कालिका मन्दिरमा ४५ लाख भेटी संकलन

<p>गलकोट । बागलुङ कालिका मन्दिरमा बडादसैँमा असोजमा ४५ लाख रुपैयाँ भेटी संकलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा ४५ लाख २७ हजार रुपैयाँ भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ । बडा दसैँ र चैते दसैँमा कालिका मन्दिरमा सबैभन्दा बढी भेटी संकलन हुने गरेको छ । दसैँमा मात्रै वर्षभरी हुने [&hellip;]</p>

गलकोट । बागलुङ कालिका मन्दिरमा बडादसैँमा असोजमा ४५ लाख रुपैयाँ भेटी संकलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा ४५ लाख २७ हजार रुपैयाँ भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ ।

बडा दसैँ र चैते दसैँमा कालिका मन्दिरमा सबैभन्दा बढी भेटी संकलन हुने गरेको छ । दसैँमा मात्रै वर्षभरी हुने भेटीमध्ये ६० प्रतिशत संकलन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताए ।

असोजमा भेटीमार्फत २२ लाख ८० हजार रुपैयाँ, परेवा बिक्रीबाट ११ लाख ३६ हजार दुई सय ५० रुपैयाँ, सटर भाडा तीन लाख ८५ हजार रुपैयाँ, बोकाको बली शुल्कबाट चार लाख चार हजार रुपैयाँ, चामल बिक्रीबाट ९६ हजार संकलन भएको छ ।

साथै, कुखुरा बली शुल्कबाट ३० हजार आठ रुपैयाँ, राँगा बलीबाट १८ हजार चार सय रुपैयाँ, विवाह शुल्क १० हजार पाँच सय रुपैयाँ, आर्थिक सहयोग एक लाख ४७ हजार आठ सय ७१ रुपैयाँ, पण्डितबाट प्राप्त शुल्क १६ हजार चार सय रुपैयाँ र व्रतबन्धबाट तीन सय रुपैयाँ आम्दानी भएको समितिका अध्यक्ष खड्काले जानकारी दिए ।

साथै, असोजमा विभिन्न शीर्षकमा १३ लाख ९० हजार रुपैयाँ खर्च भएको जनाइएको छ । अध्यक्ष खड्काले दिएको जानकारीअनुसार तलब, पूर्वाधार, कर्मचारी सुविधा, पानी, विद्युत्लगायत उक्त रकम खर्च भएको छ ।

चाडवाडको समयमा कालिका मन्दिर दर्शन गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दसैँमा मात्रै चार लाख दर्शनार्थी मन्दिर दर्शनका लागि आएको गुठीको तथ्यांक रहेको छ । गत चैते दसैँमा पनि ४० लाख रुपैयाँ भेटी संकलन भएको थियो ।

Share News