काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., शाखा कार्यालय नेपालगञ्जको आयोजनामा ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न भएको छ । कार्तिक ९ र १० गते २ दिन सम्म चलेको तालिममा २८ वटा साझेदार साना किसान कृषि सहकारी संस्थाहरुका ३० जना ग्रामीण उद्यम कर्जा हेर्ने फोकल पर्सनहरुको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै शाखा प्रबन्धक विशाल कुमार तुलाधरले सहकारीहरुले समुदाय स्तरमा रहेका ग्रामीण उद्यम परियोजना सञ्चालन गर्न विपन्न तथा साना किसानलाई प्रोत्साहन गर्नुपर्ने, सञ्चालनमा रहेका परियोजनामा सहुलियत कर्जा सुविधा प्रदान गरी व्यवसायलाई थप व्यपस्थित बनाउन सहयोग गर्न सके ग्रामीण समुदाय, विपन्न वर्ग र साना किसानको आर्थिक अवस्था सुधार हुने कुरा व्यक्त गरेका थिए ।
तालिममा वरिष्ठ अधिकृत राम जनक चौधरीले ग्रामीण उद्यम कर्जाको परिचय, उद्देश्य, आवश्यक प्रक्रिया र प्रभावकारी व्यवसायिक योजनाले मात्र व्यवसाय सफल हुने बताए । साथै कर्जा विश्लेषणको प्रक्रिया र यसले कर्जाको गुणस्तरमा पार्ने सकारात्मक प्रभावका बारेमा कक्षा सञ्चालन गरेका थिए ।
तालिमका सहजकर्ता साना किसान कृषि सहकारी संस्था लि, उरहरीका प्रबन्धक अनुज के.सीले ग्रामीण उद्यम कर्जा व्यवस्थापनमा आफ्नो अनुभव सुनाउदै ग्रामीण उद्यम कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, आफ्नो संस्थामा हालसम्म कजाको भाखा ननाघेको, यस्तो कर्जा लगानी गर्दा धितो मुल्याकंन, लगानी पूर्वको प्रभावकारी विश्लेषण, व्यवसायी सदस्यको आय व्ययको वास्तविक अवस्था हेरेर सदस्यको घर परिवार सँगै बसेर सदस्यले गर्न लागेको व्यवसायको व्यवसायिक योजना समेत बनाईने र आवश्यकता अनुसार मात्र कर्जा प्रवाह हुने हुँदा ग्रामीण उद्यम कर्जाको गुणस्तर उच्च रहने बताए ।
त्यसैगरी सहजकर्ता भिष्मलाल चौधरी र राजन थापाले सदस्यको व्यवसाय स्थापना गर्दाको समय देखि पूर्ण रुपमा सञ्चालन नभए सम्म सदस्यसँग नियमित भेटघाट गर्ने, हौसला प्रदान गर्ने, व्यवसायिक रुपमा यस्ता परियोजना गरिरहेका सदस्यहरु कार्यक्षेत्रमा प्रशस्त रहेको, कतिपय उच्च सम्भावना बोकेका परम्परागत रुपमा व्यवसाय गरिरहेका सदस्यहरु लाई प्रोत्साहन गरी व्ययसायिक रुपमा काम गर्नको लागि सहयोग गर्नुपर्ने बताएका थिए । साथै अन्य कर्जाहरु लगानी गर्दा समेत ग्रामीण उद्यम कर्जा लगानीकै प्रक्रिया अवलम्वन गरेको र यसले कर्जाको गुणस्तरमा सुधार ल्याएको बताएका थिए ।
तालिमको समापन समारोहमा बोल्दै शाखा प्रबन्धक विशाल कुमार तुलाधरले एसियाली विकास बैंक जस्तो अन्तराष्ट्रिय संगठनले विश्वास गरेर यस्तो परियोजना साना किसानलाई सुम्पिएको हुँदा यसलाई सफल बनाउने जिम्मेवारी र दायित्व हाम्रै रहेको बताए । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके मात्र तालिम तथा कार्यक्रमको अर्थ हुने हुँदा सहभागिहरुले लिएको लक्ष्य पुरा गर्न शाखा कार्यालयले जुनसुकै किसिमको सहयोग गर्न तयार रहेकोले आफुले लिएको लक्ष्य र गरेको प्रतिवद्वता पुरा गर्नको लागि शुभकामना दिएका थिए ।