सञ्चालन हुन थाल्यो बेनी-दरवाङ सडक
काठमाडौं । म्याग्दी जिल्लाको पश्चिमी क्षेत्रमा रहेका ३ वटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी-दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी-दरवाङ सडकमा यात्रु वाहक बस र माल वाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् । पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । कार्यालयका सुपरभाइजर राम्जी आचार्यले बर्खा रोकिएपछि सडक मर्मत गरेर ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाएको बताए । सडकमा पहिरो खसेर साँघुरिएको थियो । पहिरो पन्छाएर सडकलाई फराकिलो बनाएर दुईतर्फी सवारीसाधन सञ्चालन हुने बनाइएको सुपरभाइजर आचार्यले बताए । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी-दरवाङ सडकमा गत असारदेखि ठूला सवारीसाधन सञ्चालन हुनसकेका थिएनन् । यो सडक बागलुङको तमानखोलाका बासिन्दाले पनि प्रयोग गर्छन् । पहिरो खसिरहने भएकाले बेनी-दरवाङ सडकको यात्रा कष्टपूर्ण र जोखिमयुक्त बनेको थियो । बर्खायाममा जीप, ट्याक्सी, माइक्रोबस, मोटरसाइकल र ट्रयाक्टर चलेका सडकमा मर्मत भएपछि बस तथा ट्रक सञ्चालन हुन थालेका छन् । म्याग्दी मालिका यातायात प्रालिका सञ्चालक अर्जुन आचार्यले सडक सुधार भएपछि दरवाङदेखि काठमाडौं र काठमाडौंदेखि दरवाङ रात्रिबस सञ्चालन गर्न थालिएको बताए । म्याग्दी नदीमा निर्माणाधीन चारवटा जलविद्युत् आयोजना, सडक, भवन, खानेपानी, पुल, प्रसारण लाइन, सबस्टेसन आयोजनाका निर्माण सामग्री ढुवानी गर्न पनि सहज भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी-दरवाङ सडकको विभिन्न ठाउँमा रहेका पहिरोको दीर्घकालीन रोकथाम नहुँदा बर्खायाममा पश्चिम म्याग्दीको यातायात सेवा प्रभावित हुने गरेको छ ।
अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलमा अर्थमन्त्री खनालको सम्बोधन
काठमाडौं । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका छन् । उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड: अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा गरे । कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका कर्मचारी तथा युएस चेम्बर अफ कमर्सका सदस्यहरूसमेत उपस्थित रहेको थियो । अर्थमन्त्री खनाल र कोषका निर्देशकबीच भेट अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबीच सोमबार यहाँ भेटवार्ता भएको छ । भेटका अवसरमा वित्त तथा आर्थिक विषयमा छलफल भएको अमेरिकास्थित राजदूतावासले जनाएको छ । भेटघाटका अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमण दलका सदस्य तथा मुद्रा कोषका अन्य कर्मचारीको समेत सहभागिता थियो । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार डिसी आइपुगेका हुन् ।
१० दिनमा पनि बनेन वैकल्पिक सडक, मेची राजमार्गका यात्रु र व्यवसायीलाई सास्ती
काठमाडौं । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी-सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । १० दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको छ । सो सडक खण्ड अन्तर्गत माइजोगमाई गाउँपालिका-४ नामसालिङ र इलाम नगरपालिका-१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको छ । तर खोलामा पानीको बहाव उच्च रहनुका साथै आवश्यक ह्युमपाइप अभाव भएकाले तत्काल सञ्चालन गर्न नसिकएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । ‘हाम्रो धेरै समय राजदुवाली क्षेत्रमा बित्यो । त्यो पार नलागेपछि अहिले जोगमाई खोलामा डाइभर्सन निर्माणको काम भइरहेको छ । तर पर्याप्त ह्युमपाइप नहुँदा केही दिन ढिला हुने सम्भावना छ,’ उनले भने । उनका अनुसार पाँचथरबाट ह्युमपाइप मगाइएको र मङ्गलबारसम्म आइपुग्ने व्यवस्था गरिएको छ । डाइभर्सन निर्माणका लागि हाल चारवटा स्काभेटर परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सरोकारालासँगको स्थलगत निरीक्षणपछि मेची राजमार्गको विकल्पका रूपमा तिल्केनी-सिमलगोलाइ सडक सञ्चालन गर्ने निर्णय गरेको थियो । ‘सकेसम्म चाँडो सडक खुलाउने पहल भइरहेको छ । प्राविधिक पक्षा सडक डिभिजनले सम्हालिरहेको छ, हामी समन्वयमा छौँ,’ प्रजीअ नेपालले भने । गत असोज १८ गतेको बाढीले यहाँको बेलीब्रिज बगाएपछि यो सडक पनि अवरुद्ध भएको हो । गत असारमा निर्माण सम्पन्न गरिएको बेलीब्रिज बाढीले बगाएपछि यहाँको आवागमन अवरुद्ध बनेको हो । इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने यो वैकल्पिक सडक सञ्चालनका लागि प्रमुख विकल्प मानिएको छ । आइतबारदेखि तिल्केनी-बज्रदेवी-नामसालिङ-नयाँबजार-फिक्कल सडकमार्फत साना सवारीसाधन सञ्चालनमा रहेका छन् । ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालले बताए । तीब्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ । वर्षासँगै आएको पहिरो झरेपछि विगत १० दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद छ । इलाम-राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा समस्या देखिएको छ । जटिल भू-संरचनाका कारण सो सडक तत्काल खुलाउन नसकिने भएको सडक डिभिजन प्रमुख भट्टराईले बताए ।
पुनर्निर्माण गर्न २५ प्रतिशत बजेट कटौती गरिने
काठमाडौं । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्न निर्णय गरिएको बताए । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका बेला भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयको र केही दिनअघि आएको बाढी पहिरोले भएको क्षतिको पुनर्निर्माणका लागि खर्च गर्न ती बजेट कटौती गर्ने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिए । त्यसैगरी बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा प्रदेशका ११औँ तहका इन्द्र सापकोटालाई खटाएको छ भने विपद् पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्ने गरी रकमान्तरलाई खुला गर्ने भएको छ ।
कर्जा सुविधा २ महिना थप गर्न व्यवसायीको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंले मुलुकको विषम परिस्थितिलाई हेरेर कर्जा सुविधा २ महिना थप गर्न सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले साेमबार एक विज्ञप्ति जारी गरी उद्योगी तथा व्यवसायी जेनजी आन्दोलन र प्राकृतिक विपत्तिको मारमा परेको भन्दै कर्जा सुविधा थप गर्न माग गरे । हाल मुलुकमा विद्यमान अस्थिर परिस्थितिका कारण बजारमा नगद प्रवाहमा आएको कमी, बक्यौता सङ्कलनमा गिरावट र लगानीकर्ता तथा उपभोक्ताको मनोबलमा आएको नकारात्मक प्रभावले उद्योगी तथा व्यवसायी हतोत्साहित भएको समेत विज्ञप्तिमा उल्लेख छ । ‘यस वर्ष चाडपर्व छिटो पर्न जानु, असोज मसान्तभित्र २ महिनाको तलब, दसैँ खर्च, बैंक ब्याज र साँवा, चालु पूँजी कर्जाको किस्ता, कर तथा राजस्व बुझाउनुपर्ने वाध्यताका कारण व्यवसायीहरू थप आर्थिक दबाबमा परेका छौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । उनले गत आर्थिक वर्षको असार मसान्तसम्मका नियमित ग्राहकको हकमा मात्र लागू हुने गरी चालु आवको असोज मसान्तभित्र बुझाउनुपर्ने रकमलाई एक पटकका लागि दुई महिनाभित्र (मङ्सिर मसान्तसम्म) भुक्तानी गर्न पाउने वा सो बराबर थप कर्जा सुविधा दिई हिसाब मिलान गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरे । माग सम्बोधन भए हाल उत्पन्न परिस्थितिबाट प्रभावित उद्योगी, व्यवसायी तथा सम्पूर्ण ऋणी वर्गलाई तत्काल राहत मिल्ने र समग्र आर्थिक स्थायित्वमा पनि सकारात्मक प्रभाव पर्ने सङ्घको बुझाइ छ ।
९ बुँदे सहमति कार्यान्वय गर्न शिक्षामन्त्री पुनलाई शिक्षक महासङ्घको ध्यानाकर्षण
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसँग नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलले विगतमा आफूहरूबीच भएका सहमति र सरकारका निर्णय कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको छ । महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितको नेतृत्वले साेमबार केशरमहलमा मन्त्री पुनलाई भेटेर सरकारका तर्फबाट हुन सक्ने समस्या समाधानका विषय कार्यान्वयनका लागि आग्रह गरेको हो । विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारीमा रहेको प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारका तर्फबाट हुनसक्ने सम्बोधनको विषय कार्यान्वयनका लागि महासङ्घले मन्त्री पुनलाई आग्रह गरेको हो । महासङ्घले यसअघि गरेको प्रदर्शनपछि सरकारसँगको सहमतिमा गत वैशाख १७ गते मन्त्रिपरिषदबाट निजामती अस्पतालबाट शिक्षक कर्मचारीलाई स्वास्थ्योपचारमा सहुलियत, अस्थायी र करारका विभिन्न प्रकृतिका शिक्षकको बिरामी र सञ्चित बिदा बापतको रकम सेवाबाट अलग हुँदा एकमुस्ट रूपमा उपलब्ध गराउने, प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक सरकारले तोकेबमोजिम हुने लगायत ९ बुँदे निर्णय गरेको थियो । महासङ्घले सरुवा कार्यविधिको खारेजी र परिमार्जन, विभिन्न पालिकाबाट अस्थायी प्रकृतिका शिक्षकमाथि करार नवीकरणका नाममा गरिएको आनाकानी, तलब रोकिएको अवस्थालगायत विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराइएको महासङ्घका अध्यक्ष सुवेदीले जानकारी दिए । शिक्षामन्त्री पुनले शिक्षक र कर्मचारीका पेसागत मुद्दामा आफू गम्भीर रहेको बताउँदै शिक्षाको गुणस्तर बढाउन शिक्षक दत्तचित्त हुनुपर्नेमा जोड दिए ।
अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता, सहकार्य र साझेदारीमा छलफल
काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा विश्व बैंकको सहयोगमा सञ्चालित विविध कार्यक्रमको सिंहावलोकन गर्नुका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा छलफल भएको अमेरिकाको वासिङ्टन डिसीस्थित राजदूतावासले जनाएको छ । भेटघाटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमण दलका सदस्य, विश्व बैंकको विभिन्न परियोजनाका कर्मचारीको समेत सहभागिता थियो । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार वासिङ्टन डिसी आइपुगेका हुन् ।
राष्ट्र बैंकले ३.३० अर्ब लगानी गर्ने, खुद निष्क्रिय कर्जा ३ प्रतिशत हुनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम् कूल पुँजी कोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सर्त पूरा गरेको हुनुपर्ने जनाइएको छ । बैंक तथा वित्तीय संस्थाले यही असोज ३० गते आफूले लिन चाहेको र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत तोकेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।