विकासन्युज

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करिब आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार प्रकाशित गरेको शिक्षा विभागको तथ्यांकअनुसार अगस्टमा विदेशबाट १५ हजार २७० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन दर्ता भएका छन् ।  यो सङ्ख्या सन् २०२३ को अगस्ट ९३० हजार ७०३० को आधा हो । अष्ट्रेलियामा अध्ययन गर्ने भिसाका लागि जुलाईमा, १८ हजार ६९७ विद्यार्थीहरूले आवेदन दिएका छन् । सन् २०२३ को सोही महिनामा ३६ हजार २०७ विदेशी विद्यार्थीहरूले आवेदन हालेका थिए । हाल अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाको आवेदन शुल्क ७१० अष्ट्रेलियाली डलरबाट बढाएर एक हजार ६०० अष्ट्रेलियाली डलर बनाएको छ । सरकारले अगस्टमा अष्ट्रेलियाको उच्च आप्रवासी प्रवेशलाई घटाउने बृहत् रणनीतिको रूपमा २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकहरूमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नालाई दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको थियो । नयाँ तथ्यांकअनुसार अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको दोस्रो ठूलो स्रोत भारतबाट भिसा आवेदनहरू जुलाई र अगस्ट २०२३ को १३ हजार ४७ बाट ६६.४ प्रतिशतले घटेर २०२४ को सोही अवधिमा चार हजार ३८३ मा झरेको छ । यसैगरी, फिलिपिन्सको आवेदन सङ्ख्या पाँच हजार १२६ बाट ८४९ र पाकिस्तानको चार हजार २३४ बाट घटेर ६१६ मा झरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा सबैभन्दा धेरै अष्ट्रेलिया जाने चिनियाँ विद्यार्थीको भिसा आवेदन सन् २०२३ र २०२४ को बीचमा १० प्रतिशत भन्दा कमले घटेको छ । अष्ट्रेलिया विश्वविद्यालयहरूको सर्वोच्च निकाय (युनिभर्सिटिज अस्ट्रेलिया) ले विश्वविद्यालयहरूलाई सरकारको प्रस्तावित विद्यार्थी सीमाले देशको अर्थव्यवस्थालाई अर्बौं डलर घाटा लाग्नेछ भने यसको परिणामस्वरूप उच्च शिक्षा क्षेत्रमा हजारौं रोजगारी गुम्नेछन् । – रासस

घर जाने टिकट नपाएर यात्रुको बिजोग (फोटोफिचर)

  काठमाडौं । नेपालीहरूको महान पर्व दशैं घर आँगनमै आइसकेकाे छ । बिहीबारदेखि घटस्थापना अर्थात् नवरात्र सुरु भइसकेकाे छ । दशैं सुरु भएसँगै नयाँ बसपार्कमा यात्रुहरूकाे भीड लागेकाे छ । जागिर, पढाइ, व्यवसाय लगायतका विभिन्न कामका लागि राजधानी पसेकाहरू आफ्नाे जन्मघर फर्किन थालेका हुन् । तर, घर जानका लागि बसपार्क पुगेकाहरूले टिकट नपाएकाे गुनासाे गरेका छन् । गत साता परेको अविरल वर्षाका कारण बिग्रिएका राजमार्गहरू खुलाएर नागरिकहरूलाई निर्वाध रूपमा घर जाने वातावरण तय गर्न सरकारले निर्देशन दिएकाे छ ।

भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन बनाउन १५ अर्ब रुपैयाँ अनुदान दिने

काठमाडौं । भारत सरकारले नेपालमा दुई पेट्रोलियम पाइपलाइन बनाउने भएकाे छ। भारत सरकारको अनुदानमा पाइपलाइन बन्ने निश्चित भएको हाे । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमारबीच बिहीबार सम्झाैता भएकाे छ । पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माणसम्बन्धी सम्झौताअनुसार ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र १८ हजार ९ सय किलोमिटर क्षमताको ग्रिनफिल्ड टर्मिनल बन्न लागेकाे हाे । साथै अमलेखगञ्जबाट चितवनको लोथरसम्मको पाइपलाइन परियोजनासमेत निर्माण हुने भएकाे छ । निगमका अनुसार परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहेकाे छ ।

बाढीबाट ललितपुरको वडा कार्यालयमा ८० लाखको क्षति

ललितपुर । गतसाता बागमती नदीमा आएको बाढीबाट ललितपुर महानगरपालिका–१ को वडा कार्यालयमा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ । ललितपुरको कुपण्डोलस्थित बागमती करिडोरमा रहेको वडा कार्यालयको तल्लो तलामा बाढी पस्दा स्वास्थ्य उपकरण, महत्वपूर्ण कागजातलगायत सामग्री नष्ट भएको वडाध्यक्ष निर्मल तण्डुकारले जानकारी दिए । उनले भने, ‘महानगरको जनस्वास्थ्य शाखाबाट वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरेका थियौँ । आधारभूत स्वास्थ्य केन्द्र तल्लो तलामा थियो । स्वास्थ्यका अत्याधुनिक उपकरणसहितका सामग्री डुबेका छन्, बाढीबाट करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।’ बाढीले अल्ट्रासाउण्ड, इसिजी तथा प्रयोगशालामा प्रयोग हुने महत्वपूर्ण उपकरण, छ वटा कम्युटर र केही औषधिलगायत सामग्रीमा क्षति भएको छ । वडाध्यक्षसहित जनप्रतिनिधि वडा कार्यालयको व्यवस्थापनमा जुटेका छन् । कार्यालयको माथिल्लो तलाबाट सेवा प्रवाह गरिरहेको वडाध्यक्ष तण्डुकारले जानकारी दिए । कार्यालयको माथिल्लो तलामा क्षति कम भएकाले महत्वपूर्ण सेवा प्रवाह नरोकिएको उनले बताए । बाढीले स्वास्थ्य केन्द्र पूर्णरुपमा क्षति भएपछि आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न नसकिएको केन्द्रका अहेव नारायण साहले बताए । ‘स्वास्थ्य केन्द्रका सबै उपकरण र औषधि काम नलाग्ने अवस्थामा छन्’, उनले भने ।

दशैं-तिहारमा बैंकरलाई १३ दिन बिदा, कुन-कुन दिन बस्न पाउँछन् घर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरूका लागि दशैं तथा तिहारको बिदाको व्यवस्था गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि दशैं तथा तिहारमा ११ दिन बिदा दिने व्यवस्था गरेको हो । राष्ट्र बैंकले गरेको व्यवस्थाका अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले दशैंमा ६ दिन बिदा पाउनेछन् । राष्ट्र बैंकले असोज महिनामा घटस्थापनादेखि दशैंसम्म ६ दिन बिदाको व्यवस्था गरेको हो । आज घटस्थापनाको दिनमा बैंकका कर्मचारीहरु बिदामा छन् । आज बैंक तथा वित्तीय संस्थाहरू बन्द छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले १७ गते घटस्थापनाका दिन पाएको बिदासहित दशैंमा ६ दिन बिदाको समय तोकिएको छ । असोज २४ गतेदेखि कर्मचारीले बिदा पाउनेछन् भने असोज २८ गतेसम्म सो बिदा हुनेछ । असोज २९ गतेदेखि भने बैंक तथा वित्तीय संस्थाहरू खुल्नेछन् । नेपाल राष्ट्र बैंकले तिहारमा पनि बिदाको व्यवस्था गरेको छ । तिहारमा कात्तिक १५ गतेदेखि १९ गतेसम्म कर्मचारीहरूले बिदा पाउनेछन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले तिहारमा पनि ५ दिन बिदा पाउनेछन् । १८ गते भाइटिका छ । त्यसको पछिल्लो दिन कात्तिक १९ गते राष्ट्र बैंकले बिदा दिएको छ । सो दिन सार्वजनिक बिदा नै हो । राष्ट्र बैंकले कर्मचारीहरूका लागि छठ पर्वको बिदाको पनि व्यवस्था गरेको छ । कात्तिक २२ गते छठ पर्व र २५ गते फाल्गुनन्द जयन्तीको बिदा छट्याइएको छ । २५ गतेको बिदा भने किरात धर्ममा आस्था राख्ने कर्मचारीले मात्रै बिदा पाउनेछन् । यस्तै, ३० गते पनि बिदा गरेको छ । कात्तिक ३० गते गुरु नानक जयन्ती छ । तर, सो दिन नेपाली शिख धर्माबलम्बी कर्मचारीहरूको लागि मात्रै बिदा हुने जानकारी राष्ट्र बैंकले गराएको छ । राष्ट्र बैंकले सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानविशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरूको हकमा सम्बन्धित कर्मचारीहरूले स्वयम घोषणा गरी सम्बन्धित विभाग, कार्यालय वा शाखामा अग्रिम जानकारी गराउनुपर्ने उल्लेख गरेको छ ।

स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रिपरिषदबाट पास गर्ने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सांसदहरुले अर्थ समितिबाट सार्वजनिक खरिद ऐन संशोधन पास गरे लगत्तै स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रिपरिषदबाट पास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीवारबाट काठमाडौंमा शुरु भएको तेस्रो हिमालयन अन्तर्राष्ट्रिय एक्स्पो कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय धेरै विधेयक समितिमा अल्झेर बसेकाले सरकारले काम गर्न नसकेको बताए । उनले अर्थ समितिले सार्वजनिक खरिद ऐन तत्काल संशोधन पास गरेर सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोग कार्यविधिलाई आफूले अर्को दिन मन्त्रीपरिषद्बाट पास गर्न चाहेको बता‍‍ए । मन्त्री भण्डारीले संघीय सरकार, संघीय संसददेखि स्थानीय तहसम्म सबै तहका सरकार, निजामती क्षेत्र, सेना, प्रहरी, विद्यालयलगायतका क्षेत्रमा स्वदेशी वस्तु उपभोग अभियान सुरु गर्न चाहेकाे बताए । उनले सरकारले चाहे पनि यो अभियान सुरु गर्नुभन्दा सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न आवश्यक रहेकोमा जाेड दिए । उनले नेपाली वस्तु विदेशमा निर्यातको लागि स्वीकृत दिन विद्युतीय व्यापार ऐनकाे आवश्यकता रहेको औंल्याए । उनले उक्त ऐन पनि उद्योग वाणिज्य समितिमा अड्किएर बसेको बताए । मन्त्री भण्डारीले सांसदहरूको संशोधन प्रस्ताव स्वीकार गर्छु भनेर समितिमा पटक–पटकभन्दा पनि समितिले विधेयक अगाडि बढाउन नसकेको पनि बताए ।

वुलिङ ईभीले ल्यायो दशैंको अवसरमा गाडी एक्सचेञ्ज योजना, नयाँ किन्दा २९.९९ लाख मूल्य

काठमाडौं । वुलिङ बिङ्गाे ईभीले दशैंको अवसरमा नयाँ योजना सार्वजनिक गरेकाे छ । कम्पनीले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूका लागि गाडी एक्सचेन्ज योजना ल्याएको हाे । यो योजना अक्टोबर ६ सम्म लागू हुनेछ । जुनसुकै कम्पनीकाे गाडीमा पनि एक्सचेन्जकाे सुविधा भएकाे कम्पनीले जनाएकाे छ । वुलिङ बिङ्गाे इभी २९.९९ लाख रुपैयाँमा उपलब्ध छ । भाग्यशाली ग्राहकले फाइभ स्टार होटलमा डिनर गर्ने माैका पनि पाउने कम्पनीले जनाएकाे छ । थप जानकारीका लागि नक्सालमा रहेकाे वुलिङ बिङ्गाे शाेरुमा आउन कम्पनीले आग्रह गरेकाे छ । वुलिङ बिङ्गाे ईभी अत्याधुनिक प्रविधिले सुसज्जित छ । पारामाउन्ट माेटर्स वुलिङ बिङ्गाेको नेपालका लागि आधिकारिक बिक्रेता र आयातकर्ता हो ।

गत वर्ष महँगो हुँदा बिक्री नभएपछि च्याङ्ग्राको मूल्य घटाइयो

म्याग्दी । दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन् । गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका व्यापारी टसी छेवाङ गुरुङले यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए ।  ‘ठाउँ अनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौ,’ उनले भने ‘गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा ५५ हजार रुपैयाँसम्म परेको च्याङग्राको मूल्य यसपाली ४५ हजार रुपैयाँ भन्दा कम हुन्छ ।’ गत वर्ष बजारमा ल्याएको च्याङग्रा महंगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए । छेवाङ सहित डोल्पाका चार जना व्यापारीले मुस्ताङ हुँदै पाँच दिन हिडेर दुई सय ५०  च्याङग्रा बिक्री गर्न पोखरा लैजानका लागि बुधबार म्याग्दीको घोडेपानी पुगेको छ । मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्याङग्राहरु दसैमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन् । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत ठाउँबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारीहरू मुस्ताङ पुगेर फर्किन थालेका हुन् । जडिवुडीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दशैं तिहारमा हिमाली च्याङग्राको मासुको खपत बढी हुुने गर्छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणी अर्यालका अनुसार बुधबार सम्म सात हजार च्याङग्रा जोमसोम देखि म्याग्दीतर्फ झरेका छन् । यस वर्ष दशैंका लागि मुस्ताङबाट दश हजार च्याङग्रा बिक्री हुने अनुमान गरिएको छ । मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुई देखि तीन दिन हिँडाएर ल्याएका च्याङग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ । तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका कृषक डिण्डुप गुरुङले बताए । विसं २०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक छ ।  रासस