पशुपति गौशाला धर्मशाला खाली गर्न महानगरको माइकिङ
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ८ स्थित श्री पशुपति गौशाला धर्मशाला असोज २३ गते बुधबारदेखि खाली गर्न माइकिङ गरेको छ । पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबीच मंगलबार गौशाला धर्मशाला व्यवस्थापनसम्बन्धी सहमति भएपछि महानगरपालिकाले खाली गर्न माइकिङ गरेको वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए । काठमाडौं जिल्ला अदालतले मारवाडी सेवा समितिले अनधिकृत रुपमा गौशाला धर्मशाला चलाएकाले कोषले सञ्चालन गर्नेगरी फैसला गरेको थियो । यसअघि कोष (अमालकोट कचहरी) र समितिबीच भएको सहमति खारेज गर्ने सञ्चालक परिषद्को निर्णयविरुद्ध समिति अदालत गएको थियो । फैसलापछि कोष सञ्चालक परिषद् बैठकले गौशाला व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले दिने निर्णय असोज २० गते आइतबार गरेको हो । परिषद्को निर्णयबमोजिम आज सहमति भएपछि महानगरपालिकाले मंगलबार पशुपति क्षेत्रमा अनधिकृत संरचना बुधबार हटाउन माइकिङ गरेको छ । गौशाला धर्मशाला खाली गराएर महानगरपालिकाले व्यवस्थित रुपमा यसको सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । गौशाला धर्मशालाका सबै सेवा निःशुल्क दिइने व्यवस्थापन समितिको संयोजकसमेत रहनुभएका वडाअध्यक्ष सङ्गतले सुनाए । निःशुल्क सेवा दिएबापत खर्च सबै महानगरपालिकाले नै व्यहोर्ने सहमतिपत्रमा उल्लेख गरिएको जनाइएको छ । दाताले दिन चाहेमा भने दान दिन सक्नेछन् । दाताले दिएको दानलाई पनि व्यवस्थापन समितिले पारदर्शी रुपमा राख्नेछ । गौशाला व्यवस्थापन समितिले सहयोग भने नखोज्ने जनाइएको छ । व्यवस्थापन समितिमा कोषका तर्फबाट पनि सदस्य राखिनेछ । भगवान् पशुपतिनाथको सम्पत्तिका रुपमा रहेको पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको हो । २१ वर्षसम्म मारवाडी सेवा समितिले गौशाला धर्मशाला कब्जामा लिएको थियो । काठमाडौं जिल्ला अदालतले २०६० मा पशुपतिनाथ अमालकोट कचहरी (हाल कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत आएको हो । कोष मातहत आएलगत्तै यसको सञ्चालन महानगरपालिकाले गर्नेगरी मंगलबार कोषका कार्यकारी निर्देशक सुभासचन्द्र झा र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरेपछि नै महानगरपालिका यसको कार्यान्वयनमा सक्रिय रुपमा जुटेको छ । व्यवस्थापन समितिले जनगुनासो नआउने गरी यसको सञ्चालन गर्ने महानगरपालिकाको भनाइ छ ।
हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाइने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताएाक छन् । विश्व हुलाक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले हुलाक सेवामार्फत हुने विश्वव्यापी सञ्चारलाई थप प्रभावकारी र समयसापेक्ष बनाउँदै सेवामा विविधीकरण एवं आधुनिकीकरण गर्नु अबको आवश्यकता भएको समेत बताए । ‘सूचना प्रविधिको प्रयोगसहित नेपाल हुलाकलाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी यसलाई सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध छ,’ मन्त्री गुुरुङले भने । उनले आन्तरिक हुलाक सेवामा समेत विविधिकरण गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्री गुरुङले निजी क्षेत्रद्वारा सञ्चालित कुरियर सेवा, ट्रान्सपोर्ट सेवालगायतका मिल्दो सेवासँग प्रतिस्पर्धा गर्दै नेपाल हुलाकले छिटो छरितो ढङ्गबाट चुस्त दुरुस्त र समयानुकूल सेवा प्रवाहगर्दै आफ्नो साख र गौरव कायम राख्न समेत सुझाव दिए । चालु आर्थिक वर्षबाट नेपाल हुलाकको संरचनागत रूपान्तरण गरी एक स्थानीय तह एक हुलाक कार्यालयको अवधारणा बमोजिम नै हुलाक कार्यालयको पुनसंरचनाको कार्य सम्पन्न भएको उनले बताए । मन्त्री गुरुङद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘विश्वव्यापी रूपमा हुलाक सेवाका सेवाग्राहीलाई गुणस्तरीय हुलाक सेवा प्रदान गर्ने विषयमा विश्व हुलाक सङ्घसँग सहकार्य गर्न नेपाल हुलाक सदैव प्रतिबद्ध छ ।’ विश्वकै दोस्रो पुरानो अन्तर्राष्ट्रिय संस्थाको रूपमा सन् १८७४ अक्टोवर ९ मा स्थापित विश्व हुलाक सङ्घको स्थापना भएको थियो । हरेक वर्ष अक्टोबार ९ तारिखमा विश्व हुलाक सङ्घका सबै सदस्य राष्ट्रमा भव्यताका साथ विश्व हुलाक दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घकोे विशिष्टीकृत संस्थाका रूपमा रहेको विश्व हुलाक सङ्घ स्थापनाका १५० वर्ष पुगेको अवसरमा यस वर्ष ‘सञ्चारलाई सक्षम पार्ने र राष्ट्रभरका मानिसलाई सशक्त बनाउने १५० वर्ष’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । विसं १९३५ मा स्थापना भई नेपाल हुलाक घरबाट हुलाक सेवा सुरू भएको थियो । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरी हुलाक सेवाको विश्व मञ्चमा यसका साझा उद्देश्य प्राप्तिको यात्रामा निरन्तर लागिरहेको छ । दिवसका अवसरमा आज नेपाल फिलाटेलिक सोसाइटीसँगको सहकार्यमा हुलाक सेवा विभाग परिसर, बबरमहलमा टिक प्रदर्शनी सञ्चालन गरिएको छ । यस्तै विभागमा तीन दिन दीपावली गर्ने कार्यक्रम छ । दिवसको पूर्वसन्ध्यामा विभागले मङ्गलबार नै कार्यालय परिसर सरसफाइको कार्यक्रम समेत सम्पन्न गरेको थियो ।
जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन
काठमाडौं । जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइएको छ । प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा रहिआएको छ । कुमारीलाई भैरवको दर्शन गराउन काठमाडौं महानगरपालिका–१२ स्थित पचली पीठबाट भैरवको जात्रा गरी मङ्गलबार बेलुका हनुमान ढोका पुर्याइएको हो । यसरी कुमारीलाई भैरवको दर्शन गराउँदा कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ । विशेष बाजागाजासहित पचलीबाट सुरु भएको यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो । घ्याम्पोमा भैरवको विम्ब बनाएर नगर परिक्रमा गराइदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको भीड लागेको थियो । विभिन्न किसिमका खराब शक्तिबाट नागरिकलाई संरक्षण गर्न साथै काठमाडौं उपत्यकाको सुरक्षाका लागि भैरवलाई टेकुमा स्थापना गरिएको जनविश्वास छ । कला र संस्कृतिले सजिएको काठमाडौंमा नेवार समुदायको सबैभन्दा ठूलो पर्वका रुपमा भैरव जात्रालाई लिइन्छ । भैरवलाई पुनः टेकुमा लगिएपछि जात्रा सम्पन्न गरिने काठमाडौं महानगरपालिका –१२ वडा सदस्य श्यामकृष्ण खड्गीले जानकारी दिए ।
आश्विन शुक्ल षष्ठी : कात्यायनीको पूजा आराधना गरिँदै
काठमाडौं । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन यही असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । दुवै दिन सूर्योदय कालमा चौँथी तिथि परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजा आराधना गर्नुपर्ने शास्त्रीय नियम भएकाले त्यसैअनुसार गरिएको हो । आश्विन शुक्ल षष्ठीका दिन मङ्गलबार स्कन्दमाता देवीको पूजा आराधना गरियो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्पराअनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रुपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रुपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व धुमधामका साथ मनाउँछन् । दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, दक्षिणकाली, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गर्छ । राजधानीका अधिकांश शक्तिपीठमा दिनभर नै भक्तजनको घुइँचो हुने गरेको छ । बेलुकी आरतीदेखि नै शक्तिपीठमा दीपावली गरिएकाले दर्शनका लागि बेलुकी मनिदर धाउने भक्तजन पनि बढ्न थालेका छन् ।
मुस्ताङ यात्राको थकान मेटाउने तातोपानी
काठमाडौं । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । ‘मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि मेटियो, थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो,’ उनले भने । उनी जस्तै बेनी–जोमसोम सडक भएर मुस्ताङ जानेआउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने पर्यटकका लागि भुरुङ्ग तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’ बनेको छ । तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुन्छ भनिन्छ । मुस्ताङको चिसो हावापानीबाट आएकाहरु तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् । पर्यटकीय यामको सुरुवातसँगै कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चिसो बढ्न थालेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको पनि सङ्ख्यामा वृद्धी भएको कुण्डका सञ्चालक लट्टे गिरिले बताए । ‘बर्खा रोकिएपछि मुस्ताङ जाने आउने पर्यटकको चहलपहलसँगै तातोपानी नुहाउने पनि बढेका छन्, याममा दैनिक दुईदेखि तीन सय जनासम्मले स्नान गर्छन्,’ उनले भने । बेनी–जोमसोम सडकको छेउमा तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धाराहरु बनाइएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि स्वदेशीलाई ५० रुपैयाँ र विदेशीलाई १५० रुपैयाँ शूल्क तोकिएको छ । कुण्डमा प्रवेश शूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ५६ लाख २५ हजार ३७७ रुपैयाँमा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ५५ लाख ९ सय रुपैयाँमा ठेक्का लगाएको थियो । भुरुङ्ग–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारी अन्नपूर्ण गाउँपालिका–५ को भूगोलमा पनि अर्को तातोपानी कुण्ड पनि छ । सो तातोपानी कुण्ड सञ्चालनका लागि गाउँपालिकाले यस वर्ष २८ लाख ७६ हजार ५०५ रुपैयाँमा कालीगण्डकी रुफटप प्रालिसँग ठेक्का सम्झौता गरेको छ । भुरुङ्ग–तातोपानीदेखि पाउद्धार तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश सरकारमार्फत हालै झोलुङ्गे पुल निर्माण भएको छ । उनीहरुले सम्झौता गरेको रकम जम्मा गरेकाले १० प्रतिशत छुट पाएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । कुण्डबाट हुने आम्दानी गाउँपालिकाले तय गर्ने योजना तथा कार्यक्रमका साथै तातोपानी स्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको छ । कुण्डबाट हुने आम्दानीबाट कक्षा ११ र १२ सञ्चालन गरिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताए। हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ । कुण्डको सहयोगमा तातोपानी स्वास्थ्य चौकीमा एक जना प्राबिधिकको तलब व्यवस्थापन गरी प्रयोगशाला सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिदै आएको छ । पर्यटकको आवास सुविधाका लागि तातोपानी बजारमा करिब २० वटा सुविधा सम्पन्न होटल सञ्चालनमा छन् । होटलमा एक दिनमा पाँच सयभन्दा बढी बास बस्न सक्ने क्षमता छ । यसअघि कुण्डको कुनातर्फबाट खोलिएको बेनी–जोमसोम–कोरला सडक विस्तार गरेर ११ मिटर फराकिलो बनाउँदा कुण्डको मुहान र पोखरी पुरिने भएकाले नक्साङ्कन परिवर्तन गर्न स्थानीयबासी, जनप्रतिनिधि र सरोकारवालाहरुले माग गरेका थिए । तातोपानीको मुहान र पोखरीलाई असर नपर्ने तथा कालीगण्डकी नदीको कटान पनि नियन्त्रण हुने गरी कुण्डभन्दा तलपट्टीबाट सडकको नयाँ नक्साङ्कन गरिएको छ । रासस
मनसुन क्रमशः कमजोर हुँदै, आज यी प्रदेशमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले आज बिहान ६ बजे जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ । विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही र मधेस प्रदेशलगायत बाँकी प्रदेशका केही पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
ज्योति बैंकको दशैंलक्षित योजना, पैसा ट्रान्सफर गर्दा अतिरिक्त शुल्क तिर्न नपर्ने
काठमाडौं । ज्योति विकास बैंकले दशैंको उपलक्ष्यमा नि:शुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफरमार्फत कुनै पनि बैंकमा पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । अब शून्य रुपैयाँमै फण्ड ट्रान्सफर हुने बैंकले जनाएकाे छ । विद्युतीय कारोबारलाई ग्राहकवर्गमाझ थप विस्तार गर्न बैंकले यो योजना सार्वजनिक गरेको हाे । बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
एनसेल फाउन्डेसनले गर्यो गोदाबरीका बाढीपहिरो पीडितलाई राहत वितरण
काठमाडौं । असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेकाे छ । एनसेल फाउन्डेसनले सोमबार गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँचवटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३)का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ । राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाँडाकुँडा, हाइजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामानहरू रहेका छन् । गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडामा पुगेर पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । एनसेल फाउन्डेसनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू पनि सञ्चालन गरिरहेको छ । एनसेलले हाल देशभरका १ करोड ३० लाखभन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्दै आइरहेकाे छ ।