विकासन्युज

राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

चितवन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन् । नेपाली कांग्रेस चितवनले सोमबार यहाँ आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए । सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समिकरण बनेको उनको भनाइ थियो । उपप्रधानमन्त्री सिंहले भने, ‘विधिको शासन कायम गर्नेतर्फ हाम्रो प्रयास रहन्छ ।’ फरक प्रसङगमा उनले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौँ । पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो’, उपप्रधानमन्त्री सिंहले भने । नेपाली कांग्रेसको नेतृत्वबाट जारी संघीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरशः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कामय गर्दै विकासलाई सँगै लैजानुपर्ने उनले उल्लेख गरे । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले क्रान्तिकारी परिवर्तनदेखि राज्यलाई नयाँ ढंगबाट अगाडि बढाउन कांग्रेस सक्षम रहेको बताए । यसका लागि सबै सङ्गठित भएर अघि बढ्नुपर्ने उनको सुझाव थियो । सो अवसरमा नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, महिला विभाग सदस्य कलावती भट्टराईलगायतले पनि आफ्नो धारणा राखेका थिए ।

एनसेल कर्पाेरेट गल्फ प्रतियोगिताको उपाधि शेर्पा एडभेञ्चर गियर नेपाललाई

काठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि हात पारेको हो । विजेताले दुबईको चारवटा राउन्ड टिकट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन् । यस्तै, मुस्ताङ ग्लफ क्लबबाट इन्द्रधरा विष्ट र माधव सिम्खडाले ९ होलमा सिक्स अन्डर पार ३० को स्कोरसहित दोस्रो स्थान बनाए । उपविजेताले कलअवे एआई स्मोक ड्राइभर्स, आईप्याड र गिफ्ट ह्याम्पर पाएका छन् । लिओन मोटर्सका विजय श्रेष्ठ आइनहाउस र फुरसाङले तेस्रो स्थान बनाए भने उनीहरूले कलअवेको गल्फ ब्याग र ह्याम्पर्स प्राप्त गरे । व्यक्तिगततर्फ विजय श्रेष्ठ आइनहाउसले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डर र गिफ्टह्याम्पर प्राप्त गरेका छन् । यस्तै, प्रविण शाही ठकुरीले क्लोजेस्ट टु दी पिन अर्वाडसँगै रेन्जफाइन्डर र ह्याम्पर्स प्राप्त गरे । विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिर्कत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गरेका थिए । एनसेलले प्रतियोगिताकाे लागि सङ्कलन गरेको प्रवेश शुल्कको रकमलाई म्याच गरेर दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ । यो रकम एनसेल फाउन्डेसन मार्फत देशभरका विद्यार्थीहरूलाई एजुकेसनल किट उपलब्ध गराउन प्रयोग गरिनेछ । प्रतियोगितामा सहयोगका लागि जाब्बोरले गोकर्ण फरेस्ट रिसोर्ट र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन गरिएको सहयोगको महत्त्वलाई प्रकाश पारे । प्रतियोगितामा कुल ५५ टिमको सहभागिता थियो, जसमा स्ट्रोक प्ले, फोरबल बेटर बल फर्म्याट थियो । एनसेलले यो प्रतियोगिताबाट संकलन गरेको प्रवेश शुल्क एनसेल फाउन्डेसनमार्फत सामाजिक तथा परोपकारी कार्यमा योगदान गर्नेछ । यसका लागि एनसेलले हरेक टिमबाट संकलन गरेको प्रवेश शुल्कको कुल संकलित रकममा थपेर ३० लाख रुपैयाँ बनाएर सामाजिक कार्यमा खर्च गर्नेछ । यस प्रतियोगितामा महिन्द्रा, अग्नि ग्रुप, मेरियट काठमाडौं, फेयरफिल्ड मेरियट काठमाडौं, फ्लाई दुवई, होलिडेज् बाई फ्लाई दुवई, ह्वावे परनोड रिकार्ड (सिवास रिगल), क्लब हिमालय, रियल फ्रुट जुस, शिखर इन्स्योरेन्स, जेन नेक्स्ट र पेप्सी प्रायोजकका रुपमा रहेका थिए ।

सिटिजन्स बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

काठमाडौं । सिटिजन्स बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतामा सोमबार डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको हो । यस अवसरमा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात आव २०८०/८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू सभामा छलफल भई स्वीकृत भएको छ । सभाले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड ९८ लाख ९६ हजार ७८७.३८ रुपैयाँबराबरको नगद लाभांश छन् ।

ग्लोबल कलेज इन्टरनेसनलले पायो गुणस्तर प्रत्याभूति तथा प्रत्यायन प्रमाणपत्र

काठमाडौं । ग्लोबल कलेज इन्टरनेसनलले गुणस्तर प्रत्याभूति तथा प्रत्यायन प्रमाणपत्र पाएको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) द्वारा प्रदान गरिने उच्च शिक्षाको गुणस्तर प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गर्दै ग्लोबल कलेज इन्टरनेसनल मध्य–पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेपालको पहिलो कलेज बन्न सफल भएको छ । कलेजलाई यो प्रमाणपत्र २५ अक्टुबरमा विश्वविद्यालय अनुदान आयोगले प्रदान गरेको हो । गुणस्तर प्रत्यायन प्रक्रियामा प्रवेश गर्न अनुमति पाएपछि कलेजले सन् २०१९ मा स्व-अध्ययन प्रतिवेदन पेस गरेको थियो । साथै, यूजीसीका विशेषज्ञहरूको टोलीले विस्तृत मूल्यांकन गरी गुणस्तरका ८ मापदण्ड र १२० सूचकांक पूरा गर्न सफल भएपछि ग्लोबल कलेजलाई प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको हो । समारोहमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. देवराज अधिकारीको प्रमुख आतिथ्यमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. ध्रुवकुमार गौतम, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा. तीर्थराज खनियाँ, पीआरटी संयोजक प्राडा. मनप्रसाद वाग्ले र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति थियो । ग्लोबल कलेज इन्टरनेसनलका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझाले कलेजका शिक्षक, कर्मचारी, विद्यार्थी र व्यवस्थापन टोलीको सामूहिक प्रयास र समर्पणलाई कदर गरी आगामी दिनमा नवीन प्रविधिको उपयोग गर्दै उच्च शिक्षामा नयाँ मार्गप्रशस्त गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी, ३ जनालाई रोजगारी

दैलेख । सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन् । कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाए फूलखेतीले यात्रुको आँखा खिचेको हो । उनले वर्षदेखि फूलखेती गरेका हुन् । उनले भने ‘गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।’ उनले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाएका थिए । उनले भने, ‘गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।’ यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब दुई लाख रुपैयाँ आम्दानी हुने अनुमान उनले गरेका छन् । कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहील जिल्लामा फूलखेतीको संभावना राम्रो रहेको बताए । किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ । उनले तीन जनालाई रोजगारसमेत दिएका छन् । उनले भनेयो, ‘तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ ।’

सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार डेढ अर्ब पुग्यो, एक वर्षपछि नै बहिर्गमन शूल्क छुट

काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार १ अर्ब ५० करोड रुपैयाँ पुर्‍याइएको छ । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार १ अर्ब ५० करोड रुपैयाँ पुर्‍याइएको हो । कोष प्रवर्द्धक सिद्धार्थ बैंक र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल रहेको सिद्धार्थ व्यवस्थित लगानी योजना एक खुल्लामुखी सामूहिक लगानी कोष योजना हो । कम्पनीले विसं २०७८ असार १६ गते २० करोड रुपैयाँको आकारबाट सुरु भएको उक्त योजनाको आकार हाल ९८ करोड रुपैयाँ पुगेको जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत १ अर्बको आकारलाई गत असोज २२ गतेको पत्रबाट थप स्वीकृति प्राप्त भई १ अर्ब ५० करोड कायम गरिएको कम्पनीले जनाएको छ । साथै यस योजनाको इकाई बिक्री गर्दा खुद सम्पत्ति मूल्यमा कट्टा गरिने १.५ प्रतिशत बहिर्गमन शूल्क इकाई खरीद गरेको तीन वर्षपश्चात् मात्र छुट हुने व्यवस्थालाई संशोधन गरी एक वर्षपछि नै उक्त बहिर्गमन शुल्क छुट दिइने बताइएको छ । हालसम्म करिब १९ हजार इकाईधनीहरू यस योजनमा आवद्ध रहेको कम्पनीले जनाएको छ । असोजसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ११.३० रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

३ महिनामा जीवन बीमाको व्यापार ४१ अर्ब बढी, कुन कम्पनीको कति ?

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले ४१ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् । चालु आवको ३ महिनामा जीवन बीमकले ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यसरी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । नेपाल लाइफले ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः ४ अर्ब ९० कराड ५० लाख र ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यसैगरी, हिमालयन लाइफले ४ अर्ब ३१ करोड १२ लाख, सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड ९३ लाख, एशियन लाइफले २ अर्ब ३ करोड ६८ लाख, सिटिजन लाइफले १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड २२ लाख, मेटलाइफले १ अर्ब ४४ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, लघु जीवन बीमकहरू गार्डियन माईक्रो लाइफ, क्रोष्ट माइक्रो लाइफ र लिबर्टी माईक्रो लाइफले क्रमशः ८ करोड ७१ लाख, ७ करोड ९७ लाख र ५ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।  

अस्ट्रेलियामा बढ्दै गएको मानव शोषणविरुद्ध लड्न विशेष संघीय प्रहरी परिचालन

काठमाडौं । बढ्दो मानव बेचबिखन र शोषण विरुद्ध लड्न अस्ट्रेलियाली संघीय प्रहरी (एएफपी) का विशेष अधिकारीहरूलाई देशभरका समुदायहरूमा खटाइएको छ । नयाँ मानव शोषण सामुदायिक अधिकारीहरूले मानव बेचबिखन र अनलाइन बाल यौन शोषण रोक्नको लागि जोखिममा परेका समुदायहरूलाई लक्षित शिक्षा प्रदान गर्ने एएफपीले जनाएको छ । दासत्व, जबरजस्ती विवाह र जबरजस्ती श्रमसहित मानव बेचबिखनका ३८२ वटा घटनाहरू थिए । जुन ३० मा समाप्त भएको आर्थिक वर्ष २०२३–२४ मा ३४० भन्दा बढी रिपोर्ट गरिएको थियो । एएफपीको नेतृत्वमा रहेको अस्ट्रेलियन सेन्टर टु काउन्टर चाइल्ड एक्सप्लोइटेसनलाई अनलाइन बाल यौन शोषणको रिपोर्टले २०२२–२३ मा ४० हजार २३२ र २०२३–२४ मा ५८ हजार ५ सय बढी शोषणमा परेको बताएको छ ।