संसारको सबैभन्दा महंगो क्लब ‘यलाेस्टोन’, मेम्बरसीपका लागि तीन लाख अमेरिकी डलर डिपोजिट गर्नुपर्ने
काठमाडौं । तपाईंले संसारको सबैभन्दा महँगो घर, सबैभन्दा महँगो कारको बारेमा सुन्नु भएको होला । के तपाईंले संसारको सबैभन्दा महँगो क्लबको बारेमा सुन्नुभएको छ ? यो क्लब अमेरिकामा छ । येलोस्टोन नामको यो क्लब विश्वको सबैभन्दा महँगो क्लब हो । यस क्लबमा संसारभरका ८०० भन्दा बढी अरबपतिहरूको लागि घर छन् । यसका सदस्यहरूमा मार्क जुकरबर्ग, बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा आदि छन् । क्लबमा रमणीय स्थल, खाना र पेय पदार्थका साथै अनेकन विलासी सुविधाहरू छन् । यसमा विश्वको एकमात्र निजी स्की र गल्फ समुदाय छ । सदस्यहरू कोकाे ? यो क्लब अमेरिकाको मोन्टाना राज्यको येलोस्टोन राष्ट्रिय निकुञ्जबाट करिब ८० किलोमिटर टाढा छ । क्लबमा जम्मा ८८५ अर्बपतिको घर छ । क्लबमा फेसबुकका मार्क जुकरबर्ग, माइक्रोसफ्टका बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्स, गुगलका पूर्व सीईओ एरिक स्मिट, गोप्रोका अर्बपति संस्थापक निक वुडम्यान, पप स्टार जस्टिन टिम्बरलेकलगायत रहेका छन् । के छ खास विशेषता ? यो क्लब स्की र गल्फका लागि परिचित छ । यहाँ धेरै ठूला पहाडहरू छन् । यसबाहेक यहाँ नदीहरू पनि बग्छन् । जाडो, गर्मी र वर्षायामअनुसार यहाँ विभिन्न गतिविधि हुने गर्दछन् । यहाँ बनेका घरमा धेरै अरबपतिहरू पनि स्थायी रूपमा बस्छन् । धेरै मानिसहरू यहाँ छुट्टी मनाउन मात्र आउँछन् । पूल र फिटनेस केन्द्र पनि यस क्लबमा स्वीमीङ र फिटनेस सेन्टर पनि छ । यहाँ विवाह, पार्टी, कार्यक्रम वा निजी कार्यक्रमको लागि छुट्टै ठाउँ छ । यसलाई ‘द बार्न’ नाम दिइएको छ । यसको गोल्फ कोर्स क्षेत्र २ हजार ८ सय वर्ग फिटमा फैलिएको छ । स्कीका लागि २ हजार ९ सयभन्दा बढी क्षेत्रहरू छन् । यी बाहेक यहाँ बसोबास गर्नेका लागि धेरै प्रकारका साहसिक गतिविधिहरू पनि आयोजना गरिन्छ । यस क्लबकाे मेम्बरसिपका लागि ३ लाख अमेरिकी डलर डिपाेजिट गर्नुपर्छ भने वार्षिक रूपमा ३६ हजार डलर तिर्नुपर्छ ।
काभ्रेमा खानेपानी आयोजनामा एक अर्बको क्षति, २ हजार घरपरिवार वञ्चित
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको छ । हालसम्म प्राप्त क्षतिको विवरणअनुसार जिल्लामा मात्र एक अर्ब रुपैयाँको क्षति पुगेको खानेपानी तथा सरसफाइ ३ नं डिभिजन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका अनुसार बाढीपहिरोले एक सयभन्दा बढी निर्माणाधीनलगायत खानेपानी आयोजनामा क्षति पुगेको हो । जिल्लामा सञ्चालनमा रहेका दुई र निर्माणाधीन अवस्थाका सात योजनामा क्षति पुगेको जनाइएको छ । कार्यालयका निमित्त प्रमुख इन्जिनियर दिलीप कुमारका अनुसार बाढीपहिरोले लिफ्ट तथा ग्राभिटी खानेपानी आयोजनामा क्षति पुगेको छ । ‘बाढीपहिरोका कारण क्षति पुगेका खानेपानी आयोजनाको तथ्यांक आउने क्रम जारी छ, काभ्रेमा एक सयभन्दा बढी आयोजनामा क्षति पुगेको अनुमान गरेका छौँ’, उनले भने । उनका अनुसार सबै स्थानीय तहलाई खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण पठाउन टेलिफोन तथा पत्रको माध्यमबाट अनुरोध गरिएको छ । कार्यालयले काभ्रेको भुम्लु बृहत् खानेपानी, कटुन्जे लिफ्टिङ, सीताघारी खानेपानी, रोशी औद्योगिक ग्राम र कालढुंगा बजार व्यवस्थित खानेपानी आयोजना, भूमिडाँडा बृहत् खानेपानी आयोजना, भदौरेछाप–फेट्टार–मुकुटार–सिहाले, बकुलछार–फलाङ्गे बृहत् खानेपानी, इन्द्रावती कोलाचौर लिफ्ट खानेपानी, भुम्लु सापिङ खानेपानीलगायतका योजनाको क्षतिको विवरण प्राप्त भएको जनाएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले बाढीपहिरोबाट काभ्रेको सञ्चालनमा रहेको तिमाल बृहत् (सुक्खा क्षेत्र) खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुग्दा आठ हजार तीन सय ७३ घरपरिवार र चौँरीखोला–ढोकेडाँडा खानेपानी आयोजनामा क्षति हुँदा एक हजार नौ सय तीन घरपरिवार खानेपानीको सुविधाबाट वञ्चित भएको जानकारी दिए । उनका अनुसार बाढीपहिरोबाट जिल्लामा निर्माणाधीन भकुन्डेबेँसी–खनालथोक–खाक्सी–दाप्चा क्षेत्र बृहत् खानेपानी, काशीखण्ड बृहत् खानेपानी, नमोबुद्ध बृहत् खानेपानी, पनौती बसपार्क गुणस्तर खानेपानी, सुनकोशी कोशीदेखा खानेपानी गुणस्तर सुधार आयोजना, साँगा बृहत् खानेपानी आयोजना र पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजनामा क्षति पुगेको छ । यसैगरी, बाढीपहिरोबाट खानेपानी आयोजनाको पाइपलाइन, सम्पवेल, विद्युत् ट्रान्सफर्मर, पाइपलाइन, पानी संकलन ट्यांकीलगायतमा क्षति भएको बिवरण प्राप्त भएको कार्यालयले जनाएको छ । बाढीपहिरोका कारण सञ्चालनमा रहेको धुलिखेल खानेपानी, निर्माणाधीन पाँचखाल बृहत् खानेपानी आयोजना तथा सञ्चालनको अन्तिम तयारीमा पुगेको काभ्रे उपत्यका (तीन नगर समेटिएको)एकीकृत खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ । उक्त एकीकृत खानेपानीको मात्रै १० करोड रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ । पाँचखाल बृहत् खानेपानी आयोजनाका आयोजना प्रमुख इन्द्रमानसिं बस्नेतका अनुसार बाढीपहिरोबाट सुनकोशी नदीमा रहेको इन्टेकमा लेदो जमेको, करिब दुई किलोमिटर खानेपानीको पाइपलाइन, १२ वटा बिजुली पोल, खानेपानीको करिब दुई किलोमिटर हाइटेन्सन तार, खानेपानीको ट्यांकी, इन्टेकको कम्पाउन्ड पर्खाल, तारबार र ग्याबिन पर्खालमा क्षति पुगेको छ । उनले उक्त निर्माणाधीन खानेपानी आयोजनाको मर्मत एवं बाँकी काम सम्पन्न गर्न छ महिनाभन्दा बढी समय लाग्ने बताए । यसैबीच, काभ्रे सदरमुकाम धुलिखेलमा खानेपानीको समस्या हुन थालेको छ । बाढीपहिरोले धुलिखेलमा सञ्चालित खानेपानीको मुहानमा क्षति पुर्याउँदा स्थानीय बासिन्दालगायत काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल, ७५ भन्दा धेरै होटल तथा रेस्टुरेन्ट, करिब चार दर्जन सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरीको ब्यारेक तथा प्रदेश एवं क्षेत्रीयस्तरका सुरक्षाका कार्यालयका खानेपानीको अभाव हुन थालेको बताइएको छ । धुलिखेल खानेपानी आयोजनाको करिब चार किलोमिटर क्षेत्रमा पाइप बगाउनाका साथै पानी ट्यांकी र इन्टेकहरुमा समेत क्षति पुगेको उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार आयोजनामा दुई करोड चार लाख रुपैयाँको क्षति भएको छ । रासस
एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, हकप्रद प्रस्ताव पारित
काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनीको साधारणसभा बुधबार सम्पन्न भएको छ । बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको सभाले चुक्ता पूँजीको १० सेयर बराबर ६.२५६ सेयर अनुपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रदको प्रस्ताव पारित भएसँगै कम्पनीले अब यसका आधारभूत पक्षहरूको कामलाई निरन्तरता दिने जनाइएकाे छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनका लागि हकप्रद सेयर निष्काषन गर्न लागेको हो । कम्पनी सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को बोनस सेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२.५६ प्रतिशत अर्थात १००ः६२.५६ अनुपातमा हकप्रद सेयर निष्काषन गर्ने निर्णय गरेको थियो । एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल मार्केट रहेको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २२ गते बुक क्लोज गरेकाे थियाे ।
वर्तमान सरकारले गर्ने भनेका ७० % काम सम्पन्न भइसकेका छन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको बताएका छन् । वर्तमान सरकार जनताको विश्वासले गठन भएको उनले उल्लेख गरे । आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि सरकारले पूरा गर्थ्याे ।’ उनले थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए । ‘पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालयअन्तर्गत के–के काम थालेका छौं र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोक्यौं,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैको आधारमा प्रधानमन्त्री र मन्त्रीहरूका बीच कार्यसम्पादन सम्झौता गर्याैं, पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको सङ्ख्या दुई सय ७४ वटा पुग्यो । तीमध्ये एक सय ८५ वटा काम सम्पन्न भएका छन् ।’ उनले दूध र उखु किसानको लामो समयदेखि रोकिएको भुक्तानी पाएकाे बताए। ‘लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका छन् । उनीहरूले पाउने रकम भुक्तानीका लागि सरकारले रु ६० करोड निकासा गरेको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘करिब ७५ हजार उखु किसानले पनि आफ्नो अनुदान बापतको भुक्तानी पाइसकेका छन् ।’ कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौं कृषकले पनि अब राहत महसुस गरेका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बितेको एक सय दिनमा तिनीहरूको बीमा बापतको भुक्तानी गर्न रु ८० करोड बीमा प्राधिकरणको खातामा पठाइएको स्पष्ट पारे ।
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
पोखरा । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् । सामान्यतया अक्टुबर नोभेम्बर पर्यटकीय याम मानिन्छ । विगत वर्षहरुमा ९०/९५ प्रतिशत होटल ‘अकुपेन्सी’ हुने यो समयमा अहिले पुग–नपुग ४०/४५ प्रतिशतमा सीमित हुँदा व्यवसायीमा निराशा छाएको हो । पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड महामारीपछि पर्यटन क्षेत्रमा आएको सुस्तताले अहिलेसम्म असर गरिरहेको बताए । ‘कोभिड अगाडिको जस्तो अवस्था पर्यटन क्षेत्रमा अझै आउन सकेका छैन, कोभिड पछाडिका केही वर्षमा ७०/८० प्रतिशत अकुपेन्सी हुने होटलहरु अहिले भने आधाआधीमा सिमित छन्’, उनले भने, ‘कोभिडले धेरै मुलुकको आर्थिक स्थिति कमजोर बनायो, पर्यटकहरु कम खर्च गर्न बाध्य भए, योसँगै आन्तरिक पर्यटकले पनि खर्च गर्ने क्षमता कम भयो, यसको असर सिंगो पर्यटन क्षेत्रले लामो समयदेखि भोगिरहेको छ ।’ सुवेदीले अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै पर्यटन क्षेत्रमा लगानी बढेको तर सोही अनुपातमा विदेशी पर्यटकको आगमन बढ्न नसकेको बताए । उनले भने ‘होटल बढे कोठाको क्षमता बढ्यो, तर बाह्य पर्यटकको आगमन बढेन, आन्तरिक र सीमित पर्यटकले ठूलो लगानीलाई धान्न सकेन, त्यसैले व्यवसायीमा चिन्ता थपिएको छ ।’ योसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडान हुन नसक्नु र महँगो टिकट दरले पनि विदेशी पर्यटक आगमनमा बाधा पुर्याइरहेको उनको भनाइ छ । होटल माउन्ट कैलाशका सञ्चालक नरेश भट्टराईले यो याममा पाहुना राख्न महिना दिन अघिदेखि नै कोठा ‘बुक’ हुने गरेको स्मरण गरे । ‘यो याममा निकै गाह्रो हुन्थ्यो, साथीभाइको फोन त्यस्तै आउँथ्यो, तर अहिले ३०/३५ प्रतिशत अकुपेन्सीमा होटल चलाउनु परेको छ’, भट्टराइले भने, ‘कहिले कोभिड, कहिले जहाज दुर्घटना, कहिले सडक दुर्घटना, बाढीपहिरोलगायत विविध कारणको यस क्षेत्रलाई निरन्तर असर पुर्याएको छ ।’ उनले पोखरालाई सुरक्षित गन्तव्य बनाउन पूर्वाधार र विश्वसनीय व्यवस्थापनको सुधार आवश्यकता रहेको बताए । सडक, होटल र अन्य पूर्वाधार सुधार गरी सुरक्षित तथा सहज यात्रा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘मौसम खुल्दै गएको छ, फेवातालको छेउछाउबाट हिमालका सुन्दर दृश्य अवलोकन गर्न र साहसिक गतिविधिमा रमाउने उत्तम समय हो, तर रमाउने पर्यटक नै पर्याप्त छैनन् ।’ टिका रिसोर्टका सञ्चालक एवं नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् गण्डकीका उपाध्यक्ष संगीता पौडेलले विविध कारणले पर्यटन क्षेत्र सुस्ताउँदै गएको र पछिल्ला वर्षहरूमा अपेक्षित चहलपहल बढ्न नसक्दा व्यवसायी तथा स्थानीय अर्थतन्त्रमा समेत ठूलो असर पारेको बताइन् । ‘हिमाल खुलेका छन्, वातावरण शान्त छ, तर यो रमाइलो वातावरणमा रमाउने पर्याप्त पर्यटक छैनन्’, उनले भनिन् । पौडेलले यो यामको समय पनि ३०/४० प्रतिशतको अकुपेन्सीमा होटल चलाएर बस्नु बाध्यता भएको सुनाइन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पर्यटकीय राजधानी घोषणालगायतले व्यवसायीलाई उत्साह थपे पनि सोचेअनुरुप गतिविधि हुन नसक्दा यो याममा पनि व्यवसायी सुस्ताएर बस्नु परेको बताए । उनले भने, ‘पर्यटकीय राजधानी त भन्यौँ, तर आवश्यक पूर्वाधारलगायत प्रचारप्रसारदेखि प्रवद्र्धनात्मक काम प्राथमिकताका साथ हुन सकेनन्, पर्यटन निजी क्षेत्रको प्रयासले मात्र हुँदैन, यो एकीकृत सोच, साझा प्रयासले मात्र सम्भव हुन्छ ।’ उनले पर्यटकको आगमन बढाउन सरकारले पर्यटन नीति ल्याउनुपर्ने र त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताइन्। वायुसेवा प्रदायक कम्पनीसँगको सहकार्यमा टिकट दर सस्तो बनाउनुपर्ने, अन्तर्राष्ट्रिय प्रचार, डिजिटल मार्केटिङमार्फत पोखरालाई साहसिक र सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विश्वभर प्रचार गर्न सके पोखराको पर्यटनले छिट्टै गति लिने उनको विश्वास छ । सरकार र निजी क्षेत्रबीच समन्वय कमजोर हुँदा पोखराले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी गन्तव्यका रूपमा आफूलाई स्थापित गर्न नसकेको र पर्यटकको आगमन घटेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउँछन् । ‘यो पर्यटकीय मौसममा समेत पोखराको पर्यटनमा अपेक्षित रूपमा सुधार हुन सकेको छैन, विशेषगरी पदयात्रा गतिविधिमा पर्यटकको सङ्ख्यामा ठूलो गिरावट आएको छ, पदमार्गहरु मोटरेबल बाटोले विस्थापित भए’, उनी भन्छन् । उनले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग संरक्षण व्यवस्थापन, प्रचारप्रसारमा सरकारको पर्याप्त चासो नपुगेको र निजी क्षेत्रको पहलले मात्र सम्भव नभएको उनको भनाइ छ । उनले बाह्य र आन्तरिक पर्यटक पदयात्राका लागि आए मात्र पोखराको पर्यटनले गति लिने र होटल तथा लजमा अकुपेन्सी दर बढ्ने बताए । पोखराको पर्यटनलाई पुनर्जीवित गर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न विशेष प्याकेज तयार गर्नुपर्ने उनको भनाइ छ । पोखरा महानगरले पर्यटनको दिगो विकास र अन्तर्राष्ट्रियस्तरमा यसको प्रचारलाई प्राथमिकतामा राख्दै विशेष योजना अघि सारेको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । आचार्यले भने, ‘पोखरा भिजिट इयर २०२५’ लाई लक्षित गरी नीति तथा कार्यक्रम निर्माण गरिएको छ, जसले दिगो योजना, अन्तर्राष्ट्रिय प्रचार र आन्तरिक पर्यटन प्रवद्र्धनलाई समेटनेछ ।’ उनले पोखरालाई बैठक, प्रोत्साहन भ्रमण, सम्मेलन र प्रदर्शनीका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न लागिएको जानकारी दिए । यसै क्रममा तीन ठूला अन्तर्राष्ट्रिय कार्यक्रम पोखरामा आयोजना हुने तयारी भइरहेको र पर्यटन सधैँ चलायमान तथा सक्रिय रहोस् भन्ने लक्ष्यका साथ महानगरले विशेष गृहकार्य गरिरहेको उनको भनाइ छ । मुग्लिन–पोखरा राजमार्गको निर्माण कार्य सन् २०२५ डिसेम्बरसम्म पूरा हुने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सोही अवधिपछि सुनिश्चित हुने उनको विश्वास छ । उनका अनुसार स्थानीय कला, संस्कृति, ग्रामीण जीवनको अनुभव र हरित पर्यटन अवधारणामा आधारित वातावरणमैत्री कार्यक्रमलाई लागू गदै पर्यटकलाई नयाँ अनुभव प्रदान गर्ने योजना बनाइएको छ । लेकसाइड, ड्यामसाइड र पोखरा आसपासमा गरेर एक हजार दुई सय बढी पर्यटकीय स्तरका होटल छन् । त्यसमा ४० हजार पाहुना राख्ने क्षमता छ । पर्यटन क्षेत्रमा छ खर्ब रुपैयाँ बढी लगानी र होटलमा मात्र पाँच खर्ब रुपैयाँ लगानी रहेको होटल संघका अध्यक्ष सुवेदीको दाबी छ । प्रत्यक्ष १५ हजार व्यक्तिले रोजगार पाएको पर्यटन क्षेत्रमा पर्यटकको आगमनको सुस्तताले धेरैलाई असर गरेकाले सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यबाट मात्रै यी चुनौती समाधान गर्न तथा पोखरालाई फेरि आकर्षक र सुरक्षित गन्तव्यका रूपमा स्थापित गर्ने व्यवसायीको विश्वास छ । रासस
डेडिकेटेड लाइनको बक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणबीच मतभेद नभएको खड्काको दावी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताएका छन् । बुधवार मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरू सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र विद्युत प्राधिकरणका बीचमा कुनै मतभेद नभएको स्पष्ट पारे । उनले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गरे । उनले यस विषयमा मन्त्रालय र प्राधिकरणका बीचमा छलफल भइरहेको र मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग पनि निरन्तर छलफल गरिरहेको बताए । मन्त्री खड्काले उद्योगीहरुले विद्युत उपभोग गरेको कुराको प्रमाण जुटाउने कामपनि भइरहेको बताए । सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन लागेको भन्नेकुरा हास्यास्पद रहेको बताए । उनले भने, ‘पत्रकारहरूले लेखेको बेलाबेला मैले पढ्न पाइरहेको छु- प्राधिकरण मन्त्रालय बीचमा एकदम मतभेद छ । यी सब कुराहरू खालि समाचारका शीर्षक हुन् । त्यस्ता कुराहरु नरहेको कुरा जानकारी गराउँछु । कुलमान घिसिङलाई हटाउने भन्ने कुरा हास्यास्पद कुरा हो ।’ मन्त्री खड्काले मन्त्रालय मातहतका सबैले उत्साहपूर्वक काम गरिरहेका भन्दै मन्त्रालयमा राम्रो टिम रहेको उल्लेख गरे । मन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रलाई आर्थिक वृद्धिको संवाहकका रुपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धिमा सहयोग गर्ने क्षेत्रका रुपमा विकास गर्न मन्त्रालय प्रतिवद्ध रहेकोसमेत बताए ।
कुनै समय मुस्किलले ५ हजार भारुको जुगाड गर्ने सुनिल यसरी बने टेलिकम बादशाह
काठमाडौं । के तपाईं सुनिल भारती मित्तललाई चिन्नुहुन्छ ? एयरटेलको नाम त पक्कै सुन्नुभएकाे छ हाेला । एयरटेल उनकै कम्पनी हाे । ६६ वर्षीय सुनिल भारतीका बुवा नेता थिए र दुई पटक सांसदसमेत भइसकेका थिए । तर सुनिलले पढाइ सकेपछि बुवाकाे बिँडाे थामेनन्, उनले राजनीति नभई व्यापारको दुनियाँमा प्रवेश गरे । भारतकाे प्रतिष्ठितमध्येकाे एक मानिने पद्मभूषण पदबाट सुनिल सम्मानित भइसकेका छन् । सुनिल मित्तल ‘भारती इन्टरप्राइजेज’का संस्थापक र अध्यक्ष हुन् । यस कम्पनीकाे व्यापार संसारका धेरै देशमा फैलिएको छ । उनी अर्बौं रुपैयाँको सम्पत्तिका मालिक हुन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार सुनिल मित्तलको कुल सम्पत्ति २६.२ बिलियन डलर (लगभग २.२० लाख करोड भारु) छ । उनी विश्वको ७१ औं धनी र देशको आठौं धनी व्यक्ति हुन् । यो वर्ष उनको सम्पत्ति १०.३ अर्ब डलरले बढेको छ । व्यावसायिक संसारमा प्रवेश सुनिल मित्तलको जन्म २३ अक्टोबर १९५७ मा पञ्जाबको लुधियानामा भएको थियो । उनका पिता सतपाल मित्तल पञ्जाबका प्रसिद्ध नेता थिए । उनी दुई पटक राज्यसभा सांसद पनि भएका थिए । पढाइ सकेपछि सुनिल मित्तलले बुवाकाे पेशा नराेजी व्यापार गर्ने इच्छा व्यक्त गरे । १८ वर्षको हुँदा सुनिलले बुबाबाट २० हजार भारु ऋण लिएर साइकलका पार्टपुर्जा बनाउने व्यवसायमा लागे । सुरुमा उनले ब्रजमोहन मुन्जालको हिरो साइकल कम्पनीका लागि पार्टपुर्जा बनाउने गर्थे । ठूला परिवारका भए पनि सुनिलले व्यवसायमा धेरै समस्या झेल्नुपरेको थियो । निकै मुस्किलले ५ हजार भारुको व्यवस्था एक अन्तर्वार्ताका क्रममा सुनिल मित्तलले व्यवसायको सुरुवाती दिनमा ५ हजार रुपैयाँकाे व्यवस्था गर्न निकै कठिनाइको सामना गर्नुपरेको बताएका थिए । त्याे अवस्थामा उनलाई ब्रजमोहन मुञ्जालले सहयोग गरेका थिए । मुञ्जालले सुनिललाई ५ हजार रुपैयाँको चेक दिएका थिए । टेलिकम व्यवसायमा प्रवेश साइकलको पार्टपुर्जाको व्यवसाय गरिरहँदा सुनिलले यो व्यवसायलाई ठूलो बनाउन नसकिने बुझेका थिए । उनी व्यापारिक संसारमा केही ठूलो गर्न चाहन्थे । त्यसैले उनले साइकलको व्यवसाय बेची मुम्बई गए । उनले त्यहाँ धेरै किसिमका व्यवसाय अँगाले तर नाफा कमाउन भने सकेनन् । एक पटक सुनिल ताइवान गए । त्यहाँ उनले ‘पुश बटन मोबाइल’ देखे । उनले त्यसलाई भारतमा आयात गर्ने निर्णय गरे । यसपछि उनले बीटल नामक टेलिफोन र फ्याक्स मेसिनकाे सुरुवात गरे । सन् १९९२ मा भारत सरकारले पहिलो पटक मोबाइल सेवाको लाइसेन्स वितरण गरेको थियो । सुनिलले यो सुवर्ण अवसरलाई हातबाट खेर जान दिन चाहेनन् । उनले सेलुलर सर्कलको लाइसेन्स पनि लिए । यसपछि सन् १९९५ मा उनले भारती सेलुलर लिमिटेड (बीसीएल) को स्थापना गरे । उनले यस कम्पनीअन्तर्गत एयरटेल ब्रान्ड सुरु गरे । यसपछि एयरटेल भारतभर लोकप्रिय भयो । विश्वका शीर्ष कम्पनीमा एयरटेल पनि आज एयरटेल भारतकाे मात्र नभई विश्वको शीर्ष टेलिकम कम्पनीहरूमा परेको छ । एयरटेलको व्यवसाय १५ भन्दा बढी देशहरूमा फैलिएको छ । कुनै समय यस कम्पनीकाे भारतमा वर्चस्व थियो । जब कुनै नयाँ टेलिकम कम्पनी आउँथ्यो, उसले एयरटेलको सामना गर्नुपर्थ्यो । तर, आज स्थिति अलिक बदलिएको छ । एयरटेलले मुकेश अम्बानीको कम्पनी जियोसँग कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । एजेन्सीको सहयाेगमा
ईपीएस हेरेर सेयर किन्दा कुन बैंक राम्रो ?
काठमाडाैं । प्रतिशत सेयर आम्दानीका आधारमा वाणिज्य बैंकहरूमा स्ट्याण्डर्ड चार्टर्ड बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार स्ट्याण्डर्ड चार्टर्डको सबैभन्दा धेरै प्रतिसेयर आम्दानी (ईपीएस) रहेको देखिएको छ । स्ट्याण्डर्ड चार्टर्डको ईपीएस ३६.५५ रुपैयाँ छ भने एभरेष्ट बैंकको ३४.८ रुपैयाँ रहेको छ । यसैगरी, नेपाल एसबीआईको ३१.०३, नबिल बैंकको २९.८३, प्राइम कमर्सियल बैंकको २६.५३, एनएमबी बैंकको २४.९५, प्रभु बैंकको १७.६४, माछापुच्छ्रे बैंकको १७.३२, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १७.१६ र ग्लोबल आइएमई बैंकको १६.७४ रुपैयाँ ईपीएस रहेको छ । यसैगरी, कुमारी बैंकको १६.४४, नेपाल बैंकको १६.३९, हिमालयन बैंकको १३.४२, सानिमा बैंकको ११.५५, सिद्धार्थ बैंकको १०.६४, लक्ष्मी सनराइज बैंकको ९.२५, सिटिजन्स बैंकको ५.५८ र राष्ट्रिय वाणिज्य बैंकको ३.८७ रुपैयाँ ईपीएस रहेको विवरणमा उल्लेख छ । यस्तै, कृषि विकास बैंक र एनआईसी एशिया बैंकको क्रमशः ३.२५ र २.९१ रुपैयाँ ईपीएस रहेको छ ।