विकासन्युज

भीजी अटोमोबाइल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता

काठमाडौं । नेपालका लागि सुजुकी दुई पाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) को आधिकारिक वितरक भीजी अटोमोबाईल्सले एमएडब्लू हायर पर्चेजसँग ग्राहकहरूलाई सरल र सुलभ किस्ताबन्दीमा फाइनान्स सेवाहरू प्रदान गर्न साझेदारी गरेको छ । एमएडब्लू हायर पर्चेजले आगामी दिनमा नेपालभरका सबै भीजी सुजुकी दुई पाङ्ग्रे डिलर तथा आफ्ना आउटलेटमार्फत सजिलो र झन्झटमुक्त फाइनान्स सेवाहरू प्रदान गर्ने साझेदारी भएकाे हाे । साथै यो साझेदारीले ग्राहकहरूलाई सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्न सरल, सुलभ र किफायती तरिकाले फाइनान्स प्रदान गर्ने विश्वास लिएकाे कम्पनीले जनाएकाे छ । यो सम्झौतामा ग्राहकहरूले २४ महिनासम्मको किस्ताबन्दीमा ईएमआईविकल्पमार्फत भुक्तानीको साथमा सहज र सर्वसुलभ रूपमा फाइनान्सिङ सुविधाको लाभ प्राप्त गर्न सक्दछन् । कम्पनीले हाल बजारमा सुजुकी ब्राण्डका भी-स्ट्रोम, जिक्सर, हयाते, ईन्ट्रूडर, एभीनीस, एसेस, बर्गम्यान आदि मोडलका मोटरसाइकल तथा स्कुटरहरू बिक्री वितरण गर्दै आइरहेको छ ।

धनाढ्यको सूचीमा ११ बाट १७ ‍औं स्थानमा झरे मुकेश अम्बानी, १०० अर्ब डलर क्लबबाट बाहिरिने खतरा

काठमाडौं । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी विश्वका धनी व्यक्तिको सूचीमा लगातार तल झरिरहेका छन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार अर्बपति अम्बानी हाल विश्वका धनीहरूको सूचीमा १७ औं स्थानमा छन् । यसअघि उनी लामो समयदेखि ११औं स्थानमा थिए । अम्बानी सूचीमा तल आउनुका साथै उनकाे सम्पत्ति पनि घट्दै गएको छ । उनकाे कुल सम्पत्ति १०१ अर्ब डलरमा झरेको छ । यस्तो अवस्थामा अब उनी १०० अर्ब डलर क्लबबाट बाहिरिने खतरा पनि छ । एक दिनअघि मात्रै मुकेश अम्बानीको सम्पत्ति २.१८ अर्ब डलरले घटेको छ । लामो समयसम्म ११ नम्बरमा करिब दुई महिनाअघि मुकेश अम्बानी धनीहरूको सूचीमा ११ औं नम्बरमा थिए । त्यतिबेला उनको कुल सम्पत्ति ११२ बिलियन डलर थियो । उनी लामो समयसम्म यही नम्बरमा रहे । पछि अन्य धनीहरूको सम्पत्ति द्रूत गतिमा बढ्यो र अम्बानीको सम्पत्ति घट्यो । जसका कारण उनी यो लिस्टमा निरन्तर ओरालो लाग्दै गएका हुन् । यस्तो अवस्था किन आयो ?  पछिल्लो केही सातादेखि भारतीय सेयर बजार लगातार ओरालो लागेको छ । धेरै ठूला कम्पनीको सेयर घटेको छ । मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज पनि यसमा सामेल छ । पछिल्लो एक महिनामा रिलायन्सको सेयर १० प्रतिशतभन्दा बढीले घटेको छ । यस्तो अवस्थामा मुकेश अम्बानीको सम्पत्ति पनि घटेको हाे । को आए ११ नम्बरमा ? लामो समयसम्म मुकेश अम्बानी रहेको ११औं स्थानमा अहिले एनभीडीया कम्पनीका संस्थापक जेसन हुआङले कब्जा गरेका छन् । जेसन हुआंगको कुल सम्पत्ति १२५ बिलियन डलर छ । एनभीडीया संसारको सबैभन्दा ठूलो अर्धचालक कम्पनी हो । यो एप्पलपछि संसारको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी पनि हो । को छ शीर्षमा ? यो सूचीमा एलन मस्कको नाम शीर्षमा छ । टेस्ला कम्पनीका मालिक मस्कको कुल सम्पत्ति २४० अर्ब डलर छ । उनी लामो समयदेखि यो सूचीमा पहिलो स्थानमा रहेका छन् । दोस्रो स्थानमा अमेजनका जेफ बेजोस (२१२ बिलियन डलर) र तेस्रो स्थानमा फेसबुकका मार्क जुकरबर्ग (२०६ बिलियन डलर) रहेका छन् । एजेन्सीकाे सहयाेगमा ।

बंगलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

काठमाडौं । बंगलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बंगभवन’ कब्जा गरेका छन् । यसअघि मंगलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजिनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो । राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बंग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ । प्रदर्शनकारीहरूले बंगभवन बाहिर उभिएर बंगलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन् । ‘राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी हुन् । उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ’, एकजना प्रदर्शनकारीले भने । मोहम्मद साहाबुद्दिन बंगलादेशका १६औँ राष्ट्रपति हुन् । उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए । भेदभाव विरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आह्वान गरेको छ । त्यसैगरी विद्यार्थीहरूले अवामी लिगको विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । प्रदर्शनकारीहरुले सन् २०१८ र २०२४ मा शेख हसिनाको नेतृत्वमा भएको चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावमा विजयी भएका सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग गरेका छन् । उनीहरूले जुलाई–अगस्ट विद्रोहको स्फूर्तिलाई ध्यानमा राख्दै गणतन्त्रको घोषणा गर्न आह्वान गरेका छन् । सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रूप लिएको हो । बढ्दो विरोधको पृष्ठभूमिमा, शेख हसिनाले ५ अगस्टमा प्रधानमन्त्रीको रूपमा राजीनामा दिएपछि बंगलादेशमा अन्तरिम सरकारको स्थापना भयो । हसिनाको राजीनामापछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । रासस

अदालत र सरकारलाई दबाब दिने गरी भइरहेका विरोध प्रदर्शन उचित नभएको सत्तारूढ दलको निष्कर्ष

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तापक्षीय दलहरुको बैठकमा सहभागी नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत । तस्बिर सौजन्य : प्रधानमन्त्री कार्यालय / रासस काठमाडौं । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूले बुधबारको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिले सर्वसम्मत तयार पारेको प्रतिवेदन कार्यान्वयनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई अदालतको स्वीकृति लिई पक्राउ गरिएको जानकारी गराए । फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने गरी भइरहेका विरोध प्रदर्शन उचित नभएको गृहमन्त्री लेखकले बताए । यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरुले आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्ष रूपमा अगाडि बढाउन आग्रह गर्ने विषयमा समझदारी भएको उनले जानकारी दिए । सरकारको हालसम्मको काम, आगामी योजनालगायत विषयमा यही कात्तिक ९ गते अर्काे बैठक बस्ने तय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जानकारी दिए । साथै साझा धारणा सार्वजनिक गर्ने पनि आजको बैठकबाट तय भएको उनले बताए । बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरु एक ढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए । लोकतान्त्रिक पद्धति, मूूल्य र मान्यताप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने उनले बताए । ‘हामी लोकतन्त्रका लागि लडेका हौं । हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ । अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन । जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन आजीवन लागेका छौं । हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन । यसमा हामी स्पष्ट छौं,’ प्रधानमन्त्री ओलीले भने । बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी थिए । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा अर्ज्याल नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मणिकुमार अर्ज्याल नियुक्त भएका छन् । कार्तिक ७ गते बसेको संस्था सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा अर्ज्याललाई नियुक्त गर्ने निणर्य गरेको हो । ‘उपरोक्त सम्बन्धमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा मिति २०८१ /०७/ ०७ गते बिहान बसेको ३५३ औं सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य श्री मणिकुमार अर्ज्यालज्यू मिति २०८१ /०७/ ०७ गते देखि लागु हुने गरी सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त गरेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु,’ नेप्सेले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘जहाजमा बम छ’ भन्ने हल्लाले अर्बौं घाटा, डरैडरले उडान भर्दै कम्पनी

काठमाडौं । गत सातादेखि भारतका लगभग हरेक एयरलाइन्सले प्रत्येक दिन धम्कीपूर्ण कल र मेसेजहरू प्राप्त गरिरहेका छन् । विमानलाई बमले उडाउने कल एयरलाइन्सहरूले पाइरहेका छन् । यसले सम्पूर्ण प्रणालीलाई उथलपुथल पारिरहेकाे छ । यसले गर्दा यात्रुलाई मात्रै होइन एयरलाइन्सले पनि ठूलो घाटा बेहोर्नुपरेको छ । केही दिनअघि मात्रै अमेरिका जाने विमानले ३ करोड घाटा बेहोर्नुपर्‍याे । यस्ता धम्कीपूर्ण कल र मेसेजले अहिले जनतामा डरको वातावरण सिर्जना गरेको छ । यही ‘थ्रेट गेम’का कारण यो वर्ष हालसम्म ५ सयभन्दा बढी उडान जोखिममा परेका छन् । यसले झण्डै दुई हजार उडान र साढे तीन लाख यात्रु प्रभावित भएका छन् । यसबाहेक वायुसेवा कम्पनीलाई झण्डै १५ अर्ब भारु घाटा भएकाे विभिन्न रिपाेर्टले उल्लेख गरेाका छन् । मंगलबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकाे भारतीय निजी वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा खोजतलास भएकाे थियाे । भिस्तारा एयरवेजको जहाज भारतको नयाँदिल्लीबाट काठमाडौं अवतरण भएकाे थियाे । जहाजमा बम रहेको भन्ने जानकारी दिल्लीबाटै आएसँगै खाेजतलास सुरु गरिएकाे थियाे । १५७ जना यात्रु बोकेर जहाज आज अपरान्ह साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियाे । धम्कीले पूरै तालिका गडबड एयरलाइन्सका अधिकारीहरूका अनुसार कुनै पनि उडानको खतराले उक्त एयरलाइन्सको २४ घण्टा एयर तालिका प्रणालीमा ‘चेन रियाक्सन’ निम्त्याउँछ । किनभने एउटा विमानमा खतरा आए पनि एउटा विमानले २४ घण्टामा कम्तीमा चारदेखि छवटा छोटो दूरीको उडान गर्छ । यस्तो अवस्थामा एउटा उडानलाई खतरामा परेमा त्यस विमानको पछिल्ला सबै उडानहरू ढिलो, रद्द वा पुन: तालिकामा असर गर्छ । १५ अर्ब भारुको घाटा प्रत्येक उडानमा औसत १८० यात्रु हुन्छन् । यस्तो अवस्थामा यो वर्ष अहिलेसम्म करिब ५ सय उडान जोखिममा परेका छन्, जसको अर्थ कम्तीमा दुई हजार उडान र ती उडानमा उडान गर्ने साढे तीन लाखभन्दा बढी यात्रु प्रत्यक्ष प्रभावित भएका छन् । प्रति उडान ३ करोड रुपैयाँको ‘चेन रियाक्सन’ घाटालाई हेर्दा हालसम्म देशका विभिन्न एयरलाइन्सले करिब १५ सय करोड अर्थात १५ अर्ब भारु घाटा बेहोर्नु परेको छ । ३ करोड जरिवाना  अक्टोबर १४ मा एयर इन्डियाको विमान मुम्बई एयरपोर्टबाट न्यूयोर्कको जाेन एफ केनेडी (जेएफके) एयरपोर्टको लागि उडेको थियो । जसमा करिब २०० यात्रु र चालक दलका सदस्यहरू थिए । यो विमान करिब १३० टन जेट इन्धनले भरिएको थियो । टेकअफलगत्तै बम रहेको खबर आयो । दुई घण्टापछि विमान दिल्ली एयरपोर्टमा अवतरण गर्नुपर्‍यो । इन्धन, यात्रु, सामानलगायतका यो विमानको तौल ३४० देखि ३५० टनसम्म रहेकाे जनाइएकाे छ । एयर इन्डियाको यो विमानले अधिकतम २५० टन वजनमात्रै अवतरण गर्न सक्छ । यस्तो अवस्थामा विमानमा रहेको करिब १०० टन इन्धन हावामा उडाइएकाे थियाे । यसपछि विमानलाई दिल्लीमा अवतरण गरियाे । एक सिनियर पाइलटका अनुसार एक टन इन्धनको लागत करिब १ लाख रुपैयाँ पर्छ । उक्त विमानबाट एक सय टन इन्धन उडाइएकाे थियाे । यस्तो अवस्थामा इन्धनका कारण मात्रै एयरलाइन्सले १ करोड रुपैयाँ घाटा बेहोरेको छ । यसबाहेक दिल्लीमा ल्यान्डिङ गरेपछि ल्यान्डिङ चार्ज, २०० भन्दा बढी यात्रु र चालक दलका सदस्यलाई होटलमा बस्ने खर्च आदि पनि समावेश छन् । यस्तो अवस्थामा बमको झुटो समाचारका कारण एयरलाइन्सलाई करिब ३ करोड रुपैयाँ नोक्सान भएको केही वरिष्ठ अधिकारीले बताएका छन् ।

कालिका मन्दिरमा ४५ लाख भेटी संकलन

गलकोट । बागलुङ कालिका मन्दिरमा बडादसैँमा असोजमा ४५ लाख रुपैयाँ भेटी संकलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा ४५ लाख २७ हजार रुपैयाँ भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ । बडा दसैँ र चैते दसैँमा कालिका मन्दिरमा सबैभन्दा बढी भेटी संकलन हुने गरेको छ । दसैँमा मात्रै वर्षभरी हुने भेटीमध्ये ६० प्रतिशत संकलन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताए । असोजमा भेटीमार्फत २२ लाख ८० हजार रुपैयाँ, परेवा बिक्रीबाट ११ लाख ३६ हजार दुई सय ५० रुपैयाँ, सटर भाडा तीन लाख ८५ हजार रुपैयाँ, बोकाको बली शुल्कबाट चार लाख चार हजार रुपैयाँ, चामल बिक्रीबाट ९६ हजार संकलन भएको छ । साथै, कुखुरा बली शुल्कबाट ३० हजार आठ रुपैयाँ, राँगा बलीबाट १८ हजार चार सय रुपैयाँ, विवाह शुल्क १० हजार पाँच सय रुपैयाँ, आर्थिक सहयोग एक लाख ४७ हजार आठ सय ७१ रुपैयाँ, पण्डितबाट प्राप्त शुल्क १६ हजार चार सय रुपैयाँ र व्रतबन्धबाट तीन सय रुपैयाँ आम्दानी भएको समितिका अध्यक्ष खड्काले जानकारी दिए । साथै, असोजमा विभिन्न शीर्षकमा १३ लाख ९० हजार रुपैयाँ खर्च भएको जनाइएको छ । अध्यक्ष खड्काले दिएको जानकारीअनुसार तलब, पूर्वाधार, कर्मचारी सुविधा, पानी, विद्युत्लगायत उक्त रकम खर्च भएको छ । चाडवाडको समयमा कालिका मन्दिर दर्शन गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दसैँमा मात्रै चार लाख दर्शनार्थी मन्दिर दर्शनका लागि आएको गुठीको तथ्यांक रहेको छ । गत चैते दसैँमा पनि ४० लाख रुपैयाँ भेटी संकलन भएको थियो ।

तिहारका लागि भक्तपुरका कुमाले पाला बनाउन व्यस्त (फोटोफिचर)

काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदाय पाला बनाउन व्यस्त छन्। आकर्षक माटोको भाडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउने, सुकाउने र रङ भर्ने कामबाट एकछिन फुर्सद छैन । यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौंं, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ र वीरगञ्जबाट समेत माग हुँदै आएकाे छ । भक्तपुरमा मात्र नभई पालाको माग बाहिर जिल्लादेखि अन्तर्राष्ट्रिय बजारमा समेत बढेकाे एक स्थानीयले जानकारी दिए । विगतमा भक्तपुरका कुमालेले बाहिर जिल्लामै गएर माटोका भाँडा बनाउने गर्थे । कतिपय विभिन्न जिल्लामा बसोबास गरेका कुमालेले स्थानीयस्तरमै भाँडा बनाउने गरे पनि अहिले यो परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ । थोरै भाँडा बनाउनेले पनि तिहारमा एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको र बाहिरबाट आएको माग लिएर भाँडा बनाउनेले तिहारमा मात्र पाँच लाखसम्म आम्दानी गर्ने जनाइएको छ । तस्बिरहरू: