सिद्धार्थ बैंक लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो । बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरूको उद्दार र पुन:स्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत देशको एक जिम्मेवार वित्तीय संस्थाको रूपमा सहभागिता जनाउँदै आएको छ । मन्त्रिपरिषद्को असाेज १४ गते बसेकाे मन्त्रिपरिषदकाे बैठकले उक्त कोषमा प्रारम्भिकरूपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी रहेको कोषले जनाएको छ ।
फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी बिहीबार फूलपातीका दिनदेखि सुरु गरिने भएको छ । हरेक वर्षझैँ यसवर्ष पनि असार १६ गतेदेखि निकुञ्जभित्रको सफारी रोकिएको थियो । लामो समय वर्षात भएका कारण निकुञ्जभित्रको सडक र पुल मर्मत एवं झाडी सफा गर्ने काम गर्न कठिन भएपछि केही ढिला गरी निकुञ्ज खोलिएको हो । गत वर्ष असोज १६ गतेदेखि जीप सफारी खुल्ला गरिएको थियो । निकुञ्ज बाहिरका सामुदायिक वनमा भने वर्षातमा समेत पर्यटकीय गतिविधि हुने गर्दछ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चाडपर्वमा घुम्न आउने पर्यटकलाई लक्षित गरी सबै सडक सफा गर्न नसकिए पनि सफारी खुल्ला गरिएको हो । निकुञ्जभित्र सबैभन्दा बढी सौराहाबाट ३२ जीप चल्ने गर्दछन् । कसराबाट २०, मेघौलीबाट नौ, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट ६ तथा कुजौलीबाट दुईवटा जीपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्दछन् । निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जीप सफारी हो । अन्य गतिविधि डुङ्गा सफारी, चरा हेर्ने (बर्ड वाचिङ्) लगायतका गतिविधि भने सबै समय खुल्ला हुने गर्दछ । सफारी पर्यटनका लागि नेपालको महत्वपूर्ण गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो । सफारी गर्न यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।
ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, यूएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच यूएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउनेसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेको नेपालीहरूले माइजोईको रेमिटेन्स एपबाट सहज रूपमा आफ्नो परिवार तथा साथीभाइलाई नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् । उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले माइ जोई वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लेटफर्म रेहेको र माइजोईसँग साझेदारी गर्न पाउँदा बैंक उत्साहित भएको बताए । यसैगरी, माइजोईका प्रमुख कार्यकारी अधिकृत साएद अलिले यूएईमा रहेका नेपाली कामदारहरूले आफ्ना प्रियजनहरूलाई पैसा पठाउने द्रुत, सुविधाजनक र सुरक्षित तरिकामा पहुँच सुनिश्चित गर्दै ग्लोबल आइएमई बैंकसँग यो यात्रा सुरु गर्न पाउँदा खुसी लागेकाे जानकारी दिए । स्ट्यान्डर्ड चार्टर्ड बैंकको पूर्ण स्वामित्वमा रहेको माइजोईले नवप्रवर्तन तथा फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आइरहेको छ । युएईबाट ग्लोबल रेमिटमार्फत् पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु वा नेपालभरि रहेको आइएमई लिमिटेडको पचास हजारभन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिनेछ । साथै, यसै सम्झौताअनुसार संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिटेन्स पठाउन सकिनेछ ।
पशुपति विकास कोष र काठमाडौं महानगरबीच सातबुँदे सहमति, खाली हुँदै पशुपति गौशाला धर्मशाला
काठमाडौं । पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ । पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा कोष र महानगरबीच सात बुँदे सहमति भएपछि महानगरको प्रहरी टोली गौशाला पुगेको हो । कोष र महानगरबीच भएको सहमतिमा मारवाडी सेवा समितिले व्यापार गरिरहेको पशुपति गौशाला धर्मशालामा अब गैरनाफामूलक र पूर्ण निःशुल्क रूपमा भक्तजनलाई सेवा दिने उल्लेख छ । तर अहिलेसम्म मारवाडी सेवा समितिले १९ वटा सटरबाट मासिक ३५ हजारभन्दा बढी असुल्नुका साथै होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र व्यावसायिक प्रयोजनकै लागि जर्सी गाई पालेर दूध बेच्ने गरेको छ । समितिले धर्मशालामा व्यापार गरेर मासिक ६० लाखभन्दा बढी रुपैयाँभन्दा बढी आम्दानी गरे पनि कोषलाई वार्षिक ५१ हजार रुपियाँ मात्रै बुझाउने गरेको छ । मारवाडी सेवा समितिले २१ वर्षदेखि कौडीको भाउमा कब्जा गरेको पशुपति गौशाला धर्मशाला काठमाडौं जिल्ला अदालतको असोज १६ गतेको फैसलापछि कोषकै स्वामित्वमा आएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले गरेको फैसलापछि कोष सञ्चालक परिषद्को असोज २० गतेको निर्णयअनुसार कोष र महानगरपालिकाबिच धर्मशाला सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ । मारवाडी सेवा समितिले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) सँग भएको सम्झौताअनुसार वार्षिक ५१ हजार रुपियाँ ‘सहयोग’ बुझाएर होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र जर्सी गाई पालेर व्यापार गरी पशुपतिको सम्पत्तिमा रजाइँ गर्दै आएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशालाका सन्दर्भमा अदालतले गरेको फैसलाअनुसार नीतिगत निर्णय गरेकाले अब कार्यान्वयन प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनले अब सरकारी निकायसँगकै समन्वय र सहकार्यमा धर्मशाला सञ्चालन हुने र फैसलाको कार्यान्वयन प्रक्रिया अघि बढाउने जिम्मेवारी कोषको व्यवस्थापनले नै गर्ने बताए । ‘अदालत फैसलापछि पशुपति गौशाला धर्मशालाको स्वतः कोषमै निहित रहेको र भोकाधिकार पनि कोषमै रहेको प्रष्ट भयो । कोष परिषद् बैठकले अदालतको फैसलालाई नोटिसमा लिएको हो । त्यसै आधारमा कोषले सञ्चालन र व्यवस्थापन प्रक्रिया अगाडि बढाउन नीतिगत निर्णय गरेका हौं,’ उनले भने । निःशुल्क सेवा दिने, गौशाला सञ्चालन गर्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार कोष र महानगरपालिकाबीच भएको सहमतिमा काठमाडौं महानगरपालिका–८, स्थित (साबिक पशुपति वडा नं. २ (क) कित्ता नम्बर ८३ को चार आना १५ पैसा दुई दाम, कित्ता नम्बर ८५ मा चार रोपनी १० आना र हाल वडा नं. ८ कित्ता नम्बार ३ को तीन रोपनी पाँच आना तीन पैसा तीन दाम कित्ता नम्बर १५ को चार रोपनी आठ आना एक दाम र कित्ता नम्बर १६ को ११ आना एक पैसा तीन दामको घरजग्गामा सञ्चालन गर्न सम्झौता भएको छ । डा. थापाले गौशाला चोकस्थित पशुपति गौशाला धर्मशालाको घरजग्गालाई काठमाडौं महानगरपालिकाले गौशाला धर्मशाला तथा सामाजिक, धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्ने सहमति भएको बताएका छन् । सहमतिपत्रमा घरजग्गा गैरनाफामूलक प्रयोजन, गौशाला धर्मशालाका रूपमा सञ्चालन व्यवस्थापन गरी धार्मिक सामाजिक कार्यमा उपयोग गर्ने समझदारी भएको छ । सहमतिपत्रमा गौशाला सञ्चालन गर्ने, पशुपतिनाथ मन्दिरमा आउने श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन, अन्नदान स्वीकार गर्ने तथा आवास सेवा सञ्चालन गर्ने धर्मशाला सञ्चालन, निःशुल्क सार्वजनिक शौचालय सञ्चालन गर्ने भनिएको छ । डा. थापाका अनुसार निःशुल्क आधारभूत स्वास्थ्य सेवा सञ्चालन, विपत्मा परेका मानिसका लागि मानव सेवा व्यवस्थापन, सूचना केन्द्र सञ्चालन, सार्वजनिक पुस्तकालय स्थापना तथा सञ्चालन, सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन र व्यवस्थापन समितिले उपयुक्त ठहर गरेका अन्य सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । उनका अनुसार सहमति बमोजिमको गौशाला एवं धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न दुई पक्षीय सम्झौता र कार्यविधि निर्माण नभएसम्मका लागि काठमाडौं महानगरपालिका–८ का वडा अध्यक्ष आशामान संगत संयोजक रहने गरी व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागका विभागीय प्रमुख र पशुपति क्षेत्र विकास कोषले तोकेका प्रतिनिधि दुई जना सदस्य, काठमाडौं महानगरपालिकाका प्रमुखले तोकेको व्यक्ति एक जना सदस्य रहने छन् । सम्झौतापत्रमा गौशाला धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न व्यवस्थापन समितिले आवश्यक योजना तथा कार्यक्रम, वित्तीय स्रोत व्यवस्थापन गर्न कोष र महानगरसँग समन्वय तथा सहकार्यका कार्यक्रम तय गर्न सक्ने उल्लेख छ । गौशाला धर्मशाला सञ्चालन, व्यवस्थापनसम्बन्धी सम्झौता भएको मितिबाट र कार्यविधि पहिलो पक्षको सञ्चालक परिषद्को स्वीकृतिपछि महानगरको नगर कार्यपालिकाबाट स्वीकृत भई स्थानीय राजपत्रमा प्रकाशित भएको मितिबाट लागू हुने छ । डा. थापाले सहमति कार्यान्वयन गर्ने क्रममा कुनै विवाद उत्पन्न भएमा कोष र महानगरको समझदारीमा समाधान गरिने र आवश्यक ठानेमा पूरक सहमति वा कुनै नीतिगत निर्णयसमेत गर्न सक्ने सहमति भएको बताए । सहमतिपत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक सुभाषचन्द्र जोशी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् । सम्झौतापछि वडाध्यक्ष आशामान संगतले सार्वजनिक सम्पत्तिमा सबैको समान पहुँच बनाउनु सहमतिको उद्देश्य रहेको बताए । कोषका सदस्य सचिव डा. थापाको प्रस्तावमा तत्कालीन संस्कृति पर्यटनमन्त्री एवं कोष सञ्चालक परिषद्का तत्कालीन अध्यक्ष सुदन किराँतीको अध्यक्षतामा २०८० साउन १७ गते बसेको बैठकले मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । कोषको निर्णयपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । कोषले वार्षिक भाडा परिमार्जन गर्न पत्राचार गरे पनि समितिले पटक पटक अटेरी गरेपछि सम्झौता खारेजी गर्ने निर्णयमा कोष पुगेको थियो । सम्झौता अनुसार श्रीपशुपतिनाथमा पर्व पर्वमा छाडिएका साँढेलाई परम्परा अनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने सर्त रहे पनि मारवाडी सेवा समितिले व्यापार गर्दै आएको छ । समितिले १९ वटै सटर मासिक ३५ हजारमा रुपैयाँभन्दा बढी भाडा असुल्ने गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् अध्यक्ष बद्रीप्रसाद पाण्डे, कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख बालेन शाहको नेतृत्वको टोलीबिच परिषद् बैठकमा पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी कार्यविधिमा छलफल भएपछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । परिषद् बैठकले ‘काठमाडौं जिल्ला अदालतको असोज १६ गतेको फैसलाबमोजिम मारवाडी सेवा समितिको दाबी नपुग्ने ठहरी फैसला भई गौशाला धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषमा नै निहित भएकाले गौशाला धर्मशालाको पशुपति क्षेत्र विकास कोष व्यवस्थापनले आवश्यकता अनुसार सम्बन्धित सरकारी निकायसँग समन्वय गरी व्यवस्थापन गर्न कोषलाई निर्देशन दिने’ निर्णय गरेको थियो । मारवाडी सेवा समितिको दावी मारवाडी सेवा समितिले २०६० को सम्झौताभन्दा अघि नै धर्मशाला सञ्चालन गर्दै आएको बताएको छ । समिति निवर्तमान अध्यक्ष कैलाशचन्द्र गोयलले धर्मशाला सञ्चालन ८४ वर्षदेखि सञ्चालन गरिरहेको, २०६० मा सहयोग सम्झौता भएको र आफूहरू मोही भएको दावी गरे । २०६० मा सम्झौता हुँदा तत्कालीन अमालकोट कचहरीका तर्फबाट द्वारे कृष्णलाल वैद्य र सेवा समितिका तर्फबाट महासचिव शिवभगवान अग्रवालले हस्ताक्षर गरेको बताएका छन् ।
दशैं बिदामा आयल निगमका यी डिपोबाट पेट्रोल पाइने
काठमाडौं । नेपाल आयल निगमका डिपोहरू दशैं बिदामा खुल्ने भएका छन् । निगमले बुधबार विज्ञप्तिमार्फत दशैंको समयमा हुने पेट्रोलियम पदार्थको मागलाई सुचारु गर्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालयअन्तर्गत रहेका डिपोहरू आलोपालोमा खोल्न लागिएको जानकारी दिएको छ । सूचनाअनुसार थानकोट र धनगढी डिपो तीन दिन खुल्नेछ । विराटनगर, अमलेखगञ्ज, पोखरा, सुर्खेत, धनुषा, वीरगञ्ज र चारआली डिपो २ दिन खुला हुनेछ । यसैगरी, दाङको इन्धन डिपो एक दिन र नेपालञ्ज र धनगढीको डिपो आवश्यकताअनुसार खुल्ने हुनेछ । निगमले सम्बन्धित कार्यालयहरू बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताको लागि प्रत्येक डिपोको सम्पर्क व्यक्तिसमेत तोकेको छ । ती व्यक्तिसँग सम्पर्क गरेर तोकिएको समयमा डिपोबाट पेट्रोलियम पदार्थ दिन सक्ने निगमले जनाएको छ ।
दशैंअघिको अन्तिम कारोबारको दिन नेप्से ४.८५ अंकले बढ्यो
काठमाडौं । दशैंअघिको अन्तिम कारोबारको दिन आज (बुधबार) सेयर बजार परिसूचक झिनो अंकले बढेको छ । आज ४.८५ अंकले बढेर बजार २ हजार ६६८.१७ बिन्दुमा बन्द भएको छ । आज ८३ लाख १२ हजार ६८५ कित्ता सेयर खरिद बिक्रीबाट ३ अर्ब ७६ करोड १५ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन यूनाइटेड मोदी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावरको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ । बुधबार १३० वटा कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटाको मूल्य घटेको छ । ११ वटाको मूल्य स्थिर रहेको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ ।
चंगा देखियो, पर्व आएको आभाष (फोटो-फिचर)
काठमाडौं । दशैं-तिहार नजिकिएसँगै काठमाडौंमा चंगा देखिन थालेको छ । काठमाडौंमा वर्षाका देवता इन्द्रलाई पानी पुग्यो अब नबर्साउनु भन्ने सन्देश दिन चंगा उडाउने चलन बसेको जनविश्वास छ । यता आकाशमा रंगीविरंगी चंगा उड्न थालेपछि दशैंको माहोल सुरु भएको पनि भनिन्छ । अहिले काठमाडौं उपत्यकाका गल्ली चोकदेखि व्यापारी क्षेत्रमा चंगाको व्यापार बढेको छ, पसलेलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ । अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंंगाले स्थान ओगटेको छ । नेपालमै बनाइने चंगा महँगो भएकोले भारतीय बजारबाट ल्याइएको प्लास्टिकको चंगाप्रति उपभोक्ताको रोजाइ परेको बिक्रेताहरूले बताएका छन् ।
लक्ष्मी सनराइज बैंकले दशैँ बिदामा पनि सेवा दिने, यी शाखा खुला हुने
काठमाडौं । लक्ष्मी सनराइज बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्धादशीका दिन पनि सेवा दिने भएको हो । बैंकका अनुसार कोशी प्रदेशमा असोज २४ गते इटहरी, विराटनगर (हनुमान दास रोड), दुहवी, विर्तामोड, सुरुङ्गा, असोज २५ गते विराटनगर (हनुमान दास रोड), धरान, दमक, असोज २७ गते इनरुवा, काकरभिट्टा, असोज २८ गते विराटनगर र भुम्का शाखाबाट सेवा दिने बैंकले जनाएको छ । मधेश प्रदेशका वीरगंज (आदर्शनगर), जनकपुर (भानु चोक), वीरगंज (लिङ्ग रोड), लहान शाखाबाट सेवा दिनेछ । यस्तै बागमती प्रदेशमा (उपत्यका भित्र) हात्तीसार, गैह्रीधारा, भक्तपुर (सुकुलढोका), पुल्चोक सामाखुशी, कालिमाटी, सुकेधारा, तिनकुने, पुरानो बानेश्वर, खुशिबु, भक्तपुर (सल्लाघारी), बौद्ध र उपत्यका बाहिर नारायणघाट (लायन्स चोक) शाखाबाट सेवा दिनेछ । यस्तै गण्डकी प्रदेशमा पोखरा न्यूरोड, औद्योगिक क्षेत्र, दमौली, पोखरा (अमरसिंह), रजहर पोखरा (चिप्लेढुङ्गा), सुन्दरबजार, वालिङ र बाग्लुङ शाखा, लुम्बिनी प्रदेशमा कोहलपुर, सुनवल, भैरहवा, रामपुर, नेपालगंज (कारकाँदो चोक, तौलीहवा, घोराही, तुल्सीपुर, बुटवल (मिलन चोक) शाखाबाट सेवा दिने बैंकको भनाइ छ । कर्णाली प्रदेशमा मुसिकोट, विरेन्द्रनगर, श्रीनगर, छिञ्चु शाखा र सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर, धनगढी (एलएन चोक), सुख्खड, धनगढी (शहिदगेट) शाखाबाट सेवा दिने बैंकले बताएको छ । यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ ।