दशैंमा पनि वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैंमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् । ‘यसपटक मनसुन बाहिरिने समय र दशैं एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भनिन्, “तसर्थ यो दशैंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’
३७ अंकले बढ्यो सेयर बजार, चन्द्रागिरि हिल्सको उच्च कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार परिसूचक (नेप्से) बढेको छ । आज ३७.१३ अंकले बजार बढेर २ हजार ६९०.७२ बिन्दुमा पुगेको छ । आज १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर ७३ हजार ११९ पटक कारोबार भएको छ । ७ अर्ब ९ करोड ५९ लाख ३० हजार बढी रुपैयाँको कारोबार भएकाे छ । यसैगरी, एक सय ७६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । त्यसैगरी, ६६ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । आज श्री स्टार हाइड्रोपावर, डोल्टी पावर कम्पनी, एनआईसी एशिया फ्लेक्सी क्यापिटल फण्ड, जोशी हाइड्रो पावर, पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाएका छन् भने ईस्ट्रर्न हाइड्रो पावर, कुमारी सबल योजना, विन नेपाल लघुवित्त, जनउथान सामुदायिक लघुवित्त र पोखरा फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् । चन्द्रागिरि हिल्सको २६ करोड २३ लाख १७ हजार रुपैयाँ बढीको कारोबार भएको छ । त्यसैगरी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २४ करोड ११ लाख ९८ हजार, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ७८ लाख ३२ हजार, नेपाल फाइनान्सको २३ करोड ५१ लाख २४ हजार र गुडविल फाइनान्सको २३ कराड ८ लाख ७० हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज होटल समूहको उपसूचक सबैभन्दा धेरै ३.५० प्रतिशतल वृद्धि हुँदा म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहको उपसूचक १.२९ प्रतिशतले गिरावट आएको छ ।
सेवाग्राहीलाई स्त्रीरोग अस्पतालले भन्यो – दशैंतिहार बिदामा पनि उपचार हुन्छ
काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि बिरामीहरुको उपचार सेवा सुचारु हुने जनाएको छ । सोमबार अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि बिरामीहरूले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पारेका हुन् । दशैं, तिहारलगायतका चाडपर्वको बेला सार्वजनिक बिदा अस्पतालहरूमा पनि हुने गर्दछ । ती बिदाका दिनमा पनि आफूहरूले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताए । सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै बिरामीहरूको उपचार हुने भएकाले त्यस्ता बिरामीहरूले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने जानकारी दिए । अस्पतालले दशैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक बिदा दिर्ने गर्दछ । तर ती सार्वजनिक बिदाको दिनमा ओपीडी सेवा बन्द भएपनि सबै बिरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरू परिचालित हुने निर्देशक अधिकारीले बताए । ‘डयुटीमा कम्तिमा ६ जना एमडी गरेका डाक्टरहरू र ६ जना एमडी गरिसकेका डाक्टरहरु १२ जना डाक्टरहरूको टिम एभ्री डे २४ घण्टा नै बसिरहेका हुन्छन्’, उनले भने । दशैंको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रीको दिन अस्पतालले सार्वजनिक बिदा दिने गरेको छ । त्यसबाहेका अन्य सार्वजनिक बिदाहरुमा आधा दिन अस्पतालले बिरामीहरूका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ । निर्देशक डा. अधिकारीले बिदाको दिनमा पनि करिव १२ जना चिकित्सकहरूको समूह २४ घण्टानै उपचारका लागि परिचालन हुने गरेको बताए । ‘अर्को चाहीँ इमर्जेन्सीमा जुन विरामीले चाँडो सेवा पाउनुपर्ने हो, ओपीडीका बिरोमी जम्मा भईदिने बित्तिकै उक्त बिरामीले वा इमर्जेन्सीका बिरामीले सेवा ढिलो पाउन सक्छ’, उनले भने । अस्पतालमा हाल गर्भवती महिलाहरुको चाप बढेको छ । असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिब २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा. अधिकारीले बताए ।
प्रधानमन्त्री उद्धार कोषमा प्रभु समूहको एक करोड ७५ लाख सहयोग
काठमाडौं । प्रभु समूह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक कराेड ७५ लाख रुपैयाँ रकमकाे चेक हस्तान्तरण गरेका हुन् । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुन:स्थापना गराउन र बिग्रिएका भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास समूहले लिएको छ । प्रभु समूहअन्तर्गत प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्साेरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्साेरेन्स लिमिटेड रहेका छन् । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरूपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी रहेको कोषले जनाको छ ।
करको लक्ष्य पूरा नभए राजस्वका सबै कर्मचारी असुरक्षित हुनेछन् : अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले लिएको राजस्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यालय प्रमुखहरू कोही पनि सुरक्षित नहुने उनको जिकिर थियो । अर्थमन्त्री पौडेलले राजस्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरूलाई निर्देशन दिए । लक्ष्य पूरा गर्नका लागि करदाताहरूसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने उल्लेख गरे । उनले त्रास, आतंक, भय सिर्जना गर्ने कामबाट कर प्रशासन सम्पूर्ण रूपमा अलग हुनुपर्नेमा जाेड दिए । उनले अधिकांश कर कार्यालयहरूमा सेवाग्राहीहरूलाई गर्ने व्यवहारमा सुधार भएको र अझै केहीमा हुन नसकेको भन्दै करदातामैत्री व्यवहार गर्न निर्देशन दिए । ‘विभिन्न कर कार्यालयहरूमा सेवाग्राहीहरूलाई कस्तो व्यवहार हुन्छ जानकारी दिनुस् भनेको छु । धेरै ठाउँमा सुधार भएका छन्, मैत्रीपूर्ण व्यवहार गर्नुभएको छ, मिठो बोल्ने गर्नुभएको छ’, उनले भने । उपप्रधानमन्त्री पौडेलले आफूले गर्ने कामलाई लगनशील भएर गर्नुपर्नेमा जोडसमेत दिए ।
लेकबेंसी नगरपालिकामा आश्रित जनसङ्ख्याभन्दा कमाउनेको सङ्ख्या बढी
सुर्खेत । मुलुकको विद्यमान बेरोजगारी समस्या तथा परिवारमा कमाउनेभन्दा आश्रित जनसङ्ख्या धेरै रहेका कारण अपेक्षित रुपमा गरिबी निवारणको लक्ष्य हासिल हुन नसकिरहेको भन्ने तर्कलाई सुर्खेतको लेकबेंसी नगरपालिकाले गलत सावित गरेको छ । नगरपालिकामा आश्रित जनसङ्ख्या भन्दा कमाउनेको सङ्ख्या बढी रहेको पाइएको छ । विसं २०७८ को जनगणनाअनुसार लेकबेंसी नगरपालिकामा सक्रिय उमेर समूह १५ देखि ५९ उमेर समूहको जनसङ्ख्या एक लाख २२ हजार तीन सय ४९ रहेको छ । यो कूल जनसङ्ख्याको ६१।८ प्रतिशत हो । यो तथ्याङ्कले पालिने (आश्रित) भन्दा बढी कमाउने जनसङ्ख्या भएको देखाउँछ । नगरपालिकाभर आश्रित ज्येष्ठ नागरिकको जनसङ्ख्याको अनुपात ९ दशमलव ९ प्रतिशत छ । नगरपालिकाको जनसाङ्ख्यिक प्रतिवेदन २०८१ अनुसार सय जना काम गर्ने उमेरका व्यक्तिसँग १० जना ज्येष्ठ नागरिककको जनसङ्ख्याको जिम्मेवारी रहेको देखिन्छ । लेकबेँसीमा बाल आश्रित अनुपात ४४।९५ प्रतिशत रहेको छ । तथ्याङ्कअनुसार बालआश्रित र ज्येष्ठ आश्रित गरी ३८।२ प्रतिशत जनसङ्ख्या आश्रित छ तर कमाउने जनसङ्ख्या ६१।८ प्रतिशत रहेको छ । नगर प्रमुख उमेशकुमार पौडेल आश्रित जनसङ्ख्याको तुलनामा सक्रिय जनसङ्ख्या वृद्धि हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन् । सक्रिय अर्थात युवाहरुको जनसङ्ख्या बढेको तथ्याङ्क सार्वजनिक भएपछि नगरपालिकाले आगामी वार्षिक नीति, कार्यक्रम तथा बजेटमा युवा स्वरोजगार कार्यक्रम समावेश गर्ने नगरपालिकाको लक्ष्य रहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरको पूर्वी भेगसँगै जोडिएको यो नगरपालिकामा कूल ३१ हजार सात सय १० जनसङ्ख्या रहेको लेकबेंसीमा दलित र जनजाति समुदायको बाहुल्यता रहेको छ । यो व्यावसायिक कृषि र पशुपालनमा राम्रो सम्भावना बोकेको क्षेत्र हो । ‘युवाका लागि उद्यमशील कृषि तथा पशुपालन आवश्यक छ, आयआर्जनमा जोड्न समयानुकूल आधुनिक कृषि प्रणालीमा आधारित तालिमसँगै उद्यमी बन्न चाहनेलाई नगरपालिकाले प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने सोचमा छौं,’ नगर प्रमुख पौडेलले भने । जनसाङ्ख्यिक प्रतिवेदनले नीति, कार्यक्रम तथा बजेट निर्माणमा सघाउने अपेक्षा राखिएको छ । नगर उपप्रमुख बिमला खड्लुक प्रतिवेदनबाट हरेक वडाका सूचकको आधारमा योजना निर्माण गर्न सहज हुने बताउँछिन् । उनी भन्छिन्, ‘यसअघि हामीले अन्दाजका भरमा योजना निर्माण गरेका थियाैं, यसबाट खासै प्रभावकारिता देखिएको थिएन । आधिकारिक तथ्याङ्क नहुँदा लक्षित वर्ग छुट्नुपर्ने अवस्था थियो, अब यसको अन्त्य हुनेछ ।’ नगरपालिकाको विकास र समृद्धिको लागि सबैभन्दा उपयुक्त जनसाङ्ख्यिक संरचना अहिले प्राप्त भएको विज्ञहरू बताउँछन् । जनगणना २०७८ ले समग्र लेकबेँसी नगरपालिकाको जनसाङ्ख्यिक संरचनामा आश्रितभन्दा कमाउने धेरै रहेको बताउँछन्, राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने । ‘नगरपालिकाको जनसङ्ख्याको बहुआयामिक पक्षहरु समेटिएको प्रतिवेदनबाट क्षेत्रगत नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न विशेष सहयोग पुग्नेछ, उनले भने, ‘सबैभन्दा तल्लो प्रशासनिक एकाइ अर्थात वडा तहसम्मको विस्तृत विवरण समावेश भएकाले नगरपालिकाले टोल बस्तीसम्म लक्षित कार्यक्रम लैजान सक्नेछ ।’ जनसाङ्ख्यिक प्रतिवेदनबाट स्थानीय तहको शोध, अध्ययन र अनुसन्धान गर्नेहरूका लागि एकीकृत जनसाङ्ख्यिक तथ्याङ्क उपलब्ध हुने निर्देशक लामिछानेले बताए । ‘नमूनाका रुपमा छनोट गरिएका लेकबेंसी नगरपालिका र सिम्ता गाउँपालिका आधारमा अन्य पालिकाले पनि तथ्याङ्क प्रणाली लागू गरुन् भन्ने उद्देश्यले जनसाङ्ख्यिक प्रतिवेदन तयार पारिएको हो,’ उनले भने । जनगणनाको तथ्याङ्कका आधारमा कर्णालीका दुई स्थानीय तह लेकबेंसी नगरपालिका र सिम्ता गाउँपालिका छनोट गरी राष्ट्रिय तथ्याङ्क कार्यालयले बेलायत सरकारद्वारा सञ्चालित विकासका लागि तथ्याङ्क कार्यक्रमको प्राविधिक सहयोगमा जनसाङ्ख्यिक प्रतिवेदन २०८१ तयार पारेको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले लुम्बिनी, बागमती, कोशी र मधेस प्रदेशका दुई÷दुईवटा स्थानीय तहमा पनि नमूनाका रुपमा जनसाङ्ख्यिक प्रतिवेदन तयार गरिरहेको छ । महिला परिवारमूलीको सङ्ख्या बढ्यो नगरपालिकामा घरमूलीको रुपमा महिलाको सङ्ख्या बढेको देखिएको छ । नगरपालिकाको कूल सात हजार ४४१ परिवारमध्ये दुई हजार ५९५ अर्थात् ३४ दशमलव ९ प्रतिशत परिवारमा महिला परिवारमूली रहेका छन् । तथ्याङ्कअनुसार नगरका १० वडामध्ये वडा नं ३ मा सबैभन्दा बढी ५१ प्रतिशत परिवारमा महिला नै घरको मुख्य सदस्य अर्थात घरमूली भएर घरव्यवहार सम्हालिरहेका छन् । नगर उपप्रमुख खड्लुक भन्छन्, ‘भौगोलिक रूपमा सुगम र शिक्षाको सहज पहुँच भएका सहरी क्षेत्रमा महिला घरमुली बढिरहेको पाइएको छ, गरिबी, अशिक्षा, सामाजिक चेतनाको कमीसँगै भौगोलिक कारणले अझै पनि महिलाहरु घरमुलीको रुपमा देखिन चाहनुहुन्न ।’ कतिपय अवस्थामा श्रीमान् घरमा नभए पनि श्रीमानकै नाम टिपाउने प्रचलन छ । यसो हुँदा एकल महिला मात्रै घरमुली देखिँदा तथ्याङ्कमा कम देखिएको हो । वडा नं ३ का अध्यक्ष लीलाराम अधिकारी बेरोजगारीका कारण पुरुष स्वदेश तथा विदेशमा काम गर्न गएपछि घरको जिम्मेवारी महिलाको काँधमा आएको बताउँछन् । कतिपय अवस्थामा महिलाहरु सशक्त हुँदै गएकाले पनि घरको जिम्मेवारी सम्हालेको उनको भनाइ छ । ‘केही स्थानमा पुरुषहरु रोजगारीका लागि बाहिर भएकाले महिलाले नै घरको जिम्मेवारी सम्हालेका छन्,’ उनले भने, ‘अहिले महिलामा जागरण पनि आएको छ, उनीहरू पनि घरको कामको निर्णय आफै लिनसक्ने भएका छन् ।’ नगरको तथ्याङ्कअनुसार वडा नं ३ मा बसोबास गर्ने परिवारको सङ्ख्या पाँच सय ८८ छ । यसमध्ये एक सय ९० परिवार अनुपस्थित स्वदेश र एक सय ९७ परिवार विदेश गएको जनसङ्ख्या रहेको तथ्याङ्कमा देखिन्छ । तथ्याङ्कअनुसार नगरपालिकामा कम्तीमा एक जना विदेश अनुपस्थित रहेको जनसङ्ख्या २४ दशमलव ४ प्रतिशत छ । सुर्खेत जिल्लाभर यो जनसङ्ख्या कूल जनसङ्ख्याको २१ दशमलव २ प्रतिशत रहेको जनसाङ्ख्यिक प्रतिवेदनमा उल्लेख छ । यस्तै, नगरपालिका–५ मा सबैभन्दा कम १२ दशमलव ३ प्रतिशत परिवारमा महिलामूलि रहेका छन् । । वडा नं ५ का अध्यक्ष चक्रबहादुर शाहीले वडाका महिलामा जनचेतनाको कमी भएका कारण पनि पुरुष नै घरमूली हुने गरेको बताउँछन् । उनका अनुसार महिलाले पुरुष घरमा नभए पनि घरमूलीका रुपमा पुरुषकै नाम टिपाउने र उनीहरुलाई नै अगाडि सार्ने भएका कारण महिला पछाडि परेका हुन् । ‘वडामा महिला आफै निर्णय लिनका लागि अगाडि सर्दैनन्,’ उनी भन्छन्, ‘आर्थिक, सामाजिक, धार्मिक र परम्परागत रूपले पनि महिलाले पुरुषलाई नै मूलीका रूमा मान्ने गर्छन् ।’ २५ प्रतिशत बालविवाह कानुनतः बालविवाह गैरकानुनी हो । उमेर नपुगी अर्थात २० वर्ष नपुगी हुने विवाह कानूनतः स्वतः रद्द हुन्छ । तर, सुर्खेतको लेकबँेसी नगरपालिकामा उमेर नपुग्दै हुने विवाह उच्च रहेको पाइएको छ । नगरपालिकाको जनसाङ्ख्यिक प्रतिवेदन २०८१ मा उमेर नपुगी विवाह गर्नेको सङ्ख्या २५ दशमलव ३ प्रतिशत रहेको देखाएको हो । यसमा पुरुषभन्दा उमेर नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या तेब्बरले बढी रहेको तथ्याङ्कले देखाउँछ ।
फाइनान्सबाट ऋण लिने घटे, बैंकबाट किन कर्जा लिन चाहँदैनन् नेपाली ?
काठमाडौं । आजका दिनसम्म बैंकिङ क्षेत्रमा सर्वसाधारणको ६६ खर्ब ६ अर्ब निक्षेप छ । त्यो निक्षेपबाट बैंकले ५२ खर्ब ५७ अर्ब ऋण प्रवाह गरेका छन् । बैंकिङ क्षेत्रमा रहेको ६६ खर्ब निक्षेप ५ करोड ४३ लाख ५६ हजार खातावालहरूको हो । बैंकिङ क्षेत्रबाट प्रवाह भएको साढे ५२ खर्ब ऋण १८ लाख ९९ हजार ऋणीले प्रयोग गरिरहेका छन् । बर्सेनि बैंकका निक्षेपकर्ता ठूलो संख्यामा वृद्धि भइरहेको छ भने ऋणीको संख्यामा भने खासै वृद्धि हुन सकेको छैन । बैंकिङ व्यवसायको मुख्य खम्बा भनेको निक्षेप र कर्जा हो । बैंकहरूले निक्षेपकर्ताबाट निक्षेप ल्याएर ऋणीलाई कर्जा प्रवाह गर्छन् । निश्चित ब्याजदरमा निक्षेप संकलन गरेर बैंकले लागत र अन्य सेवा शुल्क थप गरेर ब्याजदर तोकेर कर्जा प्रवाह गर्छन् । बैंकिङ क्षेत्रमा पछिल्लो समय पर्याप्त निक्षेप भएपनि कर्जाको माग नआएको बैंकरहरू गुनासो गर्छन् । कर्जाको माग नआएपछि बैंकरहरू नयाँ ऋणीको खोजीमा सक्रिय रूपमा लागिरहेका छन् । तर, पनि कर्जाको माग भनेजस्तो नआएको उनीहरूको भनाइ छ । बैंकरहरूका लागि निक्षेपकर्ता खोज्न जति सहज छ, त्यति सहज छैन कर्जाका ऋणी खोज्न । नयाँ ऋणी खोज्न अर्थात् कर्जा लिने व्यक्ति तथा संस्था खोज्न बैंकका लागि फलामको चिउरा चपाउनुसरह हो । अथक मिहिनेत वा ठूलो संघर्षले ऋण लिने ग्राहक खोज्नु परेको बैंकरहरू बताउँछन् । जसलाई निक्षेपकर्ताको संख्या साढे ५ करोड पुग्दा कर्जाका ऋणीहरू १९ लाख रहेको तथ्याङ्कले पनि पुष्टि गर्छ । बैंकिङ क्षेत्रमा कर्जाका १९ लाख ऋणीले नै बैंकहरूमा रहेको खर्बाैं रुपैयाँलाई परिचालन गरेर व्यापार, व्यवसाय र उद्योगधन्दा चलाइहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार बैंकिङ क्षेत्रमा १८ लाख ९९ हजार ४८३ ऋणी छन् । जसमध्ये वाणिज्य बैंकहरूका ऋणीको संख्या १५ लाख ७४ हजार ४१४, विकास बैंकहरूमा २ लाख ८१ हजार ८१० र फाइनान्स कम्पनीमा ४३ हजार २५९ ऋणी रहेका छन् । १० वर्षमा ऋणीहरूको संख्या १० वर्षअघि अर्थात् वि.सं २०७० असारमा बैंकिङ क्षेत्रमा ८ लाख ४९ हजार ९०८ ऋणी थिए । जसमध्ये वाणिज्य बैंकमा ५ लाख ९५ हजार ८९७, विकास बैंकमा १ लाख ९६ हजार ४५४ र फाइनान्स कम्पनीमा ५७ हजार ५५६ ऋणी थिए । १० वर्षको अवधिमा १० लाख ४३ हजार ३६२ ऋणी थपिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । गत असारसम्म बैंकिङ क्षेत्रमा १८ लाख ९३ हजार २७० जना ऋणीमध्ये वाणिज्य बैंकमा १५ लाख ६७ हजार ५०८, विकास बैंकमा २ लाख ८२ हजार ६२७ र फाइनान्स कम्पनीमा ४३ हजार १३५ रहेका छन् । यसअवधिमा वाणिज्य बैंकमा ९ लाख ७१ हजार ६११ र विकास बैंकले ८६ हजार १७३ ऋणी थपिएका छन् भने फाइनान्स कम्पनीमा भने १४ हजार ४२१ ऋणी घटेका छन् । ऋणीहरूको १० वर्षको तथ्याङ्क केलाउने हो भने वर्षमा जम्मा एक लाख जना ऋणी जन्मिने गरेका छन् । तर, जसरी निक्षेपकर्ताको संख्यामा वृद्धि भएको छ, सोहीअनुसार ऋणीको संख्यामा भने वृद्धि हुन सकेको भने देखिँदैन । अर्थतन्त्रका लागि ऋणीको संख्या बढ्नु भनेको व्यवसायको दायरा वृद्धि हुनु र देशको अर्थतन्त्र बढ्नु हो । तर, नयाँ ऋणी वा उद्यमी व्यवसायी नथपिँदा भने यसको प्रत्यक्ष असर देशकै अर्थतन्त्रलाई पर्ने जानकारहरू बताउँछन् । नेपाल वित्तीय संस्था संघका अध्यक्ष तथा आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त कर्जाका फाइल अध्ययन गर्न समय लाग्ने भएकाले ऋणीहरूको संख्या कम हुने गरेको बताउँछन् । साथै वित्तीय संस्था मर्जरका कारण पोर्टफोलियो पनि बाहिरिएको उनको भनाइ छ । ‘१० वर्षअघि बैंकहरूको शाखा विस्तार भए, निक्षेपकर्ताको संख्या बढ्यो । तर, कर्जा विस्तार गर्दा भने बैंकहरू आक्रामक रूपमा जाँदैनन्, कर्जा दिनु भनेको पैसा बाँड्नु होइन, कर्जाको फाइल आएपछि अध्ययन गर्न समय लाग्छ,’ उनले भने, ‘कर्जा दिने प्रक्रिया पनि लामो हुन्छ, ठूला कर्जा दिँदा एग्रिगेट गर्न एक महिनासम्म समय लाग्छ ।’ ‘मान्छेले त्यत्तिकै कर्जा लिँदैनन्, कर्जा लिँदा कुन ठाउँमा छ, ठाउँ अनुसारको व्यावसायिक अवसर छ कि छैन, लगानी गर्ने वातावरण बनेको छ कि छैन भनेर हेर्ने गरिन्छ,’ उनले थपे । विगतमा धेरै बैंक वित्तीय संस्था हुँदा क्षेत्रीयस्तरका विकास बैंकहरू र विकास बैंकमा मर्ज भएर संख्या यथावत रहन पुग्यो । तर, फाइनान्स कम्पनीहरू एकआपसमा मर्ज भएनन्, एक/दुइटा बाहेक अधिकांश फाइनान्स कम्पनी बैंकसँग मर्ज भएका कारण कर्जाका ऋणीको संख्या पनि घटेको हो । फाइनान्सको पोर्टफोलियो पनि उतै गयो । एनआईसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकतृ (डीसीईओ) सन्तोषकुमार राठी कर्जाका ऋणीहरू थोरै भएपनि आकार भने ठूलो रहेको बताउँछन् । हाल रहेका १९ लाख ऋणीमा पनि निश्चित ऋणीले ठूलो कर्जाको रकम ओगटेको उनको भनाइ छ । साथै देशको अर्थतन्त्र सहज र लगानी गर्ने वातावरण बनेपछि मात्रै ऋणीहरूको संख्या थपिने उनको बुझाइ छ । ‘देशको अर्थतन्त्रको स्थिति सहज हुनुपर्छ, चालु पुँजी मार्गदर्शन आएपछि नयाँ ग्राहकहरूले माग गरेको कर्जा चालु पुँजी मार्गदर्शनअनुसार पुग्ने देखिएन, जष्टिफाई हुन सकेको छैन, त्यसबाट पनि अप्ठ्यारो पारिरहेको छ,’ उनले भने, ‘साथै अर्थतन्त्रको अवस्था हेर्दा ऋण लिएर लगानी कहाँ गर्ने ? यो देशमा लगानी गरेर के काम गर्ने ? के मा लगानी गर्ने भन्ने छ, त्यसैले यसमा ठूलो ग्याप देखिएको छ ।’ डीसीईओ राठीका अनुसार बैंकबाट कर्जा लिएर लगानी गर्नेभन्दा मुद्दती निक्षेपमा राखेर ब्याज खाँदा उपयुक्त हुने भएकाले कर्जाका ऋणीको संख्या आक्रामक रूपमा बढ्न नसकेको हो । तर, नयाँ ऋणी वा उद्यमी जन्माउन बैंकहरूले धेरै काम गरेको उनले दाबी गरे । ‘बैंकको काम भनेकै निक्षेप लिएर कर्जा दिने हो, बैंकमा मान्छे आएपछि कर्जा दिने हो, जबरजस्ती कर्जा दिने होइन, मान्छेको मनस्थिति, मनोबल माहोल हेर्दा कहाँ लगानी गर्ने भन्ने छ, अहिले पनि फालाफाल निक्षेप छ । तर, कर्जा लिनका लागि मान्छे आएका छैनन्,’ उनले भने, ‘बैंकहरूले इनोभेसन गर्न नसकेको, सिर्जनात्मक काम गर्न नसकेको, प्रविधिको विकास गर्न नसकेको हो, प्रविधिमा लगानी नगरेका होइनन्, त्यसमा हाम्रो धेरै मेहेनतत छ,’ उनले थपे, ‘तर, नयाँ व्यावसायिक मोडलमा बैंकहरू जान नसकेका पक्कै हुन्, पुरानै शैलीमा बैंकहरू सञ्चालन भए, नयाँ ढंगबाट अघि बढ्नुपर्थ्याे भनेर सोचेका छन्, त्यसका लागि लगानी गर्ने माइण्डसेट त हुनुपर्याे नि, त्यो वातावरण बन्नु पर्याे नि, बैंक एक्लैले मात्रै कर्जा बढाउन सक्दैन ।’ गुडविल फाइनान्सका सीईओ सरोजकाजी तुलाधर ऋण लिने संख्या कम हुने भएकाले ऋण खाता पनि कम हुने गरेको बताउँछन् । साथै, फाइनान्स कम्पनीको आधारदर बढी हुने भएकाले ऋणीको संख्या बढ्न नसकेको उनको भनाइ छ । विगतमा साना कर्जामा बढी जोड दिएको तर पछिल्लो समय ठूलो आकारको कर्जामा जोड दिएको हुँदा ऋणीको संख्या घटेपनि कर्जाको आकार भने बढेको उनले बताए । ‘१ सय जनाले १ सय रुपैयाँको निक्षेप राख्छ भने कर्जा लिने १० जना मात्रै हुन्छन्, विगतमा सानो कर्जामा जोड दिने गरेका थिए भने अहिले ठूलो आकारको कर्जामा जोड दिने गरेका छन् । ठूलो आकारमा जाँदा पोर्टफोलियो पनि बढ्छ, त्यसैले ऋणीको संख्या घटे पनि कर्जा रकम भने बढेको नै देखिन्छ,’ उनले भने, ‘फाइनान्स कम्पनी एकआपसमा मर्ज नभई बैंकहरूसँग मर्ज हुँदा फाइनान्सको पोर्टफोलियो पनि बाहिरिएको छ ।’ ‘ऋणी बढी हुनु भनेको व्यवसायी बढी हुनु हो, उद्यम बढी हुनु र अर्थतन्त्र बढ्नु हो । तर, ऋणीको सख्या कम छ भने कर्जाको आकार भने बढेको देखिन्छ । अधिकांश मानिसहरु ऋण लिएर जोखिम मोल्न नसकेर बैंकमा निक्षेप राख्नेहरू बढ्दै गएको बैंकरहरू बताउँछन् । निक्षेपमा ब्याज पाउने भएकाले मानिसहरू आफ्नो पैसा बचत गर्न बैंकमा राख्छन् । तर, कर्जा लिन ब्याज तिर्नुपर्ने भएकाले कम व्यक्तिहरूले मात्र कर्जा लिन चाहन्छन् । ब्याजदरको यो अन्तरले पनि निक्षेपको खाता संख्या बढी र कर्जाको खाता संख्या कम हुने गरेको जानकारहरू बताउँछन् । धेरै मानिसहरू भविष्यमा आफ्नो आर्थिक स्थितिलाई ध्यानमा राखेर कर्जा लिनबाट टाढै बस्छन् । बैंकहरूले कर्जा दिनुअघि विभिन्न प्रक्रिया र मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ । कर्जा लिँदा बैंकमा धितो राख्नुपर्ने र आम्दानीको पनि स्थायित्व हुनुपर्ने भएको हुँदा धेरैले बैंकबाट कर्जा लिने हैसियत नराख्ने बैंकरहरु बताउँछन् ।
कर्णालीमा चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत चार हजार प्रहरी परिचालित
वीरेनद्रनगर । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना- २०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । नेपालीहरूको महान पर्व दशैं, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न प्रदेशभर चार हजार ३५१ प्रहरी परिचालन गरिएको हो । चाडपर्वको बेला हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिलाई रोकथाम, नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्न उक्त योजना निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिए । ‘चाडपर्व सुरक्षा योजनाका साथै विपद्लाई पनि लक्षित गरेर यो योजना कार्यान्वयन गर्न/गराउन प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुबाट उल्लिखित सङ्ख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको छ,’ उनले भने । उनका अनुसार परिचालित प्रहरीमध्ये चार हजार ९९ जनपद र २५२ ट्राफिक प्रहरी रहेका छन् । चाडपर्वका समयमा जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी विभिन्न आपराधिक घटना हुनेसक्ने, सवारी दुर्घटनाका घटना, बैङ्क तथा वित्तीय सङ्घसंस्थालगायत क्षेत्रमा हुने लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, पाकेटमारीजस्ता आपराधिक गतिविधि कम तथा निरुत्साहित गर्ने उद्देश्यले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरी नायब महानिरीक्षक भट्टराईले जानकारी दिए । सुरक्षा योजनाअनुसार प्रदेश तथा जिल्ला कमान्ड १२ पोष्टहरुमा १४५ जना प्रहरी परिचालन गरिएको छ । प्रदेश तथा जिल्ला ‘रिजर्भ’ टोली १४ वटामा ४०१ प्रहरी जनशक्ति परिचालन गरिएको छ । भवितव्य वा आकस्मिक रुपमा कुनै घटना घट्दा परिचालित प्रहरी जनशक्ति अपुग भएमा रिजर्भ टोलीले सहयोग गर्ने प्रहरी नायब महानिरीक्षक भट्टराईले बताए । त्यसैगरी, ४८ मोबाइल गस्ती टोलीमा २३४, एक सय दुई मोटरसाइकल गस्तीमा १५२, पैदल गस्तीअन्तर्गत २३३ गस्तीमा ६२७, एक सय नौ तत्काल प्रतिकार्य टोली (क्युआरटी) परिचालन गरी सोअन्तर्गत २४८, लामो तथा छोटो दूरीको एक सय गस्तीमा तीन सय ७७, पिकेट एक सय १३ स्थानमा दुई सय ७६, स्ट्राइकिङ नौ स्थानमा ७६ र मातहत प्रहरी अनुगमन तीनवटामा २४ जना प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । लामो तथा छोटो दूरीको गस्तीअन्तर्गत एक सय गस्तीमा ३७७ जना प्रहरी खटाइएको छ । नियमित, विशेष तथा आकस्मिक चेकिङका लागि १६२ स्थानमा ३९०, पचासी ठाउँमा ट्राफिकसहित १९९ प्रहरी र बैङ्क तथा वित्तीय सङ्घसंस्था, बजार अनुगमन, विशिष्ट व्यक्तिको सुरक्षालगायतको सुरक्षाका लागि १९८ स्थानमा ७५० प्रहरी परिचालन गरिएको प्रहरी जनाएको छ ।