विकासन्युज

३० करोडमा खुम्चियो तिहारलक्षित विद्युतीय बजार

काठमाडौं । तिहार वर्षको एक पटकमात्रै आउँछ । यस वर्षको तिहार पनि सम्मुखमा छ । तिहारको बेलामा विद्युतीय सामग्रीहरूको व्यापार व्यवसाय फस्टाउने आशामा व्यवसायीहरू छन् । तर विगतका वर्षहरूमा भन्दा यस वर्ष ग्राहकहरूको माग कम आएको व्यवसायीहरू बताउँछन् । माग कम आएसँगै पसको भाडा कसरी तिर्ने भन्ने चिन्ता व्यवसायीहरुलाई छ । न त माग बढेको छ न त भनेको जस्तो व्यापार । पोहोरकै विद्युतीय सामग्रीहरु विक्री नभएकाले यस वर्ष नयाँ सामग्रहीहरु खासै नकिनेको व्यवसायीहरूको भनाइ छ । गत सालकै सामानलाई बेचिसक्ने सोचमा व्यापारीहरू छन् । तिहारमा विशेषतः विक्री हुने भनेको झिलिमिली बत्ती नै हो । तर युवाहरु विदेश जाने र नेपालमा रमाइलो गर्ने जनशक्ति कम भएकाले व्यापार व्यवसाय हुन नसकेको अनुमान व्यवसायीहरूको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताए । उनअनुसार विगतका वर्षहरूमा झैं यस वर्ष विद्युतीय सामग्रीको व्यापार छैन । कोलकाताबाट वीरगञ्ज नाका हुँदै भारतबाट आउने सामानहरू आइसकेको भएपनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री आएका छैनन् । तातोपानी नाकाबाट केही दिनभित्रै सामग्री आउने जानकारी पाएपनि काठमाडौं केन्द्रित बजार हुने निश्चित भएको उनको भनाइ छ । महासंघले यस वर्षको तिहारमा ३० करोड सम्मको सामान बिक्री गर्ने अनुमान छ । तर विगतका वर्षहरूमा ५०/६० करोडको बजार तिहारमा हुने गरेको बताए । ‘यथार्थमा भन्ने हो भने बजारको अवस्था कमजोर भएको कारणले विगतका साल जस्तो धेरै विद्युतीय सामग्री ल्याएका छैनौं । काेलकाताबाट वीरगञ्ज हुँदै आउने सामानहरू लगभग आइसकेको अवस्था हो । केरुङ र तातोपानी नाकाबाट आउने सामानहरू बाटो बिग्रिएको कारणले गर्दा आउन सकिरहेको छैन,’ उनी भन्छन्, ‘त्यसकारणले यथार्थ डाटा आइसकेको छैन । हाम्रो अनुमानमा २५/३० करोडको सामान आउँछ कि भन्ने छ । नेपालको बजार विगतमा धेरै राम्रो थियो । ५०/६० करोडको मार्केट हो ।’ अध्यक्ष देवकोटाले पोहोर सालकै विद्युतीय सामानहरू बिक्री नभएकाले यस वर्ष नयाँ सामान ल्याउँदा फसिन्छ कि भन्ने त्रास व्यवसायीहरूको रहेको बताए । कन्स्ट्रक्शनका कारण राम्रो व्यापार हुने भएपनि अहिले युवा जनशक्ति बाहिर हुँदा कन्स्ट्रक्शनको काम नेपालमा कम हुँदै गएको उनले बताए । उनले कोभिडपछि नेपालको बजार संकुचनमा रहेको बताउनु भयो । व्यवसायीहरूसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना बनाएर अघि बढेको बताए । अध्यक्ष देवकाेटाले भने, ‘अहिले व्यवसायीहरू सामान ल्याएर फसिन्छ कि भन्ने विगतको अनुभवले गर्दा त्यति उत्साहति छैनन् । विगतमा कन्स्ट्रक्शन राम्रो थियो, युवा जनशक्ति थिए, अहिले युवा जनशक्ति छैन, कोभिडपछि यहाँको बजार संकुचनमा छ, रिकभर भइसकेको छैन । ’ सुन्धाराका विद्युतीय सामग्रीहरूको व्यापार गर्दै आएका सुशील प्रधानाङ्गले अहिले व्यापार खासै राम्रो नभएको गुनासो गरे । नेपालीहरू अन्तिममा आएर किन्ने बानी भएकाले पनि अझै व्यापार हुने आश रहेको बताए । सहकारीमा जम्मा पारेको रकम सहकारी ठगहरूले खाइदिएकाले पनि आम नागरिकसँग पैसा नहुँदा क्रय गर्ने सामर्थ्य नरहेको हुनसक्ने अनुमान उनको छ । बजारमा विद्युतीय सामग्रीको माग नै नरहेको उनको भनाइ छ । सुन्धारा क्षेत्रमै विद्युतीय सामग्रीको व्यवसाय गर्दै आएकी संगीता श्रेष्ठ पनि यस वर्ष खासै व्यापार नभएको बताउँछिन् । तिहार आउन अझै केही दिन बाँकी भएकाले अन्तिमसम्म व्यापार हुने आशा रहेको उनको भनाइ छ । उनले रमाइलो गर्ने युवा जनशक्ति बाहिरिँदा खल्लो महसुस हुने गरेको बताइन् । साथै व्यापार व्यवसाय पनि राम्रो हुन नसकेको उनको गुनासो छ । अर्का व्यवसायी अमित केडिया भने पहिलाको तुलनामा व्यापार धेरै नै कम रहेको बताउँछन् । पहिलाको भन्दा ६०/७० प्रतिशतले व्यापार कम रहेको बताए । देशको आर्थिक अवस्था पनि व्यवसाय नफस्टाउनुको एउटा कारण हुनसक्ने उनकाे ठम्याइ छ । व्यवसायी राज नेपालले व्यवासायीहरूलाई तिहारको समयमा पनि व्यापार नहुँदा चिन्ता लागेको बताए । व्यवसायीकाअनुसार यस वर्ष विगतको तुलनामा विद्युतीय सामग्रीहरूको माग धेरै कम छ । ग्राहकहरू पनि बजारमा किनमेलका लागि पुगेका छैनन् । देशको आर्थिक अवस्थाका कारण हुनसक्ने कतिपयको अनुमान छ । अन्तिमसम्ममा व्यापार हुने आशामा रहेको उनीहरू बताउँछन् ।

अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

किमाथांका । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) ९० हजार रूपैयाँ पुगेको छ । झण्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो । अलैँची व्यवसायी महासंघ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले हाल अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपैयाँ रहेको जानकारी दिए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो । उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए । गत वर्ष ६०/६५ हजार रुपैयाँ कारोबार भएको थियो । अलैँची उत्पादनमा गिरावट भएका कारण पनि मूल्य वृद्धि भएको व्यवसायी श्रेष्ठले बताए । ग्रेडिङ राम्रो भएको अलैँची ९० हजार रुपैयाँ र ग्रेडिङ नभएको नर्मल अलैँची ८७ हजार रुपैयाँ कारोबार भइरहेको व्यवसायीको भनाइ छ । पछिल्लो समय भारत, पाकिस्तानलगायतको देशमा अलैँची निर्यात हुन थालेपछि मूल्यसमेत बढेको छ । जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सिजनको सुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासंघले जनाएको छ । मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चिनले अध्ययन सुरु गरेको व्यवसायी बताउँछन् । अन्ठान्नब्बे प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ । अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । सङ्खुवासभामा दुई हजार आठसय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोटसमेत डढ्ने गरेको कृषकको गुनासो छ । यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ । अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको पाइन्छ । नेपालमा उत्पादित अलैँचीको बजार भारत हो । जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष यामको सुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासंघले जनाएको छ । मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन सुरु गरेको व्यवसायी बताउँछन् । अन्ठान्नब्बे प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ । दुई प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्यांक छ । अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । सङ्खुवासभामा दुई हजार आठसय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँचीखेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष नौ सय ४० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासंघको अनुमान छ । अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको बताइएको छ । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । नेपालमा उत्पादित अलैँचीको बजार भारत हो । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पान घट्नुका साथै बोटसमेत डढ्ने गरेको कृषकको गुनासो छ । रासस

सानिमा बैंकले पुँजी २० अर्ब पुर्याउने, २ अर्बको अबिमोच्य असञ्चिति अग्राधिकार सेयर प्रस्ताव

काठमाडौं । लाभांश पारित गर्न सानिमा बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १० गते बसेको बैठकले २०औँ वार्षिक साधारण सभा मंसिर ४ गते बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँको करसहित ५.२६३२ प्रतिशत नगत लाभांश प्रस्ताव पारित गर्नेछ । नेपाल राष्ट्र बैकको निर्देशनको अधिनमा रही तोकिएको अन्य व्यवस्था तथा शर्तहरू सहित १ सय रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, बैकको अधिकृत पुँजी १५ अर्ब रुपैयाँलाई वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर जारीपश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक समितिको बैठक भत्ता लगायतका सुविधाहरू बढाउने प्रस्ताव गरेको छ । संञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिभिल इन्जिनियरिङकाे क्षेत्रमा प्रवेश गर्दै गौतम अडानी, कसमा छ नजर ?

काठमाडौं । भारतीय अर्बपति गौतम अडानीले आफ्नो व्यवसायलाई तीव्र गतिमा विस्तार गरिरहेका छन् । यही सिलसिलामा उनी अब सिभिल इन्जिनियरिङकाे क्षेत्रमा हात हाल्ने तयारीमा छन् । अडानी समूहले इन्जिनियरिङ दिग्गज आईटीडी सिमेन्टेशन इन्डियाको ७३ % सेयर ५ हजार ७५९ करोड भारु (६८५ मिलियन डलर) मा किन्न चाहेकाे जनाइएकाे छ । यसले समूहलाई इन-हाउस इन्जिनियरिङ, खरीद र निर्माण (इपीसी) र सिभिल इन्जिनियरिङ क्षमताहरू प्रदान गर्नेछ । अडानी परिवारको पूर्ण स्वामित्वमा रहेको नवीकरण एक्जिम डीएमसीसीले आईटीडी सिमेन्टेसनको प्रवर्द्धक इटालियन थाई डेभलपमेन्ट पब्लिक कम्पनीसँग ४६.६४ % सेयर अर्थात् ८ करोड १ लाख सेयर प्रति सेयर ४०० भारुमा खरिद गर्न सम्झौता गरेको छ । यो सम्झौता ३ हनार २ सय ४ करोड भारुको छ । मेरीटाइम स्ट्रक्चर र इन्जिनियरिङ गतिविधिमा अग्रणी कम्पनी आईटीडी सिमेन्टेसनले सेयर बजारमा राखेकाे एक फाइलिङले यस्तो जानकारी दिएको हो । यसपछि अल्पसंख्यक सेयरधनीहरूबाट थप २६ % अर्थात ४४.७ मिलियन सेयर प्रति सेयर ५७१.६८ भारुमा खरिद गर्ने खुला प्रस्ताव हुनेछ । यदि खुला प्रस्तावमा पूर्ण रूपमा सदस्यता लिइएको छ भने अडानी समूहले आईटीडी सिमेन्टेसनको ७३ % हिस्सेदारीको लागि लगभग ५ हजार ७ सय ५९ करोड भारु तिर्नेछ । याे अदानी समूहको सन् २०२४ मा गरिएकाे १२ औं अधिग्रहण हुनेछ । ईटीले आफ्नो सेप्टेम्बर २० काे एडिसनमा अदानी-आईटीडी ट्रान्जेक्सनकाे बारेमा सबैभन्दा पहिला रिपोर्ट दिएकाे थियाे । कम्पनीले के गर्छ ? आईटीडी सिमेन्टेसनले दिल्ली र कोलकाता मेट्रो परियोजनाबाहेक जवाहरलाल नेहरु पोर्ट ट्रस्ट र तुतिकोरिन, हल्दिया, मुन्द्रा र विझिनजाम बन्दरगाहहरूमा काम गरेको छ । यो सम्झौता अडानीका लागि निकै फाइदाजनक हुने विश्वास गरिएको छ । किनभने यसको पोर्टफोलियोमा बन्दरगाह, पूर्वाधार, शक्ति र घरजग्गा समावेश छ । यसकाे पहिलेदेखि नै जलविद्युत र मरिनकाे साथसाथ ५ सय ९४ किलोमिटर लामो गंगा एक्सप्रेसवे टोल रोड परियोजनामा अडानीसँग ​​व्यापारिक सम्बन्ध छ । मेरीटाइम स्ट्रक्चर आईटीडी सिमेन्टेशनको अर्डर बुकको ३४.५% हिस्सा छ । यो वर्ष कम्पनीको सेयर हालसम्म ८६.८२ प्रतिशतले बढेको छ । जुलाईमा कम्पनीले स्टक एक्सचेन्जलाई आफ्ना प्रवर्द्धकहरूले डिस्इन्भेष्टमेन्ट (विनिवेश- सरकारी हिस्सेदारी बेच्ने प्रक्रिया) सम्भावना खोजिरहेको र बिक्री प्रक्रिया प्रारम्भिक चरणमा रहेको बताएको थियो । शुक्रबार आईटीडी सिमेन्टेसनको मार्केट क्याप ९ हजार १५२.८४ करोड भारु थियो । साताको अन्तिम दिन बीएसईमा २.६५ प्रतिशतले घटेर कम्पनीको सेयर ५३२.८० भारुमा बन्द भएकाे थियाे । अबुधाबीको एक कम्पनी र आरपीजी ग्रुपको केईसी इन्टरनेशनल पनि यो कम्पनी किन्न दौडमा रहेको बताइएको छ । यस्ताे छ कम्पनीकाे इतिहास भारत स्वतन्त्र हुनुअघि आइटीडी सिमेन्टेशनको बेलायतसँग सम्बन्ध थियो । भारतमा याे कम्पनी नौ दशकदेखि सञ्चालन हुँदै आएको छ । यस अवधिमा यसको स्वामित्व धेरै पटक परिवर्तन भएको छ । मेरिटाइम स्ट्रक्चरबाहेक यस कम्पनीसँग विमानस्थल, जलविद्युत, सुरुङ, औद्योगिक भवन तथा संरचना, राष्ट्रिय राजमार्ग, पुल तथा फ्लाईओभर, जग र विशेष भवन निर्माणमा विशेषज्ञता रहेको छ । कम्पनीले आफ्नो पोर्टफोलियोमा पम्प भण्डारण र विशेष जलविद्युत परियोजनाहरू पनि थपेको छ । आईटीडी सिमेन्टेसनले यस आर्थिक वर्षमा नयाँ हाइड्रो र पम्प भण्डारण परियोजनाहरूबाट ५ हजारदेखि ६ हजार करोडको टेन्डर जित्ने अपेक्षा गरिएको छ । कम्पनीले जुन त्रैमासिकमा एक हजार ५३ करोड भारुभन्दा बढीको अर्डर सुरक्षित गर्‍याे, यसको कुल अर्डर बुक १८ हजार ५ सय ३६ करोड छ । यसमा सरकारी ठेक्काको हिस्सा ४८ प्रतिशत, निजी क्षेत्रको ३५ प्रतिशत र सार्वजनिक क्षेत्रको १७ प्रतिशत रहेको छ । देशका १३ राज्यमा कम्पनीकाे उपस्थिति रहेको छ । यसले श्रीलंका र बंगलादेशमा पनि काम खोजिरहेको जनाइएकाे छ । यस हप्ताको सुरुमा अडानी समूहले सीके बिरला समूहको सिमेन्ट कम्पनी ओरिएन्ट सिमेन्ट ८ हजार एक सय कराेड भारुकाे इक्विटी मूल्यमा खरिद गर्ने घोषणा गरेको थियो । (एजेन्सीहरूकाे सहयाेगमा )

समता घरेलुको एफपीओ बिक्री खुला, मूल्य प्रतिकित्ता १०० रूपैयाँ

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर जारी गरेको हो । साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग सेयरका लागि सर्वसाधारणका लागि एफपीओ जारी गरेको हो । हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात् लघुवित्तको चुक्ता पुँजी ५९ करोड ९० लाख रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवदिभित्र पूर्ण आवेदन नपरेमा आवेदन दिने समय कात्तिक २६ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ । लगानीकर्ताहरूले सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् । एफपीओ निष्काशन प्रयोजनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

मुनलाइट हाइड्रोले १ अर्ब ७६ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब ७६ करोड १ लाख ५ हजार रुपैयाँको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । कम्पनीको आईपीओ प्रक्रिया अघि बढाउन लक्ष्मी सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरका सीईओ अनन्त कार्कीले आईपीओ निष्काशनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा निर्माणाधीन २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलविद्युत आयोजनाको हाल ७० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरिसकेको छ ।

साना किसान विकास लघुवित्तद्वारा ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., शाखा कार्यालय नेपालगञ्जको आयोजनामा ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न भएको छ । कार्तिक ९ र १० गते २ दिन सम्म चलेको तालिममा २८ वटा साझेदार साना किसान कृषि सहकारी संस्थाहरुका ३० जना ग्रामीण उद्यम कर्जा हेर्ने फोकल पर्सनहरुको सहभागिता रहेको थियो । तालिमको उद्घाटन सत्रमा बोल्दै शाखा प्रबन्धक विशाल कुमार तुलाधरले सहकारीहरुले समुदाय स्तरमा रहेका ग्रामीण उद्यम परियोजना सञ्चालन गर्न विपन्न तथा साना किसानलाई प्रोत्साहन गर्नुपर्ने, सञ्चालनमा रहेका परियोजनामा सहुलियत कर्जा सुविधा प्रदान गरी व्यवसायलाई थप व्यपस्थित बनाउन सहयोग गर्न सके ग्रामीण समुदाय, विपन्न वर्ग र साना किसानको आर्थिक अवस्था सुधार हुने कुरा व्यक्त गरेका थिए । तालिममा वरिष्ठ अधिकृत राम जनक चौधरीले ग्रामीण उद्यम कर्जाको परिचय, उद्देश्य, आवश्यक प्रक्रिया र प्रभावकारी व्यवसायिक योजनाले मात्र व्यवसाय सफल हुने बताए । साथै कर्जा विश्लेषणको प्रक्रिया र यसले कर्जाको गुणस्तरमा पार्ने सकारात्मक प्रभावका बारेमा कक्षा सञ्चालन गरेका थिए । तालिमका सहजकर्ता साना किसान कृषि सहकारी संस्था लि, उरहरीका प्रबन्धक अनुज के.सीले ग्रामीण उद्यम कर्जा व्यवस्थापनमा आफ्नो अनुभव सुनाउदै ग्रामीण उद्यम कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, आफ्नो संस्थामा हालसम्म कजाको भाखा ननाघेको, यस्तो कर्जा लगानी गर्दा धितो मुल्याकंन, लगानी पूर्वको प्रभावकारी विश्लेषण, व्यवसायी सदस्यको आय व्ययको वास्तविक अवस्था हेरेर सदस्यको घर परिवार सँगै बसेर सदस्यले गर्न लागेको व्यवसायको व्यवसायिक योजना समेत बनाईने र आवश्यकता अनुसार मात्र कर्जा प्रवाह हुने हुँदा ग्रामीण उद्यम कर्जाको गुणस्तर उच्च रहने बताए । त्यसैगरी सहजकर्ता भिष्मलाल चौधरी र राजन थापाले सदस्यको व्यवसाय स्थापना गर्दाको समय देखि पूर्ण रुपमा सञ्चालन नभए सम्म सदस्यसँग नियमित भेटघाट गर्ने, हौसला प्रदान गर्ने, व्यवसायिक रुपमा यस्ता परियोजना गरिरहेका सदस्यहरु कार्यक्षेत्रमा प्रशस्त रहेको, कतिपय उच्च सम्भावना बोकेका परम्परागत रुपमा व्यवसाय गरिरहेका सदस्यहरु लाई प्रोत्साहन गरी व्ययसायिक रुपमा काम गर्नको लागि सहयोग गर्नुपर्ने बताएका थिए । साथै अन्य कर्जाहरु लगानी गर्दा समेत ग्रामीण उद्यम कर्जा लगानीकै प्रक्रिया अवलम्वन गरेको र यसले कर्जाको गुणस्तरमा सुधार ल्याएको बताएका थिए । तालिमको समापन समारोहमा बोल्दै शाखा प्रबन्धक विशाल कुमार तुलाधरले एसियाली विकास बैंक जस्तो अन्तराष्ट्रिय संगठनले विश्वास गरेर यस्तो परियोजना साना किसानलाई सुम्पिएको हुँदा यसलाई सफल बनाउने जिम्मेवारी र दायित्व हाम्रै रहेको बताए । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके मात्र तालिम तथा कार्यक्रमको अर्थ हुने हुँदा सहभागिहरुले लिएको लक्ष्य पुरा गर्न शाखा कार्यालयले जुनसुकै किसिमको सहयोग गर्न तयार रहेकोले आफुले लिएको लक्ष्य र गरेको प्रतिवद्वता पुरा गर्नको लागि शुभकामना दिएका थिए ।

अपि पावरले अपार्टमेन्ट पनि बनाउने, सभाले अनुमोदन गर्यो ४ कम्पनीमा लगानी गर्ने प्रस्ताव

काठमाडौं । अपि पावर कम्पनीको साधारण सभा आइतबार कार्तिक ११ गते सम्पन्न भएको छ । गौशालाको होटल क्रिष्टल पशुपतिमा आइतबार बसेको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल गर्दै पारित गरेको छ । वार्षिक प्रतिवेदनको छलफल गर्दा अपि पावर कम्पनीको संस्थापक अध्यक्ष देखि अहिलेका प्राविधिक विश्लेषण हेर्दै लगानी गरिरहेका सेयरधनीले भाग लिएका थिए । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुलाई सेयरधनीहरु सामु छलफल गर्दै पारित गरेको हो । सभाले विशेष प्रस्तावको रुपमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियमबाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै यस अगाडी घोषणा भएको ९.५१३५ प्रतिशत बाट बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले सभालाई जानकारी गराएकी थिइन् । यस बाहेक सभाले लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरेको छ । सभामा अपि पावरले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव अगाडी सारेका थिए । उक्त कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाई सहितको ९ तल्ले आवासीय भवन बनाउन कार्य अगाडी बढाइसकेको छ । यस बाहेक अपि पावरको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत आयोजना ९९.७ मेवा निर्माण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । तेस्तै ,अपि पावर कम्पनी लिमिटेडले सुदुर पश्चिम प्रदेशमा रहेको दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना ९२८.३ मेवा निर्माण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गराएको छ । यस बाहेक अपिको बहुमत लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरि माथिल्लो तादी खोला जलविद्युत आयोजना ९११ मेवा को निर्माण अन्तिम चरणमा रहेको र उक्त लगानी अनुमोदन गर्ने प्रस्ताव सभाले अनुमोदन गरिसकेको छ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिसकेको छ । तेस्तै,कम्पनीले सर्वसाधारण सेयरधनीबाट ३ जना संचालकमा मधुसुदन कोइराला, संजिव न्यौपाने र दुवारिका न्यौपाने नियुक्त भएका छन् भने महिला संचालकमा सिर्जना खड्का नियुक्त भएकी छिन् ।