विकासन्युज

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा ६० लाख हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५० लाख रुपैयाँ हस्तान्तरण  गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् । सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले १० लाख हस्तान्तरण गरिन् । कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गरेको कर्पोरेसनले जनाएको छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिएको कर्पोरेसनले जनाएको छ ।

ब्याजदर यथावत राख्ने भारतको केन्द्रीय बैंकको निर्णय

काठमाडौं । भारतको केन्द्रीय बैंकले बुधबार ब्याज दरलाई स्थिर राख्ने निर्णय सार्वजनिक गरेको छ । विश्वको पाँचौं ठूलो अर्थव्यवस्थामा वृद्धि मध्यम रहेको अवस्थामा बैंकले भविष्यमा ब्याजदर कटौतीको लागि ढोका खुला छोडेको छ । भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले भनेको छ, ‘ब्याजदरमा महत्त्वपूर्ण मानिने ‘रिपो रेट’ अर्थात् केन्द्रीय बैंकले वाणिज्य बैंकबाट ऋणमा तिर्ने अल्पकालीन ब्याजमा लगातार दशौं बैठकमा पनि ६.५ प्रतिशतमा अपरिवर्तित रहनेछ ।’ केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासले मुद्रास्फीतिलाई आफ्नो लक्ष्यसँग जोड्न बैंक ‘स्पष्ट रूपमा केन्द्रित’ रहने र अझै पनि वृद्धिलाई समर्थन गर्ने बताएका छन् । उनले भने, ‘धेरै प्रयासका साथ मुद्रास्फीतिको दरलाई स्थिरमा ल्याइएको छ।’ ‘हामीले ब्याजदर वृद्धि गर्दा धेरै होसियार हुनुपर्छ किनकि मुद्रास्फीति दर फेरि एक्कासी उच्च हुन सक्छ,’ दासले भने । अमेरिकी फेडरल रिजर्भसहित विश्वका प्रमुख केन्द्रीय बैंकहरूले मुद्रास्फीतिमा कमी आएसँगै विश्वव्यापी सहजता चक्र सुरु गरेका छन्, जसले गत महिना चार वर्षमा पहिलो पटक ब्याजदर घटाएको थियो। भारतको खुद्रा मुद्रास्फीति अगस्टमा ३.६५ प्रतिशतमा कायम भएको थियो, जुन जुलाईमा रेकर्ड गरिएको ३.५४ प्रतिशतको तुलनामा केही बढी हो । मध्यपूर्वमा जारी द्वन्द्वले भविष्यमा उल्टो जोखिम निम्त्याउन सक्ने विश्लेषकहरूको बुझाइ छ । आरबीआईको मौद्रिक नीति समितिले भने आफ्नो नीतिगत अडानलाई पहिलेको स्थितिबाट ‘तटस्थ’ मा परिवर्तन गर्ने घोषणा गरेको छ। यसले भविष्यमा दर कटौतीको आधार तयार गरेको छ। भारतीय केन्द्रीय बैंकको यो निर्णय आर्थिक वृद्धिमा सुस्तताको प्रारम्भिक संकेतपछि आएको हो । मार्चदेखि जुनसम्मको त्रैमासिकमा भारतको आर्थिक वृद्धि दर ६.७ प्रतिशत रहेको छ भने सरकारी खर्चमा कमी र केही आर्थिक सूचकहरूले शहरी उपभोक्ताको भावनामा सुस्तता देखाएका छन् । तथ्यांकले भारतलाई विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको प्रमुख अर्थतन्त्रको सूचीमा राखेको छ, तर यो पाँच त्रैमासिकमा वृद्धि दरमा सामान्य सुस्तता देखिएको छ । यो वृद्धि दर केन्द्रीय बैंकको ७.१ प्रतिशतको अनुमानभन्दा कम हो । अन्तर्राष्ट्रिय मुद्राले सन् २०२४/२५ मा भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आरबीआईले मे २०२२ देखि फेब्रुअरी २०२३ को बीचमा २.५ प्रतिशत बिन्दुले ब्याजदर वृद्धि गरेको थियो । रासस

नेपाल उद्योग परिसंघबाट बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं. ७ का सय घर परिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठमार्फत दुई सय घर परिवारका लागि राहत सामाग्री प्रदान गरे । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले परिसंघले दिएको राहत सामाग्री महाकाँल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले र गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्कालाई उपलब्ध गराए । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ललितपुरका यी विकट क्षेत्रका स्थानीयका लागि राहत सामग्री उपलब्ध गराएकोमा परिसंघलाई धन्यवाद दिए । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेपाल उद्योग परिसंघ पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा. घनश्याम ओझासहित प्रशासन कार्यालयका उच्च कर्मचारीहरु सहभागि थिए ।

प्राधिकरणबाट कुलमानलाई हटाउन प्रधानमन्त्री ओलीको प्रयास, १५ बुँदे स्पष्टिकरण माग

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग १५ बुँदै विवरण मागेका छन् । प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजुको अध्यावधिक विवरणलगायतका विवरण मागिएकाे हाे । मन्त्री खड्का प्राधिकरणको अध्यक्षसमेत हुन् । ऊर्जा मन्त्रालयस्रोतका अनुसार घिसिङलाई १५ दिनकाे समय दिइएकाे छ । १५ दिनभित्र उनले १५ वटै बुँदामा विवरण उपलब्ध गराउनुपर्ने बताइएकाे छ । केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि घिसिङलाई नेतृत्वबाट हटाउन लागिपरेका छन् । उनी र मन्त्री खड्का जाेडबलले लागे पनि यसअघि सञ्चालक समितिका दुई जनालाई अदालतले थमौती गरेपछि हच्किएका छन्। आजै बिहान मन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको बैठक बाेलाएका थिए । यद्यपि बैठक स्थगित भएकाे छ । कोरम नपुग्ने भएपछि आज बिहान १० बजेतिर बैठक स्थगित भएको हाे । मन्त्रालय स्राेतका अनुसार प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई बाइपास गर्दै मन्त्री खड्काले सञ्चालकहरूलाई बैठकमा आउन निमन्त्रणा पठाएका थिए । बैठक बस्न नसकेपछि उनले घिसिङलाई १५ बुँदे स्पष्टिकरण माग गरेका हुन् । १५ बुँदे स्पष्टिकरण  १. नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवम् आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र सोसँग सम्बन्धित विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरू २. नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विगत ४ वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी) ३. नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुकहरुका व्यावसायिक संस्थाहरूसँग गरेको विभिन्न मितिका सम्झौता एवम् समझदारी पत्रहरुको विवरण ४. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरूमा रहेको प्राधिकरणको सेयर संरचना एवम् ती कम्पनीहरूको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूको विवरण । साथै ती कम्पनीहरुमा नेपाल विद्युत प्राधिकरणको तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरूको विवरण ५. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुको विगत ४ वर्षको वित्तीय विवरण ६. नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरूबाट Power Evacuation पूर्ण रूपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरूको विवरण ७. हिमाल पावर लिमिटेडद्वारा प्रवर्द्धित ६० मेगावाटको खिम्ति – १ जलविद्युत आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण/प्रतिवेदनहरू ८. विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरूको विवरण आदि)  साथै यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था ९. विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरूको विदेश भ्रमणसम्बन्धि विवरण । ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवम् ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण । १०. डेडिकेटेड फिडर/ट्रंक लाइनसम्बन्धी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन एवम् सो महसुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू ११. नेपाल विद्युत प्राधिकरणले विभिन्न बोलपत्र मार्फत् खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफरमरको अद्यावधिक विवरण (खरिदको लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नं., खरिद मूल्य एवम् हालको अवस्थासहित) १२. हाल बोलपत्र आह्वानको लागि तयारी भइरहेको स्मार्ट मिटर लगायतका वस्तु /सामग्रीहरूको विवरण एवम् प्रतिस्थापन कार्ययोजना (परिमाण एवम् अनुमानित लागत रकम सहित ) १३. नेपाल विद्युत प्राधिकरणले आफैले विभिन्न स्थानहरूमा सिमेन्टेड पोल प्लान्टहरु स्थापना गरी उत्पादन गरेका पोलहरूको लागत मूल्य, बोलपत्रहरूबाट खरिद भएमा विभिन्न पोलहरूको खरिद मूल्य एवम् सो सम्बन्धी परिमाणहरुको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण । १४. महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औंल्याइएका बेरुजुमध्ये हालसम्म फर्छ्याैट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण । १५. नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रूपमा गत ५ वर्षदेखि को-को कार्यरत रहेका छन् ? उनीहरूको पद र योग्यता खुलेको विवरण ।

बिहीबार हनुमानढोका दशैं घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दशैंघरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौंको हनुमानढोका दशैं घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ । इतिहासकार दिनेशराज पन्तले फूलपाती भित्र्याउने चलन मुख्यगरी राजामहाराजाको विजयी अभियानसँग सम्बन्धित रहेको बताए । ‘खेतीपाती, वर्षा र हिलोमैलो सम्पन्न भएको, जनतासमेत सबै किसिमले फुर्सद भएका अवस्थामा राजामहाराजाले गर्ने विजयी यात्रासँग फूलपाती जोडिएको छ’, उनले भने । फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ । गोपाल वंशदेखि नै फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ । नेपालको प्राचीन राज्य गोरखा दरबारमा पनि तत्कालीन राजा राम शाहले धादिङको सल्ल्यानटार विजय गरेपश्चात् त्यहाँबाट फूलपाती भित्र्याउने प्रचलन रहेको अभिलेखमा पाइन्छ । विसं १८२५ मा पृथ्वी नारायण शाहले काठमाडौंमा विजय गरेपछि काठमाडौंलाई राजधानी तोकियो । काठमाडौंबाट शासन सुरु भएपछि पृथ्वीनारायण शाहले गोरखाको भगवतीलाई हनुमान ढोकामा पनि स्थापना गरेका थिए । गोरखाबाट शाही पवित्रताका प्रतीक स्वरूप फूलपाती काठमाडौँको हनुमानढोका दरबारमा ल्याइने परम्परा सुरु गरिएको मानिन्छ । गोरखामा तयार गरिएका फूलपाती सप्तमीका दिनमा पैदल मार्गबाट काठमाडौं ल्याइने प्रचलन रहे तापनि दूरी, भौगोलिक कठिनाइलगायत विभिन्न समस्याका कारण २०औँ शताब्दीको मध्यतिरबाट काठमाडौं लैजान रोकियो । विभिन्न समस्याका कारण गोरखाबाट फूलपाती ल्याउन नसक्ने भएपछि नवपत्रिकाका बिरुवालाई काठमाडौंबाट करिब ३० किमी पश्चिममा रहेको धादिङको छत्रे देउरालीमा सारियो । विसं २०३७ मा गोरखा पृथ्वी राजमार्गसँग जोडिएर सडक सुविधा भएपछि इतिहास, परम्परा र संस्कृतिको जगेर्ना गर्न गोरखाका स्थानीय बासिन्दा तथा सरोकारवालाको पहलमा विसं २०४० को दशकबाट पुनः गोरखाबाट फूलपाती गाडीमार्फत हनुमानढोका ल्याउन थालियो । गोरखादेखि धादिङको जीवनपुरसम्म दशैं घरका पुजारीसहित हनुमान ढोका दरबार हेरचाह अड्डाबाट मगर जातिका छ र शार्दूल जंग गुल्म (गुर्जु पल्टन) बाट दुई मगर पुजारी सहभागी भई ल्याउने प्रचलन छ । जीवनपुरदेखि काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छजनाले ल्याउने परम्परा रहिआएको छ । शार्दूल जंग गुल्मबाट गुल्मपतिको ‘कमान्ड’मा बाजागाजासहित ‘इन्फिल्ड नाल’बाट सलामी दिई जमलबाट हनुमान ढोकासम्म ल्याउने गरिन्छ । उक्त फूलपाती भित्र्याउने कार्यमा निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जु पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको ब्यान्डबाजा, पञ्चेबाजा, नेपाल ‘क्याभ्लरी’बाट घोडा, स्थानीय निकायका पदाधिकारीको उपस्थितिमा सिङ्गारिएका कल्स्यौडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याई हनुमान ढोकास्थित नासाल चोकमा विधिपूर्वक दसैँ घरमा फूलपाती भित्र्याइन्छ । सेनाको सहभागितामा टुँडिखेलमा फूलपाती बढाइँ  सैनिक मञ्च टुँडिखेलमा हुने फूलपाती बढाइँ कार्यक्रममा मल्लकालीन अवस्थादेखि नै नेपाली सेनाको सहभागिता रहँदै आइरहेको छ । फूलपातीको दिनमा नेपाली सेनाका विभिन्न युनिटबाट फौजहरू खटी बाजागाजासहित नाचगानका साथसाथै सांस्कृतिक कार्यक्रम गरी बढाइँ दिई लावालस्करसहित उक्त पर्व धूमधामका साथ मनाउने गरेको पाइन्छ । राज्यकालीन अवस्थादेखि मगर पुजारी, बाजागाजासहित शार्दूल जङ्ग गुल्म (गुर्जु पल्टन) तथा नेपाली सेनाका अन्य युनिट सबयुनिट प्रत्यक्ष रूपमा सहभागी भई ऐतिहासिक फूलपाती भित्र्याउने कार्यले राष्ट्रिय पर्व संवद्र्धन र प्रवद्र्धनमा ठूलो भूमिका देखिँदै आएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसी बताउनुहुन्छ । सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ सकिएलगत्तै अत्यावश्यक बाहेकका जनशक्तिलाई दशैंको छुट्टी दिने परम्परा छ ।

विद्युत व्यापारमा सफलता, दुई महिनामा साढे ७ अर्बको बिजुली निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ । दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ । साउनको प्रति युनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको छ । भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा ६९ करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले चालू आवको दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताए । ‘चालु आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्‍याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । बाढीबहिरोभन्दा पहिले दैनिक रूपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । अहिले दैनिक रुपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ । बाढीपहिरो कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब ७५० मेगावाट विद्युत् उत्पादन बन्द छ । गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

ब्राण्डेड मदिरा बिक्री गरिरहेको ग्लोबल ट्रेडिङको व्यापार पाँच वर्ष यताकै उच्च, साढे एक अर्ब ऋण लिँदै

काठमाडौं ।  विशाल ग्रुपको स्वामित्वमा रहेको ग्लोबल ट्रेडिङ कन्सर्न प्राइभेट लिमिटेडले सन् २०२४ मा २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । विभिन्न किसिमका मदिरा व्यापार गर्दै आएको यस कम्पनीले सन् २०२४ मा सो व्यापार गरेको जानकारी दिएको छ । जुन व्यापार २०२३ को तुलनामा ६.२६ प्रतिशत बढी हो । सन् २०२३ मा कम्पनीले २ अर्ब २३ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले सन् २०२२ मा २ अर्ब ९१ करोड ४० लाख, सन् २०२१ म १ अर्ब ९६ करोड ६० लाख र सन् २०२० मा १ अर्ब ७६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । ग्लोबलले उच्च तथा मध्यम स्तरका व्यक्तिका लागि लक्षित गर्दै स्कटल्याण्डको जनी वाल्कर कम्पनीले उत्पादन गरेको ब्लाकलेबल, डबलब्लाक, रेडलेबललगायत महंगा ह्विस्कीका साथै सिमरअफ कम्पनीको भोडका आयात गरी नेपालमा बिक्री गर्दै आएको छ । कम्पनीले इक्रा नेपालमा ऋणका लागि रेटिङ गराउँदा एनपी ए थ्री रेट्रिङ पाएको छ । कम्पनीले फण्डमा आधारित दीर्घकालीन २६ करोड र सर्टटर्मका लागि ९५ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले नन फण्डेड २९ करोड ८० लाख रुपैयाँ गरेर कुल १ अर्ब ५० करोड ८० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो । कम्पनीले व्यापार, उत्पादन, हस्पिटालिटी, बैंक तथा बीमा क्षेत्रमा लगानी गरेको छ । कम्पनीको अध्यक्ष आशिषकुमार अग्रवाल हुन् । जसको यस कम्पनीमा १९ प्रतिशत सेयर स्वामित्व रहेको छ । यो कम्पनीमा विभिन्न १४ जनाको सेयर छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार अग्रवाल हुन् । । कम्पनीले विभिन्न ब्राण्डका ह्विस्की, भोडका, रम, जिन, ब्राण्डी र टकिलाको बिक्री गर्दै आएको छ । सन् १९९८ नोभेम्बर ३० मा स्थापना भएको ग्लोबल ट्रेडिङले विभिन्न मुलुकहरूमा उत्पादन भएको ब्राण्डेड मदिरा र बियर आयात गरी नेपालभरि बिक्री वितरण गर्दै आएको छ । इक्रा नेपालले मदिरा उत्पादनहरू नेपालमा सबैभन्दा बढी कर लगाइने वस्तुहरूमा पर्ने हुँदा प्रत्येक वर्ष उत्पादन शुल्क बढ्दै जाँदा केही जोखिम सिर्जना गर्न सक्ने उल्लेख गरेको छ । सरकारले तयार मदिरामा उच्च आयात शुल्क लगाँदा र घरेलु मदिरा उद्योगलाई संरक्षण दिँदा आयातित मदिरा कम्पनीलाई समस्या हुन सक्ने उल्लेख गरेको हो ।

सानिमा रिलायन्सको एजीएम सम्पन्न, १८ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । सानिमा रिलायन्स लाइफको सातौं वार्षिक साधारणसभा (एजीएम) सम्पन्न भएको छ । शंखमूलको अनमोल बैंक्वेटमा सभा सम्पन्न भएको हो । उक्त सभाबाट आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ । यसका साथै आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण, वासलत, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित हुनुका साथै एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरण पनि पारित भएको कम्पनीले जनाएको छ । भदौ ३१ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आज बुधबारका लागि वार्षिक साधारणसभा बोलाएको थियो । यसका साथै १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने पनि घोषणा कम्पनीले गरेको थियो ।