प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा भावना बलायर
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इस्न्योरेन्सको सञ्चालकमा भावना बलायर नियुक्त भएकी छन् । कार्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा बलायरलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले बिहीबारबाट नै लागु हुने गरी कार्यभार सम्हाल्नेछिन् । ‘उपरोक्त सम्बन्धमा यस कम्पनीको कार्तिक ७ गते सम्पन्न सञ्चालक समितिको २० औं बैठकको निर्णयानुसार समुह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनी श्री नेपाल होल्डीङको तर्फबाट मनोनित सञ्चालक समिति सदस्य ज्योति शेरचनको ठाँउमा भावना बलायर नियुक्त भै आजैका मितिबाट लागु हुने गरी पदभार ग्रहण गर्नु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ’, नेप्सेले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सिद्धार्थ प्रिमियरले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषलाई गर्यो ५१ लाख सहयोग
काठमाडौं । सिद्धार्थ प्रिमियरले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बाढी-पहिरोले क्षति भएका जनसमुदायलाई सहयोग गर्न कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा आर्थिक सहयोग स्वरुप ५१ लाख प्रदान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । समारोहमा इन्स्योरेन्सका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।
खराब कर्जा ५ प्रतिशत नाघ्दा तीन बैंकले लाभांश दिन नसक्ने, २० बैंकको एनपीएल औसत ४ प्रतिशत
काठमाडौं । बैंकहरुको खराब कर्जा औसत ३.९८ प्रतिशत देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकहरुको खराब कर्जा औसत ४ प्रतिशतको हाराहारीमा देखिएको हो । अधिकांश बैंकको खराब कर्जा ४ प्रतिशतको हाराहारीमा छ भने तीन बैंकको खराब कर्जा ५ प्रतिशत नाघेको छ । सबैभन्दा धेरै खराब कर्जा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको रहेको छ । नेपाल इन्भेष्टमेण्ट मेगाको खराब कर्जा अनुापत ५.८४ प्रतिशत छ भने लक्ष्मी सनराइज बैंकको ५.४४ र सिटिजन्स बैंकको ५.४१ प्रतिशत रहेको छ । हिमालयन बैंकको ४.९८ प्रतिशत, कुमारी बैंकको ४.९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम कमर्सियलको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ र ग्लोबल आइएमई बैंकको ४.६७ प्रतिशत खराब कर्जा रहेको छ । नेपाल राष्ट्र बैंकले ५ प्रतिशतको सीमा नाघेमा लाभांश वितरण गर्न दिँदैन भने थप व्यवसाय विस्तार गर्न नदिएर ऋण असुलीमा फोकस गराउँछ । पहिलो त्रैमासमा ५ प्रतिशत बढी खराब कर्जा भएका बैंकले लाभांश वितरण गर्न पाउने छैनन् । खराब कर्जाहरु धेरै हुन गएमा बैंकहरुको वित्तीय अवस्था नै कमजोर हुने अवस्था सिर्जना हुन्छ । राष्ट्र बैंकको निर्देशन अनुसार खराब वर्गमा वर्गीकरण भएका कर्जाहरुको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्छ । अहिले रिकभरीमा समस्या हुँदा बैंकहरुको खराब कर्जा बढेको बैंकरहरु बताउँछन् । पहिलो त्रैमासमा पनि अधिकांश बैंकले ठूलो रकम प्रोभिजनिङ गरेका छन् । राष्ट्र बैंकका अनुसार अब अधिकांश बैंकले नयाँ व्यवसायभन्दा पनि खराब कर्जा असुल गर्नुपर्ने तर्फ ध्यान दिनु पर्नेछ ।
आशा लघुवित्तको वार्षिक साधारणसभा मंसिर ७ गते, बुक क्लोज कहिले ?
काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले आगामी मंसिर ७ गतेका लागि ८ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा बनेपाको होटल उग्रचण्डीमा मंसिर ७ गते अपरान्ह ३ बजेबाट सुरु हुनेछ । साधारणसभा प्रयोजनाका लागि कम्पनीले कार्तिक २५ गते बुक क्लोज गर्ने भएको छ । सभाका विशेष प्रस्तावहरू १. सञ्चालक समितिको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०८०/८१ मुनाफाबाट चुक्ता पुँजी ६४ कराेड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतले हुने रकम ९ कराेड १४ लाख ३० हजार २८० रुपैयाँ बोनस सेयर वितरणको प्रस्ताव पारित गरी सो सम्बन्धमा प्रबन्धपत्रको दफा ६ (ख) र (ग) मा आवश्यक संशोधन गर्ने २. सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्नका लागि नियमावलीको नियम ३२(१) (ख) मा संशोधन गर्ने सम्बन्धमा ३. संस्थाले अन्य लघुवित्त संस्थाहरू गाभ्ने गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ४. संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन गर्न मान्यताप्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने र गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिदसम्बन्धी समझदारीपत्र तर्जुमा गर्न र सोसम्बन्धी आवश्यक सम्पूर्ण प्रकिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ५. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरूबाट आवश्यक निर्देशन गरेमा सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने
कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी
पर्वत । छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि दुई खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तायर पारिएको वातावरण प्रभाव मूल्यांकन ९इआइए० प्रतिवेदनको मस्यौदामा परियोजना सम्पन्न गर्न अनुमानित सो रकम लाग्ने उल्लेख छ । विभागको प्रस्तावमा जेभि स्मिक इन्टरनेशनल प्रालि अस्ट्रेलिया र जेड कन्सल्ट प्रालि नेपाल काठमाडौंले इआइएको काम गरिरहेको छ । पर्वतको विहादी गाउँपालिकामा निर्माण हुने परियोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणका बारेमा बुधबार पर्वत सदरमुकाम कुश्माबजारमा भएको सार्वजनिक सुनुवाइमा आयोजनाको कुल लागत, यसले ओगट्ने क्षेत्रफल, प्रभावित क्षेत्रलगायतका बारेमा संक्षिप्त प्रतिवेदन सार्वजनिक गरिएको छ । जसमा आयोजनाका कारण चार जिल्लाका ३२ वडा प्रभावित हुने उल्लेख छ । पर्वत, बागलुङ, स्याङ्जा र गल्मीका सात पालिका यसका प्रभावित क्षेत्र हुन् । आयोजनामा चार वटा फ्रान्सिस टबाईन हुनेछन् भने दुईवटा टेलरेश निर्माण गरिने छन् । समुद्री सतहदेखि पाँच सय ७० मिटरको उचाइमा निर्माण हुने आयोजनामा डाइभर्सन टनेल दुईवटा, बाँधको उचाइ दुई सय ४४ मिटर र सात सय ६० मिटर चौडाइ हुने प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माणपछि पर्वतको विहादीदेखि जलजला गाउँपालिकाको खनियाँघाटसम्म करिब २९ किलोमिटर लामो जलाशय निर्माण हुने जनाइएको छ । प्रतिवेदन लेखनमा सङ्लग्न वातावरणविज्ञ खडक महताले यस आयोजनाबाट वार्षिक एक सय ६३ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको र जसबाट वार्षिक १५ अर्ब रुपैयाँ आम्दानी गर्न सकिने जानकारी दिए । उनका अनुसार उक्त आयोजना प्राविधिक, आर्थिक र वातावरणीय हिसावले सम्भव देखिएको छ । सुरुमा आठ सय ४४ मेगावाट निर्माण हुने सर्वेक्षण गरिए पनि पछिल्लो प्रतिवेदनले छ सय ४४ दशमलव ३९ मेगाबाट उत्पादन हुने देखाएको हो । महताले भने, ‘आयोजना निर्माणपछि प्रभावित क्षेत्रका चार सय ३६ घरपरिवार विस्थापित हुने छन् । यो आयोजनाको बाँध, पावरहाउस, टेलरेस, टनेल, डाइभर्सन, आउटलेटलगायतका संरचना निर्माणका लागि एक हजार आठ सय ९० हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमध्ये आठ सय तीन हेक्टर निजी र एक हजार ८२ हेक्टर वन क्षेत्र पर्नेछ भने अन्य राजमार्ग र महत्वपूर्ण सडक पर्नेछन् ।’ बहुउद्देश्यीय परियोजनाको रूपमा अघि बढेको यो आयोजना सुरु भएपछि यस क्षेत्रका दुई हजार पाँच सय स्थानीयले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ । स्थानीय श्रोतको उपयोग, विद्युतीकरण, रोयल्टी तथा शेयरको उपलब्धता, पर्यटन, मनोरञ्जन, विकास तथा भौतिक पूर्वाधार निर्माणजस्ता सकारात्मक प्रभाव र वायु, ध्वनी र पानी प्रदूषण, सामुदायिक स्वास्थ्य र सुरक्षाको जोखिम, हरितगृह ग्यास उत्सर्जनजस्ता केही नकारात्मक असर पर्ने पनि प्रतिवेदनमा उल्लेख छ । कालीगण्डकी धार्मिक एवम् पौराणिक हिसाबले समेत महत्वपूर्ण रहेकाले नदी किनारमा रहेका मोदीवेणी, जैमिनीलगायतका प्रसिद्ध धाम तथा विभिन्न घाटसमेत डुबानमा पर्नेछन् । प्रतिवेदनमा तिनको उचित स्थानान्तरण तथा व्यवस्थापन गरिने उल्लेख छ । त्यसैगरी १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् आयोजना, एक दशमलव पाँच मेगावाटको ठेउलेखोला र तल्लो ठेउलेखोला, बञ्जिजम्प, जिपलाइन, तथा पुष्पलाल मध्यहाडी र कालीगण्डकी करिडोरको केही भागमा समेत प्रभाव पर्ने जनाइएको छ । सार्वजनिक सुनुवाइमा सहभागी यस क्षेत्रका नागरिकले कालीगण्डकीको सभ्यतालाई असर नपर्ने गरी र यहाँ रहेका पौराणिक र ऐतिहासिकस्थललाई प्रभावित नगर्ने गरी निर्माण गर्न सुझाव दिएका छन् । कुश्मा नगरपालिकाका ११, फलेवास नगरपालिकाका छ, विहादी गाउँपालिकाका २, जलजला गाउँपालिकाको एक, बागलुङको बागलुङ नगरपालिकाका छ, जैमिनि नगरपालिकाका चार र गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं ६ र स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ५ र ६ का बासिन्दाबीच सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । विद्युत् विकास विभागका इन्जिनियर सुनिल पौडेलका अनुसार विसं २०७६ चैत ५ गतेदेखि आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु भएको थियो । प्रतिवेदनअनुसार उक्त लगानी नेपालले मात्र गर्न सक्ने अवस्था देखिएको छैन । जसका लागि नागरिक र वैदेशिक लगानीकर्ताको समेत सहभागिता जुटाउनुपर्ने उनको भनाइ छ । यहाँ उत्पादित विद्युत् २२० केभी क्षमताको कुश्मा–बुटवल प्रसारण लाइनमा जोडिने छ । नेपालकै अन्य जलाशययुक्त जलविद्युत आयोजनाभन्दा सस्तो र कम क्षति पुर्याउने उक्त आयोजना देशकै नमूना हुने र पर्यटकीय हिसाबले समेत निकै ठूलो फड्को मार्नेमा विश्वास लिइएको फलेवास नगरपालिकाका पूर्वप्रमुख पदमपाणि शर्माले बताए । रासस
बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७८ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यक्तानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
वडाअध्यक्ष ९ महिनासम्म अमेरिकाबाट नफर्केपछि स्थानीयले लगाए कार्यालयमा ताला
खोटाङ । अमेरिका गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो । गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो । उनी नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताए । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उनले बताए । वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन् ।
मुस्ताङबाट यस वर्ष ९२ करोडको स्याउ निर्यात, गत वर्षको तुलनामा ६७ प्रतिशतले वृद्धि
म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९३ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले भने, ‘यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भयो । प्रारम्भीक मूल्याङ्कनअनुसार यस वर्ष करिब ९२ करोडको हाराहारीमा स्याउ निर्यात भएको पाएका छौँ, पूरै तथ्याङ्क अझै आइसकेको छैन । यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो, जसबाट किसान निकै लाभान्वित भएका छन् ।’ विगतको तुलनामा यस वर्ष करिब ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष मुस्ताङमा छ हजार पाँच सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष गत वर्षभन्दा सात सय ३४ टनभन्दा बढी उत्पादन भएको निर्देशनालयले जनाएको छ । गत वर्ष ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएकोमा यसवर्ष गत वर्षभन्दा करिब रु ९२ करोड बढी आम्दानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख गुरुङले जानकारी दिए । यसैगरी कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्कअनुसार मुस्ताङमा स्थानीय जातको स्याउ छ हजार ७८ मेट्रिकटन उत्पादन भएको छ । स्थानीय जातको स्याउ कुल आठ सय ३० हेक्टर क्षेत्रफलमा लगाइएकामा ५६६ हेक्टर क्षेत्रफलको स्याउका बोटबाट उत्पादन भइरहेको छ । यस वर्ष किसानबाट खरिद गर्दा व्यापारीले औसत मूल्य एक सय १० रुपैयाँ दिएका छन् । जसको कुल मूल्य रु ६६ करोड ८६ लाख ७२ हजार चार सय रहेको जनाइएको छ । स्थानीय जातका स्याउ प्रतिकेजी एक सय १० रुपैयाँ र हाइब्रिट स्याउ प्रतिकेजी रु दुई सयमा निकासी हुँदा मुस्ताङमा करिब ८३ करोड रकम भित्रिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख गुरुङले जानकारी दिए । कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक बासुदेव रेग्मीले यसपटक करिब ६० करोड १८ लाख मूल्य बराबरको स्थानीय जातको स्याउ खपत तथा निर्यात हुने अनुमान गरिएकामा अनुमान गरेभन्दा छ करोड बढी मूल्यको स्याउ बिक्री भएको बताए । उनका अनुसार मुस्ताङमा स्थानीय जातभन्दा आयातित उच्च घनत्व स्याउको उत्पादन राम्रो हुँदै गएको देखिएको छ । केही कृषकले लगाएको विदेशी जातको स्याउको बोटबाट छोटो समयमा धेरै परिमाणमा उत्पादन हुँदा व्यावसायिकरूपमा स्याउ उत्पादनको सम्भावना झनै बलियो बन्दै गइरहेको महानिर्देशक रेग्मीको भनाइ छ । मुस्ताङमा हाल ६० हेक्टर क्षेत्रफलमा मात्रै उच्च घनत्व जातका स्याउको खेती गरिएकोमा ५० हेक्टर क्षेत्रफलका बोटले उत्पादन दिन सुरु गरिसकेका छन् । उक्त क्षेत्रफलबाट एक हजार दुई सय ५० मेट्रिकटन स्याउ फलेको छ । जसको विक्री दर औसतमा दुई सय रुपैयाँ प्रतिकिलो रहेको छ । यसको कुल मूल्य रु २५ करोड रुपैयाँ रहेको छ । यहाँ उत्पादन भएकामध्ये १० प्रतिशत जिल्लामा नै खपत तथा भण्डारण हुने गरेको र बाँकी ९० प्रतिशत उत्पादन म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा, नारायणगढ, काठमाडौँलगायतका ठाउँमा भण्डारण र निर्यात हुने गरेको निर्देशनालयले जनाएको छ । मुस्ताङमा एक हजार चार सय १५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको र पाँच सय ८५ हेक्टर जमिनमा लगाइएको स्याउका बोटमा मात्रै स्याउ फलेका कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । यहाँ ८० प्रतिशत स्थानीय जातका स्याउ र २० प्रतिशत हाईब्रिड स्याउको खेती गरिएको छ । रासस