देखि २५ प्रतिशत मात्रै व्यापार रहेको बताए । कोभिडपछि सुरु भएको आर्थिक मन्दी यस वर्षको दशैंमा आएर चरम उत्कर्षमा पुगेको देखिएको उनकाे बुझाइ छ । रञ्जना व्यापार संघका अध्यक्ष हरिप्रसाद पाण्डेले पनि बजार व्यापार २० देखि २५ प्रतिशतमा झरेको भन्दै ७० प्रतिशतले गिरावट आएको बताए । उनले ७० प्रतिशत व्यापारमा आएको गिरावटले व्यवसायीहरू ठूलो मारमा परेको भन्दै व्यापार व्यवसायीहरूलाई सुरक्षा दिने सम्बन्धमा सरकारले ध्यान दिन जरुरी रहेको आवश्यकता औंल्याए । नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले पनि दशैंको समयमा व्यापारमा रमाउनु पर्ने व्यवसायीहरु बाढी पहिरोको कारण समस्यामा परेको बताए । उनले बाढी पहिरोको कारण तातोपानी र केरुङ नाका जोड्ने सडक बाढीले बगाउँदा धेरै व्यवसायीहरूको सामान नाका र बाटोमा अड्किएर बसेको गुनासाे गरे । सिभिल व्यापार संघ अध्यक्ष रत्नबहादुर घिमिरेले पनि बजारमा दशैं अहिलेसम्म नलागेको भन्दै बजार सुनसान रहेको बताए । उनले आजसम्म बजारमा दशैको चहलपहल नदेखिएको बताए । एकता व्यापार संघका अध्यक्ष तेज आचार्यले पनि विगतका दशैंको तुलनामा यस वर्षको दशैंमा विभिन्न समस्याको कारण १० प्रतिशत पनि व्यापार नहुने अवस्था देखिएको बताए । उनले ९० प्रतिशत बजार प्रभावित हुने अवस्था बाढी पहिरोका कारणले अनुमान गर्नसक्ने अवस्था आएको बताए । न्युरोडका कपडा व्यापारी गणेशप्रसाद दुवाडीले पनि दशैंको मुखमा आएर मुलुकमा बाढी-पहिरोको विपद् आएकाले थप बजारमा समस्या आएको बताए । उनले आर्थिक कारोबार पनि कम भइरहेकाले दशैं लागे पनि व्यापार व्यवसाय नाजुक अवस्थामा रहेको उल्लेख गरे । उनले कोभिडको समयलाई हेर्दा पनि त्यसको तुलनामा २० देखि २५ प्रतिशत पनि व्यापारमा कमी आएको जिकिर गरे । दशैंमा व्यापार होला भनेर ऋण गरेर सामान हाले पनि विगतको तुलनामा ८० प्रतिशत व्यापारमा कमी आएको व्यापारीहरूको गुनासो छ । बजारमा प्रशस्त सामान भएपनि पसलमा आउने ग्राहक नभएको उनीहरू बताउँछन् । व्यापार गरेर बैंकको ब्याज, राज्यलाई कर, काेठाभाडासमेत तिर्न नसकिको बताए ।
आकाश फुड्समा आपूर्ति विभागको छापा, दुई लाख जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आकाश फुड्समा छापा मारेको छ । छापाका क्रममा उपभोक्ता हित प्रतिकूल अवस्था देखिएपछि विभागले २ लाख रुपैयाँ जरिवाना तिराएको छ । छापाका क्रममा प्याकेजिङ खुइलिसकेकाे, एकपटक प्रयोग भइसकेको तेल पुन: प्रयोग गरी मिठाइँ उत्पादन भइरहेको भेटिएपछि जरिवाना तिराइएकाे हाे । आकाश फुड्स आँगन स्वीट्सका मिठाइ उत्पादन हुने कम्पनी हाे । साथै, विभागले जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टलाई पनि नगद जरिवाना तिराएको छ । विभागले उक्त रेष्टुरेन्टलाई ३ लाख रुपैयाँ जरिवाना तिराएकाे हाे ।