विकासन्युज

वीरगञ्जमा एमएडब्लु वृद्धिको चारदिने ईभी टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम शुरु हुँदै

वीरगञ्ज । वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ द आर्ट सोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धिले आगामी असोज ३० गतेदेखि चारदिने 'टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज इभेन्ट' आयोजना गर्ने भएको छ ।  कम्पनीका अनुसार कार्यक्रममा ग्राहकहरूले दिपल र अवतारका लक्जरियस इलेक्ट्रिक भेहिकल (ईभी) को अनुभव लिनुका साथै सट्टापट्टा (एक्सचेन्ज) गर्ने अवसर पाउनेछन् । यस कार्यक्रमको मुख्य आकर्षण आईएफ डिजाइन अवार्ड विजेता ‘दिपल एस०५’ हुनेछ, जुन नाडा अटो शोमा शो स्टपरको रूपमा परिचित भएको थियो । यो मोडेलमा रिमोट इन एन्ड आउट पार्किङ, क्विन कोपाइलट सि, र ५ हजारभन्दा बढी चार्ज साइकलसहितको गोल्डेन शिल्ड ब्याट्री जस्ता अत्याधुनिक प्रविधिहरू समावेश छन् । नेपालमा सार्वजनिक भएको दुई महिनामै एस०५ देशकै चर्चित ईभी मोडेल बन्न सफल भएको छ । कार्यक्रममा दिपल एस०७ आईसीएस, दिपल ई०७, दिपल एल०७, र अल्ट्रा–प्रिमियम इन्टेलिजेन्ट एसयुभी अवतार ११ पनि प्रदर्शनमा राखिनेछन् । यसै अवसरमा सहभागीहरूले मानवाकृत रोबोट र कुकुर रोबोटसँग अन्तरक्रिया गर्ने अनौठो अनुभव पनि लिन सक्नेछन्, जुन मधेश प्रदेशमा पहिलोपटक हुन लागेको हो । कम्पनीका अनुसार चारदिनसम्म चल्ने यो कार्यक्रममा सहभागीहरूले सर्वोत्तम एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, नि:शुल्क रोड ट्याक्स र इन्स्योरेन्स, निशुल्क वाल र ट्राभल चार्जर, साथै निशुल्क एसेसोरिजको सुविधा पनि पाउने छन् । एमएडब्लु वृद्धिले यो अवसरलाई वीरगञ्ज, जनकपुर, हेटौंडा र आसपासका ग्राहकका लागि फ्युचरिस्टिक तथा टेक्नोलोजिकली एड्भान्स्ड ईभीमा अपग्रेड हुने उत्कृष्ट मौकाका रूपमा प्रस्तुत गरेको छ ।

भुम्लु गाउँपालिकामा ५० वर्षपछि लालपुर्जा वितरण, ५३१ ले पाए जग्गाधनीपुर्जा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको (जग्गाधनी पुर्जा) लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उनीहरूले ५० वर्षपछि लालपुर्जा पाएका हुन् । हालसम्म पाँच सय ३१ प्रिवारले पुर्जा पाएको जिल्ला नापी कार्यालयले जनाएको छ । लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा मालपोत कार्यालयको पहलमा प्रक्रिया पुर्याएर औपचारिक रूपमा गत भदौदेखि वितरण गर्न थालिएको हो । उनीहरूलाई गत भदौ ३ गते तत्कालीन भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपुर्जा बितरणको सुरुआत गरेका थिए । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा विविध कारण लालपुर्जाको पर्खाइमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका–७ र ८ का चार सय ३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको थियो । कार्यालयका अनुसार त्यतिबेला वडा नं ७ का एक सय ८५ र वडा नं ८ मा दुई सय ४६ गरी चार सय ३१ जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । त्यसयता एक सय लालपुर्जा तयार भई वितरण भइरहेको नापी कार्यालयका प्रमुख अशोककुमार भुसालले बताए । उनका अनुसार ‘फिल्ड’ कार्यालयमार्फत प्रमाण पुर्याएर लालपुर्जा बितरण भइरहेको हो । आवश्यकतानुसार तीनदेखि छ जना कर्मचारीले ‘फिल्ड’मा काम गरिरहेको भुसालको भनाइ छ । समस्या समाधनका लागि जिल्लस्थित नापी कार्यालयले २०७१ साल जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोली खटाई काम गरिरहेको थियो । काभ्रेपलाञ्चोकका तत्कालीन सांसद एवं मन्त्री गोकुल बाँस्कोटाले २०७६ साल मङ्सिर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको उद्घाटन गरेका थिए । कार्यालयले नापी टोली खटाएको ११ वर्षपछि भने स्थानीय जग्गाधनीले आफ्नो जग्गाको लालपुर्जा पाएका हुन् । कार्यालयका अनुसार वडा नं ७ मा तीन सय र ८ मा छ सय लालपुर्जा बनाउनुपर्ने देखिएको छ । घटनाक्रमअनुसार साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतीयोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतीयोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् । विसं २०३५ मा नापी टोली पुनः उक्त गाविसमा नापीका लागि जाँदा जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो । कार्यालयले लालपुर्जा विरतण गरेपछि जग्गासम्बन्धी सबै श्रेस्ता मालपोत कार्यालय, नक्सा, फिल्ड बुकहरू नापी कार्यालयमा ल्याई जग्गा प्रशासनको नयाँ काम सुरु हुने जनाएको छ । केही जग्गाधनीले आफ्नो जग्गाको ‘लगत–भिड्ने’ आवश्यक कागजात नल्याउँदा भने काम गर्न केही समस्या भइरहेको भुसालले बताए । यस्तै तत्कालीन समयमा उक्त स्थानमा बसेका नागरिक बसाइँसराइ एवं केहीले तिरो तिरेको आधारमा जग्गा बिक्री गरेकाले थप समस्या देखिएको जनाइएको छ । उक्त स्थानमा लालपुर्जाको समस्या वर्षौँसम्म समाधान नभएपछि पटकपटक समस्या समाधान अध्ययन समितिसमेत गठन गरिएको थियो भने कयौँपटक सरकारीस्तरबाट ‘फिल्ड भिजिट र अनुगमन–निरीक्षण’ गर्दा पनि यसअघि कुनै निकास निस्कएको थिएन । गाउँपालिकामा आएका निवदेन छानबिन गर्दा प्रारम्भिक चरणमा करिब एक हजार परिवार समस्यामा रहेको देखिएको कार्यालयले जनाएको छ । रासस

सेयरधनीले खरिद नगरेको ५ लाख कित्ता सेयर बेच्दै खानी खोला हाइड्रोपावर

काठमाडौं । खानी खोला हाइड्रोपावरले ५ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि असोज ५ गते चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता सेयर बिक्री खुला गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण सेयरधनी समूह तर्फको ४ लाख ५९ हजार ३४९ कित्ता सेयर कात्तिक १२ गतेदेखि कात्तिक १९ गतेसम्म बिक्री गर्न लागेको हो । कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।  कम्पनीको सेयरको न्यूनतम् मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम् १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंकको कुमारी पाटी, ठीमी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखाबाट आवेदन दिन सक्नेछन् । 

६ वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म आधा दर्जन बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । हालसम्म ६ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गर्नेमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको छ । गत असोज १० गते पोखरामा सम्पन्न २७औँ वार्षिक साधारणले उक्त लाभांश पारित गरिसकेको छ ।  एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश पारित गर्न बैंकले कात्तिक १२ गते बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको हाे । सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ। लाभांश प्रस्ताव पारित गर्न बैंकले कात्तिक २ गते बिहान १० बजे काठमाडौंमा २१औँ वार्षिक साधारण सभा बोलाएको छ ।  सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।    सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।    

सानिमा बैंकको ५ करोडको सेयर बिक्रीमा, कम्तिमा ५० हजार कित्ताका लागि आवेदन दिनुपर्ने

काठमाडौं । सानिमा बैंकको ५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ३ लाख ३९ हजार ४८४ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  बैंकका अनुसार उक्त सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा बैंकको ४ करोड ९२ लाख २५ हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  बैंकले गत जेठ १४ गते उक्त सेयर खरिद गर्नका लागि ३५ दिनको समय दिएको थिएन । तर, उक्त समयमा कोही पनि संस्थापक सेयरधनीले आवेदन नदिएपछि सर्वसाधारण लगानीकर्ताहरुका लागि सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ ।  खरिद गर्न इच्छुक लगानीकर्ताहरुलाई १५ दिनभित्र आवेदन दिन भनिएको छ । सेयर खरिदका लागि न्यूनतम ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

सञ्चालन हुन थाल्यो बेनी-दरवाङ सडक

काठमाडौं । म्याग्दी जिल्लाको पश्चिमी क्षेत्रमा रहेका ३ वटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी-दरवाङ सडक मर्मत भएको छ ।  बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी-दरवाङ सडकमा यात्रु वाहक बस र माल वाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् । पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । कार्यालयका सुपरभाइजर राम्जी आचार्यले बर्खा रोकिएपछि सडक मर्मत गरेर ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाएको बताए ।  सडकमा पहिरो खसेर साँघुरिएको थियो । पहिरो पन्छाएर सडकलाई फराकिलो बनाएर दुईतर्फी सवारीसाधन सञ्चालन हुने बनाइएको सुपरभाइजर आचार्यले बताए । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी-दरवाङ सडकमा गत असारदेखि ठूला सवारीसाधन सञ्चालन हुनसकेका थिएनन् । यो सडक बागलुङको तमानखोलाका बासिन्दाले पनि प्रयोग गर्छन् । पहिरो खसिरहने भएकाले बेनी-दरवाङ सडकको यात्रा कष्टपूर्ण र जोखिमयुक्त बनेको थियो । बर्खायाममा जीप, ट्याक्सी, माइक्रोबस, मोटरसाइकल र ट्रयाक्टर चलेका सडकमा मर्मत भएपछि बस तथा ट्रक सञ्चालन हुन थालेका छन् । म्याग्दी मालिका यातायात प्रालिका सञ्चालक अर्जुन आचार्यले सडक सुधार भएपछि दरवाङदेखि काठमाडौं र काठमाडौंदेखि दरवाङ रात्रिबस सञ्चालन गर्न थालिएको बताए । म्याग्दी नदीमा निर्माणाधीन चारवटा जलविद्युत् आयोजना, सडक, भवन, खानेपानी, पुल, प्रसारण लाइन, सबस्टेसन आयोजनाका निर्माण सामग्री ढुवानी गर्न पनि सहज भएको छ ।  पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी-दरवाङ सडकको विभिन्न ठाउँमा रहेका पहिरोको दीर्घकालीन रोकथाम नहुँदा बर्खायाममा पश्चिम म्याग्दीको यातायात सेवा प्रभावित हुने गरेको छ ।

अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलमा अर्थमन्त्री खनालको सम्बोधन

काठमाडौं । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले अमेरिका चेम्बर अफ  कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका छन् ।  उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड: अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा गरे ।  कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका कर्मचारी तथा युएस चेम्बर अफ कमर्सका सदस्यहरूसमेत उपस्थित रहेको थियो । अर्थमन्त्री खनाल र कोषका निर्देशकबीच भेट अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबीच सोमबार यहाँ भेटवार्ता भएको छ । भेटका अवसरमा वित्त तथा आर्थिक विषयमा छलफल भएको अमेरिकास्थित राजदूतावासले जनाएको छ ।  भेटघाटका अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमण दलका सदस्य तथा मुद्रा कोषका अन्य कर्मचारीको समेत सहभागिता थियो । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार डिसी आइपुगेका हुन् । 

१० दिनमा पनि बनेन वैकल्पिक सडक, मेची राजमार्गका यात्रु र व्यवसायीलाई सास्ती

काठमाडौं । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी-सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । १० दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको छ । सो सडक खण्ड अन्तर्गत माइजोगमाई गाउँपालिका-४ नामसालिङ र इलाम नगरपालिका-१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको छ । तर खोलामा पानीको बहाव उच्च रहनुका साथै आवश्यक ह्युमपाइप अभाव भएकाले तत्काल सञ्चालन गर्न नसिकएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए ।  ‘हाम्रो धेरै समय राजदुवाली क्षेत्रमा बित्यो । त्यो पार नलागेपछि अहिले जोगमाई खोलामा डाइभर्सन निर्माणको काम भइरहेको छ । तर पर्याप्त ह्युमपाइप नहुँदा केही दिन ढिला हुने सम्भावना छ,’ उनले भने ।  उनका अनुसार पाँचथरबाट ह्युमपाइप मगाइएको र मङ्गलबारसम्म आइपुग्ने व्यवस्था गरिएको छ । डाइभर्सन निर्माणका लागि हाल चारवटा स्काभेटर परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सरोकारालासँगको स्थलगत निरीक्षणपछि मेची राजमार्गको विकल्पका रूपमा तिल्केनी-सिमलगोलाइ सडक सञ्चालन गर्ने निर्णय गरेको थियो । ‘सकेसम्म चाँडो सडक खुलाउने पहल भइरहेको छ । प्राविधिक पक्षा सडक डिभिजनले सम्हालिरहेको छ, हामी समन्वयमा छौँ,’ प्रजीअ नेपालले भने ।  गत असोज १८ गतेको बाढीले यहाँको बेलीब्रिज बगाएपछि यो सडक पनि अवरुद्ध भएको हो । गत असारमा निर्माण सम्पन्न गरिएको बेलीब्रिज बाढीले बगाएपछि यहाँको आवागमन अवरुद्ध बनेको हो । इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने यो वैकल्पिक सडक सञ्चालनका लागि प्रमुख विकल्प मानिएको छ ।  आइतबारदेखि तिल्केनी-बज्रदेवी-नामसालिङ-नयाँबजार-फिक्कल सडकमार्फत साना सवारीसाधन सञ्चालनमा रहेका छन् । ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालले बताए । तीब्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ । वर्षासँगै आएको पहिरो झरेपछि विगत १० दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद छ । इलाम-राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा समस्या देखिएको छ । जटिल भू-संरचनाका कारण सो सडक तत्काल खुलाउन नसकिने भएको सडक डिभिजन प्रमुख भट्टराईले बताए ।