पाठ्यपुस्तकमा चन्द्र र गगनहरू अटाउनुपर्छ, ‘अब्राहम लिंकनको चिठी’ भनेर भ्रम फैलाइँदैछ
काठमाडौं । नेपालको शिक्षा प्रणाली र पद्धति परम्परागत ढाँचाबाट अगाडि बढिरहेको छ भन्ने विषय जगजाहेर छ । अध्ययन अनुसन्धानको कमी, विषय विज्ञहरूको न्यून भूमिका, सरकारको सुस्तता र शिक्षकहरूको पनि वेवास्ताले पनि नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसकेको हाे । व्यवहारिक शिक्षाभन्दा पनि सैद्धान्तिक र घोकन्ते शिक्षा पद्धतिमा अगाडि बढिरहेको नेपाली पाठ्यक्रम र पाठ्यपुस्तकमाथि पनि धेरैले बेलाबखत प्रश्न उठाउँछन् । सरकारी तवरबाट हुनुपर्ने काम एउटा व्यक्तिबाट हुन्छ । विद्यार्थीले पढेको र सिकेको ज्ञानले कतिको सार्थकता पाइरहेको छ ? शिक्षालयबाट काम गर्ने कार्यालयसम्म पुग्दा विद्यार्थीहरू कत्तिको सिपयुक्त र दक्ष हुन्छन् । सिकेको विषयलाई व्यवहारमा उतार्न उनीहरू कत्तिको सक्षम छन् ? यो विषयमा सम्बन्धित शिक्षालय र सरकारले पनि मनन गरेको छ वा छैन ? तपाईं हामी सबैलाई जानकारी भएकै कुरा हो, यो विषयमा न सरकारको चासो छ, न अभिभावकले गम्भीर रूपमा लिएको छ नत विद्यार्थी नै यस विषयको महसुस गरेको छ । नेपाली शैक्षिक पद्धति ‘जसैजसै पण्डित बाजे, उसैउसै स्वाहा’ भइरहेको छ । यो आँट नीति विश्लेषक होमराज आचार्य नेतृत्वको समूहले गर्याे । ‘एजुकेशन इन एभ्री होम’ अन्तर्गत नीति विश्लेषक आचार्यको समूहले एक वर्ष ६ महिना समय लगाएर नेपालको पाठ्यपुस्तहरू अध्ययन गर्यो । जसमा अनगिन्ती त्रुटिहरू भेटिए । नेपाली पाठ्यपुस्तकरू विदेशी व्यवसायी, उद्यमी, विज्ञ र कलाकार लगायतको कथाले भरिएका देखिए । त्यहाँ नेपाली र नेपालीपन देखिएन । पाठ्यपुस्तकमा ‘अब्राहम लिंकन’को चिठी पढाइएको भेटियो । विश्वको हावापानी धरातलीय विविधतामा पनि गलत सूचना राखिएको देखियो । नेपालमा प्रत्येक १०/१० वर्षमा पाठ्यपुस्तक पुनरावलोकन गर्नुपर्छ भन्ने मान्यता छ । यही मान्यताअनुसार सरकारले २०७९/०८० मा पुनरावलोकन गरिएका पाठ्यपुस्तकहरूको अध्ययन गर्दा त्रुटि फेला पारेको हो । पाठ्यपुस्तकमा फेला पारेको त्रुटिबारे सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत अहिलेसम्म कुनै निकायले यसमा ध्यान दिएको छैनन् । सरकार आफैले गर्नुपर्ने काम व्यक्तिले गर्दा पनि वेवास्ता गरेको शैक्षिक अभियन्ता एंव नीति विश्लेषक आचार्यको भनाइ छ । नेपालको इतिहासदेखि विश्वस्तरको कुरा समावेश पाठ्यपुस्तकमा नै त्रुटि फेला पर्दा नेपालको शैक्षिक प्रणालीमाथि नै प्रश्न उठ्न थालेको हो । के छन् त्रुटि ? नेपालको इतिहास, भूगोल, विज्ञान गणितलगायतका विषयमा व्यापक त्रुटि रहेको पाइएको छ । ‘हामीले कुनै व्याकरणका त्रुटि भनेका होइनौं, पाठ्यपुस्तकमा राखेका सूचना तथ्यका आधारमा गरिने कुराहरू नै गलत छन्,’ उनले भने, ‘महिलाहरूलाई कसरी प्रस्तुत गर्ने, जनजातिका संस्कृतिलाई कसरी प्रस्तुत गर्ने भन्नेमा पनि गल्ती छ । नेपालको सांस्कृतिक पुँजी भनेको यहाँका सबै समुदाय र नागरिक हुन्, उहाँहरूले निर्माण गरेका चाडपर्व, नृत्य जति छन् यो भनेको देशको ज्ञान हो, यसलाई बराबर रूपमा स्थान दिनुपर्छ ।’ होमराज नेतृत्वको टिमले गरेको अनुसन्धानमा कक्षा २, ७ र १० मा पढाइ हुने सामाजिक र नेपाली विषयलाई नमुनाका रूपमा लिएर अध्ययन गरिएको थियो । उनी भन्छन्, ‘पाठ्पुस्तकमा धेरै कुरा ‘मेन्सन’ गरियो, लिस्टिङ गर्ने काम गरियो, तर गहिरिएर त्यसको खोजी भने गरिएन । यस्तै, तथ्यपरक त्रुटि पनि पाठ्यपुस्तकमा उत्तिकै पाइएको छ । नेपाल बाघ संरक्षणमा संसारभर नेतृत्वकर्ताका रूपमा मानिन्छ । दक्षिण एसियामै बाघहरू पाइने उद्गम स्थल हो । तर किताबमा जर्मनी अनि ब्राजिलमा बाघ, हात्ती, गैंडाहरू छन् भन्ने कुरा भेटियो, जुन गलत हो । त्यस्तै, अर्को एउटा ‘कालीगण्डकीको तिरैतिर’ भन्ने एउटा निबन्धमा सही जानकारी समावेश नगरेको पाइएको छ । निबन्धमा काठमाडौंबाट एउटा समूह मुक्तिनाथसम्मको यात्रामा निस्केको छ, तर त्यहाँ बुद्धिष्ट संस्कृतिका कुनैपनि कुरा देखिँदैन । मन्दिर र शालिकग्राममात्र देख्छ । उनी किताब लेख्ने मान्छेमा जुन किसिमको दृष्टि हुनुपर्ने हो त्यो नभएको दाबी गर्छन् । होमराज भन्छन्, ‘आँखा हुनु र दृष्टि हुनुमा फरक छ, त्यस्तै हाम्रा पाठ्यपुस्तकमा आँखा छन्, दृष्टि छैनन् । ’ पाठ्यपुस्तकमा गुरुङ, मगर, थारु, मधेसी लगायतका समुदायका संस्कृतिलाई पनि मुख्य रूपमा नल्याएको उनको भनाइ छ । विदेशीलाई प्राथमिकता, नेपालीबारे बेखबर नेपाली पाठ्यपुस्तकले धेरैजसो शब्द नेपालीभन्दा विदेशीहरूको बारेमा खर्चेको छ । नेपाली महिलाभन्दा बढी विदेशी महिलाका कुरा लेखिएका छन् । पाठ्य पुस्तकले आफ्नै देशका मान्छेलाई भने अवमूल्यन गरेको छ । राजाहरूको इतिहास वर्षौं पुरानादेखि वीरेन्द्रसम्मको पढाउनुपर्ने पाठ्यक्रममा नागरिकका कथा लेखिएका छैनन् । नेपालमा अहिले पनि उद्यममा राम्रा काम गर्ने धेरै व्यक्ति छन् । तर, उनीहरूको कथा लेखिएको छैन । होमराज पाठ्यपुस्तकमा ठूला व्यक्तिको मात्र नभइ सर्वसाधारणका कथा पनि लेखिनुपर्ने बताउँछन् । एक जना महिला जसले राम्रो काम गरिरहेकी छन् भने त्यस्ता कथा पनि राखिनुपर्ने उनको धारणा छ । ‘नेपालमा विभिन्न किसिमका व्यवसाय गरेर बस्ने मान्छे छन्, अन्य स्टार्टअप कम्पनी छन्,’ होमराज भन्छन्, ‘गगन प्रधानको हिमालयन जाभा छ, उनले सानो व्यापार सुरु गरेर अहिले सिंगापुर, अस्टेलिया, अमेरिकालगायत विभिन्न देशमा यसका आउटलेट खुलिरहेका छन् । चन्द्र ढकाल पनि सानो व्यापारबाट देशभर फैलिएका छन्, नेपालबाट जन्मिएको सानो व्यापारले विश्व बजारमा नाम कमाएको कुरा हाम्रो पाठ्यपुस्तकमा विद्यार्थीले पढ्न पाउनुपर्यो । तर विडम्बना हामी त्यो पढ्न पाउँदैनौं ।’ कलेजस्तरमा पनि बिजनेश पढाइ हुँदा नेपाली बिजनेश आउटलेटको बारेमा पढ्न पाइँदैन । बाजेको सेकुवा, कृष्ण पाउरोटीलगायत नेपालका आफ्नै बिजनेशको बारेमा स्कुलमा मात्र होइन, विश्वविद्यालयमा पढाउनुपर्ने उनको भनाइ छ । उनी यो विषयमा कुनै विदेशी आएर नेपालमा पाठ्यपुस्तकको अडिट गरेको भए शिक्षा मन्त्रालयदेखि विभाग सबैले बोलाइबोलाइ कार्यक्रम गरिसक्थे तर उनी आफूले गरेको काममा कसैले सुनवाइ नगरेकोमा गुनासो पोख्छन् । नेपाली उद्यमीलाई शिक्षासँग गास्ने हो भने विद्यार्थीलाई धेरै सिकाइ हुने उनको अनुभव छ । भुइँमान्छेदेखि सर्वसाधारणका कुराहरू पनि स्कुलदेखि विश्वविद्यालयसम्म पढाइ हुनुपर्ने बताउँदै होमराज विदेशीहरूको बारेमा नेपाली किताबमा धेरै पढाइ हुने तर नेपालीलाई वेवास्ता गर्ने काम पनि हाम्रो पाठ्यपुस्तकमा देखिएको बताउँछन् । के छन् राम्रा विषय ? पाठ्यपुस्तकमा पर्याप्त विवरण र सूचना त्रुटिका बीच पनि केही राम्रा कुराहरूको सुरुवाती भएको पाइन्छ । पहिलेको तुलनामा केही कुरा राम्रा पनि छन् । मानव अधिकार, महिला अधिकार, समानता, संस्कृतिका कुराहरू पनि लेखिएका छन् । तर त्यतिले मात्र पुग्दैन । विद्यार्थीलाई महिलाको अधिकार हनन् भयो भने के-के गर्न सकिन्छ भन्ने रणनीतिसँगै डिजिटल साक्षरताका कुरा पनि समावेश गर्नुपर्ने होमराजको तर्क छ । बच्चाहरू फेसबुक चलाउन जान्दैमा, युट्युबमा भिडियो हेर्न जान्दैमा डिजिटल साक्षरता भएको भन्न सकिँदैन । अहिले सामाजिक सञ्जालमा ९० प्रतिशत बढी गलत सूचना आइरहेको हुन्छ । यस्ता विषय पनि पाठ्यपुस्तकमा समावेश हुनुपर्छ । ‘फेक र बनावटी विषय इन्टरनेटमा धेरै पाइन्छ,’ उनी भन्छन्, ‘ एआईको जमानामा त अझ के के हुन्छ, डिजिटल साक्षरतामा जाँदा धेरै कुरामा ध्यान दिनुपर्छ ।’ पाठ्पुस्तक अध्ययन गर्ने सोच आजभन्दा पाँच वर्षअघि होमराज जातीय विभेदविरुद्ध पदयात्रामा निस्क्किए । यात्रामा उनले जातीय विभेदका कुरामात्र सुनेनन्, स्थानीयका शिक्षा र स्वास्थ्यका कुरा पनि सुने । नागरिकहरूको शिक्षामा एउटै कुरा थियो, ‘हामीले पढ्ने किताबमा हामीले हामीलाई भेटाउँदैनौं, हाम्रो संस्कृति देखिँदैन ।’ तिनीहरूको कुराले उनलाई गम्भीर बनायो । विभिन्न जातजाति, भाषाभाषी रहेका देशमा स्थानीयले आफ्नो पाठ्यपुस्तकमा आफू र आफ्नो समाजलाई नपाउनु आवश्यकता जस्तो लाग्यो होमराजलाई । उनले ७७ वटै जिल्लामा यो विषयमा रुचि राख्दा एउटै जवाफ पाए । त्यसपछि उनलाई लाग्यो अब नेपालको पाठ्पुस्तक कस्तो छ ? यहाँभित्र के कस्ता कुराहरू छन् ? अध्ययन गरिनुपर्छ । ‘म नीति विश्लेषणको विद्यार्थी पनि, नीति विश्लेषण र डेभलपमेन्टको विद्यार्थी पनि भएकाले यस्ता कुराले मलाई क्याच गरिहाल्यो,’ होमराज भन्छन्, ‘अब यो विषयमा अध्ययन कसरी गर्ने भन्ने लाग्यो अनि मैले यो विषयमा खोजी सुरु गरें । अन्य देशमा के अभ्यास छ ? त्यहाँ के कस्तो काम भएको छन् ? भन्ने खोजी सुरु गरें ।’ सोही क्रममा उनले नेपालमा युनाइटेड नेसन्सका धेरै संस्था रहेका र त्यसमध्ये युनिसेफले यो विषयमा केही काम गरेको फेला पारे । संसारभरि पढाइ हुने पाठ्यपुस्तकका समीक्षा कसरी गर्ने ? कुन–कुन कुरा हुनुपर्छ ? भन्ने कुरा थाहा पाए । त्यसको आधारमा विभिन्न देशले गरेका राम्रा अभ्यासको पनि समावेश गरेर नेपालको सन्दर्भमा फिट हुने किसिमले इनोभेसन गरे । ‘गाउँगाउँमा पुगेर नागरिकका कुरा सुनेर सुरु गरेको यो अभियान यहाँसम्म पुग्यो,’ होमराजले भने, ‘ हामीले एउटा फ्रेमवर्कको विकास गरेका छौं । त्यसमा उहाँहरूलाई चित्त नबुझे आफैले अडिट पनि गर्न सक्नुहुन्छ अथवा हामीजस्ता मान्छेलाई बोलाउन सक्नुहुन्छ ।’ पहिलो पटक अडिट होमराज विद्यालय तहका पाठ्यपुस्तकलाई नेपालमै पहिलो पटक अडिट गरेर त्यसभित्र के कस्ता विषयवस्तुहरू छन् भन्ने विषयको सुरुवात गरेको बताउँछन् । नेपाली जनताका छोराछोरीले के पढिरहेका छन् ? गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवस्था पाठ्यपुस्तकमा देखिन्छ कि देखिँदैन भन्ने कुरा आफूहरूले अध्ययनको क्रममा हेरेको जानकारी दिए । उनी परीक्षा पास गर्दैमा गुणस्तरीय शिक्षा पाएको भन्न नमिल्ने बताउँदै शिक्षाको परिभाषालाई नै परिर्वतन गर्नुपर्छ भन्ने उद्देश्यले ‘घरघरमा शिक्षा’ भन्ने अभियान सुरु गरेको बताउँछन् । ‘विश्वविद्यालयको डिग्री हासिल गरेर मात्र हुँदैन, गाउँमा हलो जोत्ने, घाँस काट्ने, मजदुरी गर्ने मजदुरले पनि राम्रा कुरा निर्माण गर्न सक्नुहुन्छ,’ होमराज भन्छन्, ‘नीति निर्माताहरूले महसुस नगरेको यो विषयमा नागरिकलाई हुटहुटी भयो, हामीले यसलाई सिस्टममा ढाल्ने प्रयास गरेका हौं ।’ पाठ्यपुस्तक महत्त्वपूर्ण अहिले नेपालमा एउटा भाष्य निर्माण भएको छ, ‘पाठ्यपुस्तकभन्दा महत्वपूर्ण पाठ्यक्रम हो’ । नेपालको हकमा यो एकदम गलत हो । जुन देशमा पढ्ने संस्कृतिको विकास भएको छैन, जहाँ पाठ्यपुस्तक नै प्राइमरी बुक्स हुन् । सबैको लागि ज्ञान प्राप्त गर्ने, साहित्यको बारेमा जान्ने, जलवायु वातावरणको बारेमा जान्ने, समानताको बारेमा जान्ने कुरा पाठ्यक्रममा जान्नुपर्छ भनेर लेखेरमात्र हुँदैन । यसलाई पाठ्यपुस्कतमै ढाल्न सक्नुपर्छ । उनी नेपालका सबै शिक्षकहरू सिपयुक्त नहुन सक्ने अथवा जस्तो तालिम उनीहरूले पाएको हुन्छ त्यो कक्षामा आएर लागू गर्न नसक्ने भएकाले पनि पाठ्यपुस्तक महत्त्वपूर्ण हुने बताउँछन् । ‘हाइक्वालिटीको पाठ्यपुस्तक भयो भने विद्यार्थीले आफ्नै तरिकाले पढ्न पाउँछन्,’ होमराज थप्छन्, ‘हामीकहाँ पाठ्यपुस्तकभन्दा पाठ्यक्रम महत्त्वपूर्ण हुन्छ भन्ने गलत भाष्य कायम भयो, अन्य देशका शिक्षकहरूले ४ कक्षामा पढाउन १० घण्टा घरमा गएर प्लानिङ गर्छन्, यहाँ शिक्षकको मिहिनेत देखिँदैन ।’ कुपोषित शिक्षा होमराज नेपालको शिक्षा नै कुपोषित भएको बताउँछन् । अहिले पनि धेरै विद्यालयमा शिक्षकहरू हाजिर लगाउने, पाठ्यपुस्तकमा भएको पाठलाई पढेर सुनाउने अनि विद्यार्थीलाई आफै पढेर आउनूस् भन्दै हिँड्ने गरेको पाइन्छ । विद्यालयभन्दा कुन पार्टीको कहाँ बैठक छ, त्यहाँ जाने प्रवृति छ । शिक्षकलाई भोलि गएर कसरी नेता बन्ने भन्ने कुराको बढी पीर रहेको बताउँदै उनी शिक्षण पेसा जुन तरिकाले अघि बढ्नुपथ्र्यो त्योअनुसार हुन नसकेको गुनासो गर्छन् । उनी यसको मुख्य कारण पाठ्यपुस्तक नै रहेको बताउँछन् । ‘विद्यार्थीलाई पालिका, प्रदेश, संघ हुँदै अन्तर्राष्ट्रिय स्तरसम्मको ज्ञान दिनुपर्छ, तर नेपालमा यस्तो छैन,’ होमराज भन्छन्, ‘ हामीले बुद्धको बारेमा जानकारी गराउँदा पनि बुद्ध को हुन् ? भन्ने जानकारी गरायौं, त्योबेला अन्य देशमा कहाँ के के भइरहेको थियो, त्यो बेलाको सोचाइ कस्तो थियो, समय कस्तो थियो भन्ने तहसम्म विद्यार्थीलाई जानकारी गराउन सकेनौं । अहिलेको पाठ्यपुस्तकमा यस्तो जानकारी छैन । ’ उनी यस्ता कुरा पढाउन शिक्षक आफैले पनि खोजी गर्नुपर्ने बताउँछन् । होमराज गुणस्तरीय शिक्षाको कुरा गर्ने हो भने लोकल, नेसनल र ग्लोबलको लिंकेज भएको ज्ञान प्रत्येक विद्यार्थीलाई दिनुपर्ने धारणा राख्छन् । अहिले विद्यालय तहको अधिकार स्थानीय तहमा गएको छ । पाठ्यक्रम लेख्ने अधिकार पनि उसैलाई छ । यसमा पनि पालिकाले आफ्नो नगरभित्रको कुरासँगै देशभित्र र बाहिरका कुरा पनि राख्न आवश्यक छ । नेपालमा अझै प्रमाणपत्रमात्र दिने जुन शिक्षा छ, यसले धेरै कुरालाई बिगारेको होमराज बताउँछन् । ‘मसँग अमेरिकाका ६ वटा विश्वविद्यालयको अनुभव छ । तर, राम्रो र गुणस्तरको काम गर्नलाई डिग्रीको सर्टिफिकेट र विश्वविद्यालयको अनुभव हुनुपर्छ भन्ने छैन,’ आचार्य भन्छन्, ‘मान्छेभित्र सिक्ने, सिकाउने मनोवृत्ति हुनुपर्छ । त्यसो हुन सकेन भने उसको शिक्षा काम लाग्दैन । सामूहिक अध्ययन होमराजसहितको टोलीले १६ महिना लगाएर अध्ययन गरेको पाठ्यपुस्तकलाई अहिले पनि सरकारले कहाँनेर के गल्ती कसरी सुधार गर्ने भन्ने बारेमा चासो दिएको छैन । सरकार आफैंले गर्नुपर्ने कामलाई गैरसरकारी तहबाट गरेर त्रुटि देखाइदिँदा पनि सरकारले सुधारको लागि ध्यान नदिएको गुनसो उनको छ । सरकारले चाँसो नदिँदा अब आफै प्रस्ताव गर्ने विचारमा होमराज र उनको टोली छ । ‘उहाँहरू व्यस्त भएर हामीलाई प्रस्ताव नगरेको पनि हुनसक्छ, अब हामी नै गर्छौं,’ उनी भन्छन्, ‘नेपालमा स्थायित्व नै हुँदैन । हामीले यो काम गर्दा अहिलेसम्म तीन जना शिक्षामन्त्री भए, पहिलो मन्त्री हुँदा हामी अध्ययनमै थियौं, दोस्रो मन्त्री सुमनालाई भेटेर जानकारी गरायौं अहिलेका मन्त्रीलाई भेट्नै सकेका छैनौं, अब भेटेर कुरा राख्छौं ।’
पारिलो घाम लागेसँगै सडक धुलाम्मे, यात्रुलाई असहज
ललितपुर । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार वाग्मती नदीमा आएको बाढीका कारण वाग्मती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी वाग्मती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको छ । ललितपुको धोबीघाट, बल्खुपुल, सानेपाको कालोपुल, युएन पार्कलगायत स्थानमा अहिलेसम्म हिलो छ । सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण वाग्मती करिडोरमा यात्रा असहज भएको यात्रीहरू बताउँछन् । वाग्मती करिडोरमा हिलो भएकाले सवारीसाधनको चाप कम त भएको छ तर, यसको असर मुख्य सडकमा परेको छ । जसले गर्दा पहिलेभन्दा अहिले सवारी जाममा पर्ने गरेका छन् । वैकल्पिक यात्रा गर्ने वाग्मती करिडोर हिलाम्मे अवस्थामा भएका कारण यात्रामा असहज भएको मोटरसाइकलयात्री पवन बोहोराले बताए । उनले भने, ‘जताततै हिलो छ, पुलमुनिको खाल्डोमा लेदोसहितको पानी भरिएकाले सवारी जाम हुने गरेको छ ।’ अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वाग्मती करिडोरको व्यवस्थापन गर्नुपर्ने ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउँछन् । उनी भन्छन्, ‘वाग्मती करिडोर बाढीले डुबानमा परेको छ । मन्दिर, पाटी, आर्यघाटमा बाढीले ठूलो क्षति भएको छ । यसको व्यवस्थापनमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सक्रिय हुनुपर्छ ।’ त्यसैगरी अर्का मोटरसाइकलयात्री विनोद थापाले पनि हिलो र धुलोको कारण वाग्मती करिडोरको यात्रा असहज हुने गरेको बताए । उनले भने, ‘जिम्मेवार निकायले व्यवस्थापनमा छिटो पहल गरे ठूलो कुरो होइन, व्यवस्थापनमा नजुटेका कारण हालसम्म करिडोरमा हिलो छ ।’ अहिले वाग्मती करिडोर छेउछाउका बासिन्दा, बाढीले क्षति गरेको सामान व्यवस्थापनमा जुटेका छन् । बाढीका कारण घरभित्र छिरेको लेदो पन्छाउन, भिजेको कपडा सुकाउन स्थानीय लागेका छन् । सरकारको जिम्मेवार निकायसँग लेदो सफा गर्न पानी व्यवस्था गरिदिन स्थानीयको माग छ । रासस
कफीखेतीप्रति किसानको बढ्यो आकर्षण, गत वर्ष डेढ करोडको कफी उत्पादन
चौतारा । यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् । गत आर्थिक वर्षमा जिल्लामा एक करोड ३२ लाख रुपैयाँ मूल्य बराबरको ३० मेट्रिक टन कफी उत्पादन भएको थियो । उत्पादित कफीमध्ये ‘ए’ ग्रेडको ‘पार्चमेण्ट ग्रिनवीच’ कफी प्रतिकिलो आठ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा गरी १० दशमलव तीन मेट्रिक टन निर्यात भई बाँकी स्वदेशमा नै खपत हुने गरेको जिल्ला कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाले जानकारी दिइन् । कफीखेतीबाट जिल्लाका किसानले वार्षिक ६० हजारदेखि एक लाख २५ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएपछि खाद्यान्न बालीको तुलनामा यसतर्फ अभिरुचि देखाउन थालेका थापा बताउँछिन् । कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा केराखेती, फलफूल र खाली जमिनमा अदुवा, खुर्सानी तथा बेसारखेती गर्न सकिने हुँदा अतिरिक्त आम्दानी गर्न सकिन्छ । कफी सदावहार बिरुवा भएकाले यसले वातावरण स्वच्छ राख्न र भूक्षय रोक्नसमेत सघाउ पुर्याउँछ । सन् २००८ मा जिल्ला कफी सहकारी संघ स्थापना भएदेखि यहाँ उत्पादित कफी विदेश निर्यात हुन थालेको हो । जिल्लामा १२ स्थानीय तहमध्ये लिसङ्खुपाखर, पाचँपोखरी थाङपाल गाउँपालिकाबाहेक सबैमा कफीखेती विस्तार गरिएको छ । यहाँको हावापानीअनुसार सबैभन्दा उत्तम मानिने बोर्न प्रजातिको अराविक कफीको बिरुवा लगाइएको छ । सिँचाइ र छहारीको कमी भएका केही ठाउँका पुराना बोटमा हाल सेतो गवारो लागेपछि जैविक विधिबाट उपचार भइरहे पनि पूर्ण रूपमा नियन्त्रण हुन नसकेको उनी बताउँछिन् । कफीका दाना मङ्सिरदेखि चैतसम्म टिप्ने गरिन्छ । जेठसम्म सबै सङ्कलन भएपछि अरु काम गरिन्छ । यस कार्यमा संलग्न महिला र पुरुष ३०–३२ जनाले रोजगारी पनि पाएको संघले जनाएको छ । परम्परागत खेती गर्दै आएका किसान अहिले कफीखेतीमा आकर्षित भएका छन् । एकपटक रोपेपछि ४० वर्षसम्म उत्पादन दिने भएकाले पनि किसानले कफीखेती रोजेका हुन् । पछिल्लो समय जिल्लामा किसानलाई बगैँच सुधार, आम्दानीमा बढावा हुने उपाय, रोग लागेका त्यसको समाधानबारे जानकारी दिन थालिएपछि कफीखेतीमा किसानको झुकाव बढेको हो । अरनिको कृषि तथा पशुपालन फार्मले किसानलाई व्यावसायिक बनाउन सहजीकरण गरिरहेको छ । फार्मले किसानलाई बिरुवा उपलब्ध गराउनेदेखि कफी खरिद गरिदिने गरेको फार्मका व्यवस्थापक दीपेन्द्र घलेले जानकारी दिए । फार्ममा छ हजार बोटको बगैँचा पनि छ । आफैँले निर्माण गरेको नर्सरीबाट बिरुवा उत्पादन गर्ने गरेको उनी बताउँछन् । उनले स्थानीय तहदेखि विभिन्न संस्थासँगको समन्वयमा किसानलाई कफीखेतीबारे तालिम, अन्तर्क्रिया गरेर क्षमता अभिवृद्धि गर्ने गरेको सुनाए । कफीखेतीमा किसान लागेपछि गाउँको बाँझो जमिन सदुपयोग भएको छ । कफीखेतीमार्फत अर्थतन्त्रमा नगन्यमात्रामा भए पनि टेवा दिन राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया तथा कफी विकास कार्यालयले पनि किसानलाई प्राविधिक सहयोग गर्न थालेको छ । उक्त कार्यालयका कृषि प्राविधिक एकराज सञ्जेलले गाउँका किसानलाई कफीखेतीको उपयोगिताबारे जानकारी दिने गरेको बताए । उनले कफीका लागि सिन्धुपाल्चोकको जलवायु र माटो उपयुक्त भएको बताए । सिन्धुपाल्चोकमा उत्पादित कफी जापान, कोरियालगायत देशमा निर्यात हुँदै आएको कृषि ज्ञान कार्यालयले जनाएको छ । रासस
पर्सामा बने दुई अस्पताल, दुई अधुरै
वीरगञ्ज । संघीय सरकारले पर्सामा चारवटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेकामा हालसम्म दुई अस्पताल भवनमात्र निर्माण छन् भने दुईवटाको काम अधुरै छ । पटेर्वा सुगौली गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइसकेको छ भने र ठोरी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पटेर्वा सुगौलीमा निर्माण भएको आधारभूत अस्पतालबाट सेवा प्रवाह भइरहेको छ । पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीले निरन्तरको पहलकदमीका कारण आधारभूत अस्पताल भवन निर्माण गरेर सेवा प्रवाह भएको बताए । ठोरी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवनमा धमाधम रङरोगनको काम भइरहेको छ । उक्त गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीको १५ शय्याको अस्पताल भवन निर्माण प्रायः पूरा भएको बताए । पर्सामा निर्माण हुनुपर्ने अन्य दुई आधारभूत अस्पतालको काममा भने प्रगति भएको छैन । धोबिनी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल निर्माणमा ढिलासुस्ती भएको छ । धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भौतिक प्रगति २५ प्रतिशत भएको बताए । यसैगरी जिराभवानीमा निर्माणाधीन १० शय्याको अस्पतालको प्रगति पनि २० प्रतिशतभन्दा अधिक भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा २०७७ साल मङ्सिर १५ गते मुलुकभरका तीन सय ९६ वटा पालिकामा पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माणको एकसाथ शिलान्यास गरेका थिए । त्यसबेला तीन सय ९६ वटा अस्पताल दुई वर्षभित्रै निर्माण सम्पन्न गर्न ५८ अर्ब रुपैयाँ बजेट लाग्ने बताइएको थियो । सरकारले सुरुमा १५ शय्याको अस्पतालका लागि १८ करोड छ लाख ८२ हजार रुपैयाँ, १० शय्याका लागि १० करोड ८३ लाख ३६ हजार रुपैयाँ र पाँच शय्याको अस्पतालको लागि सात करोड ११ लाख ९७ हजार रुपैयाँ लाग्ने बताएको थियो । रासस
सिरिजंगा गाउँपालिका वडाध्यक्षले हङकङबाट पठाए राजीनामा
फुङ्लिङ । विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजंगा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उनले यही असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ । हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए ।
बाढीबाट मधेसमा साढे ५ अर्ब बढीको क्षति, भोकमरी हुने चिन्ता
धनुषा । हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार पाँच अर्ब रुपैयाँ बढीको हानी भएको छ । अन्न भण्डारका रूपमा परिचित मधेसका धानखेत डुबेका छन् । बाला लागेको धान डुब्दा किसान चिन्तित छन् । माछा पोखरी डुब्दा करोडौँको क्षति भएको कृषि विज्ञहरूले बताएका छन् । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मनसुनजन्य विपद्बाट सिर्जित परिस्थितिका सन्दर्भमा छलफल गरी छिटोभन्दा छिटो कृषि क्षेत्रको क्षतिका तथ्याङ्क सङ्कलन गरी आगामी रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिएपछि सातै प्रदेशबाट क्षतिको विवरण माग्ने कामले तीव्रता पाउँदा अहिले प्रारम्भिक क्षति विवरण तयार पारिएको छ । मङ्गलबारसम्मको प्रारम्भिक विवरणानुसार विपदबाट धान बालीमा ठूलो क्षति भएको मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविद् महानन्द जोशीले जानकारी दिए । कृषि अर्थविद् जोशीका अनुसार मधेस प्रदेशको धानखेती तहसनहस भएको छ । मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा धान बाली नष्ट भएको छ । मधेस प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार वर्षाले मधेस प्रदेशमा कृषि क्षेत्रमा पाँच अर्ब ३३ करोड ७५ लाखको क्षति पुर्याएको प्रारम्भिक विवरणमा जनाइएको छ । प्रदेशका आठ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणानुसार ४२ हजार ६९ हेक्टरमा लगाइएको धान बालीमा क्षति पुगेको अनुमान छ । यसैगरी चार हजार तीन सय ९३ हेक्टरमा लगाइएको सागसब्जी नष्ट हुँदा एक करोड ३२ लाख रुपैयाँ, २२ हेक्टर क्षेत्रमा लगाइएको फलफूलमा क्षति हुँदा ४४ लाख र ८५ हेक्टरको उखुमा क्षति पुग्दा तीन करोड ४० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार दुई हजार तीन सय हेक्टर क्षेत्रमा मत्स्यपालन प्रभावित हुँदा २३ करोड रुपैयाँको क्षति अनुमान गरिएको बताए । डुबानका कारण १४ हजार दुई सय पाँचवटा पशुपक्षी मर्दा ७६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कृषि विकास निर्देशनालयका अनुसार मधेसका आठ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा धान बालीमा क्षति भएको छ । रौतहटमा १० हजार दुई सय ४३ हेक्टरको धान बाली प्रभावित हुँदा एक अर्ब २२ करोड ९१ लाख ५० हजार रुपैयाँ, सप्तरीमा नौ हजार तीन सय ६७ हेक्टरको धान बाली नोक्सान हुँदा एक अर्ब २२ करोड ४० लाख ४० हजार रुपैयाँ, बारामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रमा लगाइएको धान बालीमा बाढी र डुबानले प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजार रुपैयाँको क्षति भएको छ । यसैगरी सर्लाहीमा छ हजार पाँच सय ८४ हेक्टर क्षेत्रको धान बाली क्षति हुँदा ६९ करोड रुपैयाँ, सिराहामा १५८.६ हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको छ । पशुपक्षीमा सबैभन्दा बढी पशुधन नाश सर्लाहीमा भएको छ । मधेसमा १४ हजार दुई सय पाँच पशुपक्षी मरेका छन्भने सर्लाही मात्र १० हजार पशुपक्षी नष्ट भएका छन् । धनुषामा सात सय हेक्टर बालीमा क्षति भएको छ । अन्नको भण्डार भनेर चिनिने मधेशमा बाढी आउँदा अन्नबालीमा क्षति आउँदा यो वर्ष भोकमरीको समस्या हुने सक्ने अनुमान पनि गरिएको छ । रासस
लाभांश पारित गर्न सेयरधनीलाई हाथवे इन्भेष्टमेन्टले बोलायो कात्तिक २५ गते
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हाथवे इन्भेष्टमेन्ट नेपालले १६औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले कात्तिक २५ गते बिहान १० बजे काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा साधारण सभा डाकेको हो । कम्पनीको सभाले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको १० प्रतिशतका दरले १२ करोड ८७ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशतका दरले ६७ लाख ७३ हजार रुपैयाँ नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी तथा जारी पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ पुग्नेछ । सोही बमोजिम कम्पनीको सभाले प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीको संसोधन स्वीकृत गर्ने र नियमनकारी निकायबाट सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्नेछ । संस्थापक सेयरधनीको तर्फबाट संचालक समितिको रिक्त पदमा प्रतिनिधित्व गर्ने एक जना संचालकको नियूक्तीलाई अनुमोदन गर्ने, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक ६ गतेसम्म नेपाल स्टक एक्चेञ्ज (नेप्से) कारोबार भई कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बंगलादेशी पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बंगलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौं महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ ।