साहस ऊर्जाको अध्यक्षमा पाठक सर्वसम्मत, हकप्रद सेयर ल्याउने
काठमाडौं । साहस ऊर्जा लिमिटेडको अध्यक्षमा हिमप्रसाद पाठक सर्वसम्मत रूपमा चयन भएका छन् । कम्पनीको कात्तिक ४ गते सम्पन्न भएको वार्षिक साधारणसभाले गठन गरेको सञ्चालक समितिले पाठकलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । कम्पनीको कात्तिक ४ गते वार्षिक साधारणसभा भएको थियो । सो सभाले सञ्चालक समितिका जेष्ठ सदस्य मुक्तिराम पाण्डेको अध्यक्षमा समिति गठन गरेको थियो । त्यसपछि पाण्डेको अध्यक्षतामा कात्तिक ७ गते बसेको बैठकले पाठलाई अध्यक्ष बनाएको हो । कम्पनीले आफ्ना लगानीकर्तालाई वितरण गर्ने लाभांश र हकप्रद सेयर ल्याउने पारित गरिसकेको छ ।
नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह
वासिङ्टन डिसी । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बुधबार यहाँ विभिन्न फोरममा सहभागी भएका साथै पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनहरुमा पनि संशोधन भएकाले लगानीका लागि सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले आवश्यक समन्वय गर्ने पनि उनीहरुलाई आस्वस्त पारे । अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाकुरीसँग उनले बुधबार गरेको भेटवार्तामा अध्यक्ष ढकालले निगमले नेपालको निजी क्षेत्रलाई कसरी सबलीकरण गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । सो भेटका क्रममा विश्वमा कोरोना महामारी र रुस युक्रेन युद्धपछि देखिएको आर्थिक मन्दीको अवस्था तथा यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव एवं नेपालको अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी भएको बताए । सो भेटपछि राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै अध्यक्ष ढकालले भेटको अवसरमा निगमका कार्यकारी निर्देशकसँग नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यका विषयमा पनि छलफल भएको जानकारी दिए । नेपालका यी क्षेत्रमा लगानीका लागि आफूले विश्व समुदायलाई आग्रह गरेको उनको भनाइ थियो । सो भेटमा आइएफसीका अधिकारी र महासंघका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । त्यसैगरी अध्यक्ष ढकालले बुधबार नै ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका कार्यकारी निर्देशक समिर अभयङकर र इन्भेस्टमेन्ट निर्देशकसँग पनि भेटवार्ता गरेका थिए । सो भेटका क्रममा पनि उनले नेपालको पर्यटन जलविद्युत् तथा पूर्वाधार निर्माणमा कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । अध्यक्ष ढकालले उनीसँग नेपालमा लगानीका प्रसस्त सम्भावना रहेकाले पर्यटन, जलविद्युत्, सूचना प्रविधि एवं ‘हस्पिटालिटी’ का विविध क्षेत्रमा लगानी गर्न आग्रह पनि गरेका थिए । उनले नेपालमा लगानी सम्मेलन सम्पन्न भएपछि नयाँ नयाँ क्षेत्रमा लगानीका लागि वैदेशिक लगानीकर्ता आकर्षित भएका पनि सो अवसरमा जानकारी दिएका थिए।
फोनपोइन्टसँग इसेवाले गर्यो सहकार्य, लाेयल्टी पाेइन्ट्स प्रयोग गरी विभिन्न अफर संकलन गर्न सकिने
काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाले फोनपाेइन्टसँग सहकार्य गरेकाे छ । एकीकृत गरिएका लाेयल्टी पाेइन्ट्स प्रयोग गरी विभिन्न अफर संकलन र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको छ । फाेनपाेइन्ट एक एकीकीत लाेयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो जसद्वारा व्यवसायहरूले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भूत व्यवसायिक अनुभव प्रदान गर्नसक्छन् । प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोबारबाट आर्जन गरेको पाेइन्टसलाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छाअनुसार व्यवस्थापन गर्न फाेनपाेइन्टमा सकिने छ । नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ इसेवाले फाेनपाेइन्ट्ससँग सहकार्य गरेकाे हाे । अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्यसहित सहकार्य भएकाे हाे । इसेवा नेपालकै पहिलो डिजिटल वालेट हो, जसले अनलाइन भुक्तानी, रकम पठाउने, मोबाइल रिचार्ज, र युटिलिटी बिल भुक्तानी जस्ता सेवा प्रदान गर्दछ । फाेनपाेइन्ट नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक हो, जसले अनलाइन र अफलाइन दुवै भुक्तानीका लागि नवीन समाधानहरू प्रदान गर्दछ ।
नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए शपथ
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानाले शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष ढुङ्गानालाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालगायत पदाधिकारीहरूकाे उपस्थित रहेको थियो ।
मुक्तिनाथ म्युचुअल फण्ड १ जारी गर्न स्वीकृति, १ अर्बको इकाई निष्कासन हुने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को इकाई जारी गर्न स्वीकृति प्रदान गरेकाे छ ।मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ जारी गर्न स्वीकृति दिएकाे हाे । मुक्तिनाथ विकास बैंकले योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरिसकेको छ । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष हाे । नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ कात्तिक ७ गते प्रति इकाई अंकित मूल्य १० रुपैयाँकाे दरको १० करोड इकाईले हुन आउने कुल १ अर्ब रकम बराबरको निष्कासन गर्नका लागि स्वीकृति प्रदान गरेको हो । कुल योजनाको आकारमध्ये १५ करोड रकम बराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछ भने बाँकी रहेको ८५ करोड रकम बराबरको ८ करोड ५० लाख इकाई मात्र सार्वजनिक निष्कासन गरिनेछ । १० वर्षको अवधि रहेको उक्त योजना बन्दमुखी (क्लाेज इन्ड) योजना रहेको छ । इकाईधनीहरूबाट संकलित रकम प्रचलित कानुनअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका सूचीकृत धितोपत्र, निक्षेप, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य उपकरणहरूमा लगानी गर्ने योजना व्यवस्थापकले उल्लेख गरेको छ । योजना व्यवस्थापकले आफ्ना इकाईधनीहरूलाई दक्ष लगानी सेवाद्वारा उचित प्रतिफल दिनुका साथै व्यवस्थापकको हैसियतबाट सामूहिक लगानी कोष बजारको दिगो विकासमा सघाउ पुर्याउने उद्देश्यले योजना सञ्चालन गर्न लागिएको हो । निष्कासनसम्बन्धी अन्य सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गरी यही आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्कासनमार्फत इकाईहरू बिक्रीमा ल्याउने मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । साथै, कोष प्रवद्र्घक मुक्तिनाथ विकास बैंक लिमिटेडले केयर एनपी थ्रि बी (आईएस)को रेटिङ पाएको छ । योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले आईआरएन एएमसी क्वालिटी थ्रीको रेटिङ पाएको छ ।
प्रभावकारी बन्दै त्रिविको अनलाइन कक्षा, घरै बसेर विश्वविद्यालयको उपाधि
कीर्तिपुर । कीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहेका राजकुमार प्याकुरेल शिक्षा शास्त्र संकायअन्तर्गत समाज शास्त्र (एमएसएसइडी) को अनलाइन कक्षा लिइरहेका छन् । थप शैक्षिक उपाधि चाहिएपछि भौतिक रुपमा कक्षामा उपस्थित हुन नसकेपछि उनी अहिले अनलाइन कक्षामा जोडिएर अध्ययन गरिरहेका छन् । कक्षामा भौतिक रुपमा उपस्थित हुन नसक्ने आफूजस्ता धेरैलाई त्रिभुवन विश्वविद्यालयले सुरु गरेको अनलाइन कक्षा निकै उपयोगी रहेको उनी बताउँछन् । ‘टाढाबाट पनि पढ्न मिल्ने, दिउँसो आफू अरु काममा व्यस्त हुने हामी जस्तालाई यो कक्षा बरदान सवित भएको छ’, उनी भन्छन् । आफूहरु अनलाइन कक्षाको पहिलो समूह भएकाले पाठ्यपुस्तक हात नपरे पनि आफूले खोजर पढ्ने बानीको विकास भएको उनको भनाइ छ । अर्का विद्यार्थी ज्ञानु पहाडी अन्य पेसामा रहेका विद्यार्थीलाई काम नछोडी शैक्षिक उपाधि दिलाउन अनलाइन कक्षा राम्रो विकल्प भएको बताउँछन् । इन्टरनेट र उपयोगी मोबाइल फोन नहुँदा भने यो चुनौतीपूर्ण हुन जाने पनि उनको धारणा छ । कुनै दिन अनलाइनका कक्षा लिन नभ्याइएमा डिजिटल रेकर्ड हेरेर उक्त छुटेको कक्षा लिन सकिने उनी बताउँछन् । ‘हामीले विभिन्न स्रोतबाट अध्ययन सामग्री खोज्छौंँ र शिक्षकलाई देखाउँछौँ । उहाँबाट यससम्बन्धी मार्गदर्शन पाएपछि त्यसै अनुसार सच्च्याउँछौँ’, उनले भने । समयसमयमा हुने बन्द हड्ताल, परीक्षा केन्द्र तोकिने, क्याम्पसको आन्तरिक विवाद आदि अनेकौँ कारणले नियमित कक्षा नहुने, भएकै कक्षामा पनि विद्यार्थीको उपस्थित न्यून रहने गरेको छ । शिक्षकको अनुपस्थितिका कारण पनि कयौँ दिनसम्म कक्षा नहुने समस्या अनलाइन कक्षाले समाधान दिएको छ । भौतिक कक्षामा भन्दा अनलाइन कक्षामा हाजिर हुर्नुपर्ने, दिइएका गृहकार्य गर्नै पर्ने, तोकिएकै दिन बुझाउनै पर्ने र शिक्षक–विद्यार्थीका सबै गतिविधि श्रव्यदृश्य रेकर्ड हुने कारण सही अर्थको पठनपाठन हुने सम्बन्धित शिक्षक विद्यार्थी बताउँछन् । त्रिविमा अनलाइन कक्षाको सुरुआत कोभिड– १९ का कारण सन् २०२० को सुरुतिर अर्थात् बन्दाबन्दी हुनुभन्दा एक महिनअघि भएको हो । त्यतिबेला देशमा कतै पनि अनलाइन कक्षाबारे सोचाइ नै रहेको थिएन । त्यसबेला दूर शिक्षासम्बन्धी एक प्रयोगका रुपमा त्रिविको शिक्षा शास्त्र संकायले एमएड तहको कार्यक्रम इन्टरनेट प्रविधिको माध्यमबाट सञ्चालन गर्ने तयारी गरिरहेको थियो । त्यसको केही महिनापछि नै बन्दाबन्दी भएकाले भौतिक उपस्थितिमा अध्ययन अध्यापन सम्भव भएन । त्यसपछि त अनलाइन कक्षा नै अनिवार्य विकल्प बन्न पुगेको थियो । विश्वविद्यालयदेखि विद्यालय तहसम्म अनलाइन कक्षाबाटै पठनपाठन हुन थाल्यो । घरै बसेर विश्वविद्यालयको उपाधि पछिल्ला केही वर्षयता विश्वविद्यालयका विद्यार्थीहरुमा भर्ना हुने दिन क्याम्पस जाने र त्यसपछि एकैपटक जाँच दिने प्रवृत्ति बढ्दै गएको छ । आफ्नै बाध्यता वा क्याम्पसका कारण विद्यार्थीलाई भर्ना भएपछि कक्षा लिनुुपर्छ भन्ने सोच विस्तारै हराउँदै जाँदा पछिल्लो समय विद्यार्थीको उपस्थिति पातलिँदै गएको छ । कतिपय विद्यार्थीमा पढ्नभन्दा अरु उद्देश्यले भर्ना हुने प्रवृत्ति नभएको होइन । त्यसैले कक्षामा देखिने सङ्ख्याभन्दा परीक्षा दिने बेलामा विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा बढी हुन्थ्यो । समेष्टर प्रणाली लागू भएपछि त्यो समस्या त समाधान भयो तर ८० प्रतिशत हाजिरी अनिवार्य, आन्तरिक मूल्यांकनको अंकभार नै ४० प्रतिशत गरिएका कारण विद्यार्थी सङ्ख्या नै घट्दै गयो । कक्षामै उपस्थित भएर पढ्न धेरै विद्यार्थीलाई समस्या रहेछ भन्ने देखियो । त्यसैले घर वा कार्यस्थलमै रहेर पनि विश्वविद्यालयका कक्षा लिन सकिने विकल्पको रुपमा अनलाइन कक्षाप्रति आकर्षण बढेको हुनसक्ने विश्वविद्यालयको शिक्षा शास्त्र संकायअन्तर्गत राजनीतिक शास्त्र विभागका पूर्वप्रमुख केशवराज पौडेल बताउँछन् । अनलाइनमा पढाउँदा हरेक कक्षाको डिजिटल रेकर्ड हुने भएकाले शिक्षकले पढाएको कुरा र विद्यार्थीले त्यस कक्षामा गरेको अन्तक्रिर्यासमेतको अभिलेख बस्छ । ‘विद्यार्थी र शिक्षक कसैले पनि ढाट्न सक्ने अवस्था रहँदैन’, उनले भने । यसका साथै विद्यार्थीले दिइएका गृहकार्य तत्काल बुझाउनु पर्ने र शिक्षकले त्यसमाथि गरेको मूल्यांकनन पनि डिजिटलमै राख्नुपर्ने भएकाले अन्यथा नहुने हुँदा यसको प्रभावकारिता रहेको उनको भनाइ छ । कक्षामा विद्यार्थीको उपस्थिति, उसको सक्रिय सहभागिता, आन्तरिक मूल्यांकनन र दिइएका अंकबारे कसैले प्रश्न उठाएमा वा उजुरी परेमा समेत श्रब्यदृष्यसहितको प्रमाण पेश गर्न सकिने उनी बताउँछन् । काम गर्दै डिग्री खोज्नेहरुका लागि उपयोगी अनलाइन कक्षा एउटा एनरोइड मोबाइल वा ल्यापटप कम्प्युटरको माध्यमबाट इन्टरनेट पुगेको देशको जुनसुकै कुनाबाट पनि लिन सकिन्छ । काम वा अन्य कारणले आफू बसेको स्थान छोडेर विश्वविद्यालयका कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीका लागि निकै प्रभावकारी रहेको प्राध्यापक पौडेलको भनाइ छ । “खासगरी आफ्नो शैक्षिक योग्यता बढाउन चाहने तथा कक्षामा उपस्थित हुन नसक्नेलाई यसले उपयुक्त विकल्प दिन्छ”, उनले भने । विगतमा जागिरेहरुले काम गर्दै पढ्दा कतिपय अवस्थामा कक्षा लिएको र कार्यालयमा हाजिर गरेको दिन एउटै परेर समस्या सिर्जना हुने र अख्तियारमा उजुरी समेत लाग्ने गरेको समेत उनले उल्लेख गरे । ‘तर यसमा अनलाइन कक्षा भनेरै शैक्षिक उपाधि दिइने हुँदा कर्मचारीले कार्यालय समयमा पढ्न गएको वा कक्षा नलिई शैक्षिक उपाधि लिएको भन्ने दोष रहँदैन’, उनले थपे । विद्यार्थीले घरमा, यात्रामा वा कुनै पनि ठाउँमा कक्षा लिन सक्दछन् । घरपायक परीक्षा केन्द्र भौतिक कक्षामा जस्तो पढेका क्याम्पसका लागि तोकिएकै केन्द्रमा पुग्नुपर्ने बाध्यता पनि यसमा विद्यार्थीलाई छैन । नयाँ कार्यविधिअनुसार विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँको स्नातकोत्तर तह अध्ययन हुने क्याम्पसमा गएर यसको प्रवेश परीक्षा दिन पाउँछन् । देशभर एक सय आठ स्थानमा रहेका क्याम्पसमध्ये कुनै पनि क्याम्पसबाट उक्त परीक्षा दिन सकिन्छ । शुरुमा भर्ना हुन भने विद्यार्थीले विभागसँग समन्वय गर्नुपर्छ । भर्नापछि प्रत्येक समेष्टरको शुरुमा र अन्तिम परीक्षाअघि गरी दुईपटक प्रत्यक्ष उपस्थितिको कक्षा सञ्चालन गरिन्छ । यसबाट शिक्षक–विद्यार्थीबीच राम्रोसँग अन्तक्रिया हुनेछ । कक्षाका लागि शुरुमा माइक्रोसफ्ट एप्लिकेशनबारे विद्यार्थीलाई जानकारी दिइन्छ । त्यसपछि उनीहरुलाई कक्षामा कसरी बस्ने, आएका डिजिटल पाठ्यसामग्रीलाई कसरी लिने र गृहकार्य सम्बन्धित शिक्षकलाई कसरी बुझउने भन्ने पनि सिकाइन्छ । साथै विद्यार्थीले आफूले दिएको उत्तर र त्यसबापत शिक्षकले दिएको अंक तत्कालै हेर्न र थप छलफल गन पाउँछ । अनलाइन कक्षा पढने त्रिविका विद्यार्थीलाई अहिले माइक्रोसफ्टले एक टेराबाइट स्थान उपलब्ध गराएको छ । इन्टरनेटकै माध्यमबाट विद्यार्थीले त्रिविको केन्द्रीय पुस्तकालय, भारतको दिल्ली विश्वविद्यालय, जवाहरलाल नेहरु विश्वविद्यालयलगायत थुपै देशका विश्वविद्यालयका दुई लाखभन्दा बढी डिजिटल स्रोतको प्रयोग गर्न सक्नेछन् । अनलाइन कक्षाको सुविधाका कारण शिक्षा शास्त्र, राजनीति शास्त्र, अङ्ग्रेजी, नेपाली, समाजशास्त्रअन्तर्गतका १५ वटा विषय विभागहरुले अनलाइन कक्षा शुरु गरेका छन् । सबैतिर गरी हाल तीन सय जनाभन्दा बढी विद्यार्थी अनलाइन कक्षामा जोडिएका छन् । यसको प्रभावकारिता देखेर विज्ञान जस्ता प्रयोगशाला आवश्यक भएका विषयबाहेक त्रिविका अन्य संस्थान र सङ्कायले पनि अनलाइन कक्षा सुरु गर्न खोजेको प्राध्यापक पौडेलले जानकारी दिए । शिक्षा शास्त्र संकाय प्रमुख प्राध्यापक डा शम्भु खतिवडाका अनुसार गत वर्ष शिक्षाशास्त्र संकायकै अङ्ग्रेजी र गणित कार्यक्रममा अनलाइन माध्यमबाट भर्ना लिन शुरु गरिएको हो । स्नातकोत्तर तहको सामाजिक अध्ययनमा भने प्रत्यक्ष भर्ना मात्र लिइएको थियो । राजनीतिक संकायले बल गरेरै अनलाइन चलाउँदा विद्यार्थी सङ्ख्या पाँचबाट बढेर ५५ पुग्यो । अहिले त्रिविमा सामाजिक अध्ययनको तेस्रो वर्ष चलिरहेको छ । पहिलो वर्षमा एक सय २०, दोस्रोमा एक सय ३५ र तेस्रा वर्षमा ६० जना भर्ना भएर परीक्षा समेत दिइसकेका छन् । भौतिक व्यवस्थापन मुख्य चुनौती प्रविधिकै सहयोगमा चलाउनु पर्ने हुँदा अनलाइन कक्षा सञ्चालन त्यति सजिलो भने छैन । विद्यार्थी र शिक्षक दुवैसँग अनलाइन कक्षाका लागि उपयुक्त हुने स्मार्टफोन वा ल्यापटपसँगै भरपर्दो इन्टरनेट अनिवार्य हुन्छ । ‘पढाउन सर्वाधिक सहज हुने स्मार्टबोर्ड नै चाहिने हो तर ती सबै कुरा सबै ठाउँमा सहज हुँदैन, शिक्षकको व्यक्तिगत ल्यापटप प्रयोग गरेर यो सबै गरिरहेका छौं’, प्राध्यापक पौडेल भन्छन् । प्रत्यक्ष कक्षा लिनका लागि त्रिविले नियुक्त गरेका शिक्षक र प्राध्यापकहरुलाई अनलाइन कक्षाका लागि अनुकूल हुने गरी आवश्यक तालिम दिनुपर्ने हुन्छ । अनलाइन कक्षाको अर्थ इन्टरनेटमार्फत जोडिनु मात्र नभई कक्षालाई कसरी सहज ढङ्गले सञ्चालन गर्ने, विद्यार्थीलाई गृहकार्य र पाठ्यसामग्री कसरी दिने आदि विषयमा पनि व्यावसायिक तालिम दिनुपर्ने हुन्छ । ‘कक्षालाई बढीभन्दा बढी अन्तक्रिर्यात्मक बनाउन शिक्षकलाई प्रविधिसँग पूर्ण अभ्यस्त बनाउनैपर्छ’, डा खतिवडा बताउँछन् । प्रविधिमा अभ्यस्त भएका शिक्षकले प्रभावकारी कक्षा लिएको तर अभ्यस्त नभएका कतिपय शिक्षकलाई प्रस्तुतीकरणमा समस्या रहेको उनको भनाइ छ । त्रिविको नियमित बजेटबाट अनलाइन कक्षाका सबै आवश्यकता पूरा गर्न सम्भव नभएको डा खतिवडा बताउँछन् । रासस
राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ बन्न ४ जनाको आवेदन, को-को छन् आकांक्षी ?
काठमाडाैं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ४ जनाको मात्रै आवेदन परेको छ । आवेदन दिने अन्तिम मिति कार्तिक ६ गतेसम्म ४ जनाको मात्रै आवेदन परेको कम्पनीले जनाएको छ । सीईओका लागि आवेदन दिनेहरूमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठ रहेका छन् । जसमध्ये रिमाल हाल कम्पनीको कार्यवाहक सीईओ हुन् । चार्टर्ड एकाउण्टेन्टसमेत रहेका रिमाल विगत २ दशकदेखि सोही कम्पनीमा कार्यरत रहेका छन् । २०८० कार्तिकमा तत्कालीन बीमा संस्थान कम्पनीमा परिणत भएको थियो । कम्पनीमा परिणत भएसँगै रिमालले कार्यवाहक सीईओको भूमिका निर्वाह गर्दै आएका छन् । कोइराला पनि सोही कम्पनीको बीमा विज्ञको रूपमा काम गरिसकेका व्यक्ति हुन् । उनी म्यानेजमेन्ट एशोसिएसन अफ नेपाल (म्यान)का कार्यकारी निर्देशकसमेत हुन् । उनले तत्कालीन बीमा संस्थामा बीमा विज्ञको रूपमा जोडिनुअघि तत्कालीन सूर्य लाइफमा डेपुटी म्यानेजरको रूपमा करिब ४ वर्ष काम गरेका थिए । सन् २०१६ देखि २०१९ सम्म उनी सूर्य लाइफमा थिए । २०१९ देखि २०२२ सम्म उनले तत्कालीन बीमा संस्थान (हाल राष्ट्रिय जीवन बीमा कम्पनी) मा बीमा विज्ञको रूपमा काम गरे । बुद्धकाजी श्रेष्ठ तत्कालीन लुम्बिनी जनरल ईन्स्योरेन्सको उच्च व्यवस्थापक तहका कर्मचारी हुन् । हाल उनी सर्भेअर पेशामा आवद्ध छन् । उनी तत्कालिन यूनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिको सदस्य भएर १८ महिनासम्म काम गरेका थिए । राष्ट्रिय जीवन बीमा कम्पनी(तत्कानि बीमा संस्था)को यस अघिको प्रशासक पदका लागि उनी सर्ट लिस्टमा परेका थिए । सर्ट लिष्टमा ३ जना परेका थिए जहाँ उनकाे नाम पनि थियाे । उनीसँग विदेशी बीमा कम्पनीहरुसँग काम गरेको अनुभव पनि रहेको छ । इण्डियन इन्स्योर रिक्स म्यानेजमेन्ट एण्ड इन्स्योरेन्स ब्रोकिङ्ग सर्भिसेसको नेपालको प्रमुख भएर उनले करिब २ वर्षसम्म काम गरेका थिए । यससँगै नेपाल इन्स्योरेन्स, तत्कालिन एनबी इन्स्योरेन्समा पनि काम गरेका श्रेष्ठसँग बीमा क्षेत्रको ३० वर्ष बढीको अनुभव रहेको छ । उनले बीमा विषयमा नै एमफिल समेत गरेका छन् । उनले सुशासन र दाबीको विषयमा थेसिस गरेका छन् । इन्स्योरेन्स इन्स्टीच्यूट अफ इन्डीया (आईआईअई) बाट फेलोशिप गरेका छन् । कम्पनीले असोज १६ गते सीईओको आवेदन माग गर्दै सूचना जारी गरेको थियो । उक्त सूचनाअनुसार २१ दिनभित्र आवेदन दिनुपर्ने थियो ।
आइएमएफको २०२४ को विश्वव्यापी वृद्धि प्रक्षेपण ३.२ प्रतिशत कायम, भूराजनीतिक तनावको चेतावनी
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले २०२४ मा विश्वव्यापी वृद्धि प्रक्षेपण ३.२ प्रतिशत कायम राखेको छ । जुलाईमा यसको प्रक्षेपणसँग मेल खान्छ । विश्वव्यापी आर्थिक दृष्टिकोण वरपरको अनिश्चितताको स्तर उच्च रहेको बताइएको छ । आईएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चसले एक पत्रकार सम्मेलनमा बढ्दो भूराजनीतिक तनावले पनि वृद्धि कम भएको बताए । उदीयमान बजार र विकासशील अर्थतन्त्रमा यो वर्ष र आगामी वर्ष ४.२ प्रतिशतको हाराहारीमा वृद्धिको दृष्टिकोण स्थिर हुनेछ । केन्द्रीय बैंक लक्ष्यको नजिक मुद्रास्फीतिको फिर्तीले नीति ट्रिपल पिभोटको लागि मार्ग प्रशस्त गरेको उल्लेख गरिएको छ ।