कोशी र बागमती प्रदेशमा भारी वर्षा, यस्तो छ आगामी २४ घण्टाको पूर्वानुमान
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छभने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बागमती प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ । विभागका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका एक/दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी तथा बाँकी प्रदेशका एक/दुई स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।
एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिट २०२४ मा नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड
काठमाडौं । नेपाली विद्यार्थीहरूले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को महत्त्वपूर्ण पिपल्स चोइस अवार्ड जितेका छन् । ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रमअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै चीन गएको ६ जना नेपाली विद्यार्थीको टोलीले सो उपलब्धि हासिल गर्न सफल भएको हो । समूहमा समिप अर्याल, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, र समृद्धि कार्की छन् । एसिया प्यासेफिक समिटमा १९ मुलुकका सयौं विद्यार्थीले सहभागिता जनाएका छन् । जसमा नेपाली विद्यार्थीले अल्ट्राकेयर नामक एआई व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए । एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटले नेपाली विद्यार्थीहरूको नवीन सोचको ऊर्जालाई उजागर गरेको छ । सिड्स फर द फ्युचर नेपालमा यो कार्यक्रम २०१९ मा सुरु भएको हो, जसले देशको प्रविधि परिदृश्यलाई आकार दिनका लागि दर्जनौं विद्यार्थीहरूलाई प्रेरित गरिरहेको छ । सिड्स फर द फ्युचर कार्यक्रम, ह्वावेको विश्वव्यापी सिएसआर (सीएसआर) प्रयास अन्तर्गत २००८ मा थाइल्याण्डमा सुरु भएको हो । हालसम्म विश्वभरका १४१ देशका १८,००० भन्दा बढी विद्यार्थीहरूले यसबाट फाइदा उठाइसकेका छन् ।
वालेटले ओगट्छन् अर्बौ बचत, जोखिममा प्रयोगकर्ता
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी वालेटहरूले ४३ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २ करोड ४२ लाख ५७ हजार ६५६ जनाले वालेटबाट ३ करोड ८ लाख ७८ हजार ९४० पटक कारोबार गरेका हुन् । गत असारसम्म २ करोड ३४ लाख ६१ हजार १०७ जनाले ३८ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए । त्यस समयमा ३ करोड २१ लाख ५ हजार ९१७ पटक कारोबार भएको थियो । राष्ट्र बैंकका अनुसार २०७९ असारमा १ करोड ६२ लाख ६ हजार ३५६ पटक १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । तीन वर्षअघि वालेट प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख ७५ हजार ९९३ जना थिए । गत वर्ष (२०८० असार) मा २ करोड ८ लाख २२ हजार ८६१ पटक २० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष वालेट प्रयोगकर्ता संख्या बढेर १ करोड ८९ लाख ४१ हजार ७९१ जना थिए । भुक्तानी वा कारोबारमा काम गरिरहेका डिजिटल वालेटको प्रयोग निरन्तर उकालो लागेको छ भने कारोबार रकम पनि बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । पाँच वर्षको अवधिमा वालेट प्रयोगकर्तासँगै कारोबार रकम पनि उच्च वृद्धि भएको छ । पाँच वर्षअघि २०७७ साउनसम्म वालेट प्रयोगकर्ता ६२ लाख ७४ हजार १२९ जना थिए । तर, ५ वर्षमा प्रयोगकर्ताको संख्या २८६.६२ प्रतिशत बढेर २ करोड ४२ लाख ५७ हजार ६५६ जना पुगेका छन् । यस्तै, कारोबार रकम पनि ४७६.५६ प्रतिशत बढेको छ । ५ वर्षअघि वालेटबाट ७ अर्ब ५७ करोड रुपैयाँ कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । कति छ वालेटमा बचत ? कुन वालेट कम्पनीमा कति बचत छ भनेर सार्वजनिक तथ्याङ्क छैन । सर्वसाधारणको अर्बाैं रुपैयाँ रहेको वालेट कम्पनीमा राष्ट्र बैंकले पनि सार्वजनिक गर्न मान्दैन । तर, वालेट कम्पनीका सीईओहरूसँगको अनौपचारिक कुराकानीका आधारमा दैनिक अर्बाैं रुपैयाँ वालेटमा बचत रहन्छ । वालेट कम्पनीहरूमा सबैभन्दा धेरै प्रयोगकर्ता (युजर) ईसेवामा छन् । ईसेवा १ करोड बढीले डाउनलोड गरेको भएपनि वास्तविक प्रयोगकर्ता भने ६० लाख हाराहारीमा मात्रै रहेको कम्पनी स्रोतको भनाइ छ । स्रोतका अनुसार दैनिक कारोबार गर्दा पनि दैनिक २ देखि ३ अर्ब रुपैयाँ ईसेवामा बचत रहन्छ । यस्तै, खल्ती र आइएमई पेका प्रयोगकर्ताको संख्या पनि उच्च छन् । खल्तीका २४ लाख प्रयोगकर्ता छन् भने आइएमई पेको पनि सोही हाराहारीमा प्रयोगकर्ता रहेका छन् । स्रोतका अनुसार यी दुई वालेटमा प्रयोगकर्ताको बचत १ अर्ब बढी नै हुने गरेको छ । यस्तै, प्रभु पे, माइ पे, नमस्ते पे टप फाइभभित्र पर्छन् । जसमध्ये माइ पेका १० लाख, प्रभु पेका ९ लाख र नमस्ते पेका ७ लाख प्रयोगकर्ता छन् । स्रोतका अनुसार यी वालेटको पनि दैनिक बचत ५० करोडभन्दा बढी हुने गरेको छ । अन्य कम्पनीको प्रयोगकर्ता कम भए पनि सर्बसाधारणको बचत रकम करोडौंमा रहेको छ । सजिलो पेका प्रयोगकर्ता २ लाख ८० हजार छन् भने पे वेलका ४ लाख बढी प्रयोगकर्ता छन् । स्रोतका अनुसार पेवेलको बचत १७ करोडभन्दा बढी रहेको थियो । त्यसैले २६ वटै वालेट कम्पनीको तथ्याङ्कलाई जोड्दा अर्बाैं रूपैयाँ हुने देखिन्छ । अप्ठ्याराेमा वालेट कम्पनी राष्ट्र बैंकको तथ्याङ्कअनुसार २६ वटा वालेट कम्पनी सञ्चालनमा छन् । कम्पनीका कर्मचारीहरू र नियामक नेपाल राष्ट्र बैंकका अधिकारीहरूसँग कुरा गर्दा अहिले अधिकांश वालेट कम्पनीहरू घाटामा सञ्चालन भइरहेका छन् । सर्वसाधारणको अर्बौं रूपैयाँ होल्ड गरेर व्यवसाय सञ्चालन गरिरहेका वालेट कम्पनीहरू घाटामा जाँदा सर्वसाधारणको वालेटमा रहेको रकम पनि जोखिममा छ । लामो समयदेखि वालेट सञ्चालनमा रहेपनि उल्लेख्य नाफा भने गर्न सकेका छैनन् । अहिले सञ्चालनमा रहेको ईसेवा मात्रै नाफामा रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार हालसम्म खल्ती र आइएमई पे वालेटले लागत मात्रै उठाउन सकेका छन् भने अन्य वालेट कम्पनीलाई लागत पनि उठाउन सकस परिरहेको राष्ट्र बैंकको भुक्तानी विभागका एक कर्मचारीले बताए । वालेटमा कमाइ भन्दा धेरै खर्च हुने गरेको ती कर्मचारीको भनाइ छ । खल्ती गत वर्षदेखि नाफा आर्जन गर्ने योजनाका साथ काम गरिरहेको थियो । तर, विभिन्न कारणले कम्पनी नाफामा जान नसकेको बताइएको छ । चालु आर्थिक वर्षदेखि भने नाफा गर्ने लक्ष्यमा रहेको खल्तीका एक कर्मचारीको भनाइ छ । ‘डिजिटल कारोबारको भविष्य राम्राे रहेकाले अहिले लगानीमा जोड दिइरहेका छन्, बैंकहरूले पनि डिजिटलमा लगानी मात्रै गरिरहेका छन्, त्यति धेरै नाफा गर्न सकेका छैनन्,’ एक वालेट कम्पनीका सीईओले भने, ‘वालेटमा दीर्घकालीन लगानी गरेका छौं, अब काम गर्दै जाँदा केही समय लाग्न सक्छ, अहिले नाफाभन्दा पनि एउटा आधार बनाउन लागिरहेका छौं ।’ वालेटले मागे ब्याज वालेट कम्पनीले निक्षेप जम्माको काम गर्न पाउँदैनन् । त्यसैले सेटलमेन्ट बैंकमा रकम राख्नुपर्ने हुन्छ । दैनिक अर्बाैं रुपैयाँ बचत रहने भएकाले सो बापतको ब्याज पाउनुपर्ने वालेट कम्पनीहरूले माग गर्दै आएका छन् । हाल वालेट कम्पनी घाटामा चलिरहेको र आम्दानीको स्रोत हुने भएकाले दैनिक बचतअनुसारको ब्याज सेटलमेन्ट बैंकले दिनुपर्ने माग गरिरहेका छन् । ‘वालेटको रकम सेटलमेन्ट बैंकमा जम्मा हुन्छ । त्यो रकम वालेटमा देखिने मात्रै हो, भर्चुअल पैसा जस्तै हो, राष्ट्र बैंकले दैनिक वालेटको छुट्टै र सेटलमेन्ट बैंकको छुट्टै रिपोर्टिङ गरिरहेको हुन्छ,’ एक वालेट कम्पनीका सीईओले भने, ‘जस्तो कुनै वालेटले १७ करोड रुपैयाँ राखेको छ भने त्यो सेटलमेन्ट बैंकको कम देखिएमा राष्ट्र बैंकले तत्काल एक्सन लिन्छ, वालेटको ब्यालेन्स र सेटलमेन्ट बैंकको खातामा बराबर रकम हुनुपर्छ ।’ वालेट कम्पनीलाई कल डिपोजिटमा भएको रकममा ब्याज दिने गरिएको छ । तर, सो ब्याजदर न्यून भएकाले बचत खातामा सरह ब्याज दिनुपर्ने माग वालेट कम्पनीको छ । समस्यामा प्रयोगकर्ता अर्बाैंको कारोबार हुने गरेको वालेट प्लेटफर्ममा प्रयोगकर्ताको गोपनीयतासँगै रकम पनि जोखिममा रहेको छ । राष्ट्र बैंकले गत जेठदेखि पेवेल नेपाल र सजिलो पेको सबै बैंक खाता रोक्का गरेको छ । यी दुईको बैंक खाता रोक्का भएसँगै प्रयोगकर्ताले कारोबार गर्न पाएका छैनन् । यी दुई कम्पनीको कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ । तर, ५ महिनासम्म पनि प्रयोगकर्ताको बचत सो वालेटमा रहँदा न ब्याज पाउँछन् न कारोबार नै गर्न पाएका छन् । अहिले अर्को एक अग्रणी वालेट कम्पनी पनि ठूलो समस्यामा रहेको बुझिएको छ । सो वालेट कम्पनीको विषयमा नियामक नेपाल राष्ट्र बैंकमा पनि सेवाग्राहीको गुनासो गएको छ । अहिले सहकारीमा झै वालेट कम्पनीहरुमा समस्या देखिएमा त्यसले बैकहरुलाई पनि नराम्ररी असर गर्न सक्ने जोखिम रहेको जानकारहरु बताउँछन् ।
कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव सुरु
काठमाडौं । ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बुधबारदेखि राजधानीमा दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ सुरु भएको छ । राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा मेलाको शुभारम्भ गरे । काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरूको बजारीकरण पनि महत्त्वपूर्ण पाटो भएको बताए । स्थानीयस्तरमा तालिम गरेर उद्यमशीलतामा लाग्नेहरूले तयार गरेका उत्पादनहरूको बजारीकरणमा चुनौती देखिएको भन्दै उनले उद्यमशीलतामा लाग्नेहरूलाई उत्पादनदेखि बजारीकरणमा पनि सघाउन स्थानीय निकायहरूको ध्यानाकर्षण गराए । घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्रकुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरूको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गरिएको बताए । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहेको उनले बताए । प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफुल, चोयोको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लाष्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका छन् । प्रदर्शनीको शुभारम्भका अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका सल्लाहकार वासु गिरी, घरेलु तथा साना उद्योग संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष डोल्मा शेर्पा, उपाध्यक्ष इश्वर गुरुङ, फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष नानीराज घिमिरे, घरेलु तथा साना उद्योग संघ काठमाडौंका कोषाध्यक्ष सन्तोष कार्कीलगायतले मेलाका बारेमा बोलेका थिए ।
इक्यानको शैक्षिक मेलामा ५ हजार बढीको सहभागी
काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले आयोजना गरेको शैक्षिक मेलामा विद्यार्थी र अभिभावकले विदेशी शैक्षिक संस्थाबारे जानकारी लिएका छन् । बुधबार काठमाडौंको एभरेस्ट होटलमा आयोजना गरिएको मेलामा ५ हजार बढी विद्यार्थी अभिभावकले भिजिट गरेको इक्यानका सचिव रत्न भट्टराईले बताए । उच्च शिक्षाका लागि विदेशी भूमिमा जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी मेलाकाे आयाेजना गरिएकाे हाे । मेलामा पाँच हजारभन्दा बढीले अवलोकन तथा परामर्श लिएको सचिव भट्टराईले बताए । सहभागी विद्यार्थी अभिभावकहरूले विभिन्न देशको शैक्षिक अवस्था जस्तै- त्यहाँ पढ्न जाँदा लाग्ने खर्च, त्यहाँका शिक्षा प्रणालीलगायतका विषयमा जानकारी लिएका छन् । कोरोना महामारीपछि भौतिक रूपमा पहिलो पटक आयोजना गरिएको मेला भएकाले पनि विद्यार्थीको उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ । मेलामा विभिन्न शैक्षिक परामर्श संस्थाका साथै विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको पनि उपस्थिति थियो । विद्यार्थीहरूले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष साक्षात्कार गरेका थिए । मेला संयोजक गीता सिवाकोटीले बाढीपहिरोका कारण निर्धारित समयभन्दा तीन दिन ढिला गरी आयोजना भएको मेला महत्त्वपूर्ण प्लेटफर्म भएकाे बताइन् । उनले भनिन्, ‘अहिले नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम बढ्दो छ, तर धेरैजस्तो विद्यार्थीलाई त्यहाँको शैक्षिक संस्थाबारे जानकारी नै हुँदैन । यो मेला त्यस्ता विद्यार्थीका लागि एक महत्त्वपूर्ण प्लेटफर्म हो ।’ मेलामा विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न आवश्यक योग्यता, कागजातहरू, भिसा प्रक्रियादेखि छात्रवृत्ति अवसरहरूसम्म प्रत्यक्ष परामर्श लिएका छन्। ‘म कहाँ जाँदै छु ? कुन देश जाँदै छु ? त्यसको बारेमा अध्ययन गर्न जरुरी छ,’ सचिव भट्टराई भन्छन्, ‘हामीले विद्यार्थीलाई यस्तै खालका जानकारी दिन मेलाको आयोजना गरेका हाैं ।’ मेलामा भारत, चीन,बंगलादेश, श्रीलंका लगायत विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पानीको शुद्धिकरण गरी वितरण गर्न आवश्यक भएको बताएका छन् । बुधवार स्वास्थ्य मन्त्रालयमा उपत्यकाका मेयर फोरमसँगको छलफलका क्रममा उहाँले यस्तो बताएका हुन् । उनले खानेपानी मन्त्रालयसँग समन्वय गरी साझा विषयमा काम अघि बढाउने बताए । उनले विपद्को बेलामा खानेपानी शुद्ध नभए त्यसले निम्त्याउने जोखिम डरलाग्दो हुने भन्दै खानेपानी शुद्ध भए/नभएको परीक्षण गर्ने संयन्त्र बनाइ अनुगमनको विषयलाई प्रभावकारी बनाइने बताए । मन्त्री पौडेलले पानीको शुद्धिकरणका लागि सरकारबाट परिचालन गर्ने संयन्त्र र आवश्यक पर्ने साधनस्राेतहरूको व्यवस्थापन गर्ने बताए । उनले ट्यांकरको पानीमा न्युनतम पानी शुद्धिकरणका उपाय अपनाएको छ वा छैन भन्नेबारेमा मापदण्ड तोकेर निगरानी राख्नुपर्ने बताए । उनले शुद्ध पानी पिउन र उमालेर मात्रै पानी पिउनका लागि जनचेतना फैल्याउनुपर्ने बताए । उनले खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा व्यक्ति र मिति तोकेरै समन्वय गर्ने समूह बनाइ काम अघि बढाउने बताए । मन्त्री पौडेलले पानी जम्मा गरिएका ट्याङ्कीमा पानी शुद्धिकरणका लागि आवश्यक संयन्त्र परिचालन गर्ने पनि बताए ।
ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुलाई चितवनको कसरास्थित जंगल भिल्ला रिसोर्टमा छुट दिइने भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार रिसोर्टमा पाइने फुड एन्ड वेबरेजसहित रुम चार्जमा ज्योति विकास बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट हुनेछ । ज्योति विकास बैंकले यसअघि कमलपोखरीस्थित प्रख्यात अचार घर, दरबारमार्गको महोत्सब रेष्टुरेन्ट एन्ड बार, हात्तीसारको नेपाल हाउस रेष्टुरेन्ट एन्ड बार तथा कमलादीको क्याफे लायन हर्ट तन्दुरी किचेनमा आफ्ना ग्राहकलाई १० प्रतिशतसम्मको छुट दिने गरी सम्झौता गरेको छ । संस्थागत सुशासनलाई शिरोपर गर्दै समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सधैं उच्च प्राथमिकतामा राख्ने जनाएको छ ।
टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति
काठमाडौं । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेको छैनभने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) र एनसेल आजिअटा लिमिटेड ९एनसेल० को मात्र करिब २२ करोड रुपैयाँ बराबरको क्षतिको अनुमान गरिएको छ । ‘एनटिसीको करिब १५ करोड रुपैयाँ र एनसेलको करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरुबाट विवरण संकलन भइसकेकामा यस्ता कम्पनीहरुको करिब साढे सात करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक छ’, प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालले भने । इन्टरनेट सेवा प्रदायकहरुबाट थप क्षतिको विवरण संकलन भइरहेको पनि उनले बताए । बाढीपहिरो, डुबान, चट्ङ्याङलगायत समस्याबाट विद्युत् आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो । विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको डा पौड्यालको भनाइ छ । पोल ढल्ने, तार चुँडिनेलगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा सुरु गर्न कम्पनीहरुलाई निर्देशन दिइसकेको पनि उनले जानकारी दिए । टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको पनि उनले बताए ।