नेपालमा एकैदिन बीवाईडीका १३२ युनिट ईभी डेलिभरी
काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारीसाधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी गरेको छ । नेपालीहरूको महान चाड दशैं शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले सो ईभी डेलिभरी गरेको हो । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभरि रहेका डिलर नेटवर्कमार्फत सो उपलब्धि हासिल गर्न सफल भएको हो । अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रिक भेइकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बीवाईडीले आफूलाई ईभी बजारको नेतृत्वकर्ता कायम गरेको छ । साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले सो अवसरमा कृतज्ञता कायम गर्दै भने, ‘एकै दिन, त्यो पनि घटस्थापनाको उपलक्ष्यमा १३२ ईभी डेलिभरी गर्न पाउनु हाम्रो लागि गर्वको दिन हो । यसले बीवाईडीका इलेक्ट्रिक गाडीप्रति नेपाली ग्राहकको बढ्दो विश्वासलाई प्रतिविम्बित गर्दछ भने बेस्ट इन क्लास सर्भिस उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई समेत दर्शाउँछ । यो उपलब्धि नेपालीहरुको अझै सफा र दिगो मोबिलिटी समाधानप्रतिको बढ्दो जागरुकता पनि हो ।’ देशभरि बीवाईडीको बजार उपस्थिति तीव्र रूपमा बढिरहेको समयमा यो डेलिभरी गरिएको छ । पछिल्लो समयमा वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा शोरुम विस्तार गरेर बीवाईडी नेपालभर विस्तार भइरहेको छ । वातावरणमैत्री अभियान र साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) जस्ता नवीन सीएसआर पहलमार्फत कम्पनीले इलेक्ट्रिक सवारीलाई लगातार प्रवर्द्धन गरिरहेको छ ।
होण्डाको चाडपर्व योजनाअन्तर्गत ४ जनाले जिते नगद १/१ लाख
काठमाडौं। होण्डा नेपालको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ अन्तर्गत ४ जना ग्राहकले जनही एक–एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्। स्क्र्याच कार्डमार्फत छनोट गरिएको विजेतामा एकान्तकुनाको तिरुमाला मोटर्सबाट निश्चल घर्ती, भरतपुरको युनाइटेड मोटर्स प्रालिबाट प्रतिमा भन्डारी, वालिङको आस्था ट्रेडर्सका सन्तोष सुवेदी र महेन्द्रनगरको केडी अटोमोबाइल्सकी ग्राहक शान्ति साउद छन्। दशैं, तिहार र छठ पर्वको अवसर पारेर कम्पनीले अफर योजना ल्याएको हो । यसलाई ग्राहकहरूले मन पराएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउने छन् । होण्डाका दुईपांग्रे सवारी खरिदमा इजी फाइनान्स पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
आइएमई पेको ‘डिजिटल दशैं-तिहार’ योजना, मेगा बम्पर उपहारमा पल्सर बाइक
काठमाडौं । आईएमई पेले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आइएमई पे डिजिटल दशैं- तिहार-२०८१’ योजना सार्वजनिक गरेको छ । १७ असोजदेखि २२ कात्तिकसम्म लागु हुने यस योजनाअन्तर्गत सेवाग्राहीहरूले आईएमई पेमार्फत गर्ने करोबारमा १ मेगा बम्पर उपहार, ५ बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहारहरू जित्न सक्नेछन् । मेगा बम्परमा पल्सरको एन एस २०० बाइक, बम्परमा आइफोन १६, फ्रिज, वासिङ मेसिन, टीभी, वान प्लस प्याड, साप्ताहिकमा सीएमएफको वाच प्रो २ र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कारहरू रहेका छन् । साथै, सेवाग्राहीहरूले आफ्नो आईएमई पे एपमा कुनै पनि बैंकको खाता लिंक गरेको खण्डमा यी पुरस्कारहरू जित्ने डबल मौका पाउनेछन् । डिजिटल भुक्तानी सुविधालाई ग्राहक समक्ष बढावा दिने योजनालाई थप परिस्कृत गर्दै आईएमई पे मार्फत गरिने विभिन्न भुक्तानीमा पनि पुरस्कारहरू प्रदान गरिनेछ । विजेता घोषणा आईएमई पेको सामाजिक सञ्जाल मार्फत हुनेछ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकको १ करोड ५० लाख सहयोग
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभरि आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष रामशरण पुडासैनी, सञ्चालक दीर्घराज मैनाली र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले लगायत उपस्थित थिए । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप कोषमा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेकामो कोषलाई धन्यवाद दिए । यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पुर्याउन कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो । योभन्दा अघि पनि कोषले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको छ ।
एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
काठमाडौं । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् । यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्य र ती कार्यको प्रभावको सम्मान हो । साथै, यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी लगायतका क्षेत्रहरूमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरूका लागि प्रदान गरिएको एनसेलले जनाएकाे छ । ‘यो हाम्रो टिम एनसेलले गरेको सामुहिक प्रयासको नतिजा हो र हामीले गरेका सामाजिक पहलहरूले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुसी छौं । एनसेल फाउन्डेसनको सुरुवातसँगै हामी सामाजिक पहलहरू मार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउन र दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौं,’ खड्काले भनिन् । एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशै भरी १०० भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको छ । रिङरोडको कोटेश्वर–कलंकी १०.२ किलोमिटर सडक खण्डको दुवैतिर गरिएको ल्याण्डस्केपिङ र हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयहरूमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरि सञ्चालन गरिएको एटीन फर एटीन सामाजिक पहल एनसेलले कार्यान्वयन गरेको केही प्रमुख परियोजनाहरू हुन् । आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुवात गरेको घोषणा गरेको छ । यसअन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको सामुदाय स्तरमा कुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ । एनसेलले विभिन्न सामाजिक पहलहरुमा रु २ अर्ब भन्दा बढिको योगदान गरिसकेको छ । सामाजिक परियोजनामार्फत सामाजिक-आर्थिक विकासमा योगदान पु¥याएकोले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भइसकेको छ । वुमन्स ट्याब्लोइड अवार्डले मुख्य रूपमा वुमन लिडर, चिफ एक्जिक्युटिभ अफिसरहरु, उद्यमीहरू, र महिलाले सञ्चालन गरेका व्यवसायहरूको उल्लेखनीय उपलब्धिहरुको सम्मान गर्दछ । वुमन ट्याब्लोइड एउटा ग्लोबल बिजनेस म्यागेजिन हो जसले विभिन्न उद्योगहरूमा महिलाहरूले गरेको उपलब्धि, चुनौती र योगदानलाई हाइलाइट गर्दछ ।
प्रधानमन्त्री उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको जनाएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त रकमको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोषमा बाढीपहिरोपीडितलाई आर्थिक सहयोग उपलब्ध गराएकामा धन्यवाद दिए ।
बाढीपहिरो प्रभावितलाई नेपाल एसबिआई बैंकको २५ लाख सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड (एनएसबीएल) ले देशभर हालै भएको भारी र लगातार वर्षाका कारण पहिरो र बाढीबाट प्रभावितलाई राहत स्वरूप प्रधानमन्त्री विपद् राहत कोषमा २५ लाख रूपैयाँ योगदान गरेको छ। एक कार्यक्रमकाबीच कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा उप प्रमुख कार्यकारी अधिकृत तथा मुख्य वित्तीय अधिकृत राजेश कुमार पाण्डा, प्रमुख मुख्य परिचालन अधिकृत यदवेन्द्रकान्त एवं विकास आनन्द, मुख्य व्यवसाय विकास अधिकृत रितेश अर्याल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू उपस्थित रहेको थियो ।
मातृभूमि लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्मा र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनीहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौंमार्फत कार्तिक १ गतेदेखि उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।