विकासन्युज

नवरात्रमा शक्तिपीठमा भक्तजनहरूको भीड

काठमाडौं । आज आश्विन शुक्ल षष्ठी । देवी कात्यायनीको पूजा आराधना गरेर मनाइँदैछ । दशैंघर वा आफ्नो पूजा कोठामा देवी कात्यायनीको विधिपूर्वक पूजा आरधना गरी मनाइन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रमा देवीहरूको पूजा गर्न काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठहरूमा भक्तजनहरुको भीड रहेको छ । आज पनि काठमाडौंका भद्रकाली, मैतीदेवी लगायत विभिन्न शक्तिपीठहरूमा भक्तजनहरूको भीड देख्न सकिन्छ । दुर्गा देवीको पूजाआराधना गरी देशभर दशैंको स्वागत गरिँदैछ । शक्तिपीठहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिसत रहेको छ ।

तोलमा १ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायीका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बुधबार चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

लाभांश लहर : ९ बैंक/वित्तीय संस्थाले घोषणा गरे लाभांश

काठमाडौं । लाभांशको लहर सुरु भइसकेको छ । दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म ९ वटा बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । अधिकांशले घोषणा गर्ने तयारी गरेका छन् । चारवटा वाणिज्य, एकवटा विकास बैंक र चारवटा लघुवित्त संस्थाले लाभांश घोषणा गरेका छन् । सानिमा बैंकले आर्थिक वर्ष २०८०/०८१ को सञ्चित नाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गरेको छ । बैंकले हाल कायम चुक्तापुँजीको ५.२६३२ प्रतिशत नगत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले पनि लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १८औं वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए । एभरेष्ट बैंकले पनि लाभांघ घोषणा गरेर पारित पनि गरिसकेको छ । बैंकको असोज २० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो । बैंकको साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश दिएको हो । यस्तै, सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश घोषणा गरिसकेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन् । बैंकले कात्तिक १२ गते साधारणसभा बोलाएको छ । कामना सेवा विकास बैंकले पनि लाभांश घोषणा गरिसकेको छ । बैंकको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफबाट सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिनेछ । बैकको साधारणसभा असोज ३९ गते बोलाइएको छ । यस्तै, चारवटा लघुवित्तले पनि लाभांश घोषणा गरेका छन् । आशा लघुवित्तले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश घोषणा गरेको हो । गुराँस लघुवित्तले पनि १५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.७५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । फरवार्ड माइक्रो फाइनान्सले पनि सेयरधनीका लागि लाभांश घोषणा गरिसकेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत सोको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

सेयर बजारमा ठूलाे उद्योग भित्रिँदै, अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै

काठमाडौं । अम्बे स्टील्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । आईपीओ निष्कासनका लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । अम्बे स्टील्स र एनआइएमबि एस क्यापिटलका आधिकारिक व्यक्तिहरूकाे उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हाे । अम्बे ग्रुप देशको ठूलो व्यावसायिक समूहमध्येमा पर्छ । वार्षिक ४० अर्ब कारोबार गर्ने यस कम्पनीको नेतृत्व शोभाकर (हरि) न्यौपानेले गरिरहेका छन् । जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । जय अम्बे स्टील्स लिमिटेडकोउत्पादन क्षमता एक हजार टन प्रतिदिन रहेको छ । ‘अम्बे’ ब्रान्डअन्तर्गत क्षेत्रको ८० प्रतिशत बजार हिस्सा स्टील्सको रहेको कम्पनीको दाबी छ । पश्चिम नेपालको सबैभन्दा ठूलो स्टील उद्योग रहेको यस कम्पनीको उद्योग स्थल बाँके जिल्लाको नेपालगञ्जमा रहेको छ भने उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टील, एम.एस बिलेट, एम.एस फ्लाट, एम.एस स्क्यावर, तोरकारी, ग्याबियन बक्स लगायत उत्पादन गर्दै आएको छ । कम्पनीले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण समाग्री उपलब्ध गराउने बताएको छ । कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएकाे दाबी गर्दै स्टील आयातको आवश्यकतालाई न्यून गर्दै गएको बताएको छ । कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन सर्वसाधारणबाट पुँजी जुटाएर उद्योग विस्तार गर्ने रणनीति लिएको छ ।

एक बोतल पानी सय रुपियाँमा बेच्दा दुई लाख जरिवाना

कास्की । तोकिएको अधिकतम खुद्रा मूल्य २० रुपैयाँको पानीको बोतल एक सय रुपैयाँमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । सोही स्थानका एक ग्राहकले २० रुपैयाँ पर्ने एक बोतल मिनरल वाटर एक सय रुपैयाँ तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए । स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ९ख० बमोजिम जरिवाना गरिएको जनाएको छ ।

हिमालय एभरेष्टको केन्द्रीय कार्यालय बबरमहलमा सर्यो

काठमाडौं । हिमालय एभरेष्ट इन्स्योरेन्सको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । हाल काठमाडौंको थापागाउँस्थित रहेको केन्द्रीय कार्यालय बबरमहलमा स्थानान्तरण भएको कम्पनीले जनाएको छ । बबरमहलमा आफ्नै भवन निर्माण गरेर केन्द्रीय कार्यालय बनाइएकाे कम्पनीले जानकारी दिएको छ । आज असोज २३ गते बुधबारदेखि बबरमहलमा केन्द्रीय कार्यालय सारिएको जनाइएको छ ।

खुलेआम ठगिँदै यात्रु, ‘दोब्बर भाडा’ असुल्दै व्यवसायी

काठमाडौं । पछिल्लो पटक परेको अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट मुलुकका प्रमुख राजमार्गमात्र नभई साना सडक मार्गसमेत अस्तव्यस्त छ । ठूला राजमार्ग नै क्षतिविक्षत हुँदा सहज यातायात सञ्चालन हुन कठिनाइ भइरहेको अवस्था छ । नागढुंगामुनि झ्याप्ले खोलामा आएको पहिरोले केही बस र माइक्रो पुरेपछि तीन दर्जन हाराहारी यात्रुले अनाहकमा ज्यान गुमाउन पुगे । त्यो अवरुद्ध सडक खुलाउन पनि सरकारलाई कम्तीमा तीन दिन जति लाग्यो । पृथ्वी, बीपी, मदन भण्डारी, त्रिभुवनलगायत प्रमुख राजमार्गका ठाउँ-ठाउँमा बाढी-पहिरोले क्षति पुर्‍याएको छ । तर, यही बेला दशैं-तिहारले छपक्कै छोपेको छ । काठमाडौं उपत्यका छाडेर दशैं-तिहार मनाउन घर जानेहरूको लर्को यसपालि भलै कम होला बाटोका कारण, तर जानैपर्नेहरूलाई भने सडकको अवस्थाले समस्या पार्ने देखिन्छ । जब यातायात व्यवसायीले दशैं-तिहारका लागि अग्रिम टिकट बुकिङ सुरु गरेका थिए, त्यसलगत्तै अविरल वर्षाका कारण सडक अवरुद्ध हुन पुग्यो । अनि व्यवसायीले अग्रिम टिकट बुकिङ स्थगन गरिदिए । वर्षा कम भएर सडक बिस्तारै सुचारु हुन थालेपछि यातायात व्यवसायीले देशका विभिन्न गन्तव्य जाने गाडीका टिकट बिक्री गर्न थाले । त्यसपछि बिस्तारै सडक यातायातले लय समात्न थालेको थियो । यही गाडीको टिकट बिक्रीको मेसोमा यातायात व्यवसायीले टिकट रकममै मनोमानी गरेको यात्रुहरूले गुनासो गरेका छन् । यतिसम्म कि यातायात व्यवसायीले आफैले तोकेको भाडादरभन्दा दोब्बर बढी भाडा असुलेको सप्रमाण गुनासो यात्रुहरूबाट आएका छन् । सडकको दूरावस्थाबाट यसै पनि पीडित यात्रुहरूलाई अब चाडबाडका मुखमा यातायात व्यवसायीले थप पीडा दिने काम गरेका छन् । ठूला चाडबाडमा घर पुग्नैपर्ने बाध्यता भएकाहरूलाई व्यवसायीले दोब्बर भाडा तिर्न बाध्य पारेका छन् । यातायात व्यवसायीको मनोमानीबारे सरकार, उपभोक्तावादी संघसंगठनले अझै पनि औपचारिक रूपमा केही बोलिसकेका छैनन् ।चाडबाडको मुखमा यातायात व्यवसायीले टिकट भाडा दोब्बरसम्म असुलिरहेको प्युठानकी सञ्जु गिरीले गुनासो गरिन् । यसपालि दशैंमा काठमाडौंबाट प्युठान जान उनले ३ हजार रुपैयाँको टिकट काटेकी छिन् । गाडीवालाले भनेको भाडा नतिरे त्यही पाएको टिकट पनि नपाउने हो कि भनेर उनले भनेजति नै पैसा तिरेर आइन् । ‘अब भनेको पैसा नतिर्ने हो भने यही पनि नपाइने हो कि भनेर ३ हजार तिरेर आएँ, पोहोर जाँदा २३ सय रुपैयाँ तिरेको हो,’ गिरीले भनिन्, ‘अहिले बाटो धेरै बिग्रेको छ, तपाईं नगए अरू जान्छन्, यही पैसा तिर्नुपर्ने भनेपछि बाध्य पनि भइयो ।’ उनले टिकट काट्दा पैसा नखुलाएको तर ३ हजार नै लिएको बताइन् । जानैपर्ने बाध्यता भएपछि ७ सय रुपैयाँ बढी तिरेको उनको भनाइ छ । यात्रुले घर जान नपाइने डरले यातायात व्यवसायीले जति भाडा तोक्छन्, त्यति नै तिर्ने र यसबारे उजुरी नगर्ने गरेका छन् । धनगढीका दिनेश बुढाले सुदूरपश्चिम यातायातमा घर जान आफूसहित ११ जनाको नयाँ बसपार्कबाट टिकट काटे । बसपार्क काउन्टरबाटै उनले एकजनाको २ हजार ८ सयका दरले एसी बसको भनेर टिकट काटेका थिए । तर, जाने बेलामा भने उनीहरू २ हजार ३ सयको डिलक्स बसमा परे । एसी बसमा नभई डिलक्समा जान परेपछि उनले बाँकी पैसा फिर्ता मागे । ‘पैसा फिर्ता माग्दा व्यवसायीले टिकट नै फिर्ता गर्नू भनेर धम्की दिए,’ बुढाले सुनाए, ‘त्यसपछि यही डिलक्स पनि नपाइने हो कि भनेर धेरै कुरा गरेनौं ।’ बुढाकाे ११ जना टोलीको ५ हजार ५ सय रुपैयाँ फिर्ता भएन । बढी भाडा लिनेलाई सरकारले कारबाही गर्ने भनेको छ । तर, यसरी खुलेआम व्यवसायीले बढी भाडा लिँदा पनि सरकारी निकायले कुनै एक्सन नलिएर मौन रहेको भन्दै उनले गुनासो गरे । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यात्रुबाट बढी भाडा असुल्नेलाई दैनिक अनुगमन गरेर कारबाही गरिएको बताए । ‘यातायात व्यवस्था विभागको २४/२५ जनाको दरबन्दीमा नेपालभरिको बाटोघाटोमा बस्न सकिँदैन, यसमा यात्रु पनि आफै चनाखो हुनुपर्छ,’ उनी भन्छन्, ‘सरोकारवाला पक्ष भनेको यातायात विभाग मात्रै होइन, नेपाल प्रहरी, ट्राफिक प्रहरीलाई बढी भाडा लिएको, यात्रुलाई बाटोमा दुःख दिएको गुनासो आएमा तुरुन्तै कारबाही गर्न भनेका छौं ।’ बढी भाडा लिए नजिकैको यात्रु सहायता कक्ष वा सिधै विभागमा उजुरी गर्न सकिने उनले बताए । ‘विभागले समन्वय गर्ने सबै ठाउँमा गरिसकेको छ, सरोकारवाला निकाय पनि सबैलाई भनिसकेका छौं,’ अधिकारी पनेरुले भने, ‘यात्रु ठग्नेलाई धमाधम कारबाही पनि भइरहेको छ ।’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्की यात्रुसँग बढी भाडा लिनेलाई दैनिक कारबाही गरिरहेको बताउँछन् । ‘मंगलबारमात्रै यात्रुसँग बढी भाडा असुल्ने १७ जनालाई नियन्त्रणमा लिएका छौं, सोमबार पनि १४ जनालाई नियन्त्रणमा लिएर कारबाही गर्‍याैं,’ उनले भने, ‘कतिपय अवस्थामा बाटोको कारणले गर्दा गाडी घुमेर जानुपर्दा बढी भाडा लिएको भनेर चालकले भनेका छन्, तर निर्धारितभन्दा बढी लिएको पाएपछि कारबाही गरेका छौं ।’ उनका अनुसार बाटोमा चेकिङ भइरहेको छ । सादा पोसाकमा पनि ट्राफिक प्रहरी खटिएका छन् । काठमाडौंका १४ स्थानमा यात्रुका गुनासो र समस्या सुन्नका लागि यात्रु सहायता कक्ष र पोस्ट स्थापना गरिएको उनले बताए । उनका अनुसार यात्रुलाई गुनासो गर्नुपरे हटलाइन नम्बर १०३, १०० र सामाजिक सञ्जालबाट पनि गर्न सकिने छ । जताततै बाटो बिग्रिएको र भएको बाटो पनि भासिँदै जाने क्रम नरोकिएकाले बुकिङ भएको टिकट र पैसा फिर्ता गर्नुपरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन्  । ‘यसपालि बाटोका कारण यात्रा एकदमै सकसपूर्ण छ,’ उनी भन्छन्, ‘नारायणगढ-बुटवल सडकको दाउन्ने खण्डमा सबैभन्दा बढी समस्या भएकाले यात्रुलाई गन्तव्यमा पुर्‍याउनै सकस भएको छ ।’ भाडाका विषयमा उनले वैकल्पिक राजमार्ग प्रयोग गरेर जानुपर्ने हुँदा केही भाडा बढी लिएको हुन सक्ने तर्क गरे । तर, मनपरी र दोब्बर भाडा लिन नपाइने उनले बताए । ‘हामीले तोकेको काउन्टरमा र नागरिक सहायता कक्ष भएका ठाउँमा कहीं पनि भाडामा ठगिएको छैन,’ उनले भने, ‘बाहिरबाट जथाभावी ढंगले टिकट बुक गर्ने ठगिएका हुन सक्छन्, डबल भाडा लिन पाइँदैन भनेर हामीले भनेकै छौं ।’ उनका अनुसार बढी भाडा लिनेलाई प्रहरीले कारबाही गरेको छ । आज र भोलि काठमाडौंका विभिन्न नाकाबाट बाहिरिनेको अधिक चाप भएको उनले बताए । अहिलेसम्म दशैंका लागि ६ लाख बढी यात्रु बाहिरिएको अनुमान छ । ‘सधैं १८/१९ लाख मान्छे उपत्यकाबाट घर जान्थे,’ उनले भने, ‘बाटाकै कारण यसपालि १०/११ लाख मात्रै जालान् ।’

सानिमा बैंकको लाभांश घोषणा

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ। मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्तापुँजीको ५.२६३२ प्रतिशत नगत लाभांश (करसहित) वितरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।