यस कारण बीमितले नपाउन सक्छन् दाबी भुक्तानी
केही दिनअघिको निरन्तरको वर्षाको कारण आएको बाढी-पहिरोले ठूलो जनधनको क्षति भएको छ । क्षति भएका कयौं सम्पत्तिको बीमा पनि भएको छैन । बीमा नभएको सम्पत्तिको दाबी पाउने कुरै भएन । तर, बीमा भएका केही सम्पत्तिको पनि बीमा दाबी भुक्तानी नपाउने देखिन्छ । पाए पनि निकै कम पाउने स्थिति छ । हालैको वर्षाले कोठा भाडामा बस्नेहरूको सम्पत्तिदेखि ठूल्ठूला आयोजनाहरू समेत ध्वस्त भएका छन् । बाढीले यसरी क्षति भएको अवस्थामा बीमा गरेको भएतापनि विभिन्न कारणले बीमा कम्पनीबाट दाबी पाइने कुरामा ढुक्क हुन सकिँदैन । बीमा दाबीमा असर पर्न सक्ने धेरैवटा कारण छन् । जसमध्ये केही कारण यहाँ उल्लेख गरिएका छन् । सम्पत्ति बीमालेखको हकमा प्रायः सम्पत्ति बीमा गर्दा आफूसँग भएको पूरा मौज्दातको बीमा गराउने भन्दा पनि बैंकले मागेजतिको मात्र सम्पत्ति बीमा गराउने प्रचलन छ । यसो गर्दा स्टकमा भएको मौज्दातभन्दा जति प्रतिशतले कम बीमा भएको देखियो दाबी पनि त्यति नै प्रतिशतले घटेर मात्र फर्छ्याैट हुने भएकोले वास्तविक क्षतिभन्दा निकै कम मात्र दाबी पाइन्छ । त्यसकारण सम्पत्ति (पसल तथा गोदाम) बीमा गराउँदा वास्तविक मौज्दात बमोजिम बीमा गराउनुपर्छ । बीमा गराउँदा स्टकमा भएको सम्पत्तिको मौज्दात र बीमा गरेको रकम मिलेता पनि मौज्दातअनुसारको खरिद अथवा आयात गरेको निस्सा जुटाउन सकिएन भने खरिद अथवा आयात प्रमाणित भएबमोजिमको मात्र दाबी भुक्तानी पाइन्छ । त्यसकारण गोदाम अथवा पसलमा मालसामान भएर मात्र पनि हुँदैन, क्षति भएको वास्तविक रकम प्रमाणित गर्नको लागि सर्भेयरलाई मालसामानको खरिद अथवा आयात गरेको निस्सा उपलब्ध गराउनुपर्छ । यदि निस्सा उपलब्ध गराउन सकिएन भने सर्भेयरले क्षति प्रमाणित गर्दैन र प्रमाणित नभए बराबरको दाबी पाइँदैन । बीमा गरिएको मालसामानको परिमाण बीमालेखअनुसार मिलेता पनि यदि बिजक रकम कम गरी खरिद गरेको पाइएमा बीमा कम्पनीले दाबी फर्छ्याैट गर्दा मालसामान खरिद गरेको बिलबमोजिम मात्र भुक्तानी दिने गर्दछ । त्यसर्थ वास्तविक बजार मूल्य सही भएतापनि सर्भेयरले खरिद बिजकमा उल्लेख भएको रकमलाई मात्र आधार मानेर क्षति प्रमाणित गर्ने भएको दाबी रकम कम हुन जान्छ । बीमा कम्पनीमा पेस गरेको सम्पत्ति विवरण र वास्तविक क्षति भएको सम्पत्ति मेल नखाएमा पनि बीमा दाबी भुक्तानी हुँदैन । आफ्नो सम्पत्ति बीमा गराउँदा व्यवसायको प्रकृतिअनुसार आफूसँग भएको र हुनसक्ने प्रत्येक मालवस्तुको परिमाण र मूल्य खुलेको विवरण बीमालेखसँग संलग्न गराउनु पर्दछ । अन्यथा दाबी परेको बेलामा बीमालेखले कभर गरेको र नगरेको वस्तु चिन्न नसक्ने भएकोले दाबी रकममा फरक पार्न सक्छ । जलविद्युत अथवा अन्य उद्योगहरूमा भएको क्षतिको दाबी भुक्तानी दिँदा बीमा कम्पनीले निर्माण पुरा भएको वर्षअनुसार ह्रास कट्टी कटाएर मात्र भुक्तानी दिने गर्दछ । यदि क्षति भएको बेलामा पुनर्निर्माण गर्न पुग्ने रकम बराबरको दाबी लिन चाहनुहुन्छ भने बीमांक रकम आजको (पुनर्निर्माण गर्न पर्याप्त) बजार मूल्य बराबर कायम गरी ह्रास कट्टी नगरिकन बीमांक कायम गरी ‘पुनर्स्थापना सम्पत्ति बीमालेख’ लिनुपर्दछ । ‘पुनर्स्थापना सम्पत्ति बीमालेख’को बीमादर एउटै हो । तर, बढेको बीमांकको मात्र थप बीमाशूल्क लाग्ने गर्दछ । यसरी खरिद गरेका बीमालेखमा दाबी परेको खण्डमा क्षति बराबरकै दाबी भुक्तानी पाइन्छ । निर्माण व्यवसायीको हकमा निर्माण व्यावसायीले कुनैपनि आयोजना निर्माण गरिरहँदा मासिक प्रगति विवरण बनाएर बीमा कम्पनीमा बुझाउनुपर्छ । मासिक नसकिएता पनि त्रैमासिक अथवा प्रत्येक वर्षको वर्षात सुरु हुनुभन्दा पहिला अनिवार्य बुझाउनुपर्छ । उक्त रिपोर्ट बनाउँदा बिओक्यू बमोजिम कुन शीर्षकमा कति प्रतिशत काम सकियो भन्ने स्पष्ट उल्लेख भएको हुनुपर्छ । किनकि यसरी अहिलेको जस्तो ठूलो बाढीले बगाउँदा आयोजना स्थलमा जति काम सकिएको भएतापनि केही पनि बाँकी नरहने गरी बगाएर लान सक्छ र सर्भेयरले हेर्दा केही पनि देखिँदैन र सोहीअनुसार आफूले आयोजना स्थलमा केही पनि संरचना नदेखेको लेखेर पठाइदिनसक्छ । जसको फलस्वरूप बीमा कम्पनीले चाहेर पनि दाबी भुक्तानी दिन सक्दैन । यदि मासिक प्रगति विवरण बनाएर बुझाएको भए त्यसै रिपोर्टलाई आधार मानी वर्षात अघिसम्म सकिएको निर्माण बमोजिम दाबी भुक्तानी पाइन्छ । आयोजनाको बीमा दाबीमा असर गर्नसक्ने अर्को महत्त्वपूर्ण पाटो भनेको ‘सम्भावित क्षति अध्ययन’ (रिस्क एसेसमेण्ट रिपोर्ट) पनि हो । यो रिपोर्ट तयार गरिएन अथवा रिपोर्ट बनाएता पनि रिपोर्टले भने बमोजिम सम्भावित क्षतिलाई सम्बोधन गर्ने कुनैपनि कार्य गरेको पाइएन र रिपोर्टमा उल्लेख भएको सम्भावित तत्वले क्षति भएको खण्डमा दावी रकम नपाउन अथवा निकै कम मात्र पाउन सक्छ । यदि म्याद थप गरिएका आयोजनाहरू हो भने अनिवार्य रूपमा सर्भेयर खटाएर वास्तविक स्थितिको रिपोर्ट बनाएर बीमा कम्पनीमा पेस गर्नुपर्छ । यदि बीचमा काम सुरु गर्दाको वास्तविक स्थितिको सर्भेयर रिपोर्ट पेस गरिएन भने हालको वर्षाले क्षति पुर्याएको भएतापनि बीमा कम्पनीले पहिलेदेखि नै भइराखेको क्षति भनेर दाबी नदिन सक्छ । निर्माणाधीन आयोजना क्षति हुँदा सबैभन्दा बढी निर्माण सामग्री तथा मेसिनरीहरू बगाएर लाने गर्दछ । कार पोलिसीले निर्माण सामग्रीहरू जम्मा तीन दिनको लागि मात्र कभर गर्ने र आयोजना क्षेत्रभन्दा बाहिरको निर्माण सामग्री पनि कभर नगर्ने भएकोले बीमा दाबीमा निकै कमी आउन सक्छ । यसको लागि तीन दिनभन्दा बढी र आयोजना स्थलभन्दा बाहिरको निर्माण सामग्रीको छुट्टै बीमा गराउनुपर्छ । साथै आयोजना स्थलभित्र जतिपनि मेसिनहरू छन् ती सबैलाई मुख्य बीमालेखमा समावेश गराएर थप बीमाशूल्क भुक्तानी गर्नुपर्छ । अनिमात्र निर्माण सामाग्री तथा मेसिनरी बीमालेखबाट सुरक्षित रहन्छ । बीमालेखमा ‘मनसुन क्लज’ लगाएको छ भने वर्षातको समयमा काम बन्द गर्नुपर्छ । र, काम रोकिनुभन्दा अगाडिसम्म बिओक्यू अनुसार जति काम सकिएको हो त्यसको विवरण बीमा कम्पनीलाई उपलब्ध गराउनुपर्छ । यसो गर्दा बाढीले क्षति भएता पनि हालसम्म सम्पन्न गरिएका निर्माणमा क्षति पुगेको खण्डमा बीमा कम्पनीबाट सजिलै दाबी पाइन्छ । यदि मनसुन क्लोज लगाएको अवस्थामा वर्षातको समयमा काम सुचारु भइरहेको खण्डमा निर्माण सामग्रीलगायत सो अवधिमा गरिएको कार्यको क्षतिपूर्ति बीमा कम्पनीले दिँदैन । आयोजना क्षति भएको बेलामा खर्च गराउने तत्वमध्ये एउटा तत्व बाह्य भग्नावशेष (फोरेन डेब्रिज) पनि हो । यदि बीमालेखमा बाह्य भग्नावशेष हटाउने कभर छैन भने ती बाह्य भग्नावशेष हटाउँदा भएको खर्च बीमा कम्पनीले दिँदैन । (लेखक श्रेष्ठ एवान रिइन्स्योरेन्स ब्रोकरका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।)
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८१/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँको १३.३९ प्रतिशतका दरले १४ करोड ३ लाख ८९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशतका दरले ७३ लाख ८८ हजार रुपैयाँ नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने कम्पनी सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए ।
समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना
सिरहा । ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार रुपैयाँ जरिवाना गरेको छ । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मंगलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो । उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौँ मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेलापरेको छभने ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको फेला पारेको छ । कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका एक लाख २५ हजार छ सय ८० रुपैयाँ मूल्यका कोक, स्प्राइट र बियरसहितका पेयपदार्थ नष्ट गर्न समय दिएको छ भने ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधेको छ । संविधानको अनुसूची ६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजार अनुमगन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ ।
डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको अफरहरू सार्वजनिक
काठमाडौं । डिसहोमले इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत दुईसय एमबीपीएस र तीनसय एमबीपीएस का वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ। यस अफरले ग्राहकहरूको लागि थप फाइदा प्रदान गर्दै १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको कम्पनीले जनाएको छ । यसको अतिरिक्त ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमा सहभागी भइ आकर्षक उपहारहरू जित्न सक्नेछन् । हप्तामा १२ भाग्यशाली विजेताहरूले डीएचआई होम अप्लायन्सका सामानहरू, आईटीएल एटण्एस स्मारटफोन, मीभी डुओपड्स टी२० एयरबड्स, र डिसहोम फोरके स्ट्रिमरजस्ता उपहारहरू जित्न सक्नेछन् । यति मात्र होइन बम्पर लक्की ड्रअन्तर्गत एक भाग्यशाली विजेताले डीएचआई होम अप्लायन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन्। यसले गर्दा ग्राहकहरूका लागि यो अफर थप रोमाञ्चक बनेको डिसहोमले जनाएको छ । डिसहोम ले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ। डीएचआई होम अप्लायन्सका सामानहरूमा ४० प्रतिशतसम्मको छुट, मीभी डुओपड्समा ५४ प्रतिशतसम्मको छुट, र फायरबोल्ट स्मार्टवाचमा ७० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिन्छ । कम्पनीका अनुसार यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोम इन्टरनेटको ३ महिने वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ । नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन् । डिसहोमले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको जनाएको छ । कम्पनीका अनुसार आजै आफ्नो नजिकको डिसहोम डिलरसँग सम्पर्क गरेर वा कम्पनीको नम्बरमा फोन गरी यी अफरहरूको लाभ उठाउन सकिनेछ ।
एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुंगे बगैँचा
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीयस्थल किरातेश्वर ढुंगे बगैँचाको संरक्षण थालिएको छ । आन्तरिक पर्यटक आकर्षित गर्न त्यहाँ भौतिक पूर्वाधारसहित पदमार्ग निर्माण पनि थालिएको छ । किरातेश्वर ढुंगे बगैँचा, पाँचधारे पोखरी, सिंहदेवीस्थानको विकास गर्दै एकीकृत पर्यटकीय क्षेत्र निर्माणको अवरधारणाअनुसार काम भइरहेको छ । त्यसनिम्ति विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर काम थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ७७ लाख रुपैयाँको लागतमा भौतिक संरचनाको विकास गरिएको वडाध्यक्ष नवराज माङ्गपाहाङ्गले बताए । पर्यटकलाई लक्षित गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरीलगायत संरचना निर्माण गरिएका उनले बताए । विसं १९४४ मा स्थापना गरिएको पाँचधारे पोखरीको संरक्षण, सिंहदेवीस्थानमा सांस्कृतिक भवन निर्माण गरिएको छ । पाँचधारे पोखरीको मौलिकता परिवर्तन नगरी जीर्णोद्धार तथा संरक्षणको काम गरिएको छ । पाँचधारे क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजनाबद्ध रूपमा काम थालिएको तथा पर्यटकको सहजताका लागि हाल निर्माण भइरहेको पदमार्गलाई मुन्दुम पदमार्गसम्म पुर्याउने लक्ष्य छ । किरातेश्वर ढुंगेबगैँचा किरातहरूको आस्था केन्द्र र पाँचधारे पोखरीको धार्मिक महत्व रहेको स्थानीय अधिराज राईले बताउनुभयो । यसको विकास तथा संरक्षणले यहाँको आन्तरिक तथा बाह्य पर्यटकको विकासमा टेवा पुग्ने उनले बताए । पाँचवटा मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने तथा पोखरीका माछा कसैले खाए त्यसले बाधा हुने उनले जानकारी दिए । रासस
न्यादी हाइड्रोको २ लाख कित्ता सेयर बेच्दै अल नेपाल इन्फ्रास्ट्रक्चर
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको सेयर बिक्रीमा राखिएको छ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीसँग रहेको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीका अनुसार अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीसँग रहेको १ लाख ९८ हजार ५४७ कित्ता सेयर वित्तीय योजना अनुरुप दोस्रो बजारमा बिक्री गरिनेछ । विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धि कम्पनीको सेयर सार्वजनिक निष्काशनको पूर्वस्वीकृती तथा नियमन सम्बन्धि निर्देशिका २०७८ को निर्देशन नम्बर ११ अन्तगर्तको सर्वसाधारणलाई जानकारी गराएको कम्पनीले जनाएको छ ।
कुरिलाको मूल्य डेढ सय रुपैयाँ बढ्दा च्याउ, ब्रोकाउली र बन्दाको भाउ स्वाट्टै घट्यो
काठमाडौं । बुधबार कुरिलाको मूल्य बढेको छ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीका अनुसार कुरिलाको मूल्य १५० रुपैयाँ बढेर ६५० रुपैयाँ पुगेको हो । यसअघि हिजो ५ सय रुपैयाँमा बिक्री भइरहेको थियो । तर, डल्ले च्याउको मूल्य १ सय रुपैयाँ घटेर ३२६.६७ रुपैयाँ, ब्रोकाउली ८१ रुपैयाँ घटेर ९५ रुपैयाँ, रातो बन्दा ८४ रुपैयाँ घटेर २२६ रुपैयाँमा झरेको फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । भारतीय गोलभेडा प्रतिकेजी १२० रुपैयाँ, लोकल सानो गोलभेडा ६५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ८३.७५ रुपैयाँ पुगेको छ । रातो आलु ८२ रुपैयाँ, भारतीय रातो आलु ५९ रुपैयाँ, मुडे आलुको ७२.६७ रुपैयाँ, भारतीय प्याज सुकेको १२७.६७ रुपैयाँ, लोकल गाजर १३५ रुपैयाँ, तराईको गाजर १२५ रुपैयाँ, लोकल बन्दा ७५ रुपैयाँ, तराईको बन्दा ६५ रुपैयाँ, स्थानिय काउली ७० रुपैयाँ कायम छ । रातो मूला, सेतो मूला (हाइब्रीड) ४५ रुपैयाँ तोकिएको छ । यस्तै तने बोडी १२५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लोकल घिउ सिमी १२५ रुपैयाँ, हाइब्रीड घिउ सिमी १२५ रुपैयाँ र तितो करेला आज ९५ रुपैयाँ छ । लौका ८५ रुपैयाँ, परवर ११० रुपैयाँ, चिचिण्डो ७५ रुपैयाँ, घिरौला ९५ रुपैयाँ रुपैयाँ पुगेको छ ।[pdf id=514159]
पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो सम्पन्न
काठमाडौं । पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो, २०२४ पाटन दरबार परिसरमा आयोजित भव्य समारोह बीच सम्पन्न भएको छ । ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनमा भएको एक्सपोमा साँस्कृतिक, व्यापारिक, स्थानिय परिकार तथा पर्यटन प्रवद्र्धनात्मक गरी २५ वटा स्टलहरु राखिएका थिए । स्टलहरुको माध्यमबाट स्थानीय उद्योग व्यवसाय लगायत नेपालमा पाइने खनिज सहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृतिहरु प्रदर्शन गरिएको जानकारी क्लबका अध्यक्ष सज्जु व्यञ्जनकारले दिए । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यत्रमबाट धार्मिक, आध्यात्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेको ललितपुरको पाटन दरबार क्षेत्रको प्रचार प्रसार हुनुका साथै यस क्षेत्रको विशिष्ट पहिचान बोकेका गरगहना तथा प्राचीन पहिरनहरुको पुनरावृत भइ आर्थिक गतिविधि समेत बढ्ने विश्वास आयोजकले लिएको छ । विश्व पर्यटन दिवसको अवसरमा आयोजित यस एक्सपोको गत शुक्रबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री माननिय श्री दामोदर भण्डारीले समुद्घाटन गर्नु भएको यस एक्सपोको समापन समारोहमा ¥याम्प वाल्कको प्रस्तुति रहेको थियो । साथै, कार्यक्रममा परम्परागत चर्या तथा अन्य नृत्य समेत प्रस्तुत गरिएको थियो रोटरी क्लब अफ काठमार्डौ हेरिटेज, रोट्रयाक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल पाटन र रोटरी क्लब अफ भरतपुरको सहयोगमा सम्पन्न भएको कार्यक्रम यहि असोज ११ गते शुरु भई असोज १४ गते सम्पन्न भएको थियो ।