नेपालगञ्जमा गर्मी बढेपछि प्राधिकरणले थग्यो ५ वटा नयाँ फिडर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले विद्युत् आपूर्ति सुधार गर्न ५ वटा नयाँ फिडर थप गरेको छ । १६ वटा फिडरबाट आपूर्ति हुँदै आएकामा नेपालगञ्जमा हुने गर्मीलाई मध्यनजर गर्दै ५ वटा नयाँ फिडर थप गरेर विद्युत् आपूर्ति सुधारलाई निरन्तरता दिएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए । ‘विगतमा १६ वटा फिडरबाट गाउँ र सहरसम्म विद्युत् आपूर्ति हुँदै आएको अहिले ५ वटा नयाँ फिडर थप गरी गाउँ र सहरको फिडर छुट्याएका छौँ,’ उनले भने, ‘छुट्टा छुट्टै फिडर भएकाले गाउँ र सहर दुवै ठाउँमा विद्युत् वितरण र भोल्टेजमा सुधार आएको छ ।’ वितरण लाइनको मसिनो तारलाई पनि व्यवस्थापन गर्दै फिडर थप गरेपछि अहिले बाँके जिल्लामा भोल्टेज कम भएको गुनासो आउन छाडेको छ । फिडरसँगै आवश्यक ठाउँमा नयाँ ट्रान्सफर्मरसमेत थप गरिएको मिश्रले बताए । विद्युतको बढ्दो मागलाई व्यवस्थापन गर्नका लागि पनि पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आएको उनको भनाइ छ । बाँके जिल्लामा विद्युत् सेवा सुधार र चुहावट नियन्त्रणका लागि नेपालगन्ज वितरण केन्द्रले मिटर अनुगमन, हुकिङ गर्ने वा मिटरमा गडबडी गर्ने ग्राहकमाथि सार्वजनिक बिदाको दिनसमेत स्थलगत निरीक्षण गर्दै सिँचाइ, घरेलु तथा अन्य ग्राहकको सेवा अवस्थाबारे अनुगमन गरिरहेको छ । सेवा सुधार, चुहावट नियन्त्रण अभियानले पछिल्ला महिनाहरूमा बाँकेमा विद्युत् आपूर्तिमा सुधार देखिएको छ । नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेका कारण गर्मीयाममा समेत आपूर्ति अवरुद्ध नहुने केन्द्र प्रमुख मिश्रको दाबी छ । नेपालगन्ज वितरण केन्द्र नोलाइट शाखामार्फत महत्त्वपूर्ण स्थानहरूमा नाङ्गो तार हटाई केबुल विस्तारको काम भइरहेको छ । मर्मत शाखाले पनि नियमित अनुगमनमार्फत आपूर्ति अवरोध हुन नदिन आवश्यक सतर्कता अपनाएको कारण विद्युत् चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण तथा सेवा प्रवाहमा थप सुधार आएको उनको भनाइ छ ।
कोरला नाकामा बिटिएस उपकरण जडान, २४सै घण्टा नेटवर्क र इन्टरनेटको सुविधा
काठमाडौं । मुस्ताङको नेपाल-चीन उत्तरी कोरला नाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरला नाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ । कोरला नाकामा तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले सञ्चारको पहुँच स्थापित गर्न माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो । कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गरी बस्ने व्यवसायी र अवलोकनका लागि जाने पर्यटकको सहजताका लागि सञ्चारको पहुँच स्थापित गरिएको थियो । कोरला नाकामा सञ्चारको पहुँच स्थापना गरिएको भए पनि माइक्रोवेब रेडियो लिङ्कका लागि उपकरण क्षमता कम हुँदा सञ्चार सुविधा भरपर्दो बन्न सकेको थिएन । नेपाल विद्युत प्राधिकरणले विद्युत् पोल विस्तार गरिसकेको भए पनि प्रसारण लाइन सञ्चालनमा आएको छैन । नाकामा विद्युतीय सेवा नहुँदाको विकल्पमा सौर्य ऊर्जाको सहायताबाट टावर सञ्चालन गरिएको थियो । जोमसोमस्थित टेलिकम कार्यालयका प्रमुख हुमबहादुर भुजेलका अनुसार कोरलानाकामा देखिएको टेलिफोन र इन्टरनेट समस्या समाधान गर्न सौर्य ऊर्जाको बिटिएस टावर क्षमता वृद्धि गर्न ब्याट्री र सोलार प्यानलको क्षमता दोब्बर पारिएको छ । कोरला नाकामा खटिएका प्राविधिकसहितको टोलीले यहाँ रहेको माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावरलाई सहज रूपमा सञ्चालन गर्न तथा टुजी र फोरजी बिटिएस टावरको ब्याट्री ब्याकअफ र सोलार प्यानलको सङ्ख्या बढाइएको प्रमुख भुजेलको भनाइ छ । उनका अनुसार बिटिएस टावरका लागि २० वटा सोलार प्यानल र १५० एम्पियरको तीनवटा ब्याट्री ब्याकअफ थप गरिएको हो । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बिटिएस टावरको क्षमता बढाइपछि २४सै घण्टा मोबाइल नेटवर्क र इन्टरनेटको सुविधा राम्रो भएको बताए । कोरलानाका टुजी र फोरजीसहितको मोबाइल नेटवर्कमा सुधार गरिएसँगै व्यापारी तथा पर्यटकलाई सहज भएको छ ।
आजको मौसम: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
नेपाल र स्कटल्याण्ड भिड्दै, नेपालले जित्नै पर्ने दबाब
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्ड आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ । आइसिसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल सातौं स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै १० वटा खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपाल अहिले २६ खेलपछि नौमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २० अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । साथै स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, ८ मा हार र ६ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।
कारागारबाट भागेकी सपना प्रेमीसहित पक्राउ
काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट फरार भएकी सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं इन्द्रचोकको भेडासिंहबाट आइतबार राति १ बजे पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले विकासन्युजलाई जानकारी दिए । उनी शुक्रवार कारागारबाट राति फरार भएकी थिइन् । प्रहरीले उनको प्रेमीलाई पनि नियन्त्रणमा लिएको एसएसपी खड्काले बताए । तामाङ कारागारको वाल नाघेर फरार भएकी थिइन् । तामाङ नुवाकोटको विदुर नगरपालिकाकी हुन् । उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्म कैदको फैसला सुनाएर कैद भुक्तान गर्दै आएकी थिइन् । यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् ।
९ अर्बभन्दा बढीको आईपीओ आउँदै, २४ कम्पनीले पाए धितोपत्र बोर्डको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण सेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । बोर्डका अनुसार कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति प्राप्त भएको हो । त्यसको मूल्य ९ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० बराबर छ । अनुमति प्राप्त गरेका कूल कम्पनीमध्ये १५ वटा जलविद्युत आयोजनाका मात्रै छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १०३ जलविद्युत् कम्पनी सेयरमा सूचीकृत भई कारोबार भइरहेका छन् । बोर्डबाट अनुमति पाउने र अनुमतिको प्रतीक्षामा रहेका कम्पनीमा पनि जलविद्युतका बढी छन् । अनुमति पाएका कम्पनीमा सात वटा उत्पादन तथा प्रशोधन क्षेत्रका छन् । विकास बैंक र होटल एवं पर्यटन क्षेत्रका एक/एक कम्पनी छन् । बोर्डमा कुल ९८ वटा कम्पनीले साधारण सेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन् । त्यसमा होटल तथा पर्यटन क्षेत्रका १८, जलविद्युतका ३२, लगानीका पाँच कम्पनी छन् । यस्तै, उत्पादन तथा प्रशोधनका २६, माइक्रो इन्स्योरेन्सका तीन, अन्य समूहका १४ कम्पनी छन् ।
‘कान्स फिल्म फेस्टिभल’ का लागि डंगोल फ्रान्स जाँदै, श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी
काठमाडौं । काठमाडौं महानगरपालिकाको ४९ औं कार्यपालिका बैठक विभिन्न १९ वटा प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ । महानगरपालिकाको सभा कक्षमा आज कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले शिक्षा, जनशक्ति व्यवस्थापन, पुनर्निर्माण र खेलकुद लगायतका ७ वटा क्षेत्रका विविधसहित १९ वटा प्रस्तावहरू पारित गरेको हो । बैठकले विशेष गरी कक्षा ११ र १२ मा प्रदान गरिने छात्रवृत्तिसम्बन्धी व्यवस्था गरिएको कार्यविधिलाई संशोधनसहित पारित गरेको छ । उक्त प्रस्ताव शिक्षा स्वास्थ्य समितिका तर्फबाट सदस्य सचिव एवं शिक्षा अधिकारी नमराज ढकालले पेश गरेका थिए । कार्यविधिमा समेटिएका व्यवस्थाहरूका बारेमा कार्यपालिका सदस्यहरू दलबहादुर कार्की, विमलकुमार होडा, रामकुमार केसी र आशामान संगतले आफ्ना धारणा राखेका थिए भने रोजिना श्रेष्ठले आइतबार विद्यालय खोल्ने विषयमा एकरूपता ल्याउनुपर्ने सुझाव दिएकी थिइन् । बैठकले कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा आयोजना हुने ुकान्स फिल्म फेस्टिभलु मा सहभागी हुन जाने प्रस्ताव समेत पारित गरेको छ । आज बेलुका उनी कार्यक्रमका लागि प्रस्थान गर्ने भएपछि नफर्किउन्जेलसम्मका लागि ज्येष्ठताका आधारमा वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी तोकिएको छ । महानगरको बैठकले सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारी नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी, नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायममुकायम मुकरर गर्ने निर्णय पनि गरेको छ । वडा नं. १७ मा रहेको कन्या माध्यमिक विद्यालयमा छात्राहरूका लागि छात्रावास निर्माण गरिने, ‘काठमाडौं महानगरपालिका प्रथम उपप्रमुख कप खोखो प्रतियोगिता’ सञ्चालन गर्ने, जेनजी आन्दोलनका क्रममा क्षति भएका जन सेवा प्रहरी, महानगर प्रहरी वृत्त गौशाला र कालीमाटी पुनर्निर्माणका लागि ज्याला पारिश्रमिक उपलब्ध गराउन वडा नं. ७, ८, ९, ११, १२ र १४ वडा समितिको प्रस्ताव अनुमोदन, पदपूर्ति समिति गठन: महानगर प्रहरी बलको कर्मचारी व्यवस्थापनका लागि पदपूर्ति समिति गठन गर्ने निर्णय पनि भएको छ । बैठकमा प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, र सामाजिक समितिका संयोजक रामकुमार केसीले आ-आफ्नो समितिका प्रस्तावहरू पेश गरेका थिए । समितिका तर्फबाट सदस्य सचिव तथा विभागीय प्रमुखहरू नमराज ढकाल, दिपक अधिकारी र जगदीश अर्यालका साथै वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी विषयमा वातावरण व्यवस्थापन विभागका वरिष्ठ इन्जिनियर रामप्रसाद नेपालले प्रस्ताव पेश गरेका थिए । बैठकको विविध विधा अन्तर्गत कार्यपालिका सदस्यहरू ईश्वरमान डंगोल, बालकृष्ण महर्जन, सरोज ढकाल, विमलकुमार होडा, मचाराजा महर्जन, भुवन लामा र रोजिना श्रेष्ठले विभिन्न समसामयिक विषयमा आफ्ना धारणाहरू राखेका थिए ।
पोखरामा बजाज चेतक ईभीको नयाँ ‘एक्सपेरियन्स जोन’ सञ्चालन
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) प्रति ग्राहकको आकर्षण तीव्र रूपमा बढिरहेका बेला बजाज चेतक ईभीले पोखरामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँबजारमा रहेको ‘चेतक एक्सपेरियन्स जोन’ को उद्घाटन गत बिहीबार भएको हो। राजधानी बाहिरका ग्राहकहरूलाई सवारीको प्रत्यक्ष अनुभव र उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले यो शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रतिनिधिहरूका साथै नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो । आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैली र आवश्यकतालाई मध्यनजर गर्दै यो एक्सपेरियन्स जोन निर्माण गरिएको हो । एक्सपेरियन्स जोनमा टेस्ट राइड, डिजिटल प्रोडक्ट डिस्प्लेमार्फत फिचर्सको जानकारी, दक्ष ईभी विज्ञहरूबाट चार्जिङ समाधान र स्मार्ट फिचर्ससम्बन्धी परामर्श तथा खरिद र एउटै स्थानबाट मर्मत सम्भार सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उद्घाटन समारोहमा बोल्दै चेतक पोखराका सञ्चालक अघोष मान बुद्धाचार्यले पोखरामा यो प्रिमियम केन्द्रको सुरुवात हुनु विद्युतीय गतिशीलताको क्षेत्रमा महत्वपूर्ण कदम भएको बताए ।