विकासन्युज

कोशी प्रदेशमा भारी वर्षा हुने, यस्तो छ देशभरिको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा देशका पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्लादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छभने कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुने तथा कोशी, बागमती, र गण्डकी तथा बाँकी प्रदेशका एक/दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकीका साथै अन्य प्रदेशका केहीस्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सम्भावित क्षतिबाट जोगिन उक्त प्रदेशका सर्वसाधारणमा अनुरोध गरेको छ ।

सिमेन्ट उद्योगको प्रतिफलमा उच्च गिरावट, मारुतीले ४ प्रतिशत मात्र लाभांश दिने

काठमाडौं । मारूती सिमेन्ट्सले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले ३०औँ वार्षिक साधारण सभा कात्तिक ११ गते बिहान साढे ११ बजे बिराटनगरमा बोलाएको हो । सभाले आर्थिक वर्ष २०८०/८१ कम्पनीको संचालक समितिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको १ लाख रुपैयाँ भन्दा माथिका रकमहरू अनुमोदन गर्नेछ । यस्तै कम्पनीको संचालक समितिको निर्णयबाट विभिन्न बैंकहरूबाट लिएको ऋण र आर्थिक वर्ष २०८०/८१ म गरेका निर्णयहरू अनुमोदन गर्नेछ । यस्तै संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

कामना सेवा विकास बैंकको सेयर १ सय रुपैयाँ किन्ने मौका

काठमाडौं । कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार संस्थापक समूहको ३५ हजार ५३४ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको सेयरमा सर्वसाधारण समेतले आवेदन दिन सक्नेछन् । बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज १८ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको सेयरमा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । त्यसैले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

अरूण भ्याली हाईड्रोको लाभांश घोषणा, सेयरधनीको भेला कात्तिक १४ गते डाक्यो

काठमाडौं । अरूण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५७ प्रतिशत नगद गरी कुल ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश पारित गर्न २७औँ वार्षिक साधारण सभा कात्तिक १४ गते बिहान ११ बजे काठमाडौंमा बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी तथा जारी पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने, नियमनकारी निकायबाट सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्नेछ । साथै सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि बैंक तथा वित्तीय संस्थासँग गरिएको ऋण सम्झौतामा कर्पाेरेट ग्यारेन्टी दिने प्रस्ताव पारित गर्नेछ । संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक ४ गतेसम्म नेपाल स्टक एक्चेञ्ज (नेप्से) कारोबार भई कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

हकप्रद सेयर संशोधन पारित गर्न एनएलजीले डाक्यो विशेष सभा

काठमाडौं । हकप्रद सेयर संशोधन गर्न एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक ७ गते आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा बिहान साढे १९ बजे सभा बोलाएको हो । कम्पनीको सभाले हकप्रद सेयर संशोधन प्रस्ताव पारित गर्नेछ । यसअघि कम्पनीले चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँको १० सेयर बराबर ६.६ सेयर (६६ प्रतिशत) ले हुन आउने ९६ करोड ३१ लाख २२ हजार रुपैयाँका प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२० कित्ता सेयर जारी गर्न प्रस्ताव गरेको थियो । तर, यस अवधिमा कम्पनीले ५.५० प्रतिशत बोनस सेयर जारी गरेपछि चुक्ता पुँजी १ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको थियो । बोनसवापतको सेयर घटाउँदै अब कम्पनीले ६२.५६ प्रतिशत अर्थात् ९६ करोड ३१ लाख २२ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँका दरले ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर जारी गर्नेछ । साथै नेपाल बीमा प्राधिकरणबाट हकप्रद सेयर घटाउने प्रस्तावलाई अनुमति दिइसकेको र साधारण सभाबाट पारित गर्ने गरी विशेष सभा बोलाएको हो ।

कुवेत र बहराइन दिनारको मूल्य बढ्यो, अधिकांश मुद्राको भाउ घट्यो

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.०२ रुपैयाँ र बिक्रीदर १४८.६८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.६६ रुपैयाँ र बिक्रीदर १७६.४४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.७७ रुपैयाँ र बिक्रीदर १५८.४८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.७४ रुपैयाँ र बिक्रीदर ९२.१५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.०२ रुपैयाँ र बिक्रीदर ९९.४६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.३६ रुपैयाँ र बिक्रीदर १०३.८२ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१३ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०५ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.७६ रुपैयाँ र बिक्रीदर ३१.९० रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.०४ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.०२ रुपैयाँ र बिक्रीदर १३.०८ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.८४ रुपैयाँ र बिक्रीदर १९.९३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२६ रुपैयाँ र बिक्रीदर १७.३४ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.२० रुपैयाँ र बिक्रीदर ४४०.१७ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.५७ रुपैयाँ र बिक्रीदर ३५७.१६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय

काठमाडौं । हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन हिजो घरघरमा जमरा राखी घटस्थापना गरियो। जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ । तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौँदेखि जमराबिना नै दसैँ मनाउने अनौठो परम्परालाई निरनतरता दिएका छन् । उनीहरूले अनिष्टको भयले जमरा नराखी दसैँ मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन रहिआएको भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने वर्षौैँदेखि जमराबिना नै दसैँ मनाउने गरेको पाइएको छ । माझी समुदायले घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय कृष्ण माझीले बताए । पितापुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको हो । करिब सयदेखि डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि ठूलै अनिष्ट हुन थालेपछि जमरा राख्न छाडिएको आफूलाई बाबुबाजेले बताउँदै आएको स्थानीय कृष्णले बताए । खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ । ‘जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको भन्ने सुनेको हो, जमारा नराख्ने परम्पराले आगमी दिनमा समेत निरन्तरता पाउछ,’ कृष्ण माझीले भने ‘जमरा नराखेपनि दसैँलाई राम्रै तरिकाले मनाउन थालिएको छ, जमरा घरमा राख्दा हुने अनिष्ट हटेर गएको भन्ने पुर्खाहरूले बताएका थिए ।’ स्थानीय देउकुमारी माझीले भने, ‘जमरा राख्दा अनिष्ट भएको, छोरीचेलीको मृत्यु भएर दसैँ रोकिएको भनेर जमरा राख्न छाडिएको हो रे, हामीहरूले पनि पुर्खाको कुरा मान्दै आएका छौँ, घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको बाबुबाजेहरूले बताउँदै आएको र हामीले त्यही सुन्दै आएको हो, दसैँको दिन कालिका मन्दिरमा छरेका जमरा मागेर टीकासँग लगाउन थालिएको छ, यहाँका १७ माझी परिवार कसैले पनि जमरा राख्दैनन् ।’ जमरा छर्न छाडेपछि कन्याहरूको मृत्यु हुन छाडेर अनिष्ट रोकिएको उनको भनाइ छ । दसैँको दिन टीका जमरा लगाए पनि बागलुङ बजारबाट मागेर अथवा नजिकैको कालिका मन्दिरमा रहेका जमरा ल्याएर लगाउने चलन छ । घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ । माझी समुदायले आफ्नो परम्पराका रूपमा वर्षौँदेखि यसलाई लिँदै आएका छन् । दसैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायले लिँदै आएका छन् । माझीहरूले दसैँमा जमरा लगाउन हुने भए पनि राख्न नहुने मान्यता स्थापित भइसकेको छ । पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदायले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन् ।रासस

दरबारमार्गमा देशकै ठूलो २५ तले होटल बन्दै, मीन बहादुर गुरुङ र उमेश श्रेष्ठले किने अन्नपूर्ण होटलको सेयर

काठमाडौं । दरबारमार्गमा रहेको अन्नपूर्ण होटलको बहुमत सेयर व्यवसायी मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले खरिद गरेपछि होटल नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने भएको छ । पाँच तारे अन्नपूर्ण होटललाई पुनर्निमाण गरेर नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्नका लागि सम्झौता पनि भएको छ । भाटभटेनीका सञ्चालक गुरुङ र लिटिल एन्जल्सका सञ्चालक श्रेष्ठ समूहले होटलको बहुमत सेयर खरिद गरेपछि यो होटललाई अन्नपूर्ण स्वायर बनाएर नयाँ ब्राण्डिङ गरिने भएको हो । अब अन्नपूर्णले भारतीय आईटीसी वेलकम भित्र्याउने भएको हो । बिहीबार अन्नपूर्ण स्क्वायर र भारतीय चेन होटल आईसीटी हस्पिटालिटीबीच सम्झौता भएको हो । अब पूरानो अन्नपूर्ण होटलको भवनहरू भत्काएर नयाँ भवन निर्माण गरिने बताइएको छ । होटलको सम्पूर्ण संरचना निर्माण गरेर २०८५ को वैशाखसम्म सञ्चालनमा ल्याइसक्ने तयारी रहेको बताइएको छ । नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने अन्नपूर्ण स्क्वायरलाई दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने उद्देश्य रहेको गुरुङले जानकारी दिए । उनका अनुसार होटलमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने अनुमान छ । उनले होटल २५ तल्लाको हुने पनि बताए । होटलमा एकै पटक ६ हजार मानिस अटाउने ठूला तीन हल, ४० वटा अपार्टमेन्ट, र ३३० वटा कोठा रहनेछन् ।